काठमाडौं, २६ असार – सरकारका प्रवक्ता एवंसञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेंसलाई नेत्रविक्रम चन्द समूहलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न आग्रह गर्नुभएको छ ।

मन्त्री बाँस्कोटाले चन्द समूहले गरिरहेको हिंसाको सहारा लिएर नेपाली कांग्रेसले सरकारमाथि प्रश्न उठाउने काम गरिरहेको भन्दै आफ्नो दृष्टिकोण स्पष्ट पार्न आग्रह गर्नुभएको हो । 
संविधान, कानुन र शान्तिविरुद्ध गतिविधि गरीरहेको विप्लप समूहलाई नेपाली कांग्रेसले किन काखी च्यापेको ? मन्त्री बाँस्कोटाको प्रश्न थियो । 

भोजपुरमा चन्द समूह र प्रहरीबीचको झडपमा प्रहरी सहित  विप्लपका कार्यकर्ता मारिएको विषयमा  नेपाली कांग्रेसले सरकारले ‘मृत्यको व्यापार’ गरिरहेको आरोप लगाएको थियो । त्यसप्रति टिप्पणी गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो ‘कांग्रेसले हिंसा र निषेधको राजनीतिलाई एउटै घानमा मुछ्ने हो भने दिनभरि वीपी, रातभरि विप्लव हो ?’

मन्त्री बाँस्कोटाले चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्याको छानबिनका लागि संसदीय समिति गठन गर्न नसकिने बताउनुभयो । 
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले त्यस हत्याकाण्डको छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्दै संसद बैठक अवरोध गरिरहेको छ । मन्त्री बाँस्कोटाले संसदीय समितिले छानबिन गर्दैमा समस्या समाधान नहुने दावी पनि गर्नुभयो ।

भोजपुरमा प्रहरी मारिएको स्मरण गर्दै मन्त्री बास्कोटाले हिंसा आतंकलाई प्रोत्साहित गर्दै जाँदा कहाँ पुगिन्छ भन्ने विगतलाई सम्झिन कांग्रेसलाई आग्रह गर्नुभयो ।  हिंसाको साहारा लिएर सरकारलाई घेराबन्दी गर्छु भन्ने नसोच्न कांग्रेसलाई मन्त्री बांस्कोटाले सचेत गराउनुभयो । 

सशस्त्र द्वन्द्वकालमा माओवादीले कहिले दरबारका नाममा, कहिले कांग्रेस त कहिले एमालेका नाममा खेलेकै स्मरण गर्दै  अहिले विप्लवसमूहले पनि त्यही प्रयोग गर्न खोजेको मन्त्री बांस्कोटाको भनाई थियो ।