काठमाडां, २३ भदौं– चिनियाँ विदेशमन्त्री वाङ यीको तीनदिने नेपाल भ्रमणसँगै नेपालमा फेरि एकपल्ट चीनप्रतिको नेपाली चासो र नेपालप्रति चिनियाँ चासोले दुवै देशको राजनीतिक, प्राज्ञिक, संञ्चारजगत र व्यापारीक समुदायको बीचमा व्यापक छलफल र  चर्चाको विषय बनेको छ । यो चर्चाको केन्द्रबिन्दुमा बेल्ट रोड ईनिसियटिभ्स रहेको छ । सन २०१३ मा चिनियाँ राष्ट्रपति सी जिनपिङले अगाडी सारेको विश्वको सवैभन्दा ठुलो परियोजना बेल्ट रोड इनिसियटिभ्समा हाल विश्वका ६५ भन्दा बढी देशहरुले सहभागिता जनाइसकेका छन् । यो परियोजनामा आबद्ध भएका देशहरुले पुर्वाधार विकासको क्षेत्रमा र आर्थिक विकासमा बीआरआईको साझेदारीबाट निकै नै फड्को मारिसकेको अवस्था छ । 

नेपालको  सन्दर्भमा हेर्ने हो भने सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालको समय सन् २०१६ मार्चमा भएको उहाँको चीन भ्रमणसँगै बीआरआईको बिषयले व्यापक चर्चा पाउन सफल भयो । त्यो भ्रमणको समयमा नेपालका तर्फबाट चीनसँग गरिएका ऐतिहासिक महत्व बोकेका १० वटा विषयमा भएको सम्झौताले नेपालको आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा समेत व्यापक प्रभाव पारेको थियो । त्यसको परिणाम स्वरुप नेपाल सन २०१७ मे मा  विधिवत रुपमा बीआरआईको सदस्य बन्न पुग्यो । त्यसपछि सन २०१८ मार्चमा केपी शर्मा ओलीको दोस्रो कार्यकालमा नेपालका शक्तिशाली प्रधानमन्त्रीका हैसियतले चीन भ्रमण भयो र यो समयमा अघिल्लो कार्यकालमा भएका सम्झौताहरुको निरन्तरता, कार्यान्वयन र उपलब्धीका बिषयमा छलफल भयो । त्यसपछि सन २०१९ अप्रिलमा दोस्रो बेल्ट रोड इनिसियटीभ्स फोरममा भाग लिन सम्मानीय राष्ट्रपतिको चीनको राजकीय भ्रमण भयो र त्यो समयमा बहुप्रतिक्षित पारवहान प्रोटोकलमा हस्ताक्षर हुनुका साथै ट्रान्स हिमालयन बहुआयामिक कनेक्टीभिटी र नेपाल चीन रेल्बेका बिषयले छलफलमा सार्थकता प्राप्त गर्यो । भन्नुको अर्थ बीआरआई फोरममा सहभागि भएका चालिस भन्दा बढि देशका राष्ट्र र सरकार प्रमुखहरुको बीचमा भएको राउन्ड टेवल छलफलबाट आएको संयुक्त घोषणाले यी बिषयलाई प्रमुखताका साथ उठायो । 

यो पृष्ठभुमिमा अहिले चिनियाँ विदेशमन्त्री वाङ्क यी नेपाल भ्रमणमा हुनुहुन्छ । उहाँको यो भ्रमणमा दुईवटा महत्वपुर्ण बिषयहरु प्रमुखताका साथ उठ्न सक्ने आँकलन गरिएको छ । पहिलो चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण र दोस्रो नेपाल चीनकावीचमा बीआरआईका बिषयमा अहिलेसम्म भएका सम्झौताहरुको कार्यान्वयन र अरु थप एजेन्डाहरुका वारेमा  छलफल हुन सक्नेछन् । चिनियाँ राष्टपति सी जिनपिङको नेपाल भ्रमणका बिषयमा नेपालमा बिभिन्न खाले बहस छलफलहरु भएका छन् । नेपालमा सन् २०१६ देखी नै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुनेछ भन्ने बिषयले नेपाली छापाहरुमा स्थान पाएको थियो । यो बर्षपनि उहाँको नेपाल भ्रमण हुने हो या नहुने भन्ने बिषयमा बिभिन्न आंकलनहरु भइरहेको अवस्थामा चिनियाँ विदेशमन्त्री वाङ्ग यी को यो भ्रमणले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको मिति टुंगो लगाई उहाँको नेपाल भ्रमणलाई  सुनिश्चितता गर्न सक्दछ । 

दोस्रो महत्वपुर्ण छलफलको बिषय भनेको बीआरआईका बारेमा अहिलेसम्म भएका सम्झौताको कार्यान्वयन सन्दर्भमा छलफल हुनेछ । बीआरआईका बिषयमा अहिले सम्म नेपालमा चर्चामा रहेको विषय भनेको केरुङ्ग काठमाडौ रेल्वे नै हो । यसका अतिरिक्त उत्तर दक्षिण राजमार्गका बिषयहरु, अप्टिकल फाइवर, पेट्रोलियम पाइपलाइन, उर्जाका बिषयहरु पनि प्रमुख छलफलको स्थानमा रहेका छन् । यो भ्रमणका अवसरमा काठमाडौं केरुङ्ग रेलमार्गको बिस्तृत परियोजना प्रस्ताव कहिले देखी शुरु गर्ने र यसको लगानीको मोडल अनुदान वा ऋण के हुने भन्ने बिषयमा छलफल हुन सक्दछ । स्याफ्रुवेसी गल्छी सडकको स्तरोन्तीको बिषय पनि यो भ्रमणमा प्राथमीकताकासाथ उठ्नेछ । समग्रमा नेपाल चीन कनेक्टीभिटिकै बिषयहरु भ्रमणमा प्राथमिकताका साथ उठ्न सक्दछन् । नेपालका तर्फबाट बीआरआईमा प्रवेश पाउने अर्को नयाँ बिषय भनेको मदन भण्डारी साइन्स एण्ड टेक्नोलोजि युनिर्भसिटीको बिषय पनि हुन सक्दछ । जसले बीआरआईमा पहिलो प्राथमिकताका पाउन सक्दछ ।

बीआरआइका बिषयमा द्धिपक्षिय छलफलहरु हुनु र दुई देशकावीचमा सम्झौता हुनुमात्रै आफैमा महत्वपुर्ण कुरा हैन । महत्वपुर्ण पक्ष भनेको त्यसको कार्यान्वयन हो । अहिलेसम्म नेपाली पक्षले पनि बीआरआईका बिषयबस्तु कसरी कार्यान्वयन गर्ने भन्ने बिषयमा ठोस योजना नसकिरहेको र चिनियाँ पक्षले पनि नेपालमा बीआरआइ अन्र्तगत के के बिषयमा कामगर्ने भन्ने ठोस निर्णय गर्न नसकिरहेको अवस्थामा चिनियाँ बिदेशमन्त्री वाङ यीको यो भ्रमणले नेपाल चीनबीचमा नयाँ उचाइ प्राप्त गर्ने, अलमलमा रहेका बीआरआइका सम्झौताहरुले कार्यान्वयनमा मुर्तता पाउने र चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको सुनिश्चितता गर्न सक्दछ ।