जननेता मदन भण्डारीले आफ्नो जीवनकालमा दार्शनिक, सैद्धान्तिक, राजनीतिक र साहित्यिक क्षेत्रमा सघनरूपमा विचार प्रवाह गर्नुभएको छ । लेखेर र बोलेर उहाँले विविध विषयमा व्यक्त गर्नुभएका दृष्टिकोणहरू संग्रह गर्दै त्यसलाई प्रकाशित गर्ने सकारात्मक प्रवृत्तिहरू पनि देखा परेका छन् । उहाँका विचारहरू संगठित रूपमा प्रचार प्रसार हुँदै आएका छन् भने व्यक्तिगत तवरमा पनि उहाँका धारणाहरूलाई प्रवाह गर्ने कार्यहरू हुने गरेका छन् । लेख्य र कथ्य दुबै रूपमा प्रभावशाली उहाँका वैचारिक प्रस्तुतिहरू कालजयी छन् । नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) का प्रणेता नविन विचारक जननेताका ती सामयिक प्रस्थापनाहरूले नेपाली समाजलाई लामो समयसम्म मार्गदर्शन गरिरहने सजिलै विश्वास गर्न सकिन्छ ।

२०५० साल जेठ ३ गते तत्कालिन नेकपा (एमाले) कास्की जिल्ला सम्मेलनको बन्द शत्रलाई गर्नुभएको संबोधन नै जननेताको अन्तिम संबोधन बन्न पुग्यो । यो कार्यक्रम सकेर पार्टीको जनसंगठन अखिल नेपाल महिला संघद्वारा चितवनमा आयोजित कार्यक्रममा जाँदै गर्दा बाटोमा पर्ने चितवनको दासढुङ्गा भन्ने स्थानमा उहाँ सवार गाडि रहस्मय दुर्घटनामा परेर जननेताको अवसान भएको थियो । जननेताको भौतिक शरीर नभएको सत्ताइस बर्षहरू बितिसकेका छन् तर उहाँका विचार र दृष्टिकोणहरू अमर बनेका छन् । विश्व कम्युनिष्ट आन्दोलनमा नै नयाँ आयाम थप्ने जननेताका बहुमूल्य सैद्धान्तिक दृष्टिकोणहरूको मार्गदर्शनमा नै आज नेपालको कम्युनिष्ट आन्दोलन र संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ बनिरहेको छ । वर्तमान नेकपाको यात्रा यहाँसम्म आइपुग्नमा जननेताको ऐतिहासिक योगदानको पृष्ठभूमि रहेको छ । 

जननेताले पोखरामा गर्नुभएको अन्तिम संबोधन करिब ३ घण्टाको थियो । आफ्नो संबोधनमा उहाँले कम्युनिष्ट सिद्धान्त र यसको बहुआयामिकता, पार्टी संगठन सुदृढीकरणका निम्ति जनतासँगको सम्बन्ध सुमधुर बनाउनु पर्ने विषय, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको विकासका लागि देशको कम्युनिष्ट आन्दोलनको मौलिकपनालाई आत्मसात गर्नुपर्ने पक्ष, पार्टीले लिएको गन्तव्यमा पुग्न तालिम तथा प्रशिक्षणलाई प्रभावकारी तुल्याउनु पर्ने धारणा, पार्टी निर्णय र यसको कार्यान्वयनले पार्ने प्रभावबारे दृष्टिकोण, असमान सन्धि सम्झौता र राष्ट्रियता सुदृढीकरणजस्ता विषयहरूको उठान गर्दै त्यसको सुस्पष्ट व्याख्यान प्रस्तुत गर्नुभएको थियो । एउटा कार्यक्रममा उहाँद्वारा व्यक्त धारणाले अहिले पनि उहाँले नेतृत्व गरेको विरासत सम्हालेको पार्टीका गतिविधिहरूलाई दिशानिर्देश गरिरहेका छन् । नेपाली जनताको समृद्धिको यात्रामा उहाँका दृष्टिकोणहरू कामयावी बनिरहेका छन् । सधै कुनैपनि विषयवस्तुउपरको प्रस्तुतीमा रहने स्पष्टता र खँदिलोपन नै जननेताका विचारहरूलाई मूल्यवान र दीर्घजीवि बनाउने माध्यम हुन् । यसबाट उहाँका अनुयायी एवं देश र जनताको समृद्धि हासिलका निम्ति अग्रसर हुने नेता तथा कार्यकर्ताले आत्मसात गर्दै त्यसलाई व्यवहारमा लागू गर्नु पर्दछ । 

जननेताले पोखराको संबोधनमा अगाडि सार्नुभएको एउटा असाध्यै महत्वपूर्ण सवाल भनेको ‘सिद्धान्तका निम्ति जीवन होइन, जीवनका निम्ति सिद्धान्त हुनुपर्छ’ भन्ने हो । जीवनको गतिशीलता र सामाजिक सिद्धान्त प्रयोगको अन्तरसम्बन्धबारे उहाँको यो दुरदृष्टियुक्त धारणालाई कसैले चुनौति दिन सक्दैन । यस बहुआयामिक सुत्रभित्र नै वास्तवमा उहाँको अगुवाइमा प्रतिपादित सिद्धान्त जबजको उद्भव, विकास र गन्तव्यको अन्तर्य वेष्ठित भएको छ । सन् १९१७ मा सम्पन्न भएको समाजवादी क्रान्तिको जगमा निर्मित सोभियत मोडेलको समाजवादले धक्का खाएपछि पूर्वी युरोपलगायत अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन नै रक्षात्मक अवस्थामा धकेलिएको  परिवेशमा कसैले सैद्धान्तिक जडता त कसैले विसर्जनको बाटो समाइरहेकामा सिद्धान्त र जीवनबीचको अन्योन्याश्रित सम्बन्धबारे जननेताको उक्त दृष्टिकोण सटिक, तार्किक र मर्मस्पर्सि छ ।  

सिद्धान्त जीवनका निम्ति नै हो । यसमा कुनै विवाद होइन । तर सिद्धान्त प्रतिपादन भएको सापेक्षताको परिवेशमा मात्र त्यो सिद्धान्तले जीवनलाई पथप्रदर्शन गर्न सकेको हो भन्ने बुझ्नु पर्दछ । जडसुत्रवादीहरूले माक्र्सवादका प्रवर्तकद्वारा त्यसबेलाको समाजलाई विश्लेषण गरेर मुक्तिको सिद्धान्त प्रतिपादन गरेको बुझ्न सकेनन् र नयाँ परिवेश र नयाँ ठाउँमा पनि हुबहु पुरानै सिद्धान्तका पोथालाई अपनाए । फलस्वरूप परिवर्तनको आन्दोलनले धक्का व्यहोर्नु प¥यो । यस कुरालाई गहिरोसँग बुझनु भएका जननेताले त्यही भएर पोखरामा थप भन्नुभयो ‘दिमागलाई सधँै खुल्ला राखौँ’ । अर्थात् माक्र्सवादको प्रयोग सिर्जनात्मकरूपले गर्नुपर्छ । समकालिन समाजको सही विश्लेषण गर्न नसक्ने अनि सिद्धान्त रक्षाका नाममा पुरानै सुत्रमा टाँसिइरहने कुराले कसरी परिवर्तित सन्दर्भमा सामाजिक क्रान्ति संभव हुन्छ ? समाज अर्थात् जीवन गतिशील भएकाले यस परिवेशसँग मेल खाने ढंगले माक्र्सवादका कालजयी सुत्रहरूलाई लागू गर्दा नै क्रान्ति सम्पन्न हुन्छ भन्ने ठोस विश्लेषण जननेताले गर्नुभयो । 

त्याग तपस्याका नाममा कम्युनिष्ट पार्टी भूमिगत नै हुनुपर्छ, सही विचार अँगालेकाले किन प्रतिष्पर्धा गर्ने र एक्लो वीर नै त हौँ भनेर पुरानै मान्यतामा अडिएर नेपाली कम्युनिष्ट आन्दोलन टाँसिएको थियो भने त्यो बेलाको पूर्व नेकपा (एमाले) र परिवर्तित सन्दर्भको नेकपाको यो विस्तारित र सुदृढ अवस्था संभव थिएन । समाज विज्ञानको सहीपनालाई आत्मसात गर्नेहरूले खास आग्रह र पुर्वाग्रह राखेर होइन सफलता र असफलताका दुबै परिस्थितिको ठिक विश्लेषण गर्न तथ्य तथ्यांक केलाउन मस्तिष्कलाई चलायमान र खुल्ला राख्नुपर्ने उचित तर्क तथा विश्लेषण जननेताले अगाडि सार्नु भएको थियो । जसलाई क्रान्तिकारी हुँ भन्नेहरूले सधैँ अंगिकार गर्नु पर्दछ । त्यहि भएर तत्कालिन नेकपा (एमाले) को ऐतिहासिक पाँचाँै राष्ट्रिय महाधिवेशनका सन्दर्भमा ‘जडसुत्रवाद र विसर्जनवादको बिरोध गरौँ, माक्र्सवादको सिर्जनात्मक प्रयोग गरौँ’ भन्ने सामयिक मान्यता जननेताकै अगुवाईमा अगाडि सारिएको थियो । 

संबोधनका क्रममा उहाँले कम्युनिष्ट पार्टीले जनतालाई शोषणबाट मुक्ति दिलाइदिन्छौँ भन्ने मान्यता गलत भएको भन्दै ‘मुक्तिको महाकाव्यका रचयिता जनता हुन्’ त्यसैले वर्गीय शोषणको जाँतोबाट बाहिर निस्किन जनतालाई प्रशिक्षित गर्ने, संगठित गर्ने र उत्प्रेरणा प्रदान गर्ने कार्य मात्र कम्युनिष्ट पार्टीले गर्ने हो भन्ने दृष्टिकोण अगाडि सार्नु भयो । जनता नै सर्वोपरी भएकाले कम्युनिष्ट पार्टी तथा यसका नेता तथा कार्यकर्ताले दम्भ गर्ने होइन बरु जनताका दैनन्दिन गतिविधिलाई कसरी सरल र सहज तुल्याउन सकिन्छ संगठन विस्तारकै दौरानमा ती कुरामा पनि ध्यान दिनु पर्दछ । यसबाट जनताको हृदय जित्दै जनतालाई पार्टी संगठनको वरीपरी गोल्बन्द गर्दै सामाजिक परिवर्तनको अभियानलाई गन्तव्यमा पु¥याउन सकिन्छ भन्ने विश्वास जननेताको रह्यो । 

पार्टी र जनसंगठनको बीचमा सुमधुर सम्बन्ध हुनु पर्ने कुरा उल्लेख गर्दै एउटा जनसंगठन र अर्को जनसंगठनका बीचमा समन्वय नगर्ने, एक अर्काको कामको जानकारी नहुने जस्ता कुराबाट सिंगो आन्दोलन जोगिनु पर्ने कुरा उहाँले गर्नुभयो । जस्तो कि अनेरास्ववियूको काम अनेमसंघलाई थाहा नहुने र अनेमसंघको काम अनेरास्ववियुलाई थाहा नहुने हुनु हुँदैन । पार्टी सदस्यहरू कुनै न कुनै रूपमा संगठित हुनैपर्ने मान्यता अगाडि सार्दै कार्यकर्ताको सहि मूल्यांकन हुनुपर्ने विषय उहाँले अगाडि सार्नुभएको थियो । उहाँले संगठकहरू राजनीतिक विषवस्तुका साथै विशेषज्ञ बनेर जनताको सेवामा जुट्नु पर्ने जसबाट जनस्तरमा पार्टी लोकप्रिय बन्ने कुरा बताउनु भयो ।  

केही समय पहिले चीनको भ्रमण गरेर फर्किनु भएका जननेताले चीनियाँ व्यावहारिक कार्यशैलीबाट प्रभावित बनेर ‘जबर्जस्त रूपमा एउटा कुरा मनमा लागेको छ’ भन्दै महाधिवेशन र पार्टी कमिटीले गरेका फैसलाहरू कार्यान्वयन गर्न सिङ्गो पार्टी अर्जुनदृष्टि दिएर खट्नु पर्छ भन्नुभयो । यस्तो कार्यशैली अपनाउँदा गलत भए सच्याउन सकिन्छ र सही भए त त्यो झन पार्टीको ठूलो पूँजी हुन्छ र आगामी दिनका निम्ति व्यवहारमा मार्गदर्शन मिल्छ । पार्टीका सम्मेलन र बैठकहरू औपचारिकताका लागि होइनन् बरु ती त आगामी कार्यका लागि मार्गदर्शक हुने भएकाले ‘भेडियाधसान’ प्रवृत्तिका साथ सक्रिय हुनु पर्दछ भन्ने जननेताको उद्घोष थियो । यो नै चिनीयाँ कार्यशैली हो । सन् १९६६ मा चिनीयाँ कम्युनिष्ट पार्टीले साँस्कृतिक क्रान्ति शुरु ग¥यो र त्यसमै केन्द्रित भएर चिनीयाँहरू लागे तर जब त्यो गल्ती भएको महसुस भयो र त्यसलाई चटक्कै छाडे । तनमनले लागेका थिए र नै त्यो गंभीर त्रुटी थियो भन्ने पत्ता लाग्यो र दश वर्षपछि विश्राम लिइयो । अहिले चिनीयाँहरू बजारमुखी समाजवाद निर्माणको अभियानमा दिलोज्यान दिएर लागेका छन् र आधुनिकतासँगै विश्वको पहिलो अर्थतन्त्र भएको मुलुकमा रूपान्तरणको ध्याउन्नमा छन् ।   

महाधिवेशनमा छलफल गरिने दस्तावेजहरू पार्टी सदस्यसम्म सीमित गरिने कम्युनिष्ट आन्दोलनको रुढिगत मान्यतालाई चुनौति दिँदै कम्युनिष्ट पार्टीलाई लोकतान्त्रीकरण गर्दै जनअपनत्व कायम गर्न अग्रसर जननेताले २०४९ सालमा सम्पन्न पार्टीको पाँचौँ महाधिवेशनपछि चीन र भारतको भ्रमण गर्नुभयो । परिवर्तित विश्व परिस्थितिमा पार्टीले लिएका दृष्टिकोणहरूलाई हिनताबोधले होइन गर्वका साथ नै प्रस्तुत गर्न उहाँ कहिँकतै चुक्नु भएन । 

पोखराको संबोधनमा जननेताले १९ देशका २१ पार्टीहरू सम्मिलित कलकत्ताको सेमिनारमा जबजको सान्दर्भिकताबारे प्रष्ट पार्दै ‘माक्र्सवाद लेनिनवादको प्रयोग आफ्नो ठाउँको विशिष्टताको आधारमा हुन्छ’ भनेर उल्लेख गरेको बताउनु भएको थियो । जननेताले उक्त सेमिनारमा कम्युनिष्ट आन्दोलनको एकरूपतामा मात्र एकता खोज्ने प्रवृत्तिको आलोचना गर्दै विविधताभित्र पनि साझा विषयहरू खोज्नु पर्ने कुरा अगाडि सार्नुभयो । उहाँको यस मान्यताप्रति त्यहाँ सहभागि धेरै प्रतिनिधिहरूले सहमति समेत जनाएका थिए । 

तत्कालिन नेकपा (एमाले) ले संसदमा टनकपुर सन्धि सम्बन्धमा संघर्ष गरेको प्रसंग उप्काउँदै देशका प्राकृतिक स्रोत तथा साधनको दुरूपयोग हुन नदिन दुई देशका बीचमा हुने सम्झौता पारस्परिक लाभका आधारमा हुनुपर्ने कुरामा पोखराको कार्यक्रममा जोड दिनु भएको थियो । असमान सन्धि सम्झौताको विरोध गर्दै जननेताले एक प्रखर राष्ट्रवादी छवि कायम गरेकाले नै तत्कालिन राजा वीरेन्द्रले जननेताको निधनमा सन्देश जारी गर्दै मुुलुकले ‘राष्ट्रवादी तथा सिद्धान्तवादी राजनीतिज्ञ’ गुमाएकोमा दुःख प्रकट गरेका थिए । 

जननेता मदन कुमार भण्डारी व्यक्तिगत तथा गुटगत स्वार्थभन्दा माथि उठेका राष्ट्रको सुनौलो भविष्यका स्वप्नद्रष्टा हुनुहुन्थ्यो । प्रतिक्रियावादी षड्यन्त्रको शिकार बनेर एकचालिक वर्षको अल्पायुमै जीवन गुमाउनु भएका जननेता साँच्चै नै राजनेता हुनुहुन्थ्यो । अब सिद्धान्तनिष्ठ जननेता विरोधीहरुसँग प्रतिष्पर्धा गर्न आउने अवस्था रहेन । त्यसैले उहाँलाई दिनु पर्ने केही छैन । तर उहाँद्वारा प्रवर्दित सिद्धान्त निश्चयनै वैचारिक प्रतिष्पर्धामा छ । माक्र्सवाद अजेय हो र त्यसकै सिर्जनात्मक उद्भव र प्रयोग जबज जसले सफलताका शीखरहरू चुम्दैछ त्यो पराजय हुनै सक्दैन । यसमै देश र जनताको भविष्य उज्ज्वल छ । त्यसैले जबजको संरक्षण तथा सम्बद्र्धनमा अग्रसर हुनु नै जननेताप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।