काठमाडौं, ६ असार – नेपालमा सूर्योदय र सूर्यास्तको बीचको समयअनुसार आजको दिन झण्डै १४ घण्टाको हुनेछ । 

आज काठमाडौंमा विहान ५ बजेर ९ मिनेटमा उदाएको घाम बेलुकी ७ बजेर ३ मिनेटमा अस्ताउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।  भोलिदेखि भने दिन छोटो र रात लामो हुनेछ। आजदेखि औपचारिक रुपमा गर्मी शुरु भएको मानिन्छ । 

सामान्यतः आजको दिन पृथ्वीको दक्षिणी गोलाद्र्धमा दिन छोटो र उत्तरी गोलाद्र्धमा दिन लामो हुने गर्छ ।  सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो अक्षमा पृथ्वीको ढल्काईका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले सामान्यतया : २१ जुनमा दिन लामो हुन्छ । अन्तर्राष्ट्रिय समय अनुसार लामो दिन जुन २० देखि २२ तारिख भित्र कुनै एक दिन पर्छ । 

डिसेम्बर २१ तारिखमा भने सूर्यको प्रकाश पृथ्वीमा कम पर्ने भएकाले दिन सबैभन्दा छोटो र रात लामो हुने गर्छ ।