मानिस जन्मदेखि मृत्युपर्यन्त सिकाईमा रहन्छ । हरेक नयाँ र फरकपक्ष सिकाईसँग जोडिन्छ । हामी विकासमा बामे सर्दै गरेका नेपालीका लागि विकसित देशको बसाई, भोगाई सधैभरी चासो र कौतुहलताको विषय बन्छ । 

करिब तीन साताको युरोप बसाईले धेरै पक्षको अनुभव गर्ने मौका मिल्यो । कुनै पनि देशको मुख्य नीति  नै राजनीति हो । यसको योजनाबद्ध कार्यान्वयनले मात्रै विकास सम्भव छ भन्ने मेरो बुझाईले थप परिपक्वता पाएको महसुस गरेको छु । 

हरेक देशको विकासका लागि प्रमुख सरोकारवाला पक्ष भनेका जनता हुन । राज्यको नीति र कार्यान्वयनमा जनताको भूमिका कस्तो रहेको छ र राजनीतिज्ञले कसरी र कति बुझाएका छन् भन्ने कुरा मुख्य हो । कानुनको शासन अनुरुप देश अगाडि बढ्ने÷बढाउने हो भने व्यक्तिमा भएका स–साना कमजोरी खोज्नुपर्दैन । 

हाम्रो सामाजिक चेतनाको स्तर, परम्परा र अभ्यास हाम्रो देशको तिव्र विकासको बाधक बनेका छन् । हामी हिजोदेखि गर्दै आएको काम आजको कानुन सरह बनाउँदैछौ र कतिपय अवस्थामा हाम्रो परिवर्तन भएको चेतनालाई समेत बन्धक बनाउँछौ । 

नेपाल छाड्ने बित्तिकै चेतनाले भरिपूर्ण भएका हामी नेपालमा रहँदा प्रयोगमा कन्जुस्याँई गर्छौं । सामान्यदेखि जटिलसम्मका काममा आफूलाई बिर्सेर समाजलाई हेर्ने अभ्यासले हामीलाई बाँधेको छ । सबै काममा महिला पुरुषको समान सहभागिता र कामको सम्मान, व्यवस्थापनमा गरिएको चुस्तता युरोपेलीको प्रमुख पक्ष हो । 

बच्चा हुर्काएर बसेकी एउटी महिलालाई राज्यले उसको तत्कालिन समयको जिम्मेवारी नै त्यही हो भन्ने अनुभूती कानुननै दिलाएको छ । कुनैपनि सरकारी वा गैरसरकारी कार्यालयमा पुग्दा पदीय जिम्मेवारीमा ठूलो या सानो छुट्टयाउन सकिदैंन । त्यहाँ कुनै पनि मन्त्रालय वा संसद भवन बोर्डमा लेखिएका अक्षरले मात्र पहिचान हुने रहेछ । मन्त्रालय वरिपरिका क्याफेमा निस्किएर खाना÷खाजा खाएर काममा फर्कने सामान्य जीवनशैली अपनाएका राजनीतिज्ञलाई देखेर राजनीतिप्रतिको विश्वास प्रष्ट हुन्छ । 

एकैपटक सडकमा निस्किएका सयौ सवारी साधन सडकबत्तिको व्यवस्थापनमा नै स्वत व्यवस्थित भएका छन् । फराकिलो सडक छ तर सडकमा राखिएका गति सिमित गर्ने बोर्ड र साथै राखिएका स्थायी क्यामेराले स्पिड कन्ट्रोल गरेका छन् । 

तोकिएको भन्दा बढी स्पिडमा सवारी साधन चलाएमा क्यामेराले कैद गरेर जरिवानाको बिल घरमा पुर्याउने व्यवस्था छ । जुन सामान्य व्यवस्थापनको पक्ष हो । एकीकृत बस्ती, आद्योगिक क्षेत्रको योजनाबद्ध व्यवस्थापन, प्राकृतिक संरक्षणप्रतिको संवेदनशिलता र साना साना कुरामा पुरयाइएको विशेष सर्तकता त्यहाँको विकासका सूचकको रुपमा रहेका छन् । 

राज्यका नियम÷कानुन र जनताको जीवनशैलीलाई एकअर्काको परिपूरकको रुपमा स्थापित गरिएको छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको सुझबुझपूर्ण व्यवस्थापनबाट जनता खुशी छन् । श्रमप्रतिको सम्मानमा सबै सचेत छन् भने सिपमूलक जनशक्ति उत्पादन गर्ने काममा सरकार योजनाबद्धमा अगाडि बढेको छ ।

हरेक देशको विकासका लागि राज्य र जनताको बरावरी जिम्मेवारीसहितको सहभागिताले मात्रै सम्भव छ भन्ने बुझाई मेरो रह्यो । जर्मनको हम्बर्ग प्रान्तमा राज्यप्रतिको विश्वसनियतामा देखिएको सहनशिलता अनुकरणीय लाग्यो । त्यहाँ अवस्थित विशाल नदीले हरेक वर्ष बाढीको कारणले ठूलो क्षती पूर्याउँछ । नदिको किनारामा भएका ठूला ठूला बिल्डीङ्गहरुलाई फलामका वालहरुमार्फत सुरक्षित गर्ने प्रयास गरिएको छ । 

जहाँ कुनै पनि समय बाढीले क्षति पुर्याउने निश्चित छ,  तथापी त्यहाँ आउने बाढीको पूर्वानुमानको सुचना २४ घण्टा अगाडी नै गराइन्छ र क्षतिपूर्ती गर्न सरकार साथमा रहन्छ । त्यसकारण मानविय क्षती भने विरलै मात्रै हुने रहेछ त्यसैले मानिस खुसीसाथ नै बसेका छन् । यसको अर्थ प्राकृतिक प्रकोप र सरकारको उपस्थितीलाई फरकफरक महत्वका साथ हेर्ने चेतना जनतामा रहेको छ । 

एउटा देशभित्र धेरै स्टेट र स–साना क्षेत्रमा भएका स्थानीय सरकार । प्रभावकारी रुपमा स्थानीय तहका प्रतिनिधिले काम गरेकै कारण देशको नीति सफल भएको त्यहाँका बुज्र्ुकहरुको दाबी छ । युरोपका केही देशमध्ये स्विजरल्याण्डमा भएको प्राकृतिक सौन्दर्यताको संरक्षणमा पुरयाइएको सर्तकता, समुन्द्रमाथि बसालिएको बस्ती जस्तो लाग्ने हल्याण्ड, सुशासनमा प्रतिबद्ध जर्मन र कृषिमा उल्लेख्य उदाहरणको रुपमा लिन सकिने बेल्जियम थुपै्र सकारात्मक पक्ष मध्ये अनुकरणीय ह्न ।  

अर्कोतर्फको जीवन नियाल्दा नेपालीहरुको युरोपको जीवन अनि त्यहाँ रहेर गरिएको नेपालको राजनीतिक अवस्था र विकासप्रतिको चिन्ता, आक्रोस र संवेदनशिलता पनि महत्वपूर्ण रह्यो ।  हरेकसँग आक्रोसपूर्ण नै भएपनि देश विकासका लागि यो सरकारसँग ठूलो अपेक्षा रहेको छ । 

युरोप बस्ने रहर होइन भन्दै गर्दा कोहीसंग पनि नेपाल फर्कने ठोस योजना भने छैन् । नेपालमा प्रशस्त दर्ता भएका अनलाइन सञ्चारमाध्यम र तिनीहरुमा आउने यथार्थ भन्दा बढी आर्कषक शिर्षकमा ध्यान दिइएका समचारले नेपालीको मन विक्षिप्त बनाएको छ । 

युरोप बसाईको अवधि दश वर्षदेखि तीस वर्ष बिताउनु भएका व्यक्तिसंगको भेटघाट र संवादले राजनीतिक व्यक्ति हुनुको नाताले आफ्नो जिम्मेवारीमा थप महत्व थपिएको महशुस गरेको छु । किनभने हाम्रो समाज धमिलो पानीमा माछा मार्छ । हाम्रो अभ्यास यही हो र यो वितृष्णा यही अभ्यासको परिणाम हो । 

समग्रतामा यूरोपको विभिन्न क्षेत्रको करिब १५ दिनको बसाईले मेरो जीवनमा परिपक्वतासंगै जिम्मेवारी थपेको छ । नेपालमा भएका सम्भावनाको उपयोगिताका लागि झक्झक्याएको छ ।  के कुरामा ढुक्क भएँभने नेपाल त प्राकृतिक रुपमा नै सम्पन्न रहेछ । हाम्रो देशलाई विकसित देशको सूचीमा पुरयाउनका लागि प्रविधिको प्रयोग, कानुन कार्यान्वयनमा संवेदनशिल, साधन÷स्रोतको उचित व्यवस्थापन र श्रममा भएको वर्गीयता हटाएर श्रमप्रतिको सम्मान भए  गन्तव्यमा पुगिन्छ भन्ने बलियो आत्मविश्वास लिएर फर्किएकी छु ।

– लेखक अनेरास्ववियुका उपाध्यक्ष हुनुहुन्छ ।