काठमाडौं, १९ मंसिर– प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया उत्कर्षमा पुगिरहेका बेला उम्मेदवार लक्षित बम हमला पनि बढिरहेको छ । रुकुममा माओवादी नेता तथा पूर्व गृहमन्त्री जनार्दन शर्मा लक्षित आक्रमणबाट सुरु भएको हिंसात्मक गतिविधि राजधानी काठमाडौंसम्म छिरेको छ । 

सुरुमा वाम गठबन्धनका उम्मेदवारमाथि लक्षित गरेर गरिएका यस्ता हिंसात्मक घटनाप्रति सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेस मौन देखियो । उसको मौनता र हमलाकारीप्रति सरकारको नरम प्रस्तुतीले यस्ता भूमिगत अपराधमा कांग्रेसप्रति आशंका बढ्दै जान थाल्यो । त्यसपछि हमलाकारीले पनि ‘सन्तुलन’का लागि कांग्रेस उम्मेदवारलाई पनि लक्ष साँध्न थाले । चुनावको मुखमै आएर गृहमन्त्रीलाई विना विभागीय बनाई मन्त्रालयलाई नेतृत्व बिहीन पार्ने प्रधानमन्त्री शेरबहादुर देउवाको नियतमाथि यसले प्रश्न उठाएको छ । अझ रोचक कुरा त के छ भने रोल्पामा माओवादी नेता वर्षमान पुनमाथि दुई दुई पटक बम हमला गर्ने क्रममा पक्राउ परेका एकजना ब्यक्तिको रिहाईका लागि सरकारका एकजना मन्त्री तथा कांग्रेस जिल्ला सभापतिले नै दवाव दिए । आक्रमणकारीप्रति निरपेक्ष रहंदै आएको सरकार र आक्रमणकारी मध्येकालाई रिहाइ गर्न मन्त्रीले दिएको दवावले सुरुदेखि नै यस्ता हमलाको प्रायोजक को हो भन्नेमाथि प्रश्न उठेकै थियो । 
पछिल्लो पटक कांग्रेसले जित्ने अपेक्षा गरेका भनिएका उम्मेदवारहरुमाथि पनि बम हमला भए । त्यस्ता हमलाप्रति पनि सरकार वा गृह प्रशासनको प्रतिक्रिया औपचारिक मात्रै हुनु, उम्मेदवारहरुले बम हमलालाई सहानुभुतिको भोट बटुल्ने अवसरका रुपमा उपयोग गर्दै मोडलिङमा उत्रिनुले सरकारमाथि झनै प्रश्न उठाएको छ । 

अहिलेसम्म सरकारले चुनाव लक्षित यस्ता आक्रमण गर्ने समुहप्रति आफ्नो दृष्टिकोण सार्वजनिक गरेको छैन । उसले केही ठाउँबाट पक्राउ गरेका ब्यक्तिहरु विप्लव समुहका कार्यकर्ता भएको प्रतिक्रिया दिने गरेको छ । न त विप्लव समुहले नै यी हमलाको जिम्मेवारी लिएको छ । विप्लव समुह आफूले हमला गरेको हो पनि भन्दैन र होइन पनि भन्दैन । सरकार आक्रमणकारीलाई कुन दृष्टिकोणले हेर्छ भन्ने दृष्टिकोण पनि दिंदैन । बरु उक्त समुहप्रति नरम नीति अपनाउँछ । बरु यस्ता हमलालाई विपक्षी उम्मेदवारमाथि दोष थोपरेर आक्रमणकारीलाई चोख्याउनेगरी प्रतिक्रिया दिने काम कांग्रेस नेताहरुले गरेका छन् । 

नुवाकोटमा आफ्नो सवारीसाधन लक्षित गरी बम विष्फोट भएपछि कांग्रेस नेता डा रामशरण महतले विप्लव समुहको नामै लिएनन्, उनले बरु आफूसँग चुनावी प्रतिस्पर्धा गरिरहेका वाम उम्मेदवार हितमान तामाङमाथि आक्रमणको आरोप लगाए । यस्तै काठमाडौंमा गगन थापामाथि बम हमला हुँदा सरकार प्रतिक्रियामै सिमित रह्यो, अनि थापालाई भेट्न पुगेका एमाले उम्मेदवार राजन भट्टराईमाथि गगन थापाका कार्यकर्ताले हातपात गरे । यसले के प्रश्न उत्पन्न गर्छ भने आक्रमणकारी, सरकार र कांग्रेसबीच केही साझा बुझाई पो छ कि ? 

अर्काेतर्फ अहिले देशैभर भएका बम हमलाको दोष बोकाइएको विप्लव समुहको सामथ्र्य देशैभर आतंक फैलाउन पर्याप्त छ त ? रुकुम र रोल्पमाको सामान्य भौगोलिक आधार भएको उक्त समुह कसैको साथबिना एकै पटक देशब्यापी आतंक फैलाउन कसरी सक्छ ? यसअघि माओवादीको युद्ध उत्कर्षमा पुगेका बेला पनि यसरी सबै ठाउँमा हमला गर्ने सामथ्र्य थिएन भने विप्लव समुहले एकैपटक कसरी यस्तो हिंसाकारी सामथ्र्य प्राप्त गर्यो ? कांग्रेसबाट निर्वाचित वडा अध्यक्षको घरमा ठूलो मात्रामा विष्फोटक पदार्थ भण्डारण गरिएको किन फेला पर्यो ? यी यावत प्रश्न छन् जसले चुनावी लाभका लागि भए पनि सत्तारुढ कांग्रेस यस्ता हिंसात्मक कृत्यलाई प्रवद्र्धन गरिरहेको छ भन्ने शंकामा बल दिइरहेको छ । यहाँ विचारणीय कुरा के छ भने कांग्रेस नेता विमलेन्द्र निधि आम नरसंहारकारी बम हमलाका प्रमाणित दोषी संजय साह टकलासँग जेलबाटै चुनावी सहयोग लिइरहेका छन् । आतंक र हिंसाको दोहोरो लाभ लिने कार्यमा कांग्रेस संस्थागत रुपमै त सक्रिय छैन ? भन्ने गम्भीर प्रश्न यसले उब्जाएको छ ।