काठमाडौं, १२ चैत्र - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न अस्पतालमा भर्ना भएका सम्भावित सङ्क्रमित कोभिड–१९ को नमूना परीक्षणका लागि बिरामी काठमाडौँ आउनु नपर्ने जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सम्भावित सङ्क्रमितलाई सम्बन्धित अस्पतालले व्यक्तिलाई आइसोलेसनमा राखेर सिफारिस नगरी कोभिड–१९ को नमूना परीक्षण गर्न मात्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन निर्देशन दिइएको बताउनुभयो ।

उहाँले हालसम्म कूल ६१० को नमूना परीक्षण भएकोमा दुईको कोभिड–१९ पोजेटिभ देखिएकामा एक जना उपचारपछि फर्किएको र हाल एक जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत भइरहेको जनाउनुभयो ।

हाल सो अस्पतालमा १६ जना सङ्क्रमित भएको आशङ्कामा रहेकोमध्ये पाँच जना आइसोलेसन र १० जना क्वारेन्टाइनमा रहेका छन् । प्रवक्ता डा देवकोटाले सम्भावित सङ्क्रमणको प्रक्षेपणको दायरालाई बढाउँदै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, धुलिखेल अस्पताल र वीरअस्पतलामा चाँडै नै नमूना परीक्षणको प्रबन्ध गरिने जानकारी दिनुभयो ।

फ्रान्सबाट कतार हुँदै गतसाता काठमाडौँ आएका १९ वर्षीया एक युवतीमा कोभिड–१९ पोजेटिभ देखिएपछि उनका परिवारका सदस्यलाई पनि क्वारेन्टाइनमा राखिएको छ भने उनीसँगै सवार व्यक्ति पनि सम्पर्कका आई क्वारेन्टाइनमा जाने क्रम शुरु भएको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालका सल्लाहकार डा खेम कार्कीले सम्बन्धित अस्पतालमा पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पिपिइ) पठाउने क्रम शुरु गरिएको जानकारी दिनुभयो ।