बिष्णु रिजाल

काठमाडौं, १५ कार्तिक– प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेर बुधबार उपचारका लागि धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना भएको सुचना लुकाएको भन्दै यतिखेर सचिवालयको आलोचना भइरहेको छ ।  १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य जाँच गराइ रहनुभएका प्रधानमन्त्री ग्राण्डीमा भर्ना भएपछि सूचना लुकाएको भन्दै  विशेषत सञ्चार जगतले अस्पताल प्रशासन र प्रधानमन्त्रीको सचिवालयको आलोचना गरिरहेका छन्।

प्रधानमन्त्रीको पद सार्वजनिक हो र उहाँको स्वास्थ्य अवस्था के छ त्यो यथार्थ जानकारी हुनुपर्छ भन्दै सञ्चारजगत विशेषगरी प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालसँग रुष्ट बनेका छन् । बुधबार बिहान अस्पताल भर्ना भएपछि दिउँसो २ बजे मिर्गौलाको डायलाइसिस गरिसक्दा पनि अस्पतालको तर्फबाट निकालिएको विज्ञप्तिमा प्रधानमन्त्रीको अवस्था सामान्य भनिएपछि प्रश्न उठाइएको थियो।

बिहीबार साँझ ग्राण्डी हस्पिटलका डाइरेक्टर डा.चक्रराज पाण्डेले पत्रकार सम्मेलनमा प्रधानमन्त्री सार्वजनिक पद भएपनि उहाँ एउटा व्यक्तिपनि हो भन्ने कुरा नबिर्सन आग्रह गरेका थिए । अस्पतालले व्यक्तिको स्वतन्त्रता पालना गर्नुपर्ने तर्क उहाँकोे थियो । सञ्चारमाध्यमले रुष्ट शैलीमै उहाँलाई प्रश्न सोधे किन अस्पतालले उहाँको वास्तविकता लुकाइरहेको छ ? उहाँलाई आइसीयुमा राखिएको जानकारी किन गराउनुभएन ? यस्तै यस्तै प्रश्नको जवाफ दिदै डाइरेक्टरले जवाफ दिनुभयो, प्रधानमन्त्रीलाई आइसीयु कक्षमा राखेर उपचार गरिएको हैन, आइसीयुकक्षको डायलासिस रुममा राखेको हो । उहाँ राष्टअध्यक्ष भएको नाताले हामीले उहाँलाई यो देशमा दिन सक्ने सुविधासम्पन्न कोठाको मात्रै प्रयोग भएको हो । उहाँलाई आइसियुमा राखेको हैन र सुचनापनि लुकाइएको छैन भनिरहदा पत्रकारहरुले उहाँको कुरालाई विश्वास गरेनन् ।  

प्रधानमन्त्री विरामी परेर बेड भर्ना गरिएदेखिनै उहाँको अवस्थामा तथ्य लुकाइएको भन्दै फरक फरक टिप्पणी आइरहेका बेला नेकपा केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले भने फरक तर्क राख्नुभएको छ । उहाँले पत्रकारहरूलाई सूचनामा पहुँच नदिइएको आरोप सरासर गलत भएको बताउनुभएको छ। उहाँले शुक्रबार प्रधानमन्त्रीको उपचारबारे सात बुँदा लामो धारणा सार्वजनिक गर्दै फेसबुक र ट्विटरमा छिटो छिटो अपडेट गर्ने नाममा व्यक्तिको गोपनीयताको हकको पनि ख्याल नगरी सबै कुरा माग्न खोज्नु गलत रहेको बताउनुभएको छ । उहाँको भनाइ जस्ताको त्यस्तैः

प्रधानमन्त्रीको स्वास्थ्य, सल्लाहकार र पत्रकारिता

प्रधानमन्त्री केपी शर्मा ओली विरामी भएर बुधबार विहान ९ बजे ग्रान्डी अस्पताल भर्ना भएर विहीबार राती ९ बजे घर फर्किनुभएको छ । यस सन्दर्भमा उहाँको स्वास्थ्यस्थिति गोप्य राखिएको जनतालाई थाहा नदिएको सल्लाहकारहरुले सूचना लुकाएको, पत्रकारलाई सूचनामा पहुँच नदिएको जस्ता चर्चा भएका छन् ।

१. सबैलाई थाहा छ, प्रधानमन्त्रीको स्वास्थ्य ठीक छैन, मृगौला प्रत्यारोपण गरिएका कारण उहाँ नियमित रुपमा चिकित्सक र अस्पतालको सम्पर्कम हुनुहुन्छ । केही समयअघि मात्रै सिंगापुरबाट उपचार गरेर फर्केपछि पनि उहाँको नियमित स्वास्थ्य परीक्षण भइरहेको छ । यस्तो अवस्थामा स्वास्थ्यमा समस्या उत्पन्न हुनासाथ होहल्ला गरेर के,के न भयो भन्ने जस्तो गरेर प्रचार गर्नु आवश्यक छैन ।

२. कुनै पनि सार्वजनिक पदमा रहेको व्यक्ति, त्यसमा पनि मुलुकको प्रमुख कार्यकारीको स्वास्थ्यका बारेमा थाहा पाउने जिज्ञासा आम नागरिकमा हुनु अस्वाभाविक होइन । तर, विहान ९ बजे अस्पताल लैजानासाथ सबै कुरा सार्वजनिक गरिहाल्नुपर्ने माग उचित छैन । धामी–झाँक्रीले जस्तो नाडी छामेर वा अनुहार हेरेर अनुमानका भरमा चिकित्सकले यही भएको हो भन्ने कुरै हुँदैन । एउटा मात्र होइन, अनेक परीक्षण गरेपछि मात्रै के भएको हो भन्न सक्छन्, जुन कुराको तत्कालै अपेक्षा उचित हुँदैन ।

३. प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिका बारेमा सूचना लुकाएको भनेर विशेषगरेर प्रेस सल्लाहकार डा. कुन्दन अर्यालको आलोचना भइरहेको छ, जुन बिल्कुलै उचित छैन । किनभने, प्रधानमन्त्री अस्पताल भर्ना भएको कुरासम्म उहाँबाट पुष्टि गर्न खोज्नुपर्छ, त्यसबाहेकका स्वास्थ्यसम्बन्धी सूचना अस्पताल वा चिकित्सकबाहेक सल्लाहकारसँग सोध्नु उचित हुँदैन । फेरि प्रधानमन्त्री अस्पताल भर्ना हुनासाथ सल्लाहकारले अनलाइन, ट्वीटर र फेसबुकका लागि मसालेदार हुने गरी ‘हो, अवस्था गम्भीर छ’ भन्दैन । दुबै दिन अस्पतालले बक्तव्य निकालेको छ, दोस्रो दिन त पत्रकार सम्मेलन नै गरेको छ । अनि कहाँनेर सूचना लुकाइयो ?

४. प्रधानमन्त्रीको स्वास्थ्यका बारेमा चासो हुनु र सूचना पाउने अपेक्षा गर्नु स्वाभाविक हुन्छ । तर, बालुवाटारबाट अस्पताल जानै लाग्नुभयो, अस्पताल पुग्नुभयो, अब लिफ्ट चढ्न थाल्नुभयो, डाक्टर आउनुभयो, अब परीक्षण हुनै लाग्यो, पहिलो परीक्षण भयो जस्ता सूचनाको अपेक्षा हो भने त्यो व्यर्थ छ ।

५. विरामीको व्यक्तिगत जीवन र गोपनीयताका बारेमा पत्रकार संवेदनशील हुनैपर्दछ । सूचना ब्रेक गर्ने नाममा नमरेको मान्छेलाई मरेको ‘माधव घिमिरे, अम्बर गुरुङ’ भनेर समाचार लेख्दासमेत हामीलाई त्यसबाट सिक्ने फुर्सत छैन ।

६. स्वास्थ्य जस्तो विषयमा समाचार लेख्न हतार गर्नुपर्ने कुनै कारण छैन । केही दिनअघि वामदेव गौतमलाई सामान्य रुघाखोकी र ज्वरो आएपछि स्वास्थ्य परीक्षणका लागि टेकु जानुभएको रहेछ । कुनै पत्रकार मित्रले थाहा पाउनुभएछ र ‘वामदेव गौतमलाई डेंगुको आशंका’ भनेर समाचार लेख्नुभयो । पछि अनलाइनहरुले ‘आशंका’ भन्ने शब्दलाई हटाएर ‘वामदेव गौतमलाई डेंगु’ भनेर समाचार लेखेको लेख्यै गरे । परीक्षणबाट उहाँलाई सामान्य भाइरल भएको मात्र देखियो । तर, आफन्त, साथीभाइहरुलाई ुमलाई डेंगु लागेको होइनु भन्दाभन्दा उहाँ हैरान हुनुभयो । त्यसैले स्वास्थ्य कुनै समाचार ब्रेक गर्ने विषय होइन ।

७. कुनै कुरा पत्रकारले तत्कालै थाहा नपाउँदैमा त्यो गोप्य राखिएको वा लुकाइएकोु भन्ने हुँदैन । ट्वीटर वा फेसबुक प्रयोगकर्तालाई छिटो छिटो नयाँ कुरा लेख्न हतार हुन सक्ला तर त्यसैका लागि छिन,छिनमा सूचना उपलब्ध गराइरहनुपर्दछ भन्ने हुँदैन ।