डा.बिमला राइ पौड्याल, काठमाडौं– कामको शिलशिला तथा पारिवारसँग बिदा मनाउने क्रममा मलाई विश्वका बिकसित, मध्यम आय भएका वा अल्पबिकसित धेरै देशको भ्रमण गर्ने मौका धेरै पटक मिल्यो । आफ्नै छिमेकी देश चीनको भ्रमण गर्ने मौका भने यसपाली मात्र मिल्यो । यो मंसिर २ देखि मंसिर १२, २०७४ को दश दिने भ्रमणको मौका मिलाइदियो, चीन सरकारले बेइजिङमा आयोजना गरेको शिल्करोड गैसस समन्वय संजालको पहिलो सम्मेलनले । प्रतिनिधि तथा प्रदेशसभाको चुनावी माहोलमा देश तातिरहेको बेला भएको यो भ्रमणले मलाइ चीन घुम्ने अवसर त दियो नै, त्यो घुमाई सँगसँगै यथार्थसँग साक्षात्कार गर्ने र चुनावी भाषणमा आइरहेका केही भ्रम चिर्ने मौका पनि दियो । 

हाम्रो देशको बिद्यमान चुनावी माहोलमा सबैभन्दा धेरै चर्चा चलेको बिषय हो, दुई ठूला कम्युनिष्ट पार्टी मिलेर बनेको वाम गठबन्धन र यो गठबन्धनले दुइतिहाई मत परिणाम ल्याएर स्थिर सरकार बनाए के हुन्छ भन्ने अड्कलबाजी । वाम गठबन्धनले भनेको छ– स्थिर सरकार र देशको समृद्धि नै गठबन्धन बन्नुका उदेश्य हुन् । राजनैतिक अस्थिरता र प्रत्येक ९ महिनामा सरकार परिवर्तन हुँदा देशको बिकास हुन सकेन, बहुमतको सरकार स्थिर हुन्छ र समृद्धिको बाटोमा देश अगाडि जान्छ । अर्कोतर्फ देशमा पटक पटक सरकार चलाएको, हाल सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस भन्छ,– वाम गठबन्धनले बहुमत ल्याएमा लोकतन्त्र सकिन्छ, अधिनायकबाद आउँछ, बिकासमा सबै सहभागी हुन पाउंदैनन, निजि क्षेत्र र गैससको भूमिका कमजोर हुन्छ, मानब अधिकारको हनन हुन्छ, त्यसैले बामपन्थीको बहुमतको सरकार बन्न दिनु हुँदैन । 

यिनै तर्कबितर्क भइरहेको बेला मेरो चीन भ्रमण तय भयो । ५ जना नेपाली सहभागी यो भ्रमणमा जादै गर्दा मैले सोचें, कम्युनिष्टहरुले बर्षौंदेखि शासन गरेको यो देशमा हेरौं न त, अधिनायकबाद छ कि छैन, समृद्धि कस्तो छ र नेपालमा चलेको हल्ला भ्रम हुन कि यथार्थ ? यो लेखमा यिनै प्रश्नको वरिपरि अवलोकन गर्दाका सिकाइहरु समेटिएको छ ।


चिनिया कम्युनिष्ट पार्टीको बिकास, समृद्दिको बाटो र अधिनायकवादको भ्रम

सम्मेलन शुरु हुनु एक दिन अगाडी अन्तराष्ट्रिय रणनैतिक अध्ययन केन्द्रका एसोसियेट प्रोफेसर डा लियाङ्ग याबिनले चीन र बिश्वको परिवर्तित सन्दर्भमा चिनियाँ कम्युनिष्ट पार्टीको सिद्धान्त र समृद्धिको लागि लिएको बाटोको बारेमा बिस्तृत जानकारी दिए । उनको भनाई अनुसार माउत्सेतुङ्गले कम्युनिष्ट पार्टी बनाउँदाको समय र अहिलेको समयमा धेरै अन्तर छ । जसरि संसार गतिशिल छ, जनजिविकाका आधार र मानिसका बिचार गतिशिल हुन्छन, त्यस्तै दलहरुका सिद्धान्त र लिने बाटो पनि गतिशील हुन्छन । सपना एउटै होला, लक्ष्य एउटै होला तर त्यहा पुग्ने रणनीति र कार्यनिती गतिशिल हुनुपर्छ । यसै मान्यता अनुसार चिनियाँ कम्युनिष्ट पार्टीले समय समयमा देश र बिश्वको अर्थ तथा भूराजनिति अनुसार आफ्ना रणनीति परिवर्तन गरेको छ । यसका उदाहरण हुन ः सन १९७८ मा अवलम्बन गरेको अर्थ र सामाजिक संरचनामा खुल्लापन, सन १९८७ को जनताको भौतिक र सास्कृतिक आवश्यकताको पहिचान र त्यसको परिपूर्ति गर्ने रणनीति । कम्युनिष्टहरुले लगातार स्थायी रुपमा सरकार चलाएको चीनले सन १९८० को दशकदेखि देशको कूल ग्राहस्र्थ उत्पादन र प्रति ब्यक्ति आय ब्यापक रुपमा बढाउंदै लग्यो । सन २०१५ को आंकडा अनुसार संसारको कुल गार्हस्थ उत्पादनको २५.५ अमेरिका संग छ भने १४.८४ प्रतिशत चीनसंग रहेको छ, र सन २०१६ मा चीनको प्रति ब्यक्ति जीडीपी ८२६० अमेरिकन डलर पुगेको छ । हाल सन २०१७ मा आउदा चीन बिश्वको दोश्रो ठुलो अर्थतन्त्र भएको देश बनेको छ । छोटो समयमै गरिब देशबाट मध्यम आय भएको देशमा दर्ज भएको चीनको शहरीकरण र भौतिक संरचनामा भएको प्रगती हेर्दा अचम्म नहुने कमैमात्र होलान् । त्यहाँ अप्ठेरो र दुर्गम ठाउँमा छरिएर रहेका घर परिवारहरुलाई समेटेर रातारात नै खाली पहाड, जंगल फाडेर ब्यवस्थित शहरमा बसोबास गराइने गरेको धेरै उदाहरण रहेछन् । 


आर्थिक बृद्धि त भयो, तर गरिब र धनीबीचको खाडल पुर्न सकिएन भने समाजबादको सपनामा अघि बढ्न सकिन्न भन्ने बुझेको चिनियाँ कम्युनिष्ट पार्टी र सरकारको सारा ध्यान अहिले धनि र गरिब बीचको असमानताको स्थिति अध्ययन गर्ने र सामाजिक संरक्षण र आर्थिक बृद्धीको प्रगतिशिल पुनर्बितरण गरेर असमानता घटाउने रहेको प्रोफेसर याबिङ्गले बताए । चीनले अगाडि सारेको सिल्क रोडको नया परिस्कृत रुप बेल्ट एण्ड रोड ईनिसिएटिभ पनि चीन आफुमात्रै बिकास गरेर यो बिकास दिगो हुदैन, अन्य देशको पनि बिकास हुनुपर्छ भन्ने मान्यतामा देशहरुबीच र जनताहरुबिचको बिद्यमान गरिबी र आर्थिक असमानता कम गर्ने अभियानको एक रुप रहेको उनले बताए । एकमना सरकारको दुरदृष्टी र सबैको बिकास होस भन्ने चाहना बाट म प्रभाबित भएं।


कम्युनिष्ट सरकार, ब्यापार नीति र नीजि क्षेत्रको भुमिका  

खुल्ला बजार रणनीतिको एक प्रश्नमा देशको ब्यापार र राष्ट्रबादलाई सर्वोपरि राखेर सबै देशसंग ब्यापार सम्बन्ध बढाउने रणनीति चीनको कम्युनिष्ट सरकारले लिएको र कुन देशमा के ब्यापार गर्दा देशलाइ फाइदा हुन्छ, त्यसलाई राम्रो अध्ययन गरी अमेरिका लगायत संसारका सबै देशसंग ब्यापार सम्बन्ध बढाइरहेको प्रोफेसर र अन्य चिनियाँ सहभागीले बताए । उदाहरणको लागि, बोइङ ७८७ हवाइजहाज चीनमा बनाउने तर त्यसका लागि पाटपुर्जाहरु कुनै एक देशबाट नझिकाइ अलग अलग पाट पुर्जा अलग अलग देशबाट झिकाइएको र यो निर्णय कुनै देशको प्रभाबमा नभइ गुणस्तर र मुल्यको आधारमा सरकारले गर्ने र त्यसको बिरोध कतैबाट नहुने रहेछ । मैले सम्झिरहे, नेपालमा एउटा सरकारले गरेको ब्यापार सम्झौता ९ महिना पछि आउने अर्को सरकारले तोडिदिन्छ अनि लगानीकर्ता लगानी गर्न डराउँछन । सायद चीनको जस्तै स्थायी सरकार भए लगानीको बाताबरण चाहि राम्रो हुने थियो होला ।  

चुनावको माहोलमा अर्को मैले सुनेको छु, कम्युनिष्टहरुको शासनमा निजिक्षेत्र र नागरिक समाजको भूमिका कमजोर हुन्छ । तर हैन रहेछ, बेइजिङ्ग, बेङहाइ र नानिङ जस्ता ठाउँमा भएका बिभिन्न बैठक, अन्तरकृया र अवलोकन भ्रमणको शिलशिलामा हामीले थुप्रै चिनियाँ नीजि कम्पनी र नागरिक समाजका अगुवाहरुलाइ भेट्यौ, उनीहरुले उत्पादन गरेका वस्तु र सेवाहरुको बारेमा जानकारी लियौं र सरकार संगकै साझेदारीमा गैससले संचालन गरेका गरिबी निवारण कार्यक्रमको समेत अवलोकन ग¥यौं ।  त्यहाँ कम्युनिष्टको सरकार हुंदा पनि सबैले खुल्लारुपमा काम गर्न पाउने रहेछन । फरक के रहेछ भने सरकारले भने यी गैर सरकारी तथा निजि क्षेत्रको गुणस्तरको अनुगमन र जवाफदेहिताको मुल्याङकन गर्ने रहेछ र यी सबै सरोकारवालाले काम गर्ने साझा प्राथमिकता सरकारले तोके बमोजिम हुने रहेछ । सरकार बलियो भए सबै सरोकारवालाको काम देशको प्राथमिकता अनुसार र गुणस्तरको हुने रहेछ ।

कम्युनिष्ट सरकार, जातिय तथा लैंगिक समावेशिता र पहिचानको सवाल

भ्रमणको शिलशिलामा थाहा भयो, चीनमा ५६ जातजाती र धार्मिक बिबिधता रहेछ । हामीले प्रश्न ग¥यौं– कम्युनिष्टहरुले जातजाती र धार्मिक समुहको पहिचान र समाबेशितालाई कसरी ब्यवस्थापन गर्छन ? के सबै जातजाती खुशी छन ? त्यहाँको छलफल र भ्रमणबाट थाहा भयो, कम्युनिष्ट पार्टी र सरकार सबैमा जातजाती र महिला सहभागिताको सुनिश्चितता तल्लो तह (स्थानिय तह) बाटै हुने रहेछ । सबैले समान अवसर र जिम्मेवारी पाउनुपर्छ र पाउंछन । तर कामको मुल्यांकन र बढुवा भने जातजाती वा महिला पुरुष भनेर हैन, काम कस्तो गरेको छ भन्ने मुल्यांकनको आधारमा हुने रहेछ । जातीय पहिचानको सवालमा भने, प्रत्येक जातजातीको भाषा, पोशाक, धर्म, खानाको संरक्षण र सम्बद्र्धन गर्न राज्यले प्रत्येक बर्ष राम्रै लगानी गर्दो रहेछ । हाम्रो १० दिने भ्रमणमा हामी २ वटा जातजातीको संग्रहालय गयौं, हेपु जातिको हेपु डिनास्टी कल्चरल म्युजियम र सबै जनजाती अटाएको ग्वान्सी म्युजियम अफ नेसनालिटि अनि ग्वान्सीको तेह्रौ पन्चबर्षिय योजना देखाउने हलमा पनि देख्यौं सबै जातजातीको पहिचान अटाएको र सबै जातजाति र धार्मिक समुहहरुको लागि पर्याप्त श्रोत र अवसरहरु योजनामै समेटिएको । फेरी थाहा पायौं नानिंगमा मात्रै पाचवटा जनजाती बिषय पढाई हुने युनिभर्सिटिहरु छन रे । त्यसैले लाग्यो, कम्युनिष्टको सरकार आएमा जातीय र धार्मिक पहिचान हराउँछ भनेको पनि निराधार गफ र अड्कलबाजी नै रहेछ ।


योजना कार्यान्वयनको सुनिश्चितता, कामको मुल्याङन र जवाफदेहिता 

चिनियाँहरु धेरै काम गर्छन, मेहनती छन भन्ने त सुनेकी थिए तर स्थायी र बहुमतको अझ भनौ, चीनको सन्दर्भमा त एकल दल र एकल सरकारको ठुलो फाइदा राजनैतिक र सरकारी निर्णय कार्यान्वयन हुने कुराको सुनिश्चितता, कामको तदारुकता, योजनाको प्रभाबकारी कार्यान्वयन र तोकेकै समयमा बिकासका कामहरु फत्ते हुने रहेछ भन्ने चाहि पक्कै रहेछ । त्यहाँको निर्माण कार्य देख्दा लाग्छ चिनियाँहरु जे योजना बनाउंछन, त्यो गर्छन, जैले सक्ने भनेका हुन्छन, ठयाक्कै त्यही दिनमा पुरा गर्छन् । त्यहाँ निर्माण कार्य शुरुभएपछि रकम नपुगेर, कर्मचारी सरुवा भएर, ठेकेदार भागेर वा कामगर्ने मजदुरहरुको हड्ताल आदिको कारणले काम रोकिएको उदाहरण नै छैन रे । भ्रमणको क्रममा हामीले बेइहाइको ताइसान गांग पोर्ट निर्माण स्थलको अवलोकन ग¥यौं । सन २००७ मा पूर्बि एसियाली देशहरुसंग ब्यापार सम्बन्ध बढाउने उदेश्यको साथ राष्ट्रपति सी जिङपिङले शिलान्यास गरेर सुरु गरेको यो बिशाल पोर्ट शिलान्यास भएको २ बर्षमै सन २००९ देखि संचालनमा आएछ, निर्माण कार्य हाल बिस्तार हुदैछ । हामीले देख्यौं, २०९२५ वटा ठूला ठूला निर्माण सामाग्री चलीरहेका छन, ठिहिर्याउँदो जाडो र सिरेटोमा पनि सबै काम गरिरहेका छन्, पोर्ट बिस्तार गर्ने कामले पोर्टको संचालनमा केही फरक पारेको छैन । त्यहाँ काम गर्ने अफिसरहरु काम फत्ते नहुन्जेल सरुवा हुदैनन् रे । 

अनि मैले सम्झें, अढाइ बर्षअघि भुकम्प पुनर्निमाणका लागि भनेर हाम्रो सरकारले तदारुकताका साथ राष्ट्रिय पुनर्निमाण प्राधिकरण बनायो, त्यहाँ सरकारले नियुक्ति गरेको कार्यकारी अधिकृत सरकार फेरिएपिच्छे फेरिदा पुनर्निमाण काम अघि बढ्नै सकेन । सम्माननीय राष्ट्रपतिले शिलान्यास गर्नु भएको काठमाडौको रानीपोखरी र बारपाकको स्मृति पार्क होस वा प्रधानमंत्रीले शिलान्यास गर्नुभएको धरहरा, कुनै पनि त बनेका छैनन । अनि जस्को बनाउने जिम्मेवारी थियो उस्ले नबनाउदा, वा भनेको समयमा काम नसक्दा केहि सजाय भएको छैन, कसैले प्रश्न गर्न सक्दैन, बहुमतको सरकार छैन । मिलिजुली सरकार बन्दा काम नगर्ने मान्छे वा संस्था एउटा न एउटा दलको नजिक हुन्छ, जवाफदेहिताको प्रश्न उठ्दैन, उठेपनि कारबाही हुन्न । बाटो बिस्तार ढिलो हुंदा बर्षायाममा बालिकाहरु डुबेर मर्दा पनि ढिला गर्ने संस्था वा ब्यक्तिलाइ कारबाही हुन सकेन । अनि कसरी हुन्छ जवाफदेहिता र कामको प्रभाबकारीता ? 
 

भ्रमणपछि उठेका जिज्ञाशा 

यहाँ बारम्बार बिहान बेलुका सुनिरहेकी छु, बामपन्थी वा अर्को कुनै गठबन्धनले बहुमत ल्यायो भने लोकतन्त्रमा खतरा छ, मिलिजुली सरकारको ठाउँमा एकमना सरकार बन्छ र देश अधिनायकबादतिर जान्छ । सदियौदेखि कम्युनिष्टहरुले एकमना सरकार चलाएको चीनको बिकास हेर्दा र यसले चिरेको भ्रमहरु हेर्दा प्रश्न उठ्छ–यदि एउटा दल वा एउटा गठबन्धनले बहुमत ल्याएर एकल सरकार चलाएर योजना कार्यान्वयनको सुनिश्चितता गर्छ, कामको मुल्यांङन हुन्छ र काम नगर्ने र समयमा नसक्नेलाई कारवाही हुन्छ, अनि कारबाही हुँदा सरकारमै रहने अर्को दलले सरकार ढाल्छु भन्ने धम्की दिन पाउंदैन भने जसले जिते पनि बहुमतको सरकार हुनु नै राम्रो हैन र ?  
हुन त यो मेरो छोटो, एकपटकको भ्रमणले चीनको र एकल दल वा एकल सरकारका सबै राम्रा नराम्रा कुरा जान्न सम्भब हुन्न । एकल दल हुँदाको केही नराम्रा पक्ष पनि होलान । कुनै पनि ब्यवस्था सर्वगुण सम्पन्न र सर्वस्वीकार्य नहोला पनि । चीनबाट के सिक्ने के नसिक्ने भन्ने कुराको अध्ययन जरुरी होला । तर बिकासको पक्षबाट बिश्लेषण गर्दा भने मलाई बहुमतको सरकार चाहिन्छ हाम्रो देशमा । र, गठबन्धन बिना यो सम्भब छैन जस्तो लाग्छ । 
म लोकतन्त्र पक्षधर हुँ । एक नागरिकको हैसियतमा भन्छु– देश र जनताको भलाई हुन्छ, देशको निर्माण र बिकास सुनिश्चित हुन्छ, सरकार फेरिरहने रोग निको भएर देश समृद्धितर्फ अवरोधबिना अघि बढ्छ भने मलाई अधिनायकबाद भनेर बारम्बार नेताहरुले भनिरहने एकमना सरकार पनि स्वीकार्य छ ।