भोजपुर, २५ असार –  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पहिलो पटक सुरक्षाकर्मी माथि आक्रमण गरेको छ ।
उसका कार्यकर्ताले आज विहान भोजपुर जिल्लामा एक प्रहरीलाई गोली हानेर मारेका हुन् । 

प्रहरीको जवाफी कारबाहीमा उसका  ओखलढुंगा इन्चार्ज निरकुमार राई समेत मारिएका छन् । प्रहरीका जवान सन्दिप राई  ‘घुमुवा प्रहरी ’ थिए । उनी गस्ती टोली भन्दा केहीं अघि थिए । बुधबार विहान करिब साढे आठ बजेतिर प्रहरी नियमित गस्तीका लागि भोजपुर बजार नजिकैको हटिया भन्ने क्षेत्रमा गएको थियो ।

घटनाका प्रत्यक्षदर्शीका अनुसार विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरु पनि हटिया क्षेत्रमै थिए । उक्त समूहको नेतृत्व सोलुखुम्बु स्थायी घर भएका तत्कालीन माओवादी जनयुद्धमा जनमुक्ति सेनामा काम गरेका निरकुमार राईले गरेका थिए ।
स्थानीयका अनुसार निरकुमार राईले बुधबार विहान प्रहरी गस्तीको अघिअघि रहेका सन्दिप राईलाई समाते र कञ्चटमा गोली हाने । सन्दिप राई त्यहीं ढले र उनको केहीं समयपछि मृत्यु भयो ।

आफ्ना जवानमाथि गोली हानेर हत्या गरिएपछि गस्तीमा रहेको प्रहरी टोलीले निरकुमार राईतिर फायर खोल्यो । प्रहरीले चलाएको गोली लागेर निरकुमार राई पनि मारिए । 
मृत्यु भएका जवान राईको कोखमा गोली लागेको छ । गोली लागेका जवानको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

त्यस्तै गोलीले घाइते भएका प्रहरी जवान सोमनाथ भट्टराईको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ ।

यस्तै गोली हानाहानमा मृत्यु भएका नीरकुमार यसअघि चन्द नेतृत्वको पार्टीको ओखलढुङ्गा जिल्ला सेक्रेटरी थिए । उनी पार्टीमा प्रशान्तका नाममा चिनिन्थे। अहिले उनको ओखलढुंगा इन्चार्ज थिए । उनी भोजपुरकै स्थायी बासिन्दा हुन्।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भोजपुरमा प्रहरीमाथि एक्कासी गोली चलेपछि प्रहरीले जवाफी फायरिङ गरेको पुष्टि गर्नुभयो । 
भोजपुर घटनाबारे संसदलाई जानकारी दिँदै खनालले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा भन्नुभयो, ‘ हटिया बजारमा नेपाल प्रहरीमाथि एक्कासि गोली चल्यो, जवाफी फायरिङमा नेपाल प्रहरीका एक र विप्लव पक्षका एक कार्यकर्ताको मृत्यु भएको छ । ’

घटनास्थलबाट एउटा चाइनिज पेस्तोल र ६ राउन्ड गोली बरामद भएको पनि महानिरीक्षक खनालले जानकारी दिनुभएको छ ।