लमजुङ, भदौ २८– बसले च्यापिएर लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ कालाघिरिङ गैरीगाउँका एक बालकको मृत्यु भएको छ ।

चितवनमा कक्षा ८ मा पढ्दै आएका १५ बर्षीय रोशन गुरुङ घर फर्कने क्रममा तनहुँको भानु नगरपालिका–९ बडारेमा बसले टाउको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरी चौकी पुर्कोट तनहुँका प्रहरी सहायक निरीक्षक डम्मरबहादुर थापाका अनुसार चितवनबाट आउँदै गरेको ६३५७ नम्बर बसमा रहेका ती बालकको टाउको चितवनबाटै आएको २५५५ नम्बरको बसमा च्यापिन पुगेको हो । 

अबिरल बर्षाका कारण सडक अवरुद्ध भएपछि बसमै बसिरहेका बालकले झ्यालबाट टाउको निकालेर बसेको र गाडी अघि बढ्ने क्रममा अर्को साइड लगाएर राखिएको बसले टाउको च्यापिदिएपछि टाउकोमा गम्भीर चोट लागेको थियो । 

बुधबार बेलुका सवा ७ बजे घटेको घटनामा गम्भीर चोट लागेका बालकलाई उपचारको लागि पोखरा लगिएको थियो । फिस्टेल हस्पिटल पोखरामा उपचारको क्रममा बिहीबार विहान साँढे ५ बजे बालक गुरुङको मृत्यू भएको हो ।