कविता अधिकारी

काठमाडौं, ६ कार्तिक–दशैँको चहलपहल सकिन लागेसँगै चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागत र बिदाइमा नेताहरू व्यस्त थिए । राष्ट्रपति सीको बिदाइसँगै चीनको तिब्बतस्थित लिञ्ची शहरमा आयोजना भएको चीन तिब्बत लुलांग हिमालय वारपार मञ्चको बौद्धिक सम्मेलनमा सहभागी हुने अवसर जुरयो । यो मञ्चको दोस्रो सम्मेलन थियो । भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसहित १४ जनाको सरकारी टोलीमा सहभागी हुन पाउँदा फरक अनुभव भयो । 

सिचुवान एयरलाइन्सको जहाजमा काठमाडौंबाट चढेर सगरमाथालाई देब्रे पार्दै तिब्बतको ल्हासा पुग्दै थियौं । हरिया पहाडका बीचमा सेता नागवेली नदी र हिउँले ढाकिएका हिमशृंखलाका दृश्य लोभलाग्दा थिए । कपासको रुवा सुकाएको बिस्कुनजस्तै आँखाले भ्याउन्जेल देखिने सगरमाथाका स–साना थुम्कालाई माथिबाट हेर्दा लाग्थ्यो एकैछिन् त्यही विश्राम लिएर लडिबुडी गरौं र ठूलो स्वरले चिच्चाएर मेरो देश नेपाल यति सुन्दर छ भन्दै संसारलाई सुनाउ जस्तै हुन्थ्यो ।


जहाजभित्र मन्त्री महासेठका स्वकीयसचिव रमेश सिलवाल र ढल्केवरका उपमेयर तारा बस्नेतसहित हामी तीनजना एउटै सिटमा थियौं । जहाजको झ्यालबाट चिहाइचिहाई आफ्नो देशको मनोरम दृश्यले लोभिएका हामी तिनैजना तँछाड मछाड गर्दै भिडियो र फोटो लिन व्यस्त थियौं । त्यस्तै करिब आधा घण्टाजति हामीले जहाजभित्रबाटै आफ्नो देशको सुन्दरतालाई आँखामा कैद गरिरहेका थियौं । नेपालको सिमाना सकिएसँगै सुरु भयो तिब्बतको क्षेत्र जहाँ ठूलाठूला पहाडै पहाड चट्टान नै चट्टान हेर्दै मरुभूमिजस्तो देखिन्थ्यो । करिब आधा घण्टाजति चट्टान र पहाडको रूखो डाँडालाई काटेर हामी ल्हासा विमानस्थलमा ओर्लियांै । विमानस्थलमै त्यहाँको सरकारी टोली हामीलाई लिन आएको थियो । त्यही खाना खाएर हामी कार्यक्रमस्थल लिञ्ची शहरतर्फ लाग्यौं । मौसम अति नै चिसो थियो । न्यानो कपडा लगाएर विमानस्थलबाट करिब ८ घण्टा गाडीमा हिँडेपछि बल्ल पुगियोे लिञ्ची । भोलिपल्ट दोस्रो चीन तिब्बत लुलांग हिमालयन बारपार मञ्चको बौद्धिक सम्मेलन कार्यक्रम सकिएपछि मात्रै सुरु भयो हाम्रो तिब्बत भ्रमण । मन्त्री महासेठ र सांसद जुली महतो अगाडिको सानो गाडीमा त्यहाँको आधुनिक शहर र प्राकृतिक वातावरण निहाल्दै थिए । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पर्यटन राज्यमन्त्री धनबहादुर बुढा, नेकपा सांसद लिला श्रेष्ठ, कांग्रेसका सांसद मोहन आचार्य, मन्त्रालयका सह–सचिव गोपाल सिग्देललगायत हामी १२ जना अर्को गाडीमा । 

हाम्रो टिमलाई त्यहाँका सरकारी टोलीकी तारा नाम गरेकी दोभाषेले नेपालीेमा जानकारी दिन्थिन् । उनी नेपालकै त्रिभुवन विश्वविद्यालयमा नेपाली पढेकी रहिछन् । करिब चार वर्षजति नेपाल बसेर अध्ययन गरेकी उनले आफ्नो नाम नेपाली र चाइनिज दुवै भएको भन्दै आफूलाई तारा भन्न आग्रह गरिन् । उनै ताराले त्यहाँको इतिहास, विकास, अर्थतन्त्र, पर्यटक, खानपिन, संस्कृति र भूगोलका बारेमा विस्तृत रूपमा बुझाउँदै हामीलाई तिब्बत घुमाइन् । आफ्नो भाषालाई नै मुख्य प्राथमिकता दिएका चिनियाँले अरु कुनै भाषा बोलेको नुबुझ्ने रहेछन् । तिनै ताराले नेपालीमा बोलिदिएका कारण नै हामीलाई ल्हासा बसुन्जेल भाषाको समस्या भएन । 

कहीकतै केही उब्जनी हुने ठाउँ नै छैन, जता हेरयो ठूलाठूला पहाडमात्रै देखिने त्यस्तो क्षेत्रमा विकास कसरी सम्भव भयो ? यो चासोको विषय थियो । त्यहाँको सुविधासम्पन्न सडक, रेलमार्ग यातायात लगायतको विकास देख्दा ग्रुपमा सहभागी अधिकांशले मुख्यमन्त्री शाहीलाई भन्थे, मुख्यमन्त्री ज्यू, अब कर्णालीको विकासका लागि पनि पहिलो प्राथमिकतामा सडकलाई राख्नुपर्छ । ढल्केवरका उपमेयर तारा बस्नेत भन्थिन्– हेर्नुस् त यता, यहाँ के छ हाम्रो नेपाल त यो भन्दा धेरै कुराले भरिपूर्ण छ । यसो भनिरहँदा मुख्यमन्त्री शाही भन्थे, हो अब हामी पनि योेजना बनाएर काम थाल्नुपर्छ । तिब्बतको ल्हासा घुमिरहँदा सबैलाई त्यही भान हुन्थ्यो कि यस्तो जटिल भूभागमा कसरी यति छिटो आधुनिक शहर बनाउन सम्भव भयो ? यस्तै छलफल त्यहाँको विकास देखेर आफ्नो देशमा नयाँ केही गर्ने योजना बुन्दै मन्त्री महासेठसहितको हाम्रो टोली दलाई लामाको दरबार पोटाला प्यालेसमा पुग्यो । हाम्रो गाइडले सबैलाई इयरफोन दिइन् र त्यहाँको बारेमा विस्तृत सुनाउँदै उनी अघि बढिन् । 

ल्हासाको आकर्षक केन्द्र नै पोटाला दरबार रहेछ । सातौं सताब्दीमा बनेको पोटाला दरबारमा विभिन्न अवतारमा दलाई लामाले गरेको योगदानको कदरस्वरूप सुनको मूर्ति ठडिएका रहेछन् । पोटाला दरबारको साँघुरो कोठामा एक–एक गरी पंक्तिबद्ध भएर हामी अगाडि बढ्दैथियौं । हामीसँगै अन्य पर्यटकहरूको घुँइचो अथाह थियो । भित्ताभरी सिसी क्यामेराको निगरानी र तस्वीर खिच्न नपाइने भनिएको थियो । ३ हजार ७ सय मिटर उचाइमा रहेको उक्त विशाल दरबारमा १३ तला रहेछन् । जसभित्र रातो र सेतो दरबार भनी दुई भागमा विभाजित गरिएको छ । रातो दरबारमा अहिलेसम्म भएका सबै दलाई लामा ९१३ जनाको प्रतिमा राखिएका रहेछन् । पोटाला दरबारका भित्तामा राखिएका हरेक वस्तु मूल्यवान देखिन्थे पूर्व दलाई लामाहरूका प्रतिमा सुन, चाँदी, विभिन्न रत्न, जुहारतले कुँदिएका थिए । स्तुपामा सुनको मात्रा कुनै दलाई लामाकोमा थोरै त कुनैकोमा धेरै थियो । दोभाषेलाई यस विषयमा सोध्दा उनले भनिन्, ‘जुन दलाई लामाले देशका लागि केही गर्न खोजे, तिनको स्तुपामा धेरै सुन छ ।’ पाँचौं दलाई लामाको शवगृह ‘गोल्डेन स्तुपा’ ३ हजार ७ सय २१ किलो सुन र १५ हजारभन्दा बढी मोती माणिक र विभिन्न रत्नले बनेको रहेछ । हरेक स्तुपा र दलाई लामाका प्रतिमाहरूमा सुनैसुनको थुप्रो देखेपछि हामी नेपालीले सुन्दै आएको उखान फुरयो ‘ल्हासामा सुन छ, कान मेरो बुच्चै’ भनेको यही होला है भन्दै हामी हास्यौं । हुन पनि सानै बेलादेखि सुनेको त्यो उखानका बारेमा हामीले त्यहाँ पनि बुझ्ने कोसिस गरयौं । के यहाँ सुन सस्तो छ ? कि यहाँ सुनको खानी छ भन्दै दोभाषे तारालाई सोध्दा उनले भनिन्, ‘यही स्तुपामा सुन थुपारिएका कारणले भनिएको होला तर यहाँ सुन सस्तो छैन ।’ अचम्म र अनौठो दलाई लामाहरूको मूर्ति र थुपारिएको सुनको चर्चा गर्दै नेकपाका सांसद जुली महतो र उपमेयर तारा बस्नेत उत्सुकताका साथ कान ठाडो पारेर दोभाषेका कुरा सुनिरहेका थिए । 

अघि बढ्दै जाँदा गुफाजस्तो ठाउँको कलेजी रंगको भित्तामा लहरै चार–पाँचवटा मूर्ति देखिए । त्यति नै बेला सांसद जुलीले अन्यत्र भित्ताका पेन्टिङ हेर्न व्यस्त साथीहरूलाई बोलाउँदै भनिन्, ऊ ती भृकुटी हुन रे ! नेपालकी छोरी भुकुटीको सानैदेखि चर्चा सुन्दै आएका हामीहरू अर्काको देशमा नेपाली छोरीको तस्वीर देख्दा नजिक गयौं । नजिकै पुगेपछि चिनियो, तिब्बती सम्राट स्रङचङ गम्पो, दायाँतिर उनकी नेपाली पत्नी भृकुटी र बायाँतिर चिनियाँ पत्नी वेङचुङ कोङजोका मूर्ति रहेछन् । घुम्टो ओढेकी, टीका लगाएकी, हात जोडेर उभिएकी नेपाली अनुहारकी भृकुटी रहिछन् । हाम्रो गाइडले मात्रै होइन अरु घुम्न आउने पर्यटकहरूका गाइडले पनि उनी नेपालकी छोरी भृकुटी हुन् भनेर चिनाउँदा हामी दंग पथ्र्याैं । भृकुटीको अनुहार देखेर आफ्नो देशकी दिदी यहाँ रहिछन् भन्ने लागेर उनीप्रति मायाभाव जागेर आयो । उनलाई अँगालो हालेर फोटो लिन मन थियो । तर त्यहाँको गार्डले धेरै बेर टिक्न नै दिएन । फर्कीफर्की हेर्दै निक्कै बेरसम्म उनकै याद मानस्पटलमा खेलिरहयो । 

एकसाता ल्हासामा बस्दा हाम्रो टिमलाई निक्कै नै सास्ती भएको थियो । त्यहाँको सरकारले सवै सुविधाको व्यवस्था गरे पनि हावापानी, खानपिन, अक्सिजनको कमीजस्ता समस्या हामीले भोगिरहेका थियौ । दिमागमा त्यही कुरा खेल्यो यति सानो उमेरमा त्यति टाढाको हराभरा देश नेपालबाट यस्तो रुखबिरुवा नभएको पहाड नै पहाडको मरुभमिजस्तो ठाउँमा कसरी बसिन् होला भृकुटी । भृकुटीको तस्वीर पोटाला प्यालेसमा देखेदेखि मनमा अर्के कौतुहलता खेलिरहेको थियो । सँगै गएको टिम अन्यत्र फोटो खिँच्न रमाइलो गर्न व्यस्त थिए । म भने उनका बारेमा अझ धेरै जान्ने उत्सुकताले कसैले केही भनिदिन्छ कि भन्दै त्यस्तो व्यक्तिको खोजीमा थिए । भृकुटीका बारेमा त्यसदिन त्यति मै बित्यो मनमा अनेकन तर्क विर्तक लिएर म आफू बस्ने होटलतिर लागे । 

भोलिपल्ट बिहान हाम्रो टिम जोखांग मन्दिर घुम्न गयो । अघिल्लो दिन अधुरो रहेको भृकुटीको बारेमा बुझ्ने थप समय मिल्यो जोखांग मन्दिर । जोखांग मन्दिर रानी भृकुटीले बनाउन लगाएकी रहिछन् । त्यही मन्दिरको भित्तामा रानी भृकुटीले गरेको योगदानको चित्र कोरिएको र उनले फ्याँकेको औठीको तस्वीर रहेछ । त्यसका बारेमा मैले हाम्रो दोभाषे तारालाई सोधे यो भनेको के हो ? उनले भनिन्, ‘यहाँ कुनै समय पानीको ताल थियो, रानी भृकुटीले बृद्धको मूर्ति नेपालबाट दाइजोमा ल्याएकी थिइन्, अनि राजा स्रगचग्गम्पोलाई त्यहाँ मन्दिर बनाउन प¥यो भनेर आग्रह गरिछन् । राजा गम्पोले कहाँ मन्दिर बनाउने यहाँ त खाल्टो छ भनेपछि रानीले औठी त्यही पोखरीमा फालिएको कथा छ ।’ त्यही बेला च्याँग्राको सहायताले त्यो पोखरी पुरेर जोखांग मन्दिर बनाउन सहयोग गरेका कारण त्यहाँका मानिस च्याँग्राको मासु खान मन पराउँदैनन् भन्ने कुरा उनै ताराले सुनाइन् ।

जोखांग मन्दिर हेरिसकेपछि अझ स्पष्ट भयो फरक भाषा संस्कृति संस्कार भौगोलिक वातावरणको प्रभाव भए पनि दुई देशबीचको सम्बन्ध विस्तारका लागि भृकुटीले तिब्बतमा विवाह गरेकी रहिछन् । देश समाज अनि आफ्नो धर्म संस्कार र नेपालीलाई माया गरेको जोखाङ मन्दिरबाट प्रष्टै हुन्थ्यो । धर्मप्रति खासै विश्वास नगर्ने हामी नेपालीहरू जोखान मन्दिरमा बौद्धधर्मालम्बीहरूको आस्था देखेर नतमस्तक भयौं । केहीबेर अघिसम्म हाम्रो टिमबाट गएको टोलीले मन्दिरमा हात जोडेको देखेर मन्त्री महासेठ जिस्क्याउँदै भन्दै थिए मन्दिरमा ढोगेर केही हुनेवाला छैन तर जोखांग मन्दिरमा बौद्ध धर्मालम्बीहरूले सुतेर, उठेर, लम्पसार परेर गरेको जप ध्यान एकचित्तले हाम्रो टिम पनि झुक्न बाध्य भएको थियो । अघि मन्दिरमा ढोगेर केही हुनेवाला छैन भन्ने मन्त्री केही क्षणपछि आफै ढोग्दै हिँडिरहेका दृश्य देखेपछि भृकुटीप्रतिको त्यो सम्मान मन्त्रीले पनि देखाएको देखियोे । जोखांग मन्दिरको हरेक सिलिंगमा बुट्टा भरिएका थिए । अहिलेको ठ्याक्कै भक्तपुरका मन्दिरमा कुदिएका झ्याल ढोका जोखान मन्दिरमा थिए । त्यस बेलाका कलाकार अरनिकोलगायतको टिमले बनाएको जोखान मन्दिरका झ्याल ढोकामा नेपाली पन ल्याउन निक्कै मेहेनत गरेकोे देखिन्थ्यो । मन्दिरमा भएका बुट्टा हेर्दा लाग्थ्यो भृकुटीलाई आफ्नो देशप्रतिको प्रेम अथाह रहेछ । 

त्यस समय भृकुटीले तिब्बतमा गरेको कला संस्कृतिको प्रचार अहिले पनि जीवित कला संस्कृतिका धरोहर नै हुन, जसका आधारमा उनले कसरी नेपालको प्रचारप्रसार गरेकी थिइन् भन्ने अनुमान लगाउन सकिन्छ । त्यसैले त भनिएको रहेछ ‘भृकुटी तारा उदाइन उत्तर चीन तिब्बत ।’ आफनो देशको चेलीले अरुको देशमा नेपालको प्रचार गरेको देख्दा उनीप्रति थप सम्मान बढेर आयो । भृकुटीले गरेको वृद्धको प्रचारका कारण नै तिब्बतमा करिब नब्बे प्रतिशत बौदधर्मालम्बी जोखांग मन्दिरमा दर्शन गर्न आउँदा रहेछन् । दर्शन गर्न आउनेजति सबैले सुन्थे ‘सि इज फ्रम नेपाल ।’ वृद्ध जन्मिएको देश, सगरमाथाको देश, भृकुटीको देशको जसरी नेपालमा प्रचार हुनुपथ्र्याे त्यो देख्न नपाएका हामीहरूले विदेशमा देख्न र सुन्नपाउदा गर्व त भयो नै । त्यो भन्दा बढी हरेक मन्दिरमा भृकुटीका तस्वीर उनको योगदानको चर्चा र नेपालको प्रचारप्रसारमा खटिएको सुन्दा उनको सम्झनामा शिर झुकेर आँखाबाट तप तप आँशुको ढिक्का झरयो, र स्यावास नेपालकी छोरी भृकुटी भन्न मन लाग्यो । (चीनको ल्यहासाबाट फर्केर)