काठमाडौं, २६ पुस – गृह मन्त्रालय २१ औं भूकम्प सुरक्षा दिवस मनाउने तयारी तिव्र पारेको छ । गृहमन्त्रालयको नेतृत्वमा भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले माघ २ गते विविध कार्यक्रम गरी दिवस मनाउने भएको हो ।  

आज आयोजित पत्रकार सम्मलेनमा समितिले यस वर्षको भूकम्प सुरक्षा दिवस मूल समारोह ललितपुरको पाटन दरवार स्क्वायरमा आयोजना हुने जानकारी दिएको हो । 

दिवसको अवसरमा माघ २ गते बिहान १० बजे ललितपुरको महानगरपालिका परिसर, पुल्चोक, गछेंयम्पी महाविहार, गुइटोल ८ र लगनखेल बसपार्कबाट एकसाथ ¥याली सुरु गरेर पौने ११ बजे पाटन दरवार स्क्वायरमा स्मृति सभा आयोजना गर्ने तय गरेको छ ।

भूकम्प जोखिम न्यूनिकरण, प्रतिकार्य, पूर्व तयारी र सुरक्षित भवन निर्माणलगायतका विषयमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको समितिले माघ २ गते ललितपुरको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा ‘भूकम्प जोखिम न्यूनिकरण तथा पूर्व तयारीमा हाम्रो भूमिका’ विषय अन्तरक्रिया गर्ने र सो कार्यक्रमको रेडियो नेपालबाट प्रत्यक्ष प्रशारण गर्ने कार्यक्रम रहेको छ । 

‘विपद्बाट सुरक्षित हुने नागरिक अधिकार, पूरा गर्न जिम्मेबार संघ, प्रदेश र स्थानीय सरकार’ नारा तय गरेको यो दिवस देशभर ७७ वटै जिल्ला प्रशासन कार्यलयले जिल्लास्तरमा समेत मनाइने समितिले जनाएको छ । 

विक्रम संवत् १९९० सालको महाभूकम्पको स्मृतिमा सरकारले २०५५ सालदेखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ ।