सबै चाडपर्वहरू सम्बन्धित भूगोलको प्राकृतिक विशेषतासँगै त्यहाँको सामाजिक विकाससँग जोडिएका हुन्छन् । यस्ता चाडपर्वहरूमध्ये नेपाली समाजमा दसैंको विशिष्ट महत्व रहेको छ । नवदुर्गा पूजाको दसौंदिनलाई दसैं भनेर मनाइन्छ । ‘नव’ भनेको नौ हो र नयाँ पनि हो । समाजसँग जोडिएको हुनाले यसमा आउने परिवर्तन नै नयाँ हो । ‘नवदुर्गा’ भएर होला, सामाजिक संस्कृतिका ‘नव’—नयाँ नयाँ दृष्टिकोणका ‘दुर्ग’ (किल्लाहरू) पनि प्रकट हुने गरेका छन्, अर्थात् नयाँ नयाँ अन्याय अत्याचारका विरुद्ध नयाँ नयाँ शक्ति विकास भइरहेको छ । यी शक्ति राज्यको नीति, सामाजिक चिन्तन, संरचना र संस्कृतिमा विकसित भएका र भइरहेका छन् । नयाँ र थप नयाँ हुनु परिष्कार हुनु हो । संस्कृति भनेको परिष्कार हो, संस्कारको परिणति हो । नौ(९)को बारेमा बुझ्नुपर्ने धेरै कुरा छन् । 

साहित्यमा शृङ्गार, करुण, अद्भुत, हास्य, भयानक, बीभत्स, रौद्र र शान्त गरी नौवटा भावरस छन् । यी रसहरू साहित्यले जन्माएको होइन, मानिसको जीवनको अध्ययन गर्दा फेला पारिएका भाव हुन् । मानिसको अन्तर्भावमा रहने यी रस—स्वाद, सारहरूले मानिसका मनोविज्ञानमा प्रत्यक्ष प्रभाव पार्दछ, पारिरहेको छ र पारिरहन्छ । बाँसुरीका नौवटा प्वाल नवरन्ध्र हुन् । यसै पनि नौ अङ्कहरूमा सबैभन्दा ठूलो अङ्क हो । 

दसैँमा पूजा गरिने देवीहरू योद्धा हुन् । पुरुष देवताहरूले जित्न नसकको युद्धमा लडेका नारी योद्धाहरूलाई नवदुर्गा भनिएपछि उनीहरू युद्धका क्रममा सुरक्षित बास बस्ने ठाउँ दुर्गाका मन्दिरहरू हुन् । दुर्ग भनेको गढी—किल्ला हो, दुर्ग शब्दको अर्थ सजिलै पुग्न नसकिने ठाउँ हो । योद्धाहरू दुर्गमा बस्दछन् । अहिले जस्तो सुरक्षा पर्खाल, सुरुङ—बङ्कर नबनेको अवस्थामा यस्ता दुर्गहरू अग्लो डाँडाको चुचुरोमा हुनु स्वाभाविक हो । नवदुर्गाको समष्टि रूप पार्वती हुन् । पर्वतकी छोरी भएकै हुनाले यिनलाई पार्वती भनिएको हो ।शक्तिस्वरूपा पार्वती हुन् जसको जन्म हाम्रै नेपालको गौरीशङ्कर हिमपर्वतमा भएको हो । यस कारण पनि दसैँ नेपाल र नेपालीको निकट छ, यहाँका लागि विशेष र विशिष्ठ छ । 

शत्रुसँगको युद्ध होस् वा जीवन संघर्ष; बहुआयामिक हुन्छ । यी आयामका प्रतिनिधि देवीहरू नै नवदुर्गा हुन् । देवीहरूका नाम नै यिनका गुण, सामथ्र्य र विशेषता हो । तिनलाई यसरी वर्णन गरिएको छ:

प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी । तृतीयं चन्द्रघण्टेति कूष्माण्डे तु चतुर्थकम् । पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति च । सप्तमं कालरात्रिश्च महागौरीति चाष्टमम् । नवमं सिद्धिदात्री च नवदुर्गा प्रकृर्तिताः ।। शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री यी नै नवदुर्गाका रूपमा प्रसिद्ध छन् । फरकफरक नाम र फरकफरक स्वरूपका नौवटी देवीहरूलाई ‘नवदुर्गा’ भनेर पूजा गरिन्छ । यी सबैका नामको विशिष्ठ अर्थ रहेको छ । यी नामहरू देवीका फरक गुण, फरक विशेषता र फरक शक्तिका प्रतीक हुन् । यी विषयको अन्तर्वस्तु प्रतिको स्वीकारोक्ति र सम्मान नै पूजा हो । यिनीहरूप्रतिको सार्थक जिज्ञासा नै पाठ र कथाको अन्तर्वस्तु हो । तर, अहिले दसैँ मनाउनु भनेको मासु, मदिरा र मिष्ठान्नमा केन्द्रित अपव्यय र आडम्बर प्रदर्शन जस्तो मात्र देखिन्छ । नवदुर्गाको महिमाका दृष्टिले, सांस्कृतिक वैशिष्ठ्यका दृष्टिले दसैँको साह्रै ठूलो महत्व रहेको छ । 

नवदुर्गाको प्रारम्भ असोज शुक्ल पक्षको प्रतिपदादेखि हुन्छ । प्रतिपदाको बिहान सिँगारिएकोे र सबै समुद्र र सरिताको जल मानेर भरिएको घडालाई पूजा कोठा या मन्दिरमा स्थापित गरिन्छ । यसलाई घटस्थापना भनिन्छ । पूर्णताको प्रतीक यस घडमा मूलतः नवदुर्गा र अन्य देवीदेवताको आवाहन गरी नौ दिन पूजा गरिन्छ । यो मान्यता हो, यो अध्यात्म हो । यसमा गहिरिँदा जीवन र जगतका अनेकौँ बिम्ब तरंगित हुन्छन् । यसै दिन बेलुकाको अस्ताचलमा देखिने चन्द्रमा हेरेपछि नवधान्य (नौ प्रकारका अन्न)को जमरा राखिन्छ । नौ दिनसम्म पूजा गरिएको घडासँगै उमारिएको जमरा नै देवीको मुख्य प्रसादका रूपमा दसैँको टीकाको दिन शिर, कानमा सिउरिदिने प्रचलन छ । यो पनि नेपाल र नेपालीहरूमा मात्र हुने गर्दछ । अन्य ‘हिन्दूहरू’मा यस्तो हुँदैन । 

नवदुर्गा पूजा र त्यससँग सम्बन्धित अन्य कर्मकाण्ड अन्यत्रका हिन्दूहरूमा र नेपालीहरूमा उस्तैउस्तै हुन्छ । सप्तमीको दिनलाई हामी फूलपाती भनेर मनाउने गर्दछौँ । पूmलपातीमा गरिने कार्य पनि अन्यत्र र नेपालमा फरक छ । यस दिन बिहान फल, पूmल, नयाँ फलेका सब्जी, उँखु आदि संकलन गर्न दुर्गा मन्दिर, दसैँघर, कोटघरबाट कुमार पुजारीहरू गाउँ–घर, बस्तीमा जान्छन् र त्यसरी संकलन गरिएका फल–पूmल आदि दुर्गा मन्दिर, दसैँघर, कोटघरमा लिएर जान्छन् । यी वस्तु त्यहाँ समर्पित गरिन्छ । यो सबैले बुझिन्छ, तर यसको अर्को पाटो पनि छ । माताको सत्तामा कोही भोको नरहून् भन्ने हिसाबले यस अवसरमा मातृसत्ताका ‘प्रहरीहरू’ घर घरमा निरीक्षण गर्दछन् र खेतीपाती, फलपूmल, सागसब्जी, अन्य अवस्थाबारे जानकारी राख्दछन् र ती विषयमा महामातालाई जानकारी गराउँछन् । यसको प्रक्रियाहरू हेर्दा—बुझ्दा मातृसत्ताको युगमा जीवन व्यवहारको समग्रता यही दसैँमा उनिएको देखिन्छ । 

अहिले पनि सरकारी—सार्वजनिक क्षेत्रमा त्रैमासिक र चौमासिक समीक्षा गरी प्रतिवेदन दिनेलिने गरिन्छ । र, वर्षमा एक पटक (आर्थिक वर्ष) वार्षिक समीक्षा, योजना, स्रोत बाँडफाँट गरिएजस्तै त्यस समयमा पनि यस्तो प्रावधान रहेको देखिन्छ । यसको प्रमाण हो, वर्षमा हुने चार पटक वसन्त, वर्षा, शरद र शिशिरमा हुने नवरात्री । वर्षा (साउन) र शिशिर(पुस)को नवरात्रलाई गोप्य मानिन्छ । वर्षा र शिशिरको तुलनामा वसन्त(चैत)को नवरात्र(चैते दसैँ)मा अलि बढी र शरद ऋतु (असोज) मा पर्ने यस नवरात्रलाई वर्षको ठूलो नवरात्रको रूपमा वार्षिक महामहोत्सवको रूपमा मनाउने प्रचलन विद्यमान छ । समग्रमा नेपाली विशिष्ठतामा हेर्दा दसैँ कृषि जीवनसँग बढी सम्बन्धित देखिन्छ । नवधान्यको प्रयोग होस्, दूधगोरको प्रयोग होस्, फूल र फलको उपयोग होस्, पूmलपातीको प्रचलन होस् या अन्य, यस पर्वसँग कृषिको प्राधान्यता स्पष्ट हुन्छ । 

जीवन पनि युद्ध नै हो, संघर्ष नै हो । जीवनयुद्धका लागि नयाँनयाँ क्षेत्र, विधि, रणनीति अवलम्बन गरिएको हुन्छ । यात्रामा कोशेढुंगा जस्तै जीवनका पनि कोशेढुंगा हुन्छन् । यो दसैँे आफैमा जीवन यात्राको वार्षिक कोशेढुंगा हो । जीवन युद्धका लागि शरीर महत्वपूर्ण छ । यस पर्वमा गरिने पूजापाठको प्रारम्भमा ‘न्यास’ गरिन्छ । न्यास भनेको स्थापना, सुनिश्चितता र विश्वास हो । शरीरप्रतिको विश्वासका लागि गरिने न्यास शरीर विज्ञान र सुरक्षा विज्ञान दुबै दृष्टिले महत्वपूर्ण छ । त्यसपछि भौतिक अवस्थाको महत्व हुन्छ । पाठ प्रारम्भ गर्नुपूर्व गरिने दिशा(दिङ्)न्यास, अङ्गुष्ठादि कर(हात)न्यास, हृदयादि अङ्गन्यास आदि शरीर विज्ञान महत्वपूर्ण छन् । 

अहिलेको चिकित्सा विज्ञानले के कति प्रगति गरेको छ र विषयविज्ञता प्राप्त गरेको छ, अज्ञात छैन । रक्षा विज्ञानको प्रगतिको विषय पनि थाहा पाउन सकिन्छ । मातृयुगमा सुरक्षा तथा स्वास्थ्य रक्षाका लागि गरिएको व्यवस्थाबारे कमैलाई थाहा होला । हरेक वर्ष मनाउने दसैँलाई र यसमा अन्तनिर्हित विषयलाई ध्यान दिने हो भने दसैँको महत्व अझ बढ्ने छ र हामी थप लाभान्वित हुन सकिने छ । 

सुरक्षा र स्वास्थ्य रक्षा विषयको व्यवस्था यस्तो देखिन्छ:
दुर्गाकवचमा ‘प्राच्यां रक्षतु मामैन्द्री.........अधस्ताद् वैष्णवी तथा’लेखिएको छ । जस अनुसार पूर्व, आग्नेय, दक्षिण, नैऋत्य, पश्चिम, वायव्य, उत्तर, ईशान, माथि, तल रक्षा गर्ने जिम्मेवारी क्रमशः ऐन्द्री, अग्नि, वाराही, खड्गधारिणी, वारुणी, मृगवाहिनी, कौमारी, शूलधारिणी, ब्रह्माणि, वैष्णवीले र दसै दिशाको समग्र रक्षा ‘शववाहना’ (शत्रुको शवको थुप्रोमाथि उभिएर होला) देवीले गरून् भनिएको छ । यसरी सबै दिशाको रक्षाको सुनिश्चितता गर्नुपर्ने बुझ्न सकिन्छ । 

त्यस्तै, दुर्गाकवचकै ‘जया मे चाग्रतः पातु........जयन्ती पापानाशिनी’सम्मका श्लोक(मन्त्र)हरूमा हाम्रो शरीरको अंग—प्रत्यंगको रक्षाको लागि माताहरूले यस प्रकार जिम्मेवारी वहन गर्ने उल्लेख गरिएको छ ः अघिल्तिर जयाले, विजयाले पछिल्तिर, देब्रेतिर अजिताले, दाहिनेतर्फ अपराजिताले, उद्योतिनीले शिखाको, उमाले टाउकाको, निधारको मालाधरीले, यशस्विनीले आँखीभौँको, आँखीभौँको बीचमा त्रिनेत्राले, नाकको यमघण्टाले, दुई आँखाको बीचमा शंखिनीले, कानको द्वारवासिनीले, कालिकाले गालाको, कानका जराको शांकरीले, नाकभित्र सुगन्धाले, माथिल्लो ओँठको चर्चिकाले, तल्लो ओँठमा अमृतकलाले र जिब्रोमा सरस्वतीले रक्षा गरून् । कौमारीले दाँतको, चण्डिकाले समग्र कण्ठको, चित्रघण्टाले घाँटीको, महामायाले तालुको, कामाक्षीले चिउँडोको, सर्वमंगलाले बोलीको, भद्रकालीले गर्धनको, धनुर्धरीको पिठ्यूँको, कण्ठको बाहिरी भागको नीलग्रवाले र कण्ठनलीको नलकूबरीले, दुईवटै काँधको खड्गिनीले, दुबै पाखुराको वज्रधारिणीले, दुबै हत्केलाको दण्डिनीले, औँलाहरूको अम्बिकाले, शूलेश्वरीले नङको, कुलेश्वरीले पेटको रक्षा गरून् । महादेवीले स्तनहरूको, शोकविनाशिनीले मनको, कामिनीले नाभीको, गुह्येश्वरीले गुह्यको,  पूतना र कामिकाले लिङ्गको, महिषवाहिनीले गुदाको, भगवतीले कम्मरको, विन्ध्यवासिनीले घुँडाहरूको, महबलाले दुबै पिडुँलाको, नारसिंहीले गोलीगाँठाको, तैजसीले गोडाको पछिल्लो भागको, श्रीदेवीले गोडाका औँलाहरूको, तलवासिनीले पैतलाको, दंष्ट्राकरालीले नङको, ऊध्र्वकेशिनीले(मास्तिर रौँ ठडिएकी) केशको, कौबेरीले रौँका प्वालहरूको, वागीश्वरीले छालाको, पार्वतीदेवीले रक्त, मज्जा, बोसो, मासु, हाड र मेदको, कालरात्रिले आन्दाको,  मुकुटेश्वरीले पित्तको, पद्मावतीले मूलाधार र कमलकोशहरूको, चूडामणिले कफको,  ज्वालामुखीले नङको जेजिलोपनको, अभेद्याले जोर्नीहरूको, ब्रह्माणीले वीर्यको, छत्रेश्वरीले छायाको, धर्मधारिणीले अहंकारको, वज्रहस्ताले प्राण, अपान, व्यान, उदान, समान वायुको, कल्याणशोभनाले प्राणको, योगिनीले रस, रूप, गन्ध, शब्द र स्पर्श तन्मात्राको, नारायणीले सत्व, रज, तम गुणधर्मको, वाराहीले आयुको, वैष्णवीले धर्मको, चक्रिणीले यश, धन, विद्याको, इन्द्राणिले गोत्रको, चण्डिकाले पशुहरूको, महालक्ष्मीले सन्तानको, भैरवीले पति—पत्नीको,  सुपथा र क्षेमकरीले बाटो र जीवनपथको, महालक्ष्मीले दरबारको(प्रशासनिक केन्द्रको), विजयाले सबै डरहरूबाट जोगाउने जिम्मेवारी लिएका छन् । यसरी सम्पूर्ण सुरक्षाको विषय उल्लेख गरिएको छ । यहाँ उल्लेख नगरिएका अन्य क्षेत्र र विषयको रक्षा नवदुर्गाले समग्रतामा रक्षा गर्ने प्रावधान छ । 

यति मात्र होइन, मातृयुगमा शान्तिकर्मणि सर्वत्र तथा दुःस्वदर्शने । ग्रहपीडासु चोग्रासु महात्म्यं शृणुयान्मम । (सबैतिरको शान्ति कार्यका लागि, नराम्रो सपना देख्दा, ग्रहहरूका कारण अत्यन्त पीडाको अवस्था आउँदा मेरो महात्म्य सुन्नू ।) यसरी जस्तो सुकै असहजताको स्थितिबाट पार लगाउन सक्ने शक्तिका रूपमा देवी÷मातृशक्तिलाई स्वीकार गरिएको छ । यसको तात्पर्य स्पष्ट छ, अरु दुःख छोडौँ सपना पनि नराम्रो देख्न पर्दैन थियो, सबै सुखको भरपर्दो व्यवस्थामा ध्यान दिइएको थियो । यी विषय बिर्सन नदिन पनि दसैँको ठूलो महत्व छ । 

नवदुर्गा पूजा र महात्म्य पाठमा पाइने जानकारी साह्रै महत्वपूर्ण छ । यस क्रममा कवच, अर्गला, कीलक पाठ गरिन्छ । कवच (काँधसहित छाती ढाकेर सुरक्षित गर्ने ढाल), अर्गला    (घरभित्र बस्दा सुरक्षित हुन ढोकामा लगाउने आग्लो), कीलक (सुरक्षाको लागि, निर्माणलाई बलियो पार्ने कीला) हो । यसरी सुरक्षाका यी विषय पनि ‘रक्षा विज्ञान’का दृष्टिले महत्वपूर्ण छन् । नवदुर्गा, दुर्गमा बस्ने देवीहरू हुन्, सत्रु विरुद्ध होस् वा जीवन संघर्ष सुरक्षा सुनिश्चितताका यी विषय मननीय छन् । 
मानिसहरू दसैँको इतिहास खोज्छन्, यसमा जातीय र नश्लीय संलग्ना खोज्दछन् । तर, के माथि वर्णन गरिएका प्रसंगहरू कुनै इतिहासको पुनरावृत्ति गर्न आवश्यक हो र ? के यसका अन्तर्वस्तुहरू कुनै जात र नश्लविशेषका लागि मात्र अनुकूल वा प्रतिकूल छन् र ? छैनन्, सबैका लागि र सधैका लागि उत्तिकै महत्वपूर्ण छन् । 

दस दिनको पर्व भएको र दशमीमा समापन हुने भएकोले दसैँ भनिएको हो । यसका दसै दिन उत्तिकै महत्वपूर्ण छन् । व्यवहारिक कारणहरूले दसै दिन सहभागी हुन नसकिने भएकोले समापनलाई बढी महत्व दिइएको अवश्य हो, दसैँलाई ‘दसौँ दिनको’ मात्र ठान्नु सही हुँदैन । संयोगले दशरथ पुत्र मर्यादा पुरुषेत्तम रामले लंका विजय गरी रावण वध गरेको दिन पनि यही भएको थाहा हुन्छ । यो एउटा संयोग हो । दसैँको एक मात्र विषय यो हुँदै होइन । शास्त्रमाथि विश्वास नगर्ने हो भने न राम, न नवदुर्गा ! तर, शास्त्रमाथि विश्वास गर्दा नवदुर्गाको प्रसंग सत्ययुको हो भने रामको जन्म र कर्मको समय त्रेतायुग हो । त्यसैले यस पर्वलाई रावण वधसँग मात्र जोडेर मनाउनु वा निष्कर्ष निकाल्नु तर्कसंगत देखिँदैन । 
यी देवी शक्तिशाली विजयी योध्दा थिइन् भन्ने जान्न र मनन् गर्नका लागि सातसय श्लोक भएको(सप्तशती, चण्डी) उनै देवीको महिमागानका रूपमा पाठ गरिन्छ, देवीशास्त्र          (देवीभागवत)को कथा सुन्ने गरिन्छ । नारीशक्ति, मातृशक्तिको वर्णनसँग जोडिएको यस पर्वलाई अनेकौं बहानामा कमजोर पार्ने, बिथोल्ने, हाम्रो हो र होइनको वहस गरेर बिर्साउन प्रयत्न गरिनु हुँदैन, बरु नारीशक्तिको महिमासँग जोडिएको यो पर्वलाई महिला सशक्तीकरणको इतिहाससँग जोड्दै, थप सशक्तीकरणका लागि प्रेरणापर्वका रूपमा मनाउन सकिन्छ ।

केही मानिसहरूले रावण र रामको युद्धको सन्दर्भलाई नश्लीय युद्धको रूपमा व्याख्या गरी आर्य र अनार्य बीचको युद्ध भएको आर्य रामद्वारा अनार्य रावण मारिएको हुनाले अनार्य भनिनेहरूले दसैँ मान्न नहुने तर्क पनि अघि सार्न भ्याएका छन् । रावण ब्राह्मण थिए र राम क्षत्रिय ! युद्धका दुई पक्ष यिनै हुन् । के ब्राह्मण अनार्य र क्षत्रिय आर्य हुन मिल्छ र ? दुई राज्यका शासकहरूको बीचमा भएको युद्ध, फेरि युद्धको विषय पनि नितान्तै फरक भएको विषयलाई बुझ पचाएको कुरा कसरी सही मान्न सकिन्छ र ?यस्ता अनेकौँ विषय ध्यान दिन आवश्यक छ, भ्रममा रहनु हुँदैन । 

महिषासुर र देवीको बीचमा भएको युद्धमा महिषासुरहरू मारिन्छन् । महिष भनेको राँगो हो । राँगोको रूपमा युद्ध गर्न आएको असुरलाई महिषासुर भनिएको छ । के यो पत्यार नलाग्ने विषय हो र ? राँगोबाट आक्रमण गराउन सकिँदैन र ? यसलाई असुरका तर्फबाट देवीलाई आक्रमण गर्न अघि सारिएको राँगो भनेर बुझ्न सकिँदैन र ? जहिले पनि युद्ध दुई शक्तिका बीचमा हुन्छ । त्यस्तो युद्धमा होमिएकाहरू कुन जातका मारिन्छन्, कुन जातकाले मार्छन्  भन्ने कुरा सामान्य हो । जातीय युद्धमा मार्ने र मारिने जातको कुरा भिन्नै हो । चाहे देवीले गरेको युद्ध होस् वा रामले गरेको, यी युद्ध कुनै जातीय आधारमा भएका युद्ध होइनन् । त्यसैले यो दसैँलाई कुनै जातविशेषसँग जोड्न र छुट्याउन उचित देखिँदैन । 

दसैँलाई हामीले ‘बडादसैँ’ भन्दैआएका छौँ । दसैँको विषयमा बृहत् चर्चा भइसकेको छ । ‘बडा’ भनेको ठूलो भनिएको हो । ठूलो महत्व र महिमाका हिसाबले हुन्छ । यसको स्वीकार्यताको हिसाबले हुन्छ । दसैँको सन्दर्भ र सामाजिक स्वरूप हेर्दा यसलाई बडा वा ठूलो भन्न सकिने त छँदैछ, आपूmभन्दा ठूला—बडासँग टिका–जमरा थापी आशीष लिने भएको हुलाले पनि यसलाई ‘बडा’सँग जोडिएको स्पष्ट हुन्छ । यसका अन्य आयामहरू पनि छन्, जो नेपाली समाजको विशिष्ठतासँग सम्बन्ध राख्दछन् । जतिबेला देवी र असुरहरूको युद्ध भएको थियो, जतिबेला राम—रावणको युद्ध भएको थियो, त्यतिबेला अहिले प्रचलनमा रहेका ‘धर्महरू’ थिए र ? थिएनन् । यी सबै कारणहरूले पनि यस पर्वलाई ‘हिन्दूहरूको’ भनेर सीमिति गर्न आवश्यक देखिँदैन । यो नेपालीहरूको साझा पर्व हो, नेपाली विशेषताको पर्व हो । यो विजया दशमी मात्र पनि होइन । यो ‘बडादसैँ’ हो । नेपाली समाजले दसैँलाई कुनै खास युद्धको विजय दिवसका रूपमा स्वीकार गरेको छैन भन्ने भन्ने विषयको चर्चा माथि नै गरिसकिएको छ ।  

अन्यत्रका हिन्दूहरूमा हुँदै नभएको प्रचलन नेपाली समाज छ । नेपालमा यस अवसरमा परदेशबाट आफन्तहरू आउने, परिवारसँग मिलेर मिठोचोखो खाने, रमाउने, जेष्ठ—श्रेष्ठ बुढापाकाहरूलाई सम्मान गरी आशिर्वाद थाप्ने हो; साथै नवदुर्गाको पूजा गरी, कथा सुनी ज्ञान, भक्ति र योगको माध्यमबाट सार्थक जीवनको लागि पुनःताजगी प्राप्त गर्नु हो । नारीशक्तिको उच्च सम्मान र यसप्रतिको प्रतिबद्धता नवदुर्गाको पूजा हो । बुढापाका मान्यजनबाट प्राप्त हुने जीवनोपयोगी इतिहास आदिको र ज्ञान आशिर्वाद हो । कर्तव्यप्रतिको निष्ठा र समर्पण भक्ति हो । ज्ञान र निष्ठालाई कर्मसँग जोड्नु योग हो । देवीको नाममा आयोजित पर्वमा यति धेरै उपलब्धिको संगमको रूपमा मनाइने दसैँलाई ‘समस्त हिन्दूहरूको महान् चाड’ अझ ‘विजया दशमी’ मात्र भनेर हुँदैन; यसलाई अनेकौँ ठूल्ठूला विशेषता समेटिएको, ठूलो महत्व दिइएको ‘बडादसैँ’ मातृशक्तिको महिमा आत्मसात गरिएको ठूलो सामाजिक पर्व हो—बडादसैँ ।  यसलाई यसै रूपमा बुझौँ, सार्थक रूपमा मनाऔँ ! ‘विजया दशमी’ होइन, ‘बडादसैँ’ भनौँ ! आजदेखि प्रारम्भ भएको बडादसैँको हार्दिक शुभकामना !!
(कार्तिक १, २०७७)