डा. बिन्दा पाण्डे

राष्ट्रिय सभामा सुरु पेस गरिएको ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक छलफलको क्रममा अहिले प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिमा छ । यो विधेयकको सबैभन्दा चर्चामा रहेको प्रावधान हो– आमाबाबुप्रति सन्तानको दायित्वका रूपमा ‘सार्वजनिक पद धारण गरेको वा नियमित पारिश्रमिक पाउने गरी कुनै सङ्घसंस्थामा काम गर्ने व्यक्ति वा व्यापार व्यवसाय वा स्वरोजगारी गर्ने व्यक्ति वा निवृत्तीभरण प्राप्त सन्तानले आफ्नो आम्दानीको तोकिए बमोजिमको रकम ज्येष्ठ नागरिक आमाबाबुको बैङ्क खातामा जम्मा गरिदिनु पर्नेछ । यसो गर्दा आमाबाबु सगोलमा रहेछन् भने संयुक्त खाता र फरक फरक रहेछन् भने छुट्टाछुट्टै खातामा जम्मा गरिदिनुपर्नेछ । ’ 

ज्येष्ठ नागरिकप्रति सन्तान वा घरपरिवारबाट हुन थालेको अपहेलना वा बेवास्ताको सन्दर्भलाई हेर्दा यो व्यवस्था आवश्यक लाग्दछ । यो व्यवस्थामा छलफल भइरहँदा धेरै आमाबाबु खुसी भएको पनि देखिन्छ । तर मानव मर्यादा, स्वभाव र बदलिँदो सामाजिक संरचनासँगै यस किसिमको व्यवस्था गर्दै गर्दा आवश्यक ध्यान पुग्न सकेन भने यसको कार्यान्वयन र नतिजा सुखद नहुन पनि सक्छ । यस पक्षमा सार्वजनिक रूपमा बहस हुन जरुरी छ । 

पहिलो कुरा सन्तानप्रतिको आमाबाबुको दायित्व र आमाबाबुप्रति सन्तानको दायित्व मानव मर्यादाको विषय हो । यो आर्थिक लेनदेनको पक्षमात्र होइन । यो धनसँग भन्दा बढी मनसँग जोडिएको विषय हो । कुनै सन्तानले आमाबाबुप्रति निर्वाह गर्नुपर्ने मानवीय मर्यादासहितको व्यवहार केही रकम दिएर मात्र पूरा हुँदैन । तर कतिपय सन्तान आफू जवान भइसकेपछि आमाबाबुप्रतिको दायित्वबाट विमुख हुने प्रवृत्ति बढ्दै गएको अवस्थामा यो कानुनमा यस किसिमको प्रस्ताव आएको हो भन्ने पनि सहजै अनुमान गर्न सकिन्छ । यस सन्दर्भमा केही विषयमा ध्यान दिनु जरुरी छ– 

मानव जातिका लागि समाज सबैभन्दा महत्वपूर्ण पक्ष हो । अनि परिवार हरेक व्यक्तिका लागि सबैभन्दा सुरक्षित र सुन्दर ठाउँ हो । अझ मानिस वृद्ध हँुदै गएपछि उसलाई परिवार, आफन्त र समाजको बढी आवश्यकता पर्दछ । बाहिर काम गर्न जान वा हिँडडुल गर्न नसक्ने भएपछि समय बिताउन र आफ्ना कुराहरू सुनिदिने व्यक्तिको अभाव हँुदै जान्छ । तर परिस्थितिले सिर्जना गरेको व्यस्तताका कारण परिवारका सदस्यलाई ज्येष्ठ नागरिकका कुरा सुन्ने र सँगै बिताउने समयको अभाव हँुदै गएको छ ।

यो कुरालाई परिवारका सदस्यले बुझ्ने र ज्येष्ठ नागरिकप्रति सम्भव भएसम्म समय बिताउने, कुरा सुन्ने र उनीहरूको जीवनलाई बुझ्ने कोशिस गर्नु नितान्त आवश्यक छ । खान, लाउन र भौतिक सुखसुविधाले मात्र मानव मर्यादा पूरा हुन सक्दैन । मानिस भौतिक रूपमा सुखी हुँदैमा मानसिक रूपमा खुशी हुन्छ भन्न पनि सकिँदैन । ज्येष्ठ नागरिकका अनुभव र अनुभूति नयाँ पुस्तामा पुस्तान्तरण गर्ने काम मानव समाजको अत्यन्तै महत्वपूर्ण पक्ष हो । यस किसिमको काममा परिवारदेखि शिक्षण संस्था र राज्यसम्मले ध्यान दिन सक्नु सामाजिक दृष्टिकोणबाट नै महत्वपूर्ण हुन्छ । तर यो पक्षमा समाजको आवश्यक ध्यान पुगिसकेको अवस्था छैन ।
 
चाहेर पनि आजका नयाँ पुस्ताका मानिस ज्येष्ठ नागरिकसँग पर्याप्त समय बिताउन नसक्ने समस्या गाउँमा भन्दा सहरमा बढ्दो क्रममा छ । एक्लोपनले मानिसमा बढी नैराश्य बढ्ने क्रममा यो गम्भीर प्रकृतिको रोगका रूपमा समेत रूपान्तरण हुन थालेको छ । यस कुरालाई परिवारका सदस्य र अब राज्यले समेत बुझ्न र उपयुक्त वैकल्पिक व्यवस्था गर्नतर्फ सोच्नुपर्छ । ज्येष्ठ नागरिक आफैँले पनि समय अनुसार आफूलाई रूपान्तरण गर्न र सकेसम्म व्यस्त राख्ने उपाय खोज्नुपर्दछ । आफ्ना अनुभवलाई लिपिबद्ध गर्ने, समाज र सामाजिक सङ्घसंस्थामा स्वयंसेवीका रूपमा नै पनि सकेको जानेको काम गर्ने र समयको बिताउने संस्कारको विकास गर्नुपर्दछ । यसो गर्दा आफ्नो क्षमताको पनि सदुपयोग हुने र समाजमा थप सामाजिक मूल्य र मान्यता स्थापित गर्न सकिन्छ । ज्येष्ठ नागरिकको सम्मानमा यो असाध्यै महत्वपूर्ण पक्ष हो । 

आज धेरैजसो मानिस कामको सन्दर्भले गर्दा आमाबाबुसँग बस्न सक्ने अवस्थामा हुँदैनन् । धेरै सन्तानहरू गाउँबाट सहर र सहरबाट विदेश जाने क्रम बढ्दो छ । तर आमाबाबुहरू आफ्नो थातथलो र दौँतरी छाडेर सन्तानसँगै जान पनि चाहँदैनन् । यस्तो अवस्थामा मध्यम र उच्च वर्गका परिवारले आमाबाबुको इच्छा अनुसार हेरचाह गर्ने व्यक्ति राखिदिने वा आफ्नो हैसियत अनुसारको रकम तिरेर दौँतरीहरूसँगै ज्येष्ठ नागरिक आश्रमहरूमा बस्ने चलन पनि सुरु भएको छ । तर यस किसिमको व्यवहारप्रति समाज पूर्णतः सकारात्मक बनिसकेको छैन । विगतमा हेरचाह गर्ने कोही नहुँदा मात्र आश्रममा बस्ने भन्ने सोच विस्तारै परिवर्तन हँुदैछ । तर यसलाई थप सहज र उपलब्ध बनाउनुका साथै सामाजिक सोचलाई समेत सकारात्मक बनाउनु जरुरी छ । किनकि घरमा एक्लो जीवन जिउँदा हुनसक्ने उमेरजन्य समस्याबाट मुक्त हुन पनि यस किसिमबाट आफ्नो पुस्ताका दौँतरीसँग बस्ने र समय बिताउने कुराले सहयोग गर्दछ । अधिकार र दायित्व एउटै सिक्काका दुई पाटा हुनुपर्दछ । नयाँ संविधानले सानो हँुदाखेरी आमाबाबुको सबै सन्तानप्रति समान दायित्व हुने र उनीहरूको सम्पत्तिमा पनि सबै सन्तानको समान हक लाग्ने व्यवस्था गरेको छ । त्यसैगरी आमाबाबु वृद्ध अवस्थामा पुगेपछि उनीहरूप्रति सबै सन्तानको दायित्व पनि समान हुनु स्वाभाविक हो । छोरा र छोरीको अधिकार समान भए झैँ दायित्व पनि समान हुनुपर्ने स्वाभाविक हो । अनि विवाहपछि श्रीमान्को आमाबाबुप्रति बुहारीको दायित्व हुन्छ भने श्रीमतीको आमाबाबुप्रति ज्वाइँको पनि दायित्व हुने कुरा स्वाभाविक हुनुपर्दछ । 

अहिलेको विधेयक अनुसार सन्तानले आफ्नो कमाइको तोकिए बमोजिमको निश्चित प्रतिशत रकम आमाबाबुको बैङ्क खातामा राख्नुपर्ने विषयमा छलफल भइरहेको छ । यस विषयमा स्पष्ट हुनु जरुरी छ कि उक्त रकम सबै सन्तानले आ–आफ्ना आमाबाबुको खातामा राख्ने हो ? वा दुवै तर्फकाले सासु–ससुराको खातामा पनि राख्नुपर्ने हो ? त्यसैगरी, सन्तानको अवस्था पनि छ । सगोलमा भएका, छुट्टिई भिन्न भएका, विदेश गएका र विदेशी नागरिकता लिएका लगायत फरकफरक अवस्थामा रहेका सन्तानबाट उक्त रकम कसरी उपलब्ध गराउने ? किनकि यो विषय दायित्व अनुभूत गर्ने सन्तानका लागि भन्दा पनि दायित्व विमुख हुँदै गएका सन्तानसँग जोडिएको छ । त्यसैगरी बहुसङ्ख्यक नेपाली अनौपचारिक क्षेत्रमा काम गर्ने र आफ्नो व्यापार व्यवसाय गर्ने स्वरोजगार छन् । उनीहरूको आम्दानीको प्रतिशत कसले र कसरी तोक्ने भन्ने विषय सहज छैन । अझ यस्तो व्यवस्था गरिरहँदा पारिवारिक सम्बन्ध र दुनियाँकै अगाडि उदाहरणीय रहँदै आएको नेपाली संस्कार र संस्कृतिमा नकारात्मकताले प्रश्रय नपाओस् भन्ने बारेमा सूक्ष्म विश्लेषण हुनुपर्छ । हो, आमाबाबुप्रतिको दायित्व धनसँगभन्दा बढी मनसँग जोडिएको विषय हो । हाम्रो सम्पूर्ण पहल ज्येष्ठ नागरिकले परिवारमा नै सम्मानपूर्वक रहने अवस्थाको सिर्जना गर्नुमा नै हुनुपर्दछ । 

वृद्ध अवस्थामा ज्येष्ठ नागरिकहरू अलि बढी ढुक्क हुनका लागि आफूसँग भएको सम्पत्ति आफूखुसी गर्न पाउने व्यवस्था पनि एउटा उपाय हुनसक्छ । यस सन्दर्भमा देवानी संहिता बन्दै गर्दा इच्छापत्रको व्यवस्था गर्ने कि भन्ने बारेमा पनि छलफल भएको थियो । अनि हाम्रो सन्दर्भमा त्योभन्दा पनि आमाबाबुको जीवन रहेसम्म उनीहरूको सम्पत्तिमाथिको स्वामित्व उनीहरूमा नै रहने व्यवस्था गर्दै जीवनपर्यन्त बाँकी रहेको सम्पत्ति सबै सन्तानले समान रूपमा पाउने व्यवस्था गरौँ भन्ने पनि छलफल भएको थियो । त्यसो हुन सकेको भए कम्तीमा सम्पत्ति भएका ज्येष्ठ नागरिकहरूले स्वनिर्णयको आधारमा आफ्नो सम्पत्तिको सदुपयोग गर्न सक्ने थिए । वृद्धावस्थामा आर्थिक कारणले परिवारमा पूर्णतः आश्रित हुन पर्दैनथ्यो । यसले आत्मविश्वास बढाउने थियो । तर हामीले त्यस्तो व्यवस्था गरेनौँ । 

यस किसिमको छलफलको आधार भनेको त्यसो गर्न सक्दा कतिपय मुलुकमा जीवनको उत्तराद्र्धमा सन्तानले बेवास्ता गरेमा राज्यले आफ्नो नागरिकको हेरचाह गर्ने, अनि उनको सम्पत्ति छ भने लागेको खर्च सोही सम्पत्तिबाट उपर गर्ने गरिन्छ । आमाबाबुप्रतिको दायित्व निर्वाह नगर्ने सन्तान भएका कतिपय आमाबाबुले आफ्नो सम्पत्ति स्वेच्छाले राज्य वा आफूलाई हेरचाह गर्ने संस्थालाई दिन पनि सक्छन् । त्यसो गर्न नचाहने आमाबाबुको बाँकी रहेको सम्पत्ति सबै सन्तानलाई बराबरी दिने गरिन्छ । तर निर्धन व्यक्तिका हकमा राज्यको सामाजिक सुरक्षा अन्तर्गतबाट खर्च गर्ने व्यवस्था गरेको पाइन्छ । 

हामी अहिले जसरी ज्येष्ठ नागरिकको दायित्व राज्यको भनिरहेका छांँ, केही र कोही नहुने नागरिकको हकमा यो दायित्व राज्यले निर्बाध रूपमा लिनुपर्दछ । तर सम्पत्ति हुने व्यक्तिको हकमा सम्पत्ति सन्तानले उपभोग गर्ने तर आमाबाबुप्रतिको दायित्व पूर्णतः राज्यको हुनुपर्छ भन्नु न्यायसङ्गत हुनसक्दैन । यस सन्दर्भमा सकेसम्म आमाबाबुलाई परिवारमा नै रहने वातावरण सिर्जना गरिनु पर्दछ । यदाकदा कसैको सन्तानले नहेरेमा परिवारलाई आर्थिक रूपमा जिम्मेवार बनाएर आमाबाबु स्वाभिमानपूर्वक बाँच्ने आधार तयार गर्नुपर्दछ । त्यो पनि नभएको अवस्थामा सम्मानपूर्वक रहन, बस्न सक्ने ज्येष्ठ नागरिक आवास गृहहरू स्थानीय तहदेखि प्रदेश र सङ्घीय तहमा पनि व्यवस्था गरिनुपर्दछ । यस्ता आवास गृहमा असहायहरू मात्र बस्ने भन्ने किसिमको सोच बदल्दै सबै वर्ग, पेशा र व्यवसायका ज्येष्ठ नागरिकहरू स्वेच्छाले मानव मर्यादापूर्वक बस्ने स्थानका रूपमा स्थापित गरिनुपर्दछ । सम्बन्धित पक्षहरूले यस्ता केन्द्रलाई सहज, सुविधा सम्पन्न, बहुउपयोगी, सम्मानित र मर्यादित बनाउनुपर्छ ।

                                                       लेखक नेकपाका केन्द्रीय सदस्य तथा सांसद हुनुहुन्छ । गोरखापत्रबाट साभार