प्रा डा ऋषिराम शर्मा

आज फाल्गुण ११ गते ! प्रधानमन्त्री केपी ओलीज्यूको जन्मदिन !!!   लोकतन्त्रका लागि १४ वर्ष जेलभित्रको पनि जेल “महाजेल” अर्थात् गोलघरमा चरमयातना भोगेर पटकपटक पुनर्जन्म लिँदै आउनु भएका केपी ओली आज ७० वर्षको हुनुभयो ! गोलघरको यातनाको त्यो भर्भराउँदो भुंग्रोमा हालेको भए सायद फलाम र इस्पातसमेत गल्थ्यो होला तर यहाँको चट्टनी अडानले ऐया र आत्था पनि भनेन !  यहाँले मुलुकको लोकतन्त्रका लागि लामो लडाइँ लड्नुभयो !  

लोकतन्त्रलाई लुटतन्त्रमा अनुवाद गर्न नपाउँदाको रिसले मुर्मुरिएकाहरू  यहाँले लडेको त्यो लोकतन्त्रको लडाइ र योगदानमा टिपेक्स लगाउन र मेट्न निरन्तर पसिना काडिरहेछन्, चुनाव भनेपछि चारकोस पर भाग्नेहरूले चुनावलाई ‘प्रतिगमन’, चुनाव गराउनेलाई ‘तानाशाह’ र लुटतन्त्रमा लगाम लगाउन खोज्नेलाई ‘निरङ्कुश’ भनिरहेछन् ! यसरी तपाईलाई झिँगाहरू श्राप दिँदै फोहरमा भन्किरहेछन् !!! तर परिश्रमी माहुरीहरू तपाईँको कदम, अडान र जिद्दीको फ्यान बनिरहेछन् र चिरायुको सङ्गीत भुन्भुनाइरहेछन् !    

तपाईंको जिद्दीका फयानको ठूलो समूह छ ! किनकि मुलुकलाई काँक्रा चिरेझैँ चिरा पार्न र नुन खुर्सानी हालेर खान राल काढेकाहरू तपाईंको जिद्दीका अगाडि परास्त भए । संविधान जारी गर्न  नदिनेहरू तपाकै जिद्दीका अगाडि लत्रन बाध्य भए ।  सौन्दर्य, सभ्यता र संस्कृतिको कल्पवृक्ष नेपाललाई विषवृक्ष बनाउनेहरू र नेपाली–नेपालीबीच सदियौँदेखिको सद्भावनाको पर्खाल भत्काउनेहरू बबुरा भए ।

विद्रोहपछि मौलाएको हुँडार प्रवृत्ति र दादागिरीलाई तपाईंको जिद्दीले धुलो चटाइदियो । करिब सात दशकदेखि अनागरिक बनाइएको वा लुटिएको नेपाल आमाको मुटुको टुक्रोभन्दा पनि प्यारो लिम्पियाधुराको धुरीले तपाईंको जिद्दीका कारण नेपालको नागरिकता पायो । तपाईंकै जिद्दीका कारण नेपाल भूपरिवेष्टित मुलुकको दुर्दशाबाट मुक्ति पाई भूजडित मुलुक बन्न पुग्यो । नेपालका नेताहरूलाई जुन सामन्तले आफ्ना दैलामा दर्शन भेटका लागि लाम लगाउन विवश पार्थे र जसले आफ्नो ढोकामा ढुक्न र लत्रन बाध्य पार्थे, तिनै सामन्तहरू अहिले तपाईंकै जिद्दीका कारण तपाईंका  ढोकामा धाउन बाध्य हुँदै छन् !

अँ, तपाई बाहेक यो मुलुकको लिम्पियाधुरा कसैले फर्काउन सक्ने छैन !  तपाईँको आँट र हिम्मत देखेर दक्षिण पनि दङ्ग परिरहेछ र उत्तर पनि निरुत्तर भै रहेछ ! नेपाल दुई ढुंङ्गाका बीचको तरुल हो भन्ने मेरो थ्योरीलाई तपाईँले राम्ररी बुझ्नु भो र प्रयोग पनि गर्नु भो ! दक्षिणले दिने नाकाबन्दीको दुखबाट छुटकटारा दिलाउन तपाईले गरेको साहसको मूल्याङ्कन युगले गर्नेछ ! भूपरिवेष्टित मूलुकलाई भूजडित बनाउने तपाईको आँटलाई सलाम छ ! उत्तर र दक्षिणका दुई ढुङ्गामा कुनै घाउ नै नपारी दुवैको चेपबाट तपाईले मुलुकको दीर्घकालीन विकासका तरूलहरू खनिरहनु भएकै छ !

प्रमंज्यू ! जन्मदिनको शुभकामना दिँदै गर्दा मलाई केही कुरा भन्नै मन लाग्यो ! तपाईँले अब केही कार्य गर्नै पर्ने छ ! पहिलो कुरा, भुइँमान्छेलाई मीठा सपना बाँडेर कोदाली र कलम लिएका हातमा बन्दुक थमाएर आफू ऐश्वर्य र समृद्धिको आकाशमा उडान भर्दै गरेकाहरू अहिले तपाईका विरुद्ध लाग्दैछन् ! त्यतिबेला बन्दुक बोक्नेहरू, द्वन्द्मा दुवैतर्फबाट मारिनेहरू, अङ्गभङ्ग हुनेहरू, विधवा हुनेहरू र टुहुरा हुनेहरू तथा सुन्दर सपना निमोठिएका कारण बहुलाउनेहरूको लगत खोज्ने र मन जित्ने जुन अभियान आरम्भ गर्नु भएको छ त्यो अनवरत अघि बढोस् ! दोस्रो कुरो, मुलुकको विकास निर्माणका लागि ठेक्का पट्टा लिएर काम नगर्नेहरूलाई कार्यवाही गर्न २०७४ सालमा तपाईले प्रधानमन्त्री हुँदा जुन कडा निर्देशन पचहत्तर जिल्लाका प्रजिअहरूलाई दिनु भएको थियो र त्यसबेला ती ठगहरू  भटाभट काम गर्दै थिए ! पछि त्यो विकासको गति गएर  घरबेटीको स्पीडब्रेकरमा गएर ठोक्किएर पो रोकिएको हो कि रु त्यो सेलायो ! अब तपाईले त्यस्ता ठेकेदार र ती ठेकेदारसँग नेपथ्यमा रहेर काममा अवरोध पुर्याउनेहरूलाई पाता कस्न ढिलो गर्नु हुँदैन ! तेस्रो कुरो, अहिले सङ्क्रमण कालमा झैँ महँगी बढाउने विचौलियाहरूको बिगबिगी हुन सक्छ त्यसमा शून्य सहनशीलता कायम गर्नु होला !  

अँ ! प्रधानमन्त्रीज्यू तपाईँमा निहित ज्ञानचेत, सँस्कृतिचेत, दर्शनचेत र राष्ट्रियचेतको मुलुकले प्रचुर लाभ उठाओस् ! मुलुकका तमाम तीर्थस्थलहरू र धार्मिक मठहरूलाई नेपाली संस्कृतिको अध्ययनका लागि आवासीय केन्द्र बनून् ! नेपाली जनताको सुख र र नेपाली धर्तीको समृद्धिका लागि तपाईले प्रतिपादन गर्नु भएको “सुखी नेपाली र समृद्ध नेपाल” मा नै नेपाल र नेपालीको भाग्य निहित छ ! यो केबल एक दृष्टिकोण मात्र होइन, मुलुकलाई समृद्धितर्फ डोर्याउने र जनतालाई सुख दिने दर्शन पनि हो ! दर्शनका रूपमा यसको अध्ययन गर्ने र अनुसन्धान गर्नेतर्फ  सम्बन्धित निकायहरूको दृष्टि पुगोस् ! 

प्रधामन्त्रीज्यू ! आज तपाईँको जन्मदिन ! विगत पचिस वर्षदेखि केहीहरूका स्वार्थका कारण अस्थिरताले थिलथिलिएको मुलुकले स्थिरताको पर्याय मानेको छ तपाईँलाई ! पछिल्लो पटक मृगौला प्रत्यारोपण गरेर तपाईले जुन जीवन प्राप्त गर्नु भएको छ ! उपचारका क्रममा त्यसबेला नेपाल आमाका आशीर्वादको अंश समेत मिसिएको  हुनुपर्छ ! मुलुकको अस्थिरताका धन्धुकारी कसिङ्गर बढार्न र “मुखमा राष्ट्रियता र बगलमा बिन्तीपत्र” हाल्नेहरूको हैसियत देखाउन राष्ट्रियताका पक्षमा छिमेकसँग रत्तिभर नहच्की अघि बढ्न यहाँलाई अनन्त उर्जा मिलोस् ! यहाँलाई जन्म दिनको यस पावन अवसरमा सुस्वास्थ्य, आरोग्य र दीर्घायुका साथै यहाँका इच्छाहरू परिपूर्ण होउन् भन्ने हार्दिक शुभकामना !