काठमाडौं, २५ साउन– चर्चित रेडियोकर्मी तथा वरिष्ठ साहित्यकार दाहाल यज्ञनिधिलाई मस्तिष्कघात भएको छ । दुई दशकअघि उहाँको मृगौलाको प्रत्यारोपण गरिएको थियो ।

रेडियोकर्मी  यज्ञनिधि गत बुधबार मन्डिखाटारस्थित आफ्नै निवासमा लडेर बेहोस हुनुभएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ । 

प्रत्यारोपण गरिएको मृगौलाले पनि काम गर्न छोडेपछि विगत ५ वर्षदेखि डायलाइसिस गर्दै आउनुभएका ६६ वर्षीय यज्ञनिधिको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । 

चिकित्सकले शल्यक्रिया नगरी ‘अब्जर्भेजसन’मा राख्दै नियमित डायलाइसिस गर्न सल्लाह दिएपछि आजै उहाँलाई थप उपचारका लागि ललितपुरको सुमेरु अस्पतालमा लगिने उहाँका धर्मपत्नी सुधा दाहालले जानकारी दिनुभयो । 

लामो समय रेडियो नेपालमा साहित्य संसार नामक कार्यक्रम सन्चालन गर्नुभएका दाहाल यज्ञनिधि नेपाली साहित्यका झर्रोबादी आन्दोलनका अगुवा पनि हुनुहुन्छ ।