विजय ढकाल
भारतको पूर्वोत्तर राज्य त्रिपुरामा भर्खरै भएको प्रदेश स्तरीय निर्वाचनमा लामो समयदेखि त्यहाँ सत्तासीन भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)ले नराम्रो पराजय भोग्यो । त्यो पनि आजसम्म त्रिपुरामा कहिल्यै बलियो हुन सक्ने नठानिएको भारतीय जनता पार्टीको हातबाट । 

पछिल्ला निर्वाचनमा भारतका पूर्वोत्तर राज्यहरुमा एकपछि अर्को विजयको झण्डा फहराउँदै गएको बिजेपीले त्रिपुराको जीतलाई विशेष मान्नु स्वाभाविक थियो । माक्र्सवादी पार्टीले २५ वर्षदेखि राज्यमा एकछत्र शासन गरिरहेको थियो, त्यहाँका मुख्यमन्त्री माणिक सरकार कम विवादित र भ्रस्टाचार नगर्नेमा गनिन्थे । त्यसैले उनको ठूलो हारको कल्पना भाकपा माक्र्सवादीले गरेको थिएन । तर जब गत फागुन १९ गते चुनावी परिणाम घोषणा भयो, तब देखियो कि बिजेपीले आफ्ना सहयोगी दल सहित पपुलर भोटको ५० प्रतिशत भन्दा बढि प्राप्त गर्यो भने विधान सभामा ४३ सिट सहित प्रचण्ड बहुमत ल्यायो । माक्र्सवादी पार्टीले करिब ४५ प्रतिशत मत सहित १६ सिट प्राप्त गर्यो । 

बिजेपीको वैचारिक जीतको दावीमा वाम–घृणाको मिश्रण
त्रिपुराको जीतलाई बिजेपीले आफ्नो वैचारिक जीत घोषणा गर्यो । दिल्लीस्थित बिजेपी मुख्यालयबाट प्रधानमन्त्री नरेन्द्र मोदी र बिजेपी अध्यक्ष अमित साहले भारतलाई अब ‘कम्युनिस्ट मुक्त’ बनाउने घोषणा गरे । यसको ४८ घण्टा नपुग्दै त्रिपुरामा निस्केको बिजेपी समर्थक हरुको जुलुसले बेलोनिया बजारको कलेज चोकमा उभ्याइएको रुसी कम्युनिस्ट क्रान्तिनायक भी आई लेनिनको शालिक जेसिबी लगाएर ढाले । यो शालिक पाँच वर्षअघि त्रिपुरामा माक्र्सवादी शासनको २० वर्ष पूरा भएको अवसरमा निर्माण गरिएको थियो । 

बिजेपी समर्थकले शालिक मात्र ढालेनन्, जोरशोरले राष्ट्रवादी नारा लागाए र ढल्दा टुटेको लेनिनको कृत्रिम टाउकाको फूटबल खेले भनी  संचारमाध्यमले उल्लेख गरेका छन् । यस शैलीको मुख्य मनोवैज्ञानिक पक्ष बिजेपीले वामपन्थी दलसँग भिड्न प्रयोग गरेको ‘आयातीत विचार भर्सेस स्वदेशी विचार’को न्यारेटिभसँग जोडिएको छ । 

संगठित वाम कार्यकर्ताको सामना गर्न बिजेपीले अघि सारेको ‘राष्ट्रिय विचार रोज्ने कि विदेशी ?’ भन्ने प्रश्न जति कारगर सावित भयो, धार्मिक र साम्प्रदायिक विभाजन पनि त्यत्तिकै असरदार चुनावी हतियार बन्यो । भारत मात्र होइन, संसारका धेरै देशको उदाहरण अवलोकन गरेर नेपाली वामपन्थले बुझ्नुपर्ने मूल विषय के हो भने उसको संगठित शक्तिसँग लड्न अब विस्तारै दक्षिणपन्थी राष्ट्रवादले यहि वा यस्तै हतियार परयोग गर्छ । इतिहासमा उभ्याइएका शालिक ढाल्नु राजनीतिमा जीतको प्रतीकात्मक दावी हो !

संगठित वाम शक्तिसँग धार्मिक राष्ट्रवाद मात्र लड्न सक्छ, उदारबाद होइन
नेपाली कांग्रेसको जिजीविषाशून्य नेतृत्व र खिया लागेको मेशिनरीसँग एकीकृत वामशक्तिको सामना गर्ने न सामथ्र्य छ, न त कुनै बलियो वैचारिक हतियार । त्यसैले कांग्रेस वरिपरी रहेको ठूलो शक्ति विस्तारै विनिर्मित हुने क्रम शुरु हुन्छ वा कांग्रेसको वैचारिक प्रस्थापनाको बिजेपीकरण (हिन्दु प्लस राष्ट्रवाद) शुरु हुन्छ । डेढ वर्षपछि भारतमा हुने चुनावमा हिन्दु राष्ट्रवादको धारा कतिको बलशाली हुन्छ भन्ने निक्र्यौल भएसँगै नेपालमा कांग्रेस कता जान्छ भन्ने टुंगो लाग्छ । बिजेपीले आफ्नो जीत दोहोर्याउने अनुमान धेरैले गरेका छन् ।

सन् १९९० मा पूर्वी युरोपेली देशहरुमा कम्युनिस्ट शासन ढलेपछि विश्वले देख्यो कसरी शासन ढलेसँगै शालिकहरु पनि ढल्छन् । सोभियत संघ विघटन हुँदा पहिलो आक्रमण सोभियत खुफिया एजेन्सी केजीबीका संस्थापक फेलिक्स झेर्झिन्स्कीको शालिकमाथि भएको हो । त्यसैबेला पोल्यान्डमा लेनिनका शालिक हटाएर पोप जोन पौल द्वितीयका शालिक उभ्याइए । पोप जोन पौल पोलिश नागरिक  थिए, अत्यधिक जनसंख्या रोमन क्याथोलिक भएको पोल्यान्डमा उनको नामसँग भावानात्मक साइनो हुने नै भयो । 

युक्रेन स्वतन्त्र भएपछि लेनिनका शालिकहरु हटाउने अभियान नै शुरु भयो । जम्मा १३२० वटा लेनिनका शालिक बिस्थापित गरिए विभिन्न शहर र गाउँबाट । पूर्वी जर्मनीबाट भने कम्युनिस्ट शासन बिस्थापित भए पनि लेनिन लगायत पूराना तानाशाह हरुका शालिक ‘शैक्षिक र पूरातात्विक कारण’ देखाउंदै जर्मन सरकारले हटाएन । हटाउन माग राख्नेलाई त्यसबेलाका जर्मन चान्सलर हेल्मुट कोलको जवाफ हुन्थ्यो– हाम्रो लोकतन्त्र ती शालिक भन्दा धेरै बलियो छ भन्ने देखाउन पनि म तिनलाई उभिएको हेर्न चाहन्छु । 

रुस वा पूर्वी युरोप जस्तो बलपूर्वक स्थापित होस् भारतको त्रिपुरा वा केरलामा जस्तो चुनाबबाट, वाम र कम्युनिस्ट शक्तिलाई परास्त गर्न प्रयोग गरिएको अहिलेसम्मको सबैभन्दा सफल हतियार दक्षिणपन्थी राष्ट्रवाद (धर्म मिसिएको राष्ट्रवाद) नै हो । 

नेपालमा प्रतिपक्षी नेपाली कांग्रेस, जो परम्परागत रुपले उदारवादी लोकतन्त्रमा विश्वास राख्छ, विस्तारै कमजोर हुँदै जाँदा वामको विकल्पमा उदाउन सक्ने शक्ति त्यस्तै दक्षिणपन्थ हो । कमल थापाले यसको प्रयोग गर्न नखोजेका होइनन् । आफ्नो दल पुनर्निर्माणको प्रक्रियामा रहेकै बेला उनले सत्ताको चास्नीमा विश्वसनीयता डुबाइदिएकाले मात्र उनको पूरा पतन भएको हो । 

नेपाली वामहरू भारतीय  र पूर्वी युरोपेली कम्युनिस्ट भन्दा फरक छन्
आज त्रिपुरामा ढलेको शालिकको नियति हेरेर नेपाली वामपन्थ अलिकति मुस्कुराउन सक्छ, किनभने   नेपाली वामपन्थ शालिक राजनीतिमा मुछिएको छैन । यसको आधारभूत कारण राष्ट्रियताको आन्दोलनसँग स्थापनकालदेखि नै वामहरु जोडिएकाले हो । चीनमा जसरी माओले राष्ट्रिय मुक्ति आन्दोलनलाई कम्युनिस्ट आन्दोलनसँग जोडे, करिब त्यसरि नै नेपाली कम्युनिस्ट हरुले आफूलाई देशभक्तिपूर्ण राजनीतिमा जोडे । 

नेपालले उपनिवेशवाद बिरुद्ध स्वतन्त्रता संग्राम लड्नु परेन, तर निरन्तर क्षेत्रीय प्रभुत्ववादको चेपुवामा परेर आफ्नो राष्ट्रिय व्यक्तित्व विकासको खोजी गर्दा सहनुपरेको भुक्तमान कुनै स्वाधीनताको संघर्ष भन्दा कम छैन । यो संघर्ष एक्काइसौँ शताव्दीको तेस्रो दशक शुरु हुनै लाग्दा पनि टुंगिएको छैन ।  त्यसैले वाम कित्ताबाट खोसेर राष्ट्रियताको नारामा दक्षिणपन्थी बिजेपी स्टाइलको राजनीति जगाउन नेपालमा केही दशक लाग्न सक्छ । 

नेपाली विचारको निरन्तर विकास 
चुनाबअघि अन्नपूर्ण पोस्टका प्रधान सम्पादक विजयकुमारलाई दिएको एउटा अन्तर्वार्तामा वर्तमान प्रधानमन्त्री केपी ओलीले सारांशमा भनेका छन्– माओबादी र एमाले एक भएर बन्ने नयाँ पार्टी वामपन्थी–देशभक्त हुन्छ । ५० वर्षे राजनीतिक जीवनको निश्कर्षमा उनले देशभक्तिपूर्ण आन्दोलनसँग गाँसिएर नेपाली कम्युनिस्ट हरुले विचारको फरक विकास गरेको बताएका हुन् । 

पार्टी स्थापनका बखत पुष्पलालले लिएको संविधान सभाको पक्ष होस् वा पछि बहुदल स्थापनका लागि कांग्रेससँग संयुक्त संघर्षको कार्यनीतिक लाइन, नेपाली कम्युनिस्टहरु कहिल्यै पनि शास्त्रीय माक्र्सवादी, लेनिनवादी वा माओवादी होइनन् । मदन भण्डारीले जनताको बहुदलीय जनवादको विकास गर्दा आन्दोलनको एउटा धारा माओवादी हतियारबन्द संघर्षको जोरजाम गर्दैथियो । आधुनिक लोकतन्त्र अर्थात् प्रतिस्पर्धात्मक राजनीतिक प्रणालीको म्याट्रिक्स नै यति फराकिलो हुन्छ कि यसभित्र सबैखाले वादहरू अटाउन सक्छन्, हतियार बोक्नेहरु शुद्ध हुन सक्छन् । अर्थात्, प्रतिस्पर्धामा खारिएपछि त्यसमा सामेल हुने दल शुद्ध लोकतन्त्रवादी हुन सक्छ । त्यहि कारण हो कि जबज प्रतिपादन हुँदा हतियार बोक्ने धारा अहिले जबजकै प्रवाहमा मिसिएर नयाँ वैचारिक  विकासको बाटो पहिल्याउन खोजिरहेछ । 

माओवादी अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियामा आएदेखि नै वा अझै अघिदेखि नछुटाउने एउटा नाम मदन भण्डारीको हो । देशभक्ति र लोकतन्त्रको संयोजनबाट निस्कने राजनीतिको बल दुर्भेद्य किल्ला जस्तो हुन्छ भन्ने उनले  बेलैमा बुझेका हुन् । प्रचण्डकै पुरानो धार समातेर विप्लब र वैद्यहरु क्रान्ति गर्ने  त भनिरहेका छन्, तर उनीहरुले गर्ने भनेको क्रान्तिपछिको समाज आजको वाम मूलधारले  विकास गरेर लैजाने प्रणाली भन्दा भिन्न हुने न कुनै लक्षण छ न त कुनै वैचारिक दमखम !   

जसरी १० वर्षको माओबादी जनयुद्ध अन्ततः जबजको भंगालोमा पुग्यो, त्यसरी नै विप्लवहरु पनि आफू चढेको सपनाको वायुपंखी घोडाबाट व्यवहारिक राजनीतिको धरातलमा नओर्ली सुख छैन । अलिनो भएपनि ‘बेग्लै पकाएर खिचडी खाएको’ गर्व गर्ने भए बेग्लै कुरा हो ! विचारको विकास शास्त्रका सुत्रलाई आजको व्यवहारमा मिसाएर मात्र हुन्छ, सुत्र घोकेर होइन । 

फोटाहरु बदल्नुपर्छ, शालिकका पछि कुद्नु हुन्न 
वामपन्थीहरु आफूलाई भौतिक भएको दावी गर्दै माक्र्स, एंगेल्स, लेनिन, स्टालिन र माओका तस्बिर वा शालिक वरिपरी जम्ने विरोधाभाषबाट मुक्त हुनुपर्छ । माथि नै भनियो, नेपाली वामपन्थ विचारको जड्सुत्रबाट विकास भएको होइन । माक्र्स दार्र्शिनक थिए । उनका विचार पक्डेर अर्थशास्त्रमा थप विकास गर्ने जोन मेनार्ड केन्स, हुन् वा गैर माक्र्सेली दार्शनिकहरु रसेल वा आदम स्मिथ नै किन नहुन्, फोटा वा शालिकका पछि दौडेर समय बर्वाद गर्ने बेला होइन अबको समय । चिनियाँहरु माओको फोटो वा शालिक प्रयोग गर्छन्, माक्र्स वा लेनिनको होइन । 

कुनैपनि दर्शनमा आधारित रहेर राष्ट्रिय विचारको विकास गरिएको छ भने त्यही राष्ट्रिय  विचारक वा चिन्तकले प्राथमिकता पाउनुपर्छ भन्ने सोच र दृष्टिकोण संसारका हरेक देशभक्त नागरिकसँग हुन्छ । बीज दर्शन माक्र्सको हो, तर पुष्पलाल लगायतले स्थापना गरेको पार्टी मदन भण्डारीको विचारको दिशानिर्देशबाट यहाँसम्म आइपुगेको छ । 

राम्रो के छ भने नेपाली वामपन्थले लेनिनको शालिक बनाउनुपर्ने आवश्यकता ठानेन । अब नयाँ एकीकृत वामदलको कार्यालयमा नेपाली माटोको सुवास दिने पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीका तस्बिर देख्न पाइयोस् । देशको वाम आन्दोलनलाई एकीकृत गर्न सफल केपी ओली र प्रचण्डका तस्बिर राखे हुन्छ । नेपाली नेतृत्वकै योगदान र मार्गदर्शनले यो आन्दोलनको विकास भएको हो । बिदेशी नेता र दार्र्शिनकका तस्बिरपुजन  आवश्यक छैन । भारतको त्रिपुरामा ढलेको लेनिनको शालिकले छिमेकमा हामीलाई यहि भन्छ ।