राजविराज, २९ फाल्गुन– बस र मोटरसाइकल एक आपसमा ठोकीएर दुर्घटना हुँदा मोटरसाईकलमा सवार २ जनाको चेपिएर मृत्यु भएको छ भने एक दर्जन घाइते भएका छन् ।

घाइते मध्ये एकको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । उदयपुरको रामपुर ठोकसिलाबाट तिर्थयात्री बोकेर जनकपुरतर्फ जाँदै गरेको को १ ख ४९६४ नम्बरको बस र विपरित दिसाबाट गइरहेको को ३४ प ६४२५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर बस चालकले बचाउने प्रयास गर्दा गर्दै मोटरसाइकल माथि नै बस पल्टिएर भएको दुर्घटनामा चेपिएर २ जनाको ज्यान गएको प्रहरीको भनाई छ ।

 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सुरुंगा नगरपालिकाको कुशहा खण्डमा बुधवार बिहान बस र मोटरसाइकल दुर्घटना भएको डिएसपी भावेस रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा मोटरसाइकल चालक सुरुङ्गा नगरपालिका५ बस्ने ३५ वर्षिय मो. मजलुम मियाँ र मोटरसाइकलको पछाडि सवार सोही वडा निवासी ३४ वर्षिय रामे पासवानकोे घटनास्थलमै मृत्यु भएको हो ।

 

घटनामा बसका १३ जना तीर्थयात्रु घाइते भएका छन् । जसमध्ये १ को अवस्था गम्भिर छ । गम्भिर घाईते भएका एक जनालाई धरान र अन्यलाई थप उपचारका लागि लाहान स्थित विभिन्न अस्पतालमा पठाइएको छ । बसका चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।

मोटरसाइकललाई बचाउने क्रममा बस मोटरसाईकल माथि नै पल्टिएर सो दुर्घटनामा भएको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् । विहान ९ बजेतिर भएको घटनापछि आक्रोशित स्थानीयवासीले करिब २ घण्टा राजमार्ग अवरुद्ध पारेका थिए । प्रहरीको प्रयासमा आवागमन सुचारु गरिएको छ ।

यसै विच आफ्नो घरको पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर  सप्तरीको  रुपनि गाउँपापालिका(६ बिरेन्द्र बजारका २५ वर्षीय  बब्लु मेहता गम्भिर घाईते भएका छन्  । गम्भिर घाईते भएका मेहताको युनिक अस्पताल रुपनिमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय रुपनि, सप्तरीले जनाएको छ ।