एमाले र माओवादी केन्द्रको एकीकरण भइ बिहीवार बनेको शक्तिशाली नेपाल कम्युनिष्ट पार्टीका महासचिव बन्नुभयो– बिष्णु पौडेल । तत्कालिन एमालेका उपमहासचिव पौडेल वाम एकताका एकजना सुत्राधार मध्ये हुनुहुन्छ । उहाँ अध्यक्ष केपी शर्मा ओलीको नजिक रहेर नेपाल कम्युनिष्ट पार्टी स्थापनामा निरन्तर लाग्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना आफैंमा ऐतिहासिक निर्णय थियो । नेपालको कम्युनिष्ट आन्दोलनमात्र मात्र होइन, नेपालको बिकास र समृद्धिमा समेत यो सकारात्मक मोड हो । जसरि यो प्रभावशाली र विशाल नेपाल कम्युनिष्ट पार्टी निर्माण ऐतिहासिक रह्यो, बिष्णु पौडेलले पनि नेपाल कम्युनिष्ट पार्टीको महासचिव बनेर इतिहास निर्माण गर्नुभयो ।  

पार्टी एकताका लागि उहाँले लिएको पहललाई हेर्दा उहाँ ९ सदस्यीय सचिवालयमा पर्ने त निश्चित जस्तै थियो । तर महासचिव नै बन्ने/नबन्ने प्रष्ट थिएन । उहाँलाई झण्डै आश्चर्यकै रुपमा महासचिव प्राप्त भयो । उहाँ भन्नुहुन्छ – मेरो कामको मुल्याङन भएरै यो जिम्मेवारी पाएको हुँ । 

पौडेललाई महासचिवको बधाई सबैभन्दा पहिला अध्यक्ष तथा प्रधानमन्त्री ओली दिनुभयो । त्यसपछि बधाई दिनेक्रम चल्यो । एकछिन पछि त घोषणा नै भयो । तत्कालीन एमालेभित्र नवौं वरियतामा रहेका पौडेल एकीकृत पार्टीको पनि नवौं वरियतामै पर्न सफल हुनुभयो । उहाँ नेपाल कम्युनिस्ट पार्टीको दोस्रो पुस्ताका पहिलो नेतामा स्थापित हुनुभयो । 

पार्टी केन्द्रीय कार्यालयमा महासचिवका रुपमा पदभार ग्रहण गरेलगत्तै पौडेलसँग चक्रपथकर्मी कबिता अधिकारीले गरेको संक्षिप्त संवाद :

शक्तिशाली नेपाल कम्युनिष्ट पार्टीको महासचिव बन्नुभयो । कस्तो लागेको छ ?
यो मेरो लागि एकदमै ठूलो र गौरवपूर्ण जिम्मेवारी हो । पाएको यो जिम्मेवारीलाई म सफलताका साथ पुरा गर्न सक्नेछु भन्ने विश्वास छ । आगामी दिनहरुमा मैले गर्ने कामले त्यो प्रमाणित गर्नेछ । निश्चयपनि यत्रो इतिहास बोकेको पार्टीको महासचिव हुँदा जिम्मेवारी बढेको महसुस भएको छ । तर म यो जिम्मेवारी राम्रोसँग पुरा गर्नेछु ।  

तपाई वाम एकताका सुत्राधारमध्ये एक हुनुहुन्छ । अध्यक्ष केपी शर्मा ओलीसँग रहेर निरन्तर एकताका लागि लाग्नुभयो । यो ऐतिहासिक जिम्मेवारीको मुल्याङन भएको हो ?  
कम्युनिष्ट पार्टी निश्चित मुल्य मान्यता बोकेको पार्टी हो । यो प्रादेशिक संरचनामा निमार्ण भएको छ । हामीले पार्टी र पार्टीले निर्माण गरेको वैधानिकतामा रहेर काम गर्ने हो । त्यसैका लागि मलाई मुल्यांकन गरेरै पार्टीले यो जिम्मेवारी दिएको जस्तो मलाई लागेको छ । राष्ट्रको बिकास र समृद्धिका लागि कम्युनिष्ट पार्टीहरुबीचको एकता आवश्यक थियो । त्यसका लागि मैले सकेको भूमिका निभाएको हुँ । शायद मलाई मुल्याङन गरेरै यो जिम्मेवारी दिनुभयो, मलाई बिश्वास गर्नुभयो ।  

आज केन्द्रीय कार्यालय धुम्बाराहीमा महासचिवको जिम्मेवारी ग्रहण गर्दै काम पनि सुरु गर्नुभएको हो ? 
महासचिवका रुपमा मैले हिजो देखिनै काम शुरु गरिसकेको छु । आज महासचिवका रुपमा केन्द्रीय कार्यालय पुगेर काम थालेको छु ।  केन्द्रीय कार्यालयको व्यवस्थापछि अझ गहन रुपमा र सशक्त ढंगले काम अगाडि बढाउनेछु ।   

अव केन्द्रीय कमिटीले कहिले पूर्णता पाउँछ ? तल्ला कमिटीहरुको एकीकरण कसरी हुन्छ ?
केन्द्रीय कमिटीले छिटै पूर्णता पाउँछ, एक दुई दिनभित्रै पूर्णता दिन्छौं । त्यसपछि क्रमश मातहतका कमिटीहरु निर्माण गर्नेछौं । हामीले खासगरी तीनमहिनाभित्र स्थानीय कमिटीहरुको निमार्ण गरिसक्ने भन्ने समयसीमा राखेका छौं । जसका लागि संगठनले काम थालिसकेको छ । त्यही समयसीमाभित्र रहेर हामीले अन्य कमिटीहरुको निमार्ण गरिसक्नेछौ ।