काठमाडौ, २६ असार– महिला र बालबालिकामाथी हुने हिंसा अन्त्यका लागी सञ्चारमाध्यमको भुमिका अपरिहार्य हुने सरोकारबालाहरुले जोड दिएका छन् ।

संचारिका समूह र ओरेक नेपालले आज ललितपुरमा आयोजना गरेको ‘लैंगिक विभेदमा आधारित हिंसा न्यूनीकरणमा संचार माध्यमको भूमिका’ विषयक कार्यक्रममा लैंगिक हिंसा हटाउन संचार माध्यमको महत्वपूर्ण योगदान हुने बताएका हुन् । कार्यक्रममा संचारिका समूहकी अध्यक्ष नितु पण्डितले पछिल्लो समयमा नेपाली संचार माध्यमले लैंगिक हिंसाका समाचारलाई प्राथमिकताका साथ उजागर गर्न खोजेको जस्तो देखिए पनि लैंगिक संवेदनशीलताको अभावमा कतिपय समाचारले पीडितलाई थप पीडा दिइरहेको बताउनुभयो ।

ओरेक नेपालका कार्यक्रम संयोजक संजिता तिमिल्सिनाले २०७५ पुस १७ गतेदेखि २०७६ असार १७ गतेसम्म देशभर ८ सय १७ लैंगिक हिंसाका घटना भएको बताउनुभयो । यो अवधिमा ओरेक नेपालमा ६ सय १७ घटना दर्ता भएको र संचार माध्यममा २ सय ५४ घटनाका समाचार प्रकाशित भएको उहाँले जानकारी दिनुभयो । ओरेकका अनुसार ६ सय १७ मध्ये सबैभन्दा धेरै ४ सय ३३ घरेलु हिंसाका, १ सय २ सामाजिक हिंसा, १ सय ४९ बलात्कार, २८ बलात्कारको प्रयास, ५२ हत्या, ४२ यौन दुव्र्यवहार, ५ हत्या प्रयास, १३ मानव बेचबिखन, ३ बेचबिखनको प्रयास, १८ आत्म हत्या, २६ अन्य घटना घटेका हुन् ।

कार्यक्रममा सहभागी पत्रकारहरूले पछिल्लो समयमा केही अनलाइन र यूटुब च्यानलहरूले पाठक र दर्शक बढाउने उद्देश्यले बलात्कार, बलात्कार प्रयास, हत्या, कुटपिट जस्ता अति संवेदनशील विषयलाई समेत मनोरञ्जनको विषयसरह पस्किरहेको भन्दै यसले पत्रकारितालाई नै बदनाम गर्ने काम गरेकोमा चिन्ता व्यक्त गरेका थिए ।