मोरङ, ११ फागुन - नामअनुसारको कामले गर्दा वर्षेनि मोरङको बक्राहा नदीबाट जनजीवन प्रभावित हुनाका साथै जनधनको क्षति भइरहेको छ ।

    वर्षातमा उर्लिएर आउने बाढीका कारण जनधनको क्षति हुने गर्दछ । हेर्दा सामान्यजस्तो देखिने यस नदीबाट जमीन कटान र बस्ती  डुबानमा पर्ने गरेको छ । नदीमा आउने बाढी र कटानको समस्यालाई समाधान गर्न वर्षेनि स्थानीयवासीले आवाज उठाइरहेका छन् । नदी नियन्त्रणको काम पनि नभएका होइन तर नदीमा उर्लिएर आउने बाढीको अगाडि कसको के लाग्छ । अनियन्त्रित बाढी नै स्थानीयवासीको दुःखका कारण बन्न जान्छ । नदीले वर्षेनि दुःख दिन थालेपछि भर्खरै सरकारले कोशी तथा बक्राहा नदी व्यवस्थापन आयोजना कार्यालय विराटनगरमा स्थापना गरेको छ भने यसबाट नदीको किनार तथा छेउछाउका वासिन्दा उत्साहित भएका छन् । 

    पूर्वीउत्तर क्षेत्र उर्लावारी नगरपालिका–१ का सोमनाथ अधिकारीको घर नजीकै बक्राहा नदीमा बाँध लगाउने जानकारी पाएपछि उहाँ हर्षित हुनुहुन्छ । शिरानबाट बगेर आउने यस नदीमा पानीको अत्यधिक वेग हुन्छ । उहाँले  नदीले वर्षेनि धार परिवर्तन गर्नाले पनि कुन वर्ष के हुन्छ अनुमान लगाउन गाह्रो हुने बताउनुभयो । 

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत कोशी तथा बक्राहा नदी व्यवस्थापन आयोजनाले यस वर्ष बक्राहालगायत जिल्लाका अन्य नदी गरी  १५ स्थानमा तटबन्ध निर्माण गर्ने योजना बनाएको छ ।

    चालू आर्थिक वर्षमा आयोजनाले बक्राहा, लोहन्द्रा, चिस्याङ र डाँसबक्राहा नदीमा तटबन्ध निर्माण गर्ने गरी प्रक्रिया अघि बढाइएको आयोजनाप्रमुख डिभिजन इन्जिनीयर कैलाश श्रेष्ठले जानकारी दिनुभयो । 

    उहाँका अनुसार  मिक्लाजुङ्ग–६ मा ३०० मिटर तटबन्ध निर्माणका लागि रु ९२ लाख, उर्लाबारी–३ र ८ मा ३५० मिटरका लागि रु एक करोड ६५ लाखको बोलपत्र आह्वान भइसकेको छ भने पथरीशनिश्चरे नगरपालिका–५ मा १०० मिटरका लागि रु ५५ लाख, सुनवर्षी–६ कयाक्षी र ७ को चेतामा क्रमशः २७५ मिटर र ३१५ मिटर तटबन्ध निर्माणका लागि रु दुई करोड ५२ लाख बजेट विनियोजन भएको छ ।

    रतुवामाई नगरपालिका–१ सोनापुरमा १८३ मिटर तटबन्ध निर्माणका लागि रु ८७ लाख ९६ हजार बजेट निकासा भएको छ । आयोजनाले  यी आठ स्थानमा रु छ करोड ६१ लाखको लागतमा एक हजार ५२३ मिटर तटबन्ध निर्माण गर्ने भएको छ । 

    बक्राहाबाहेक लोहन्द्रा खोला बग्ने बेलबारी–१ र ५, ग्रामथान गाउँपालिका–४, कटहरी गाउँपालिका–२, चिस्याङ बग्ने कानेपोखरी–५ र ८, रङ्गेली–८ र डाँसबक्राहा बग्ने पथरीशनिश्चरे–८, ९ र १० मा तटबन्ध गरिने आयोजनाले जनाएको छ । 

    कोशी तथा बक्राहा नदी व्यवस्थापन आयोजनाले बक्राहा नदीका सात स्थान र अन्य तीनवटा खोलाका आठ स्थान  गरी जम्मा १५ स्थानमा तटबन्ध निर्माणका लागि  सहमतिपत्रमा हस्ताक्षर हुनमात्र बाँकी रहेको बताइएको छ । 

    गत वर्षको बाढीले बढी असर गरेका स्थान, स्थानीयवासी र जनप्रतिनिधिको सुझावअनुसार तटबन्ध निर्माण गरिने स्थानको छनोट गरिएको आयोजनाका इन्जिनीयर रिन्जे गुरुङले जानकारी दिनुभयो ।  नदीमा आएको बाढीका कारण गत वर्ष ७५ घर  बगाइएको थियो । वर्षायाम शुरु हुनुअघि नै काम सम्पन्न गर्नेगरी काम अघि बढेको उहाँले जानकारी दिनुभयो ।    

    खेतीयोग्य जमीनलाई नदीको कटानबाट जोगाउन वर्षायाम अघि नै निर्माण सम्पन्न गर्ने गरी छुट्टाछुट्टै निर्माणका लागि प्याकेजमा बोलपत्र  आह्वान गरिएको आयोजनाले जनाएको छ ।  

    बक्राहा, लोहन्द्रा, चिस्याङ र डाँस–बक्राहाले नदीमा आएको बाढीले बढी क्षति गर्दै आएका छन् । नदीले वर्षेनि लाखौँ मूल्य बराबरको धानबाली नष्ट गरेर उब्जाउ जग्गा बगरमा परिणत हुने गरेको छ । बाढीका कारण सयौैँ घर नष्ट हुनु र  हजारौँ घर डुबानमा पर्नु यो नदीको मूल विशेषता रहेको छ ।

    उर्लाबारी नगरपालिका–१ का नरबहादुर विश्वकर्माको खोला छेउमा घर भएकाले वर्षातको समयमा आउने बाढीले त्रसित बनी  रातभरि जाग्राम बस्नु परेको दुःख सुनाउनुभयो । उहाँले भन्नुभयो “बक्राहा नदीमा आउने बाढीले मेरो केही खेती बगरमा परिणत भएको छ ।  यसबाट जोगिन सरकारले ठोस योजना बनाउनुपर्ने छ ”, उहाँले भन्नुभयो ।  

    जिल्लाको सबैभन्दा दुर्गम स्थान  मिक्लाजुङ निवासी राधा निरौला भन्नुहुन्छ, “मानिसले दिएको दुःख सहन सकिन्छ ,। खोलाले दिएको दुःख सहन गाह्रो छ किनकि खोलाले एकै पटक सबै थोक बगाएर लैजान्छ ।” सोही स्थानका न्यौपाने बस्तीमा पनि बक्राहा नदी गाउँघरमै पसेर दुःख दिएको कुरा बिर्सन नपाउँदै फेरि त्यही दुःखको चपेटामा पर्ने गरेकाले न्यौपाने बस्तीका बासिन्दा हिउँदमा भने ढुक्क भएर घरमा बस्ने गरेका छन् ।
     
    मिक्लाजुङ–६ का देवी निरौलाले खोलाभन्दा बस्ती तल भएकाले यस क्षेत्रमा जोखिम धेरै भएको बताउनुहुन्छ । बाढी आउनासाथ बस्तीमा पसिहाल्ने हुनाले दिगो व्यवस्थापनका लागि धेरै पटक गुनासो सम्बन्धित निकायमा गर्दै आएको बताउनुभयो ।

    बस्ती विस्तार हुनु र खोला साँघुरिँदै गएपछि बस्ती झन् बढी जोखिममा पर्ने गरेको आयोजनाको अध्ययन रहेको छ । आयोजनाका इन्जिनीयर रिन्जे गुरुङले स्वतन्त्ररुपमा बग्ने नदी मानिसका कारण खुम्ँिचदै गएकाले समस्या बढेको अनुभव सुनाउनुभयो । एउटा तटबन्धले  ४० देखि ५० हेक्टर जमीनलाई बाढीको क्षतिबाट जोगाउन सकिने इन्जिनीयर गुरुङले जानकारी दिनुभयो । 

    जिल्लामा सबैभन्दा बढी दुःख दिने बक्राहा नदीलाई नियन्त्रण एवं व्यवस्थित गर्न आगामी वर्षदेखि एसियाली विकास बैंक (एडिबी)ले पनि लगानी गर्ने योजना बनाएको आयोजनाले जनाएको  छ । दीर्घकालीन समस्याको स्थायीरुपमा समाधानका लागि नदी नियन्त्रणका लागि सर्भेको काम भइरहेको छ । 

    बक्राहा नदीको समस्या समाधानका लागि योजनाबद्धरुपमा काम गर्न आवश्यक रहेको नदी क्षेत्रका प्रभावित वासिन्दाको  भनाइ छ ।  

    उर्लाबारी–१ का वीरबहादुर माझीले बक्राहा नदीले खेतीयोग्य जमीन सबै लग्दा भूमिहीन हुनु परेको गुनासो पोख्नुभयो । उहाँले खोला छेउ लागेपछि खोलाको बीचमा बिरुवा लगाएर बाली लगाउन शुरु गरे पनि केही वर्र्षपछि हुर्किएका बिरुवासमेत बाढीले बगाएर लगेको बताउनुभयो । उहाँले भन्नुभयो, “नदी व्यवस्थापन भएपछि खोलामा पसेको जग्गा फेरि प्राप्त गर्न सक्थे र मेरो दिनचर्या पनि परिवर्तन हुनसक्थ्यो ।” 

    आयोजनाप्रमुख श्रेष्ठले कार्यालयले तोकिएको समयमा निर्माण सम्पन्न गर्नका लागि नियमितरुपमा  अनुगमन  गर्ने गरिएको  जानकारी दिनुभयो । आयोजनाले गत वर्ष रु नौ करोडको लागतमा दुई हजार ३१६ मिटर तटबन्ध निर्माण गरेको थियो । उहाँले भर्खरै स्थापना भएको कार्यालयले एकैपटक धेरै काम गर्न नसकिए पनि बिस्तारै सबै काम हुँदै जाने र यसबाट नागरिक अत्यधिक लाभान्वित हुने दाबी गर्नुभयो । 

–मनोज दाहाल/रासस