बिनु पोखरेल

तीनवर्ष अघि नेपालको मध्यपहाड र हिमाली जिल्लाहरुलाई महा भूकम्पले तर्सायो । भूकम्पले सर्वत्र धनजनको क्षति भइरहेका बेला आफन्त र परिवार सदस्यहरु सुरक्षित रहेको खवर छिटो प्रवाह गर्न सामाजिक सञ्जालमा ‘सेफ मार्किङ’को ट्रेण्ड चलेको थियो । फेसबुक ट्विटरमा आफू सुरक्षित रहेको ‘टिकमार्क’ लगाएर धेरैले त्यसबेला परिवार र आफन्तसम्म सन्देश पुर्याएका थिए । भूकम्पको  तीन वर्षपछि अहिले आफू सुरक्षित भएको सूचना केहिले दर्ता गराएका छन् । तीन वर्ष अघिको भूकम्पमा आफू सुरक्षित भएको सूचना सामाजिक सञ्जामा आइरहेका बेला नेपालको सबैभन्दा पुरानो दल नेपाली कांग्रेस तीन वर्षअघि भारतले लगाएको नाकाबन्दी विरुद्ध भातृ संगठनलाई सडकमा उतारिरहेको छ । 

जतिबेला भारतले नेपालको संविधान विरुद्ध नाकाबन्दी नै लगाएर संविधान संशोधन गर्न दवाव दिएको थियो, त्यतिबेला नेपाली कांग्रेस संशोधनको मस्यौदा बोकेर लैनचौर–दिल्ली ओहोरदोहोर गरिरहेको थियो । संविधान संशोधन विधेयक संसदबाट असफल भएपछि कांग्रेस सभापति तथा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसामु संशोधन गर्न नसकेको निरिह स्पष्टिकरण दिएका थिए । दुई देशका प्रधानमन्त्री बीचको संयुक्त पत्रकार सम्मेलन दिल्लीमा आयोजित थियो, संसारसामु प्रत्यक्ष प्रशारण गरिएको त्यस सार्वजनिक समारोहमा देउवाले भारतले भने बमोजिम संविधान संशोधन गर्न नसकेकोमा क्षमा मागेका थिए । शेरबहादुरको त्यस कृत्यलाई नेपाली राष्ट्रिय जनमतले ‘लम्पसारवाद’को संज्ञा दिएको थियो । 

आफ्नो देशको आन्तरिक राजनीति र सार्वभौमसत्ताको निर्णायकत्व खुलेआम विदेशीलाई दिने शेरबहादुर देउवाको पार्टी नेपाली कांग्रेस अहिले तीन वर्षपछि भूकम्पको ‘सेफ मार्किङ’ गरेजसरी नाकाबन्दी सम्झेर सडकमा भातृ संगठनलाई उतारिरहेको छ र त्यस पार्टीको भविश्य भनिएका नेता गगन थापा नाकाबन्दीको कोर्ष करेक्सनलाई ‘लम्पसारवाद’ भनिरहेका छन् । मानौ सम्बन्ध सुधार्न आएका छिमेकी देशका प्रधानमन्त्रीलाई स्वागत सत्कार गर्नु लम्पसार हो र नेपालको आन्तरिक मामिलामा छिमेकीलाई नै निर्णायक बनाउनु उसले भनेजस्तो गरी संविधान संशोधन गर्नु स्वाभीमान हो । 

विगतमा लम्पसार कसरी भयो ? पहिले त्यसको पृष्ठभूमि नियालौं । 

नेपालको संविधान सभाले संविधान जारी गर्न खोज्दा भारतले विशेष दूत पठाएर त्यसलाई रोक्न दवाव दियो । कांग्रेस भारतको उक्त दवावसामू झुकेर संविधान रोक्न चाहन्थ्यो । एमाले र माओवादी संविधान जारी गर्ने पक्षमा उभिए । नेपाल पक्षले भारतीय दवाव अस्वीकार गरी संविधान जारी गरेपछि भारतले नाकाबन्दी लगायो । कांग्रेसले त्यसबेला पार्टी बैठकमा भारतीय नाकाबन्दीलाई नाकाबन्दी भन्न मिल्दैन भन्यो । नाकाबन्दी भन्यो भने भारतसँग सम्बन्ध विग्रन्छ भन्यो । संविधान संशोधन गर्ने भारतीय दवावलाई अस्वीकार गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई कांग्रेसले खोक्रो राष्ट्रवादी भन्यो, छिमेकीसँग सम्बन्ध विगारेको आरोप लगायो । संविधान संशोधनको बाचा नगरी ओलीले नाकाबन्दी पराजित गरे । जनताले ओलीलाई साथ दिए । कांग्रेसका सबैजसो नेताहरुले भारतले नाकाबन्दी नलगाएको दलील पेश गरे । 

नयाँ जनमत लिएर अहिले फेरि ओली प्रधानमन्त्री छन् । नेपालको संविधान संशोधन गराउन नाकाबन्दीको अस्त्र समेत प्रयोग गरेको भारत नेपालसँग सम्बन्ध सुधारको चरणमा छ । त्यसै क्रममा प्रधानमन्त्री ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण भयो । यी दुवै भ्रमणमा नेपालको संविधान संशोधन लगायत आन्तरिक मामिला छलफलको विषय बनेनन् । अर्थात् हिजो ओलीको जे अडान थियो भारतले त्यसलाई स्वीकार गर्यो । दुवै उच्चस्तरीय भ्रमणका संयुक्त वक्तब्य, पत्रकार सम्मेलन र अन्य मन्तब्यहरुमा नेपालको संविधान संशोधनबारे उल्लेख नहुनु त्यसको प्रमाण हो । तर, हिजो भारतले संविधान संशोधनका लागि समयसीमा सहितको भारी बोकेर आउने कांग्रेस आन्तरिक मामिलामाथि भारतबाट कुनै टिप्पणी नहुनु र अझ भारतीय प्रधानमन्त्री मोदीले नेपालको आन्तरिक मामिलामा हाम्रो चासो छैन भन्नुलाई लम्पसार भन्छ । कांग्रेसको बूढो भएको स्मृति चेतनाले त त्यसो भन्नु स्वाभाविक मान्न सकिएला तर, केहि दिनअघि कांग्रेसको भविश्य ठानिएका गगन थापाले समेत तथ्यहीन वक्तब्य दिएपछि कांग्रेसको ‘सेफ मार्किङ’माथि प्रश्न उठेको छ । 

कांग्रेसका देउवा र एमालेका ओली प्रधानमन्त्री भएको एक वर्ष यताको छोटो कार्यकाललाई अव केहि तथ्यगत तुलना गरौं । 

हिजो शेरबहादुर देउवा प्रधानमन्त्रीका रुपमा भारत जान्थे । भारतीय प्रधानमन्त्री मोदी समयसीमा दिएर संविधान संशोधन गर्न र आफूले रणनैतिक रुपमा प्रयोग गरेका मधेस केन्द्रित दललाई सन्तुष्ट पार्न आदेश दिन्थे । शेरबहादुर संविधान संशोधनको मस्यौदा बनाउँथे, संसदमा प्रस्तुत गर्थे । संसदले फेल गथ्र्याे । अनि फेरि दिल्ली पुगेर ‘यसपटक संशोधन गर्न सकिन, फेरि प्रयास गर्छु’ भनेर स्पष्टिकरण दिन्थे । नेपालको संविधान संशोधनमा दिल्लीको निर्णायकत्वको त्यो दृश्य गगन थापाको दृष्टिमा लम्पसारवाद होइन । 

गगन थापाको दृष्टिमा यो लम्पसारवाद हो– शेरबहादुरले जस्तो मोदीका अगाडि सार्वजनिक मञ्चमा नेपालको संविधान संशोधन गर्छु भन्नुपथ्र्याे ओलीले भनेनन् । शेरबहादुरलाई जस्तै मोदीले संविधान संशोधनको समयसीमा ओलीलाई दिनुपथ्र्याे, दिएनन्– यो लम्पसारवाद हो । बरु मोदीले नेपालको आन्तरिक मामिलामा हाम्रो सरोकार छैन, हामी विकासमा साझेदारी चाहन्छौं भने, यो लम्पसारवाद हो । हिजो हाम्रो संविधान संशोधन गर्न हामीलाई समयसीमा दिने गरेका मोदी अहिले विगतमा तय भएका विकास आयोजना कार्यान्वयनका लागि नेपालबाट समयसीमा लिएर फर्के–यो लम्पसारवाद हो । नेपालमा प्रवेश गर्ने एउटा मात्रै हवाई रुटले नेपाल अप्ठ्यारोमा परेको थियो, चारवटा हवाई रुट दिन भारत सहमत भयो–यो लम्पसारवाद हो । भारतले प्रतिबन्ध लगाएका नोट नेपालमा छन्, त्यसलाई सटहीको प्रवन्ध गर्न भारत सहमत भयो– गगनका दृष्टिमा यो लम्पसारवाद हो । भारतीय लगानीका आयोजनाबाट मात्रै भारतले विद्युत किन्ने भारतको विद्युत निर्देशिका परिवर्तन गर्न ओलीले भारतलाई सहमत गराए–यो लम्पसारवाद हो । भारतीय संसचनाका कारण नेपालको तराईको डुबान समस्या समाधान गर्न भारत तयार भयो–यो लम्पसारवाद हो । गगन थापाले प्रधानमन्त्री ओलीले घुँडा टेक्दा घुँडामा प्वाल परेको देख्ने यो ‘लम्पसारवाद’का तथ्य गगनसँग छैनन् । नाकाबन्दी गर्ने भारतसँग मित्रता गर्नुपर्ने र नाकाबन्दीप्रति पश्चाताप गर्दै आएको भारतसँग दुश्मनी गर्नु पर्ने कांग्रेस र गगन थापाको दृष्टिकोण बाहिर आएको छ । नेपालको संविधानको स्वामित्व भारतलाई दिने कृत्यमा लागेको कांग्रेस र गगन थापा आज छिमेकी देशको प्रधानमन्त्रीलाई सम्बन्ध सुधार गर्न आउँदा दिइएको सत्कारलाई लम्पसार भनिरहेका छन् । तर, तथ्यहरुबाट पराजय ब्यहोर्दै आएको कांग्रेसलाई गगन थापाका उत्तेजक अभिब्यक्तिले जोगाउन सक्दैन ।  

के लम्पसार हो र के स्वाभीमान हो भन्ने निक्र्यौल गर्न कुटनीतिमा कस्तो स्वागत सत्कार भयो, कस्तो पोशाक प्रयोग भयो जस्ता कुरा गौण हुन् । यसलाई मापन गर्ने मुख्य आधार के अडान थिए र तिनको मौजुदा हालत के छ नै हो । अघिल्लो प्रधानमन्त्री कालमा पनि ओलीले भारतसँग युद्ध खोजेका थिएनन् । भारतीय प्रधानमन्त्री नेपाली भूमिमा आउनु हुँदैन भनेका पनि थिएनन् । नेपालीले आफ्नो अनुमतिबिना संविधान बनाउन पाउँदैन भन्ने भारतीय हस्तक्षेपकारी मानसिकताको मात्र ओलीले विरोध गरेका थिए । संविधान संशोधन गर्न पटक पटक दिइएको हस्तक्षेपकारी दवावलाई अस्वीकार गरेका थिए । कांग्रेसले भारतसामु संशोधनको बाचा सार्वजनिक रुपमै गरेको थियो । अहिले भारतीय प्रधानमन्त्रीसँगको भेटका दस्तावेजहरुमा नेपालको आन्तरिक मामिलामा टिप्पणी नगर्न भारतलाई ओलीले सहमत गराए । के लम्पसार हो र के स्वाभीमान हो त्यसका मानक पारदर्शी छन् । 

ओलीले कम्तीमा हस्तक्षेप नसहने शत्रुता पनि नगर्ने बाटो अख्तियार गरेका छन् । हस्तक्षेप नसहनुलाई कांग्रेसले खोक्रो राष्ट्रवाद भन्यो र मित्रताको नीतिलाई भड्काउका लागि प्रयोग गर्यो, जुन कुरा गगनका अभिब्यक्ति मार्फत बाहिर आएका छन् । 

अब नेपालको बाटो के हो त ? भारतले नाकाबन्दी लगाउन नसक्ने परिस्थिति निर्माण गर्नु होइन ? त्यसका लागि दक्षिण, पूर्व र पश्चिमबाट मात्रै होइन, उत्तरबाट पनि जोडिने प्रयत्नलाई तीब्र बनाउनु होइन ? अनि, वर्तमान सरकारले के गरिरहेको छ, त्यही होइन र ? यसलाई लम्पसार भन्छन् भने नेपालको संविधान संशोधन गर्न नसकेपछि प्रधानमन्त्रीका रुपमा शेरबहादुरले मोदीसामु माफी मागेकोलाई के भन्ने ?