काठमाडौं, २७ कात्तिक– काठमाडौं महानगरपालिकाले एक साता भित्रै रत्नपार्क र टुँडिखेल आसपास क्षेत्रलाई धुलोमुक्त बनाउने भएको छ । त्यसका लागि महानगरले सरसफाइ र ममर्तसम्भारको काम सुरु थालेको छ । 

महानगरको सबै क्षेत्रमा एकै पटक अभियान चलाउन नसक्ने भएपछि रत्नपार्क आसपास क्षेत्रलाई एक साता भित्र धुलोमुक्त गराउन लागिएको मेयर विद्यासुन्दर शाक्यले वताए । त्यसका लागि महानगरपालिकाको वातावरण विभाग महाशाखाले काम सुरु गरेको हो । आइतबार अभियान थालनी गरेपछि महानगरले सो क्षेत्रमा कागज र प्लाष्टिकका टुक्रा मात्रै हटाउने होइन धुलो बढार्न सुरु गरेको हो । 

विद्युत प्राधिकरणले भत्काएको सो क्षेत्रको सडकपेटी मर्मत पनि सँगसँगै सुरु गरेको छ । योसँगै सो क्षेत्रमा बनेका ट्राफिक आइल्याण्ड सजावटको काम पनि भइरहेको छ । काठमाडौं महानगरपालिकाले शहरी सौन्दर्यता र हरियाली बढाउन भन्दै तत्काल २५ स्थानमा ट्राफिक आइल्यान्डहरु सजाउन सुरु गरिएको महानगरका वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले बताए ।

महानगर क्षेत्र ंभित्रका विभिन्न आइल्यान्डहरुमा दुबो, फुल र विरुवा रोप्ने काम भइरहेको छ । रत्नपर्क, जमल, सुन्धारा लगयत विभिन्न ठाउँमा रहेका ट्राफिक आइल्याण्डमा थुपारिएको फोहोर हटाउन थालिएको हो । नयाँ ट्राफिक लाइट सिस्टमको प्रयोगका लागि सवारीलाई आफ्नो बाटोमा ‘च्यानलाइज्ड’ गर्न र जथाभावी सवारी मोड्ने प्रवृत्तिलाई निरुत्साहित गर्न ट्राफिक आइल्याण्डहरु एकवर्ष अघि नै निर्माण गरिएका थिए । तर, यो परियोजना असफल भएपछि आइल्याण्ड प्रयोगबिहीन बनेका थिए ।

मेलम्ची खानेपानीले भत्काएका भित्री सडकका खाल्डा पुर्ने र ती सडकमा पिच गर्ने काम महानगरले यसअघि नै सुरु गरेको थियो । वर्षा सकिएसँगै खाल्डाखुल्डी पुर्ने र भित्री सडक पिच गर्ने काममहानगरले थालनी गरेको हो । त्यसका लागि ५ वटा प्याकेजमा २५ करोड खर्च गर्न लागिएको मेयर शाक्यले जानकारी दिए ।

‘वडा–वडामा पनि सडकको खाल्डा पुर्न बजेट पठाइएको छ । वर्षामा हामीले खाल्डा पुरेनौं,’ शाक्यले भने, ‘अब टिकाउ पिच गर्न थालिएको छ ।’ नरदेवी, कोटेश्वरलगायतका स्थानमा सडक निर्माण गर्ने, खाल्डाखुल्डी पुर्ने काममा महानगर सक्रिय रहेको देखिन्छ । ती क्षेत्रका भित्री सडकहरु केही पिच पनि भइसकेका छन् । कामपाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने आठ मिटरभन्दा कम चौडाइका सडक विस्तार र स्तरोन्नतिका लागि भनेर रु ८० करोड बजेट छुट्याएको कामपाका सहप्रवक्ता नवराज ढकालले जानकारी दिए । 

रु.८० करोडमध्ये २५ करोड साना सडकको खाल्डा पुर्नको लागि र रु. ५५ करोड काठमाडौँका अन्य सडक निर्माणको लागि खर्च गरिने ढकालले बताए । कामपाका अनुसार मंसिर पहिलो सातादेखि खाल्डाखुल्डी पुर्ने काम सकेर कालोपत्रे गर्न शुरु गर्ने योजना रहेको छ । 

ललितपुरका मेयर विदेश भ्रमणमै ब्यस्त
उता ललितपुर महानगरपालिकाका मेयर चिरीबाबू महर्जन र उपमेयर गीता सत्याल भर्खरै एक साता लामो विदेश भ्रमणबाट फर्केका छन् । महानगरको बोर्डलाई जानकारी नै नदिई ५ महिनामा ६ पटक विदेश भ्रमण गएको र महानगरको काम लथालिङ्ग छोडेको भन्दै ललितपुर महानगरको कार्यपालिका बोर्डका १४ सदस्यले बैठक नै बहिस्कार गरेका थिए । तर, मेयर महर्जन, उपमेयर शाक्य र कार्यकारी अधिकृत सहितको टोली भर्खरै थाइल्याण्ड र श्रीलंका भ्रमणबाट फर्केको हो । 

कार्यपालिका बोर्डलाई जानकारी नै नगराई बारम्बार विदेश भ्रमणमा गएको भन्दै १४ जना वडाअध्यक्ष र ८ जना कार्यपालिका बोर्ड सदस्यले बोर्ड बैठक बस्किार गरेका छन् । मेयर निर्वा्चित भएको ५ महिनामा ६ पटक विदेश भ्रमण गएको र हरेक पटकका भ्रमणवारे कार्यपालिका बोर्डलाई जानकारी नदिइएको भन्दै उनीहरुले बोर्ड बैठक बहिस्कार गरेका हुन् । 

मेयर चिरीबाबु महर्जन र उपमेयर गीता सत्याल हाल पनि ५–५ दिनका लागि विदेश भ्रमणबाट भर्खरै फर्केका हुन् । मेयर महर्जन गत शनिबार श्रीलंका र उपमेयर सत्याल सोमबार थाइल्यान्ड गएका थिए । मेयर निर्वाचित भएको ५ महिनामा मेयर महर्जन कोरिया र भियतनाममा २–२ पटक र जापान, श्रीलंका गरी ६ पटक विदेश गइसकेका छन् । 

मेयर महर्जनको धेरैजसो समय विदेशमै वित्ने भएकाले महानगरको बजेट र विकास सम्बन्धी काममा त्यसको प्रत्यक्ष असर परेको छ । महर्जन विदेश भएका कारण संस्कृतिसम्बन्धी बजेट निकास गर्न मंगलबार आएका गोदावरी नगरपालिका–१२ ठेचोका बाबुराजा मालाकार फिर्ता जान बाध्य भए । ‘चेकमा प्रमुखबाहेक अरूले हस्ताक्षर गर्न मिल्दैन,’ उनले भने, ‘यसले निरन्तर काम रोकिएको छ ।’ 

मेयर महर्जनले महानगर मेयरमा निर्वा्चित भएपछि १० जनालाई सल्लाहकार नियुक्त गरेका छन् भने ललितपुर महानगरपालिकालाई सवारी जाम मुक्त नगरपालिका घोषणा गरेका छन् । जाममुक्त घोषणा गरे पनि ललितपुर जाममुक्त भने भएको छैन । कार्यपालिका बोर्ड र नगरपालिकालाई जानकारी नगराई लगातार विदेश भ्रमणमा गएपछि त्यसको विरोधमा १४ जना वडाअध्यक्ष र ८ जना कार्यपालिका सदस्यहरूले कार्यपालिका बोर्ड बैठक नै बहिष्कार गरेका थिए । 

मेयर र उपमेयर मात्र होइन ललितपुर महानगरपालिका वरिष्ठ कर्मचारी पनि विदेश भ्रमणमै भएका कारण महानगरको दैनिक काम प्रभावित भएको छ । निर्वाचन आयोगको स्वीकृतिबिना महानगरका कार्यकारी अधिकृत हरिप्रसाद दाहाल र नक्सा महाशाखा प्रमुख रूद्रप्रसाद गौतम श्रीलंका गएका हुन् । निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा कुनै पनि सरकारी कर्मचारी विदेश भ्रमणमा जाँदा निर्वाचन आयोगबाट स्वीकृति लिनुपर्ने कानुनी प्रावधान छ । 
महानगरपालिकाका अनुसार श्रीलंकामा ५ दिन बिताउन उनीहरू प्रत्येकले ९८ हजार रुपैयाँ खर्च लिएका थिए । विदेश भ्रमणमा जान दुवैले बिदा र काज पनि स्वीकृत गराएका छैनन् । कार्यकारी अधिकृत दाहालले निमित्त कार्यबाहक पनि कसैलाई तोकेका छैनन् । यसले महानगरपालिकामा दैनिक आउने सेवाग्राही मर्कामा परेका छन् । 

कार्यकारी अधिकृत दाहालको रुचिमा मेयरले आवश्यकताभन्दा बढी कर्मचारी ल्याएको भन्दै कर्मचारी एसोसिएसनले पनि विरोध गरेको छ । नेपाल नगरपालिका कर्मचारी एसोसिएसनका कार्यबाहक अध्यक्ष सुरेन्द्रराज अवालले महानगरपालिकामा राजपत्रअंकित सहायकस्तरका खरिदार, सुब्बा र जुनियर इन्जिनियर र अमिन पद मात्र कर्मचारी आवश्यकता रहेको बताए । ‘महानगरपालिकाका आवश्यक नै नभएका उपसचिव, शाखा अधिकृत कर्मचारी आएका छन्,’ उनले भने, ‘यसले महानगरपालिकाको विकास बजेट कर्मचारीको तलब भत्तामा बढी खर्च हुने देखिएको छ ।’

वडाध्यक्षहरूले महानगरपालिकामा बुझाएको विरोधपत्रमा मेयर र उपमेयर विधि, प्रक्रिया, ऐन र नियमअनुसार आफू पनि नचलेको र कार्यालय पनि सञ्चालन नगरेको आरोप छ । पत्रमार्फत् असहमति जनाउने वडाध्यक्षहरूमा २ नम्बरका राजेश महर्जन, ३ का श्रीगोपाल महर्जन, ४ का नारायण केसी, ५ का विकासमान श्रेष्ठ, ११ का इन्द्रमान महर्जन, १२ का नारायणलाल अवाले, १५ का सुदर्शन मिश्र, १७ का विनोद महर्जन, १८ का पुरुषोत्तम खडका, १९ का विनोद ताम्राकार, २३ का भुयुकाजी महर्जन, २४ का दिनेश कार्की, २५ का विष्णुकुमार कार्की र २९ का गणेशकुमार महर्जन छन् । 

बूढानीलकण्ठ नगरमा हरियाली दोब्बर बनाईंदै 
उता बूढानीलकण्ठ नगरपालिकाले बजारको हरियाली दोब्बर बनाउन  वृक्षरोपणलाई विशेष प्राथमिकतामा राखेको छ । बूढानीलकण्ठको मूल सडकमा  दुवैतिर वृक्षरोपण गरिएको छ । यसैगरी निजी क्षेत्र र स्थानीय क्लबसँगको  सहकार्यमा गोल्फुटार, बूढानीलकण्ठ सडक खण्डको दायाँबायाँसमेत बिरुवा रोप्ने  काम गरिएको बूढानीलकण्ठ नगरप्रमुख उद्धवप्रसाद खरेलका स्वकीय सचिव सुस्मित  खरेलले जानकारी दिए । नगरपालिकाले वडा नं १ र २ मा महिला समूहको सक्रियतामा  फोहर उत्पादन घटाउनका लागि परियोजना पनि सञ्चालन गरेको छ ।
यस्तै शिक्षासम्बन्धी सबै काम नगरपालिकाबाट गर्नका लागि अहिले शैक्षिक  तथ्यांक संकलन भइरहेको छ । नगरपालिकाले १३ वटै वडामा वडा कार्यालय पनि  स्थापना गरेको छ । यसअघि छ वटा वडामा मात्र कार्यालय थियो । सुस्मितका अनुसार  संविधानले स्थानीय तहलाई दिएको अधिकारलाई उपयोग गर्नका लागि विभिन्न योजना बनाइएको छ । यस्तै नगरपालिकाले गत वर्षभन्दा ३ प्रतिशत चालु खर्च कम  गरेको छ । गत वर्ष २८ प्रतिशत रहेको चालुखर्च अहिले २५ मा झारिएको हो ।
यसैगरी वडा नं १० का वडाध्यक्ष नवराज भट्टराईले वडामा ढल निर्माण र बाटो मर्मतलाई प्राथमिकता दिइएको बताए ।  नगरको नवजागरण टोलस्थित आकाशेधारादेखि धोबीखोलासम्मको बाटामा ढल तथा मंगाल  मर्मत तथा सरसफाइ एवं ग्राभेलको काम सम्पन्न गरिएको वडाध्यक्ष भट्टराईले  बताए ।
वडाकै सुन्दरटोल, बालुवाखानीमा ग्राभेल हाल्ने काम सम्पन्न भएको  उनले बताए । उनका अनुसार वडाको सुरक्षा व्यवस्था र ट्राफिक व्यवस्थापनमा  सहजता ल्याउनका लागि विभिन्न स्थानमा सिसी क्यामरा जडान गर्ने योजना  ल्याइएको छ । यसैगरी स्वास्थ्य क्षेत्रमा नेपाल मेडिकल कलेजसंँगको सहकार्यमा  वडाभित्र एक घर, एक डाक्टर अभियान सञ्चालन गरिने भएको छ ।