विश्वका शक्तिशाली पुँजीवादी राष्ट्रका हतियार खरिद गरिदिने, आफ्नो देशको प्राकृतिक स्रोतसाधनमा ढलिमलि गर्न दिने र जनतालाई निरंकुशताको जाँतोमा पिस्ने ‘बाटिष्टा सरकार’ लाई च्यूत गरेर न्याय, समानता र मौलिक लोकतन्त्रलाई अपनाउँदै समाजवादको अभ्यास गरिरहेकाले सन् १९६१ देखि आजपर्यन्त कठोर व्यापारिक प्रतिवन्ध भोग्न बाध्य बनेको क्युवाले सबैलाई शिक्षा र स्वास्थ्य निःशुल्क उपलब्ध गराएको समेत ईश्र्या हुनु अचम्मित तुल्याउने अवस्था हो ।

त्यहि भएर ‘आफ्नो आङमा भैँसि नदेख्ने अर्काको आङमा जुम्रा देख्ने’ प्रवृत्तिलाई कटाक्ष गर्दै क्युवामा समाजवाद निर्माण अभियानका संस्थापक फिडेल क्याष्ट्रो (सन् १९२६–२०१६) ले “तिनीहरू समाजवादको असफलताको बारेमा कुरा गर्छन्, तर एशिया, अफ्रिका र ल्याटिन अमेरिका कहाँ चाहिँ पूँजीवाद सफल भएको छ ?” भनेर चुनौति दिएका हुन् । चिनी उत्पादनमा अग्रणी तथा सिगारका निम्ति प्रख्यात ‘चिनीको भाँडो’ उपनामले समेत परिचित गणतान्त्रिक मुलुक क्युवाले पछिबाट अन्य बाली उत्पादनमा समेत ध्यान पु¥याएर खाद्य सुरक्षामा आत्मनिर्भर हुन प्रयास गरेको देखिन्छ ।

 
क्युवा एटलान्टिक महासागरको एउटा भाग क्यारिबियन समुद्रमा अवस्थित टापु देश हो । अरु धेरै स–साना द्वीप र एउटा ठूलो द्वीप समेटिएर यस देशको निर्माण भएको छ । संयुक्त राज्य अमेरिका, मेक्सिको, हाइटी, जमैका र बहामसको छिमेकी मुुलुक यसले विश्वमा एउटा सशक्त राष्ट्रको रूपमा अलग पहिचान बनाएको छ ।

यस देशको हावापानी तातो छ, तर त्यहाँ हरेक वर्ष समुद्री तुफान आउने गर्छ र क्षति पु¥याउने गरेको छ । स्पेनी भाषा बोलिने यस देशको राजधानी हबानालाई स्पेनी भाषामा ‘लाहबाना’ भन्ने गरिन्छ । एकलाख नौहजार आठसय चौरासी वर्ग किलोमिटर क्षेत्रफल भएको र पछिल्लो जनगणना अनुसार यसको जनसंख्या एक करोड बाह्रलाख भन्दा केहि बढि मात्र छ । कूल गार्हस्थ उत्पादन क्रयशक्ति क्षमताका आधारमा प्रतिव्यक्ति आय ९९०० अमेरिकी डलर भएको र यसका आधारमा विश्को ८६आँै स्थानमा पर्ने यो देशको चर्चा विश्वमा धेरै नै हुने गर्दछ । 

क्युवामा शिक्षा र स्वास्थ्य निःशुल्क छ । राष्ट्रिय बजेटको दश प्रतिशत शिक्षामा खर्च गरिरहेकाले नै निःशुल्क शिक्षा संभव भएको हो । आमजनतालाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएकै कारण औषत आयु ७९.१३ पुगेको हो । जबकि अमेरिकी नागरिकको औषत आयु ७८.६४ मात्र छ । विद्यार्थीलाई पोशाक तथा खाना निःशुल्क उपलब्ध गराइन्छ । जनताले चाहेका खण्डमा नेताहरूलाई पदबाट प्रत्याव्हान गर्ने अधिकार समेत संविधानले नै सुनिश्चित गरेको छ । 

क्युवाले शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा गरेको यो प्रगति त्यति सजिलै संभव भने भएको होइन । यस सफलताका पछाडि माक्र्सवादमा विश्वास गर्ने र आफ्नो देशमा त्यसको व्यावहारिक प्रयोग गरेर समाजवादी नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने संयुक्त राष्ट्रसंघको महासभामा अहिलेसम्मकै सबैभन्दा ५ घण्टा लामो भाषण गर्ने फिडेल क्याष्ट्रोको ठूलो योगदान रहेको छ । नत्र त सन् १७२८ मा नै हबाना विश्वविद्यालय स्थापना भएको थियो थियो यसको राप र तापमा शिक्षाको चातुर्दिक विकास किन संभव भएन त ? 

यहाँ सन् १९५७ पछि शिक्षाको विस्तार र गुणस्तर ह्वात्तै बढेको थियो । समाजवादी क्रान्ति सम्पन्न भएपछि सत्ता सम्हालेका लोकप्रिय नेता फिडेल क्याष्ट्रोले निजी शिक्षण संस्थाहरूमाथि प्रतिवन्ध लगाइकन राज्य नियन्त्रित शिक्षण संस्थाहरू सञ्चालनमा ल्याए । त्यसपछि ६ वर्षदेखि १५ वर्षसम्मका बालबालिकाहरूलाई विद्यालय शिक्षा अनिवार्य गरियो । कृषि मजदूरहरूलाई मध्यान्ह र बेलुकीको समयमा शैक्षिक कार्यक्रमहरू संचालन गरियो । 

सर्वव्यापि स्वास्थ्य सेवा प्रवद्र्धन गरिएको यहाँ स्वास्थ्य सामग्रीको केही अभाव भएपनि स्वास्थ्यकर्मीहरूको भने अभाव छैन । जनताको बिचमा चिकित्सकको अनुपातको हिसाबबाट हेर्दा यो देश उच्च स्थानमा छ र अहिले चालिस देशमा हजारौँ चिकित्सकहरू यस देशले पठाएको छ । सन् २०१४ को एक आँकडा अनुसार क्युवा प्रशिक्षित पचासौँ हजार चिकित्सकहरू ६६ भन्दा बढि मुलुकमा कार्यरत छन् । स्वास्थ्य पर्यटनमा अब्बल मानिएको क्युवामा फोक्सोको क्यान्सरको खोप लिनका लागि यहाँ सम्मकि क्युवामा अमेरिकीहरूसमेत जाने गरेका छन्  ।

समाजवादी क्रान्ति सम्पन्न भएपछि क्युवामा सबै शिक्षणसंस्थाहरू सरकारले राष्ट्रियकरण ग¥यो भने शिक्षा प्रणालीको पुनःनिर्माणको निम्ति उच्च प्राथमिकता दियो । शिक्षा र साँस्कृतिक सम्बन्धी नीति माक्र्सवादी विचारधारामा आधारित बनाइयो । क्रान्तिपूर्व आधा भन्दा बढि बालबालिकाहरू विद्यालय बाहिर भएकाले यसलाई संबोधन गर्न सरकारले ठोस कार्यक्रम अघि सारेको थियो । साक्षरता प्रवद्र्धन केन्द्रहरू सञ्चालित भए । साक्षरताको निम्ति निरक्षरहरूको गाउँ वस्तीमा स्वयंसेवकहरू पठाइयो । विद्यालयको कक्षामा विद्यार्थीहरूले अनिवार्य उपस्थिति हुनुपर्ने प्रावधान लागू भयो । विद्यालय पोशाकलाई पनि अनिवार्य गरियो । प्राथमिक र माध्यमिक विद्यालयको पाठ्यक्रम कडा मेहनत, स्वअनुशासन र देशको माया भन्ने सिद्धान्तको आधारमा सञ्चालित भए । 

यसरी सामाजिक परिवर्तनसहितको क्रान्तिले शिक्षा र संस्कृतिको विकासको निम्ति प्रवल प्रेरणा प्रदान ग¥यो । क्रान्ति अघि लगभग आधा क्यूवालीहरू अनपढ थिए । जो शिक्षित थियो क्रान्तिपछि उसलाई अर्कोलाई शिक्षित बनाउन आव्हान गरियो र जो अशिक्षित थियो उसलाई लेखपढ गर्न सिक्नका लागि आग्रह गरियो । १० हजार युवा अध्यापकहरूलाई दुई वर्षको प्रशिक्षण दिइकन देशका विभिन्न प्रान्तमा शिक्षाको विस्तार र प्रसार गर्न पठाइयो ।

देशभर निरक्षर निवारण मंडली गठन गरियो । धेरै गाउँले इलाकामा युवा अध्यापकहरू किसानको घरमा उनीहरूकै साथमा रहे र सो परिवारका सबै सदस्यहरू जबसम्म लेखपढ गर्न सक्षम हुँदैनथे तबसम्म तिनीहरूले किसानको घर छाड्दैनथे । सन् १९६१ को अन्त्यमा देशबाट पूर्णरूपमा निरक्षरता उन्मूलन गरियो र सबै साक्षर भएको घोषणा भयो । सानोतिनो मिहीनेतले दुई वर्षभित्रै देशबाट निरक्षरता उन्मूलन भएको पक्कै होइन । शिक्षित र सचेत नागरिकले नै समाजवादको रक्षा गर्न सक्छ भन्ने विश्वासका साथ साक्षरता अभियान घनिभूत तुल्याइएको थियो । 

सन् १९७६ मा पुस्तक पसल र विद्यालयमा कतिपय पूर्ण रूपमा र कतिपय न्यून मूल्यमा उच्च गुणस्तरका पाठ्यसामग्री र पुस्तकहरू उपलब्ध गराइयो । यस्ता सामग्रीहरू क्युवासँग आपसी सहयोगमा आबद्ध भएका अंगोला र मोजाम्बिकजस्ता देशमा समेत निःशुल्क र अति न्यून मूल्यमा वितरणको व्यवस्था मिलाइयो । शिक्षा प्रणालीको व्यापक र गहिरो मूल्याङ्कन एवं विश्लेषण गर्दै विद्यालय सुधारको योजना अघि सारियो । सरकारले क्रान्तिको स्थायित्वको निम्ति क्यास्ट्रोकै शब्दमा “एउटा बढी पूर्ण पुस्ता” युवा पुस्ता खडा गर्नुपर्ने दृष्टिकोण अगाडि सा¥यो । यसको निम्ति शिक्षा, सार्वजनिक सञ्चार र युवाहरूलाई सामाजिक न्याय, लोककल्याण र समतामा अडिग बनाउने अभियान चलाइयो । 

सर्वव्यापी विद्यालय भर्ना तथा उपस्थिति, लगभग सम्पूर्ण वयस्क साक्षरता, समानुपातिक महिला प्रतिनिधित्व र यहाँसम्मकी उच्च शिक्षामा पनि वैज्ञानिक तालिम संचालित भए । विद्यालय शिक्षा र श्रमलाई जोड्ने रणनीति बनाइएको छ । शिक्षाले सामाजिक ऐक्यबद्धता र सद्भाव बढाउन सक्नु पर्दछ भन्ने मान्यतालाई आत्मसात गरिएको छ । अहिले क्युवामा साठीभन्दा बढि विश्वविद्यालयहरू छन् र ती पनि सार्वजनिक हुन् । 

यसरी अहिले पनि क्युवामा सर्वव्यापीरूपमा प्राथमिक र माध्यमिक विद्यालयको शिक्षामा पहुँच छ । विद्यार्थी स्वास्थ्य कार्यक्रमको व्यवस्था मिलाइएको छ । पुरक शैक्षिक कार्यक्रम लागू गरिएको छ । यस कार्यक्रमले स्कूल बाहिर पनि साक्षरता अभियान सञ्चालन गर्दछ । अनौपचारिक शिक्षाको समेत व्यवस्था गरिएको छ । शिक्षक तालीम तथा पुनःताजगी तालिमको निम्ति गंभीर ध्यान दिइएको छ । उत्तरदायित्वको पारदर्शी प्रणाली रहेको छ । नयाँ खोज तथा अनुसन्धानको निम्ति पुरस्कारको समेत व्यवस्था गरिएको छ । उच्चकोटीका सस्ता प्रशिक्षण तथा पाठ्य सामग्रीहरू उपलब्ध गराइएको छ । शिक्षक तथा विद्यार्थीको तदारुकतामा राष्ट्रिय पाठ्यक्रम लागू गरिएको छ । 

यहाँ सतर्कतापूर्वक संरचनामा प्रतिष्पर्धाको व्यवस्था छ, जसले व्यक्तिलाई भन्दा प्रणालीलाई सशक्त बनाउने गर्दछ । अरु ल्याटिन अमेरिकी देशहरूको शैक्षिक गुणस्तरको तुलनामा क्युवाको माथि छ र उत्तिकै प्रतिष्ठायुक्त पनि रहेको छ । यसबाट क्युवाका स्कूलहरू उल्लेख्यरूपले सफल भएका हुन् । गाउँ होस् या शहर जहाँसुकै लैङ्गिक समानता छ । शिक्षा पूर्णरूपमा सार्वजनिक र केन्द्रीकृत योजनामा सञ्चालित छ । उच्च तहको लगानी शिक्षामा रहेको छ । स्थिर शैक्षिक नीतिगत वातावरण र सबैका लागि शिक्षाको लागि उच्च राजनीतिक इच्छाशक्ति रहेकाले यस्तो संभव भएको हो । साथै उच्च व्यावसायिक, उन्नतस्तरको तालिम हासिल गरेका शिक्षक तथा प्राध्यापकहरू नै क्यूवाको शैक्षिक उन्नयनको कडिको रूपमा लिन सकिन्छ । 

धेरै ल्याटिन अमेरिकी मुलुकहरूमा राजनीतिक अस्थायित्वका कारणले पनि शिक्षाको विकास हुन सकेन तर क्युवामा राजनीतिक स्थिरता कायम भएकाले शैक्षिक विकासमा ठूलो योगदान पुगेको हो । क्युवाको अनुभवबाट के सिक्नु पर्दछ भने शिक्षा प्रणाली र रणनीतिक योजनामाथि अनावश्यक परिवर्तनले शिक्षाको उन्नयनमा प्रतिकूल प्रभाव पार्दछ । यसका अतिरिक्त त्यहाँ सामुदायिक नियन्त्रण चुस्त बनाइयो भने समता र गुणस्तरमा कुनैपनि मोलाहिजा गरिएन ।  

शिक्षक तालिम भनेको आजिवन दिइने विषय हो र यो औपचारिक तथा अनौपचारिक दुबै तरिकाले दिन सकिन्छ भन्ने कुरामा क्युवामा विश्वास गरियो । शिक्षकहरूको समुदायसँगको अन्तरक्रिया र सल्लाहलाई उच्च प्राथकिता दिइयो र कुनै परिवर्तन ल्याउनु परेको खण्डमा समुदायको सुझावलाई आत्मसात गरियो । अहिले पनि विद्यार्थीको विद्यालय जीवनको योजना बनाउन शिक्षहरूले ठूलो भूमिका निर्वाह गर्दछन् ।

शिक्षकहरूले असि प्रतिशत समय विद्यार्थीहरूलाई दिन्छन् भने बाँकी विद्यार्थीको घरमा पनि उपलब्ध गराउँछन् । यसरी शिक्षालाई साझा दायित्वको विषय बनाइएको छ । बेलाबेला शिक्षकहरू अभिभावकको घरमै गएर विद्यार्थीलाई आइपर्ने समस्याको बारेमा समेत छलफल गर्दछन् । क्युवामा शिक्षकलाई अत्यन्त सम्मानितरूपमा हेरिन्छ र उनीहरू बढि व्यावसायिक पनि छन् । साथै शिक्षक र अन्य सेवाका कर्मचारीहरूको सेवा सुविधा धेरै कम मात्र फरक रहेको छ । 

तेस्रो विश्वका मुलुकहरूले क्युवाको शिक्षा प्रणालीबाट महत्वपूर्ण पाठ सिक्न सक्नु पर्दछ । निरन्तरको विभिन्न प्रकारका अन्तर्राष्ट्रिय प्रतिवन्ध र रोक लगाउँदा समेत राष्ट्रिय आन्तमनिर्भर अर्थतन्त्र निर्माण गर्ने दृढ संकल्पसहित समृद्ध जीवन अगाडि बढाइरहेको क्युवाका असल शैक्षिक परम्पराको अनुशरण गर्नु न्याय, समानता र लोककल्याणमा विश्वास गर्ने सबैको दायित्व हो ।

साक्षरता अभियान, सार्वजनिक स्वास्थ्य, सार्वजनिक आवास र ग्रामीण पूर्वाधार विकासमा समाजवाद निर्माणको चरणदेखि नै केन्द्रीय योजनामा महत्व दिइएको क्युवालाई पूँजीवादीहरूले हल्लाउन सकेका छैनन् । अहिले पनि स्वास्थ्य पर्यटन, प्राज्ञिक तथा साँस्कृतिक पर्यटनलाई उच्च महत्व दिएर विश्वसामू आफूलाई उभ्यान क्युवा लागिपरेको देखिन्छ । 

श्रम र शिक्षालाई जोड्नु, प्रौद्योगिक शिक्षालाई प्रवद्र्धन गर्नु, शिक्षामा राज्यको ठूलो लगानी हुनु, वैज्ञानिक जनमुखी शिक्षा प्रवद्र्धन गर्नु, विद्यार्थीको शारिरिक तथा मानसिक अवस्थालाई स्वस्थ्य एवं ताजा बनाउन व्यायामसहित सन्तुलित आहार प्रवद्र्धन गर्नु क्यूवाको शिक्षा प्रणालीका महत्वपूर्ण पक्षहरू हुन् । समाजवादलाई अंगिकार गर्दै समुन्नत राष्ट्र निर्माण गर्ने संकल्प लिएको क्युवासमक्ष चुनौतिका चाङहरु हुँदा हँुदै पनि शिक्षाका क्षेत्रमा हासिल गरेको प्रगति उल्लेखनीय छ ।