•कविता अधिकारी
काठमाडौं, २८ भदौ
– खचाखच भरिएको कोठामा बालबालिका शान्तसँग बसिरहेका थिए । राष्ट्रपति भवन शितल निवासमा राष्ट्रका अभिभावकलाई हेर्ने कौतुहुलता उनीहरुमा थियो । अनाथ आश्रम र सरकारी स्कुलका बिभिन्न कक्षामा पढ्ने बालबालिकाले बालदिवसको पूर्व सन्ध्यामा बुधबार राष्ट्रपतिसँग भेट गर्ने अवसर पाए । 

राष्ट्रपति विद्यादेवी भण्डारी हलभित्र प्रवेश गर्नुभयो । उहाँको सम्मानमा सबै भाइवहिनीले उठेर स्वागत गरे । राष्ट्रिय धुन बज्यो ,‘सयौ थुँगा फुलका हामी एउटै माला नेपाली ।’ ठूलो स्वरले बालबालिकाले गाउँदा हल गुन्जियो । राष्ट्रगान सकिएपछि शुरुभयो परिचय । उद्घोषिकाले बालबालिकाको परिचय गराईन । सबैले आफ्नो नाम सुनाए । 

एकजना बालकले परिचय दिंदै भने – मेरो नाम सलमान खान । रमाइलो माहौल भयो, हलमा रहेका सबै हाँसे । बालदिवसको अवसरमा सरकारी, सामुदायिक र अनाथ भाईबहिनीसँग भेट्न पाउँदा राष्ट्रपति खुशी हुनुहुन्थ्यो । 

त्यसपछि शुरु भयो बालबालिकाको कला प्रदर्शनी । बालबालिका पनि राष्ट्रपतिको सामुन्ने प्रतिभा देखाउन हौसिए । उनीहरुले करिब एक घण्टा नृत्य देखाए । अनाथ बालबालिकाले ‘माया लाग्छ वावाको आमाको पनि’ भन्दै गीत गाईरहँदा अन्य सहभागि सँगै राष्ट्रपतिका पनि आँखा रसाएका थिए । बाबुआमाको काखबाट फ्याँकिएका बालबालिकाले उनै बाबु आमाको सम्झनामा गीत गाउँदा हल भावुक बन्यो । 

प्रस्तुतीपछि राष्ट्रपतिले बालबालिकालाई संवोधन गर्नुभयो । ‘तिमीहरु प्रतिभावान छौ, उहाँले भन्नुभयो,–‘तिमीहरुको प्रतिभा देख्दा हामीलाई भोलीको देशको भविष्य उज्वल छ भन्ने लाग्छ ।’ बालबालिकाको प्रतिभा हेरिरहँदा आफ्नो बाल्यकालको सम्झना आएको सुनाउनुभयो । ‘म त पहाडको दुर्गम जिल्ला भोजपुरमा जन्मेको हुँ, जहाँ स्कुल नै थिएन ।’ त्यसबेला उहाँ नै स्कुल जाने घरकै पहिलो छोरी हुनुहुँदो रहेछ । ‘हजुरबुवाले स्कुल खोल्नु त भयो । तर हाम्रा घरका छोरी चेली कसैले पनि म भन्दा अगाडि पढ्न पाउनुभएको रहेनछ’ राष्ट्रपतिले भन्नुभयो,‘त्यसबेला मलाई पनि थाहा भएन, तर अहिले बुझ्दा म नै स्कूल जाने पहिलो छोरी पो रहेछु ।’

उहाँले भन्नुभयो ‘अहिलेका बालबालिकालाई अध्ययन गर्न सजिलो छ ।’ आफ्नो समयमा रातो माटोको धुलो पिसेर बाँसको सिन्काले फलेकमा लेखेको बताउदै उहाँले भन्नुभयो,‘मैले त माटोमा अक्षर चिनेको, तपाईहरुले त्यस्तो गर्नुभएको छ त ?’ उहाँले त्यसरी सोधेपछि कतिपय बालबालिकाले हात उठाउन खोजेझै गरे ।  

अहिले साधनहरु त छन् तर सबै बालबालिकाले त्यसको प्रयोग गर्न नसक्दा दुःख लागेको राष्ट्रपतिले बताउनुभयो । अहिले उपलब्ध सुविधाको उपयोग गरेर अगाडी बढ्न सके भविष्य उज्वल हुने भन्दै उहाँले सबैलाई बालदिवसको शुभकामना दिनुभयो । बालदिवसकै अवसरमा राष्ट्रपति कार्यालयको खाली मैदानमा बालबालिकाले बेलुन फुक्ने, बल खेल्ने, पेन्टिङ गदै रमाईलो गरेका थिए । राष्ट्रपतिसँग खेल्न पाउँदा बालबालिका पनि दंग देखिन्थे ।