प्रा.डा.बद्रीविशाल पोखरेल 
    सिद्धान्तका नाममा  प्रायः कखरा र नखरा मात्र बुझ्ने कार्यकर्ताका बीच पार्टी स्थायी समिति जस्तो उपल्लो  तहका नेता घनश्याम भुसालले पार्टीलाई मात्रै होइन आफैँलाई चरी नाङ्गै हुने गरी भुत्ल्याउनु भुत्ल्याए र अझ उल्टो यसैमा भुसाल आफैँ  राम्ररी रमाए । 

यस्तो रमित भुसालले माक्र्स जयन्तीकै अवसर रोजेर गरे । यति मात्र होइन उनले ओली लक्षित आपत्तिजनक फतुर प्रमुख आतिथ्य ग्रहण गरेका  पार्टी अध्यक्ष पुष्पकमल दाहाल उर्फ सोझै सोझ्याए । एउटा नेताले सामान्य कुटनैतिक मर्यादा विपरीत भए नभएका नकार खकारेर भारी सभामा बर्साउन सुहाउँदैन । विपक्षीले भन्दा पनि गैर जिम्मेदार  अनावश्यक र अतिशयोक्तिपूर्वक  विषय उछालेर पार्टी र यसका प्रमुख नेतृत्वको  दोहोलो काड्ने कुरा असहनीय हुन्छ । असल र विवेकी मान्छे  भनिएका कम्युनिष्ट र त्यसमा पनि ज्ञानी,अनुभवी,योग्य र अनुशासित ठहरिएका नेताले बेतुक र बतासे कुरा  गर्न सुहाउँदैन ।  कतिपय कुरामा प्रधानमन्त्री वा अमुक नेतासित असहमति वा विमति हुँदाहुँदै पनि भुसाललेझैँ  बालका खात उखेल्ने कुरालाई यो लेखक गैरजिम्मेवार तथा   मानवीय व्यवहार विपरीत मान्छ ।  यस खालको व्यवहार जसकसैलाई गर्दा पनि यस लेखकको अन्तरात्माले निकृष्ट ठान्छ ।  यसरी जथाभावी गाली गर्नेले मौकामा कसैलाई पनि छाड्दैन । यस्तो बानी लागेपछि हत्तपत्त छुट्तैन । 

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली लक्षित भुसालका आरोप र आक्षेपका छिटाहरु दाहाललाई  समेत निथ्रुक्क भिज्ने  गरी बर्सिएका थिए । भुसालले अर्का वरिष्ठ नेता झलनाथ खनाल ०३९ सालमा महासचिव हुँदा पार्टी दस्तावेजमा बहुदलीयता समावेश भएको भन्दै निक्कै तारिफ गरे तर उक्त विचार जननेता मदन कुमार भण्डारीको थियो भन्ने कुराको सुइको पनि दिएनन् । जसको विचार उसैको नेतृत्व हुनु पर्नेमा पूर्व एमाले पार्टीमा साङ्गठानिक लोकतान्त्रीकरणको विषय र विचार ओलीको थियो तर नेतृत्व अरुले नै हत्याए ।   
  भण्डारी र जबज भजाउनु भजाएर भोजन गरेपछि अब त्यसको काम छैन भनेरै भुसालले च्याप्टर क्लोज गर्न खोजेका हुन्  । त्यहाँ भुसालले लबीगत सामीप्यका कारण वरिष्ठ नेता माधव कुमार नेपालको पनि राम्रै बखान गर्न भ्याए,तर त्यहीँ नाम नभनी प्रधानमन्त्री ओलीको भने दोहोलो नै काडे । 
भुसालले सिलसिलेवार विशेषतः पार्टी अध्यक्ष ओलीलाई दैनिक सयजना दलाल, तस्कर, भ्रष्ट र अनैतिक व्यक्तिहरु सित भेट गर्छन् भने । उनको आशय उक्त प्रकारका व्यक्तिहरुसित प्रधानमन्त्रीले भेटघाट गरेर कालो धनमाल शुभलाभ गर्ने कपोल कल्पित  कुट कलुषित दुराशय भुसालका दुर्वचनामा प्रकट हुन्थ्यो । 

 भुसालले रेल,पानी जहाज आदि विकास र निर्माण जनताको जीवन निरपेक्ष काम हुन् भनेर एकोहोरो विरोध गरिरहेका थिए तर यसपालि रेल आउने नै भए पछि  विरोधको भाखा फेरर पनि विरोध नै गरे ।  चीनमा माओले कम्युनिष्ट पार्टी सत्तामा आएको लगत्तै पेकिङबाट तिब्बतसम्म  रेल पु¥याउने उद्घोष गर्दा पनि उधुम विरोध गरेका थिए तर जब समय क्रममा तिब्बत रेल आयो विरोधीहरु ङिच्च परेका थिए ।  माक्र्सजयन्तीका दिन पनि भुसालले आम श्रमजीवी जनताको जीवन अत्यन्त दयनीय भएको भन्ने पुरानै भाषण भट्याए । तर रातारात खेतमा धान फल्दैन भन्ने कुरा उनले बुझ पचाए । ओली सरकारले अब आइन्दा खेत बाँझो राख्दा जरिबाना हुन्छ भनेर आम जनतालाई फसल लगाउने काममा प्रोत्साहित गरेको भुसालले देखेनन् ।

 खाद्यान्न, फलफूल,तरकारी,माछा लगायत अनेक खाद्य पेय पदार्थ उत्पादन गर्न सरकारले प्रोत्साहित गरेको छ । यो सत्य वचन बोल्दा आफ्नो राजनीतिक बजार स्वाट्टै घट्ने हुँदा यो पनि भुसालले  उल्लेख गरेनन् । तर यही उत्पादन पनि आज लगाएर भोलि पाक्दैन भन्ने थाहा हुँदाहुँदै पनि  भुसाल छ महिना पनि पर्खिन चाहँदैनन् । सरकारले मलबिहुको बेलैमा जोहो गरिदिँदा २०७५ मा उत्पादन बृद्धि भएको भुसालले पढेनन् ।   प्रधानमन्त्री ओली क्यालोरीको कुरा गर्नुहुन्छ तर भुसाल सिर्फ भातको कुरा मात्र गर्छन् । ओली स्थानीय उत्पादन जे हुन्छ त्यही खाँदा हुन्छ भन्नु हुन्छ तर भुसाल भातभन्दा माथिको सोच राख्दैनन् । ए बाबा भुँडी भर्न धानको भात मात्र खानु् पर्दैन तर भुसाल सदा भातकै रटान गरिरहन्छन् । रेल, पानी जहाज आधुनिक जीवन हो । त्यसबाट पनि जनताका दैनिक आवश्यकता पूर्तिका सधानहरु सहज रुपमा ओसार पसार गरिन्छ । यसले अझ दाल,भात सस्तो हुन्छ तर भुसाल भने झैँ यो कुरा भन्दैनन् । 

माक्र्सजयन्तीको रोचक पक्ष भनेको भुसालका  पार्टी अध्यक्ष  तथा प्रधानमन्त्री ओली विरोधी भाषणमा तालीको प्रयोजित भारी बर्षा भएको सुनिन्थ्यो ।  
प्रधानमन्त्री ओलीले सिके राउत जस्ता राष्ट्र विखण्डनकारी तत्वहरुसित भेट वार्ता गरेर राष्ट्रवादको मार्गमा अवतरण गराएको चाहिँ भुसालले सम्झी सम्झी बिर्सिए । उनले ओलीका निर्देशनमा विगत वर्ष २०५ औँ भानु जयन्तीका अवसरमा देश र अझ  विदेशका ६० जना जति नेपाली भाषा,साहित्य,संस्कृति आदि क्षेत्रका विषय विज्ञ तथा विद्वान्हरु सहितको वृहत्  अन्तराष्ट्रिय गोष्ठीलाई चटक्क बिर्सिए । 

प्रधानमन्त्रीको स्रष्टामैत्री भावनाको उक्त  अत्यन्त महत्वपूर्ण गोष्ठीबाट सम्पूर्ण आमन्त्रित व्यक्तित्वहरु आल्हादित बनेका थिए । प्रभावशाली व्यक्तिका प्रभावमा पर्दा रत्नाकार डाँका वाल्मीकि बन्छन् । बुद्धसित भेट नभएको भए चरम हत्यारा अङ्गुलीमाल सज्जन मार्गमा लाग्ने थिएनन् ।

  माक्र्सवादले जनता हिलोमा छन् भने हिलोमा पसेर भए पनि तिनलाई सही मार्गमा ल्याउनु पर्छ भन्छ समय,परिस्थिति र प्रभावले कुनै पनि मानिस दुर्जन बन्न सक्छ तर त्यससिति भेटै गर्नुहुन्न भन्ने भन्दा पनि उसलाई सज्जनतातिर डो¥याउन सक्ने क्षमता राख्नु पर्छ । 

 अरु कुरा किन गर्ने र भुसाल पनि आफ्ना निर्वाचन क्षेत्रका दुष्ट दुर्जन मानिससित हात मिलाएर हिँडेको यस लेखकको आँखाले देखेको छ तर के यत्तिका भरमा यस लेखकले भुसाललाई पाँडे गाली गर्न सुहाउँछ ? 

 हिलोमा कमल फुलेको पनि भुसालले देखेकै होलान् ।  नालायकका पासमा पर्दा सज्जन पनि दुर्जन स्वभावतिर लहसिन सक्छ । भुसालले त सिके राउत जस्ता व्यक्तिलाई र राष्ट्रवादको मैदानमा अवतरण गराएकामा प्रधानमन्त्रीलाई गाली गर्न बिर्सेछन् क्यार ।

 जननेता मदन भण्डारीले एउटा मानिस तर्क सकिएपछि रिसाउँछ,अनि त्यही मानिस आफू हार्ने निश्चित भए पछि रिसाउँछ ...यस्तै भावको कविता लेखेका छन् । सोही परी भुसाल आफैँ चरम हीनता बोधले ग्रसित भएर उतर्सिका त होइनन् ?  आफू अनुकूलको मात्र  फतुर लगाउनु  बौद्धिक वैचारिक दिवालपन हो । 
त्यसैगरी केही दिन अघि घनश्याम भु्सालले डिजिटल मिडियाहरुमा पार्टीको हालत देख्दा आफूलाई छाती पिटीपिटी रुन मन लागेको विषय  भाइरल भयो ।
भुसालले भनेझैँ  अलल्लिने गरी रुने कारण अहिले देखिन्न । तुहिन विस्थापित हुँदा,सफल कुटनैतिक क्षमताका आधारमा मित्र राष्ट्रहरुका बीच सुमधूर सम्बन्ध कायम राख्दा,चन्द्रसूर्य रहेसम्म नेपालसित दुर्लङ्घ्य,दुर्गम तथा दुरुह मैत्री सम्बन्ध रहेको चीन सित भारतवत् सुमधूर सम्बन्ध कायम हुँदा,संघीयता सम्बन्धी तमाम नीति,विधि र प्रणालीको स्थापना हुँदा,विकास निर्माण गतिविधि तीव्र हुँदा,योगदानमा आधारित आजीवन सेवा सुरक्षा,प्रधानमन्त्री रोजगार कार्यक्रम आदि अनेक खुसी छाउने कार्यक्रमहरु पनि छन् । 

अनि किन छाती पिटेर रुनु प¥यो ?  खुसी,खोकी,प्रेम र राजनीतिक अपराध धेरै दिन लुक्तैन भनेझैँ एक दिन सत्य उदाङ्गो हुन्छ । यस कुरालाई स्वयं भुसालले हेक्का राख्दा हुन्छ । तर भुसालजी,तपाईं प्रायोजित माक्र्स जयन्ती गरेर पार्टी र नेतृत्वलाई खुइल्याउन  जस्तो पार्टीको नेतृत्व गनुर्् सजिलो चाहिँ छैन है । कामकाजको मूल जिम्मेवारी केही लिन नमान्ने तर असन्तुष्टहरुलाई  एकएक निहुँमा उचाल्ने र सडकमा तमासा देखाउन सजिलो हुन्छ । 

जबजको च्याप्टर क्लोज गर्न उद्यत चरम अवसरवादी नेतृत्वले समाजवाद ल्याउनै सक्तैन  । जुन नेता एक वर्ष अघि जबजलाई सिद्धान्त बनाउनुपर्छ भन्छ अनि एकै वर्ष पछि  त्यही सिद्धान्त च्यात्छु भन्छ भने छिनछिनमा उठ्ने र फुट्ने पानीको फोका सरहको नेताको चाहिँ के भर हुन्छ ? सैद्धान्तिक  विचलन अत्यन्त खतरनाक हुन्छ ।  यस्तो हुँदा कुहिराको काग भइन्छ । आन्दोलनको जहाज उड्दै उड्दैन कथम् उड्यो भने आकाशैमा दुर्घटित हुन्छ । सामान्यतया भुसालले भनेझैँ छाती पिटी पिटी रुनु पर्ने कारण देखिन्न । डिप्रेशनका कारण पनि मानिस आफूलाई भुत्ल्याउन र चिथोर्न चाहन्छ । होइन एकाध सामान्य कमजोरीका कारण रुने,अलल्लिने अताल्लिने हो भने त्यसको ओखती छैन । सरकारले प्रस्तुत गरेको ०७६,७७ को आर्थिक नीति अन्तर्गत धेरै सकारात्मक योजनाहरु प्रस्तुत गरेको छ । ज्येष्ठ नागरिक भत्ता,फलाम खानी,सुन खानी खोज अभियान जस्ता धेरै आशाप्रद नीति आउँदा पनि रुनु पर्ने कारण देखिन्न ।   कहिले कहिले असाध्य विचलित हुँदा मानिसमा चरम वैराग्य उत्पन्न हुन्छ । अनि कहिले कसैले तपाईं त ठूलो सैद्धान्तिक नेता भनेर उफार्दा पनि उच्चता बोधले आकाश छुन्छ । अनि तदनुसार नहुँदा पनि चरम वितृष्णा उत्पन्न हुन्छ ।

 नवौँ महाधिवेशनका बेला वैचारिक महान् नेता भनेर  उफारेकै भरमा भुसालले भुइँ मात्र होइन मुख पनि  छाड्दै हिँड्ने हो भविष्य अन्धकार मय छ । त्यही पार्टीको एक जिम्मेवार नेता भएर भँडार खनेर आँगन पुर्ने जस्तो कृत्य गर्दा एक छिन के को न्यानो त होला तर पार्टी र प्रमुख नेतृत्वलाई भुत्ल्याएर आफू सद्दे छु भन्न किमार्थ सुहाउँदैन । सदा आफूले आफैँलाई भुत्ल्याउने काम नगर्नु होला ।