पूर्व जलस्रोत सचिव द्वारिकानाथ ढुंगेल प्रख्यात जलस्रोत विज्ञ समेतमा गनिनुहुन्छ । अंग्रेजी तथा नेपाली भाषामा लेखिएका उहाँका अनुसन्धानहरु विभिन्न देशबाट प्रकाशित छन् । भारतीय बाँधका कारण नेपाली भूमी डुविरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण भइरहेको छ । देउवाको भारत भ्रमणमा नेपालले उठाउनु पर्ने विषयमा ढुंगेलसँग चक्रपथ डटकमका लागि बिनु पोखरेलले गरेको कुराकानीः  

आज प्रधानमन्त्री भारत भ्रमण जानुभयो, नेपालमा ९–९ महिनमा नयाँ प्रधानमन्त्री हुन्छन् र भएपछि भारत जानै पर्ने के छ त्यस्तो ?  
मैले केही दिनदेखि सामाजिक संजाल र अन्तर्वार्ताहरुमा भन्दै आएको छु कि योबेला प्रधानमन्त्री भारत नजाउन् । बाढीले तराई जलमग्न छ । तराईको हजारौं हजार बिघा जमिन खण्डहर बनेको छ । दुईबर्ष भयो नेपालमा भूकम्पका  कारण पालमा सरेका जनतालाई अझै घरमा पुर्र्याउन सकिएको छैन । अहिले पनि रोएर बसेका छन् ती जनता । डुवानले हाम्रा तराईका फाँट मरुभूमी भएको छ । सयौ मरिसके, कति धेरै घरवार विहिन भएर चिसो भुईंमा र स्कूल भवनमा  शरण लिएर बसेका छन् । घर, जमिन, परिवार सबै गुमाएका हाम्रा तराईका जनतामा त्यस्तो हाहाकार छ । पहाडमै पनि पहिरोले जनताको विचल्ली छ । सिगैं गाँउ पहिरोमा परेर परिवारका सबैको लास निकालिरहेको हामीले देखिरहेका छौं । यो सबैको कारण भनेको भारतले बाँधेको बाँध र सिमानाका बनाइएका अग्ला अग्ला सीमासडक, जसले हाम्रा खोलाबाट जाने पानीको बहाव रोकेर नै हो । अनि भारतकै कारण यो बितण्डा भइरहेको बेला भारत जानु के आवश्यक थियो ? मैले छिमेकी देशसँग सम्बन्ध नै नराख्नु भन्न खोजेको हैन । म त्यो पक्षमा पनि छैन । तर उसैका कारण भइरहेकोे यस्तो बिचल्लीका बीचमा फेरि उतै लुसुक्क किन जानु ? । 

अहिले प्रम भारत जानुको खास कारण चाहिँ के हो ? यहि बेला जाँदा देशको लागि केही फाइदा पनि त होलान् नि ? 

हेर्नुस्, देशको प्रमुख कार्यकारीको भ्रमण भनेको हामी घुम्न गएजस्तो होइन । राष्ट्रको कार्यकारीले देश हितको लागि भ्रमण गर्ने हो । जानु पनि पर्छ । मैले अघि पनि भनेँ हामीले सबै छिमेकीहरुसँग राम्रो सम्बन्ध राख्नु पर्छ । तर यो भारत भ्रमणमा जाने बेला होइन । भारतकै पेलानका कारण देशमा यस्तो बिघ्न विपत्ती आइरहेका बेला एउटा अडान लिएर भारतलाई मेरो देश डुवाउने तिम्रा यी यी वाँध खोल भनेर दवाव दिनुको सट्टा फेरि पनि भारत नै जानु त्यो पनि जनता डुवानमै बसिरहेको बेला ? दीपक ज्ञवालीजीको शब्द सापट लिएर भन्छु–अरु केही नभएर लम्पसारवाद नै हो । देश डुबेको यस्तो बेला फेरि उतै जाँदा के फाइदा हुन्छ भनेर अपेक्षा गर्नु ? 

भ्रमणमा के एजेण्डा हुनुपथ्र्यो ? 
भारतमा पनि बाढीको प्रभाव छ । उसलाई पनि त्यहाँ समस्या छ । त्यो हामीले नजरन्दाज गर्न मिल्दैन । तर, हामीले त जहिले पनि देशको बर्तमान अवस्था र देश हितमा कुरा गर्ने हो । नजानुस् भन्दा भन्दै जाँदै हुनुहुन्छ । अब  शुभकामना त भन्नै पर्र्यो । 

हिजो मात्र समाचारमा आएको थियो कि प्रधानमन्त्री भारत भ्रमणमा जाँदै हुनुहुन्छ र त्यहाँ कुनै किसिमको सन्धी हुने छैन भनिएको छ  । अस्ती चाहिँ महाकाली पञ्चेश्वरको कुरा उठाइने भन्ने समाचार सुनेको थिएँ । तर फेरि आज त्यो नउठाइने, त्यसलाई प्रविधिक स्तरमै छोडिने भन्ने पढेँ । अर्को कुरा पूर्वी नेपालदेखि पश्चिमसम्मका भारतीय सीमामा जुन संरचना बनेका छन्, ती संरचनाहरुले नेपालको नदिको प्राकृतिक वहावलाई रोकिदिएका छन् । त्यसको बारेमा बोल । 

२०१६को सेप्टेम्बरमा प्रचण्ड पनि गए । त्यसको लगत्तै परराष्ट्रमन्त्री प्रकाशशरण महत गए । अनि फेरि ६ महिनामा ६ पटक गएका होइनन् ? के भयो खै त्यहाँबाट ? त्योबेला सिमानामा बनिएका संरचनाको अध्ययन गर्न प्रविधिकहरुले संयुक्त रुपमा अध्ययन गर्ने भनिएको थियो । खै अहिलेसम्म एकरत्ति काम भएको छैन । छ त ? अनि हरेक वर्ष यसैगरी काम गर्ने भन्ने कागजमा सही मात्र गरेर केहि हँुदैन । भ्रमणमा जाँदा कमसेकम आफ्ना नीति बनाएर जानुस् । परराष्ट्रनीति हामीले के बारे के बोल्ने, एउटा योजना बनाएर जानुस् । विज्ञहरु लिएर जानुस् । यस्तै लण्ठु पाराले कहिलेसम्म देश चलाइरहने ? हामीले यसरी कुरा उठाउँदा हामीलाई के नपुगेर बोलेको भन्छन् । देशको लागि बोलेको भन्ने यिनले कहाँ बुझ्छन् र ? देशको बारे जान्ने  हुनलाई त देशको अध्ययन हैन, यहाँ हावाका भरमा भाषण ठोक्न जानु पर्छ त्यो हुन्छ देशको हित चाहने । किनकी उ पार्टीको मान्छे हुन्छ, हामी बिना पार्टीका मान्छेकोे कुरा कसले सुन्छ ? 

सुन्दैछु, भूकम्पको बेला दिने भनिएको पैसा किन अझैसम्म आएन भनेर कुरा उठाइने रे । कोसी बाँधले गरेको जमिन कटानबाट पाउनु पर्ने पचास करोड रुपैयाँको पनि माग गर्नुहुनेछ रे । सुपुर्दगी सन्धी उठाउनु हुने भन्ने सुनेको थिएँ । फेरि आज सुन्दैछु त्यो पछि प्राविधिक तहले गर्ने भन्ने भो रे । मेरो विचारमा नजानु गएपछि यो सबै कुरा छोडेर जलस्रोतको क्षेत्रमा टेवुल ठोकेर कुरा राखिनु पर्छ । कोसी र गण्डकमा भएका सम्झौता अनुसारका सबै कुरा गर भन्नु पर्छ । 

अर्को, देउवा प्रधानमन्त्री हुँदा नै  महाकाली प्याकेजमा सम्झौता गरिएको थियो । ७५ बर्षका लागि भनेर गरिएको सो सन्धी २१ बर्ष भइसक्यो । तर केहि पनि काम अघि बढेको छैन । त्यो सन्धी सहि थियो या गलत थियो भन्ने कुराको बहस पछि गरौंला । प्रत्येक १० वर्षमा त्यसको पुनरावलोकन गरिने भनिएको छ । तर अहिलेसम्म त्यसका प्रवधानहरु एउटा पनि लागू भएका छैनन् । म त भन्छु– प्रधानमन्त्री नजानु भन्दा भन्दै भारत भ्रमणमा जानुभयो । तपाईं नै प्रधानमन्त्री हुँदा गर्नु भएको महाकाली सन्धी कि त पुनरावलोकन गरेर आउनुस्, नत्र खारेज गुर्नस् ।  होइन भने खोला यसरी थुनेर राखिरहन देशलाई घाटा हुनेछ । कतिञ्जेल यस्ता लागू नभएका सन्धी राखेर देशलाई अरुको निर्णयको र आफ्नै अनिर्णयको बन्दी बनाउने ?

तपाईं लामो समय देखि पानीकै विषयमा बोल्दै आउनु भएको छ । यहि विषयको विज्ञ हुनुहुन्छ । तर गलत हुँदैछ भनेर कराइरहने, अनि सत्तामा पुग्नेहरु सत्ता स्वार्थका लागि देशका नदिनाला प्रयोग गरिरहने, यो कहिलेसम्म होला ?
 
हो, यहि प्रश्न हामी सरकारलाई सोधिरहेका छौं, यो कहिलेसम्म ? तर पनि हामी बोल्न छोड्नु हुन्न । सही गलत के भइरहेको छ हेर्ने भनेको तपाईं हामी जस्तै जनताले हो । पार्टीका कार्यकर्ता त जति नै ठूलो विज्ञ भए पनि दलका विरुद्ध बोल्दैनन् र बोल्न दिइंदैन । हो तिनै बौद्धिक हराम हरुलाई झकझक्याउन पनि बोलिरहनु पर्छ । यो हाम्रो दयित्व हो, कहिल्यै नभुलौं । 

दोक्लाम विषयमा तटस्थ बस्नुपर्छ, भन्ने कुरा आइरहेका छन् । प्रधानमन्त्री भारत भ्रमण जाँदा दोक्लाम विषयमा के कुरा गर्नुपर्छ ? 
टनकपुर सन्धी थियो । एकतर्फी बनाएको बाँधलाई गिरिजाप्रसाद कोइरालाले सन्धी गरेर बैध बनाइदिए । यो लुकाइरहने कुरा भएन । महाकाली नदीको स्रोतको बिषय, लिपुधुरा र कालापानी पनि छ त्यहाँ । कालापानीलाई भारतीयहरुले महाकालीको स्रोत भनेर कृतिम स्रोत बनाएर क्याप्चर गरे, जुन हाम्रो जमिन हो । पहिलो कालापानीबाट उनीहरुलाई निस्कन लगाउनु पर्छ । महाकाली नदी नेपालको सीमा भनेपछि उनीहरुले महाकाली यताको भाग पनि आफ्नो बनाउन अर्को सानो खोलालाई महाकाली बनाएर यसरी हडपेर बसेका छन् । यस बारेमा जगत भुसाल, बुद्धिनारायण श्रेष्ठहरुले बडो मेहनत गरेर लेख्नु भएको छ । अरु होइन, कालापानीमा बसेका भारतीय सेनालाई जाउ भन्न सक्नु पर्छ उहाँले । अहिलेदेखि होइन बीसौं बर्षदेखि हामी कराइहेका छांै । पहिला हाम्रो यो कुरा सुन भन्नुपर्यो । यो बेला दोक्लामको विषय भन्दा हाम्रा लागि लिपुलेक ठूलो हो । चीनको टेरिटोरीमा भएको भुटानसँग जोडिएको भूभागमा भारतलाई जबर्जस्ती गाँसेर हामीले बोल्नु पर्ने के छ ?  यो भन्दा शताब्दीऔंदेखि भारतले ओगटेको हाम्रो जमिनको कुरा गर्नुपर्छ । यसमा राष्ट्रको हित छ भनेर कहिले सुन्ने ? कसले सुन्ने ? अब त देशको लागि सुन्ने कान पनि सबै बन्द भइसेके जस्तो भयो । 

तेस्रो, तराईमा डुवान भएका हाम्रो फाँट मरुभुमी भएको  छ । रातारात चुरे नाश हुँदैछ । यो सब हुनुमा हाम्रा बनिएका कमजोर संरचना पनि हुन् । ती कुरा पछि गरौंला । तर भारतले पूर्वदेखि पश्चिमसम्म बाँध बनाइरहेको छ, जसले हाम्रो नेपाली भूमी बर्षैपिच्छे झन् झन् धेरै डुब्दैछ । 

एक दशक अगाडि मौसम तथा जल उत्पन्न प्रकोप सम्बन्धी जापानको संस्थाले नेपालको तराई डुवानको अध्ययन गरेको थियो । त्यसमा २९ वटा बाँध भारतले बाँधेको र त्यसबाट नेपालमा यस्तो अवस्था आइपरेको प्रतिवेदन नेपाललाई बुझाएको थियो । त्यो प्रतिवेदनले दिएको बाँधको र समग्र नेपालमा पानीको अबस्थाबारे शान्त पुन र मैले २००८ मा एउटा किताव निकालेका थियौं । कितावको नाम ‘नेपाल र भारतको पानी सम्बन्ध हाँकहरु’ भन्ने छ । त्यो किताव बेलायतबाट प्रकाशन भएको हो । अग्रेजी भोल्युम भए पनि त्यहाँ एउटा अनुसन्धनात्मक लेख छ । त्यो लेखको सिलसिलामा हामीले भारतले बनाएका २९ वटा ड्यामहरुको वर्णन गरेका छौं । भारतले बनाएको ड्यामले पानीको वहाव रोकेर अहिलेको जस्तो अवस्था आउँछ ।  त्यसमाथि भारतले दिल्लीदेखि आसामसम्म राजमार्ग बनाएको बनाएको छ, जुन अन्तर्राष्ट्रिय मान्यता विपरित छ । जसले नेपालका नदिनाला थुनिंदा उनीहरुका केही भागसँगै नेपालको तराई डुवानमा पर्छ । यसबारे कहिले बोल्ने नेपालले ? जसले बोल्नु पर्ने थियो, उनीहरु आफ्ना छोराछोरी पढाउन भारतीय दूतावाससँग सहयोग लिन्छन् । अनि देशका मुद्दा कसले बोल्ने ? 

नेपाललाई सबैभन्दा बढी खतरामा पार्ने भारतीय बाँध कुन हो ? 

नसुनिएका र हेर्दा साना लाग्ने कुरा धेरै छन् । रौतहटको बैरगनियाँ, रुपन्देहीको रसियावाल खुर्दलोटन बाँध, जसले सिंगै लुम्बिनी डुबाउँछ । महलीसागर बाँध गेट नै उठाएर छोडिदिएको छ, यसले वर्षैपिच्छे गाउँ गाउँ नै डुबाउँछ । लक्ष्मणपुर बाँध अराजक बाँध हो । त्यसले जिल्ला नै डुवाएको छ । दार्चुलामा धौलीगंगा बाँध छ । त्यसले हरेक वर्ष वितण्डा मच्चाउँछ । 

नेपालले अडान लिए पनि भारतले मान्छ भन्ने के छ र ? 
नेपालले अडान लिंदा भारत आफ्नो निर्णयबाट फर्किंदो रहेछ भन्ने गतसाल नाकाबन्दी खोलेको उदहरण दिन सकिन्छ । नाकाबन्दीका बेला नेपालको भूमिकाले देखायो त, नेपालले अडान लिंदा भारतका योजना बिफल बनाउन सकिने रहेछ । 

यो कुरा गर्नु विषयन्तर जस्तो होला । तर पनि राख्छु । भारतले नाकाबन्दी लगाएका बेला हामीले प्रधनमन्त्रीलाई भेटेर नाकाबन्दी पूर्ण रुपमा नखोली तपाईं भारत नजानुस् भनेका थियांै । तर, नाकाबन्दी पूर्ण रुपमा नहटी उहाँ जानुभयो । यद्यपि उहाँले गलत केही सम्झौता गर्नु भएन ।  तर अहिलेका प्रधानमन्त्री  यस्तो बेला भारत भ्रमण जानुभयो, यो काम भारतसँग प्रधानमन्त्रीको लम्पसारवादी नीति हो । हामी जवसम्म यो लम्पसारवादमा रहिरहन्छौ, त्यो बेलासम्म भारतले हाम्रो यस्तै हविगत बनाइरहन्छ । यस्तै हो भने अगामी ५० बर्ष भित्र हाम्रो तराई एउटा ठूलो तालको रुपमा परिणत हुन्छ । हामी भने त्यो बेला पनि यसैगरी उसैको शरणमा हुन्छौं । 

उसोभए हामी अब कहिल्यै उठ्न सक्दैनौं ? 
हेर्नुस, म पनि भारतमै पढेको मान्छे हुँ । भारतीय जनता नेपालीप्रति सकारात्कम छन् । सलमान हैदर महाकाली सन्धीका एक हस्ताक्षरकार्ता हुन् । उनले नेपालले हामीलाई इज्जत गर्छ हामीले इज्जत नगरेकाले नेपाल हामीसँग रिसाएको छ भनेर आफ्नो कितावमा लेखेका छन् । 

तर अहिले भारतका शासकहरुले नेपाललाई एउटा प्रान्तको रुपमा लिन्छन् । तर यसमा उनीहरुको मात्र दोष छैन । यस्तो यहिँका नेताले बनाएका हुन् । उनीहरु नेपाललाई कहाँ जान्छस् चिडिया मेरै ढडीया भन्ने सोच्छन् । नेहरुदेखि अहिलेसम्म आएको कुरा त्यहि हो । राजा महेन्द्र बरु त्यसको खिलाफमा आए । उनलाई साथ दिने प्रशासकहरु पनि त्यस्तै बलिया थिए, जसले नेहरुदेखि इन्दिरा गान्धी जस्ता मान्छेसँग टक्कर लिए । केवल संसद भङ्ग गरेकोमा महेन्द्रलाई नराम्रो मानिन्छ । त्यस्तै पछिल्लो समयमा ओलीले पनि त्यस्तो साहस देखाए । त्यसबाट हामी मकजोर हुँदाहुँदा यहासम्म आइपुग्यौं । त्यहि भएर भारतले भन्ने कुरा के हो भने सबै क्रान्ति २००७ साल, २०४६ साल देखि १२ वुँदे पनि हामीले गराईदिएका हौं । त्यसैले नेपाल मेरो हो, मैले हाँकेको हो भन्ने हाँक लगाउन पाएको हो । त्यो १२ बुँदे दिल्लीमा नभएर चुनवाङमा  भएको भए यति हुने थिएन । अनि यति नभएर हामी सत्ताको लागि भारत नै जान थालेपछि त हामीलाई नहेपेर कसलाई हेप्छ ?

हाम्रै देशका नेताले भारतलाई निर्णायकत्व दिने गरेका रहेछन् । सत्तास्वार्थले  देशका एजेण्डा कमजोर पार्ने नेताहरुको बाहुल्यता छ । के हामीले असल नेता पाउनै छोडेका हौं ?  
तपाईंले बडो कठीन प्रश्न गर्नुभो । यसको जवाफ मसँग छैन । यसपालीको काठमाडौको चुनावमा रञ्जु दर्शानाको भोट जे आयो नि यो प्रश्नको जवाफ त्यहि मतले पनि दिन्छ कि ।  यी राजनैतिक दलको यही लम्पसारबादको जनताले बिकल्प खोजिरहेका छन् । हामी पार्टी ब्यवस्थामा छौं । नेपाल भ्रष्ट्राचारमा चुर्लुम्म भएको देखिएको छ । तर, मान्छे आफ्नो पार्टीले खराव काम गरे पनि वचाउमा उभिन्छ । सत्यलाई सत्य र असत्यलाई असत्य भन्ने सामाजिक शक्ति कमजोर छ । त्यसैले हामी यस्तो अन्याय, भ्रष्टाचार र देशको अहितबाट बाहिर निस्कन सकेका छैनौं । 

सामाजिक संजालमा तपाईंजस्ता बुद्धिजीवीहरुले खवर्दारी गर्दा पनि समाजमा आलोचनात्मक चेत कमजोर छ, दलगत आग्रहबाट नागरिकहरु ग्रसित छन् । यस्तो कहिलेसम्म होला ? 
यो त कस्तो भयो भने, हाम्रा शासकहरु काग कराउँदै गर्छ पिना सुक्दै गर्छ, आफूले चाहेको गर्नुपर्छ भन्ने सोचबाट ग्रसित छन् । हामी कराइरहने तर, उनीहरु केही नसुन्ने । बरु उनीहरुका समर्थक कार्यकर्ता देशलाई हानी हुने कुरा जान्दा जान्दै बचाउमा आउने । यस्तो बिडम्बना छ । समाजमा हरेक परिवर्तनले प्रसव बेदना खेप्नु पर्छ । त्यसैले अहिले पीडा भए पनि यस्तो कुरा सधैं रहन सक्दैन । मेरै उमेरमा त्यो होला नहोला, मैले हेर्न पाउँछु पाउन्न त्यो बेग्लै कुरा हो । तर मेरा छोराछोरीले त्यो दिन देखिदिए हुन्थ्यो भन्ने आशा मारेको छैन । मैले मेरो पालामा देशको भलाई देख्नै नपाउने भएँ भनेर बोल्न छोड्नु पनि त भएन । 

देश यस्तो हुँदा पनि दुख्न नसक्ने नेतृत्व  कसरी अनुमोदित भयो होला  ?  
राज्यको पहुँचमा हाम्राबीच असमानता छन् । भौगोलिक विकटताको कारणले पनि केही तलमाथि छ, त्यो म मान्दछु । त्यो समाधान गर्नु पनि जरुरी छ । तर, अहिले देशमा यस्ता कृतिम असमझदारी निकालिएको छ कि त्यसले यस्तो भइरहेको छ । सबैभन्दा ठूलो कारण चाहिँ अहिलेको राज्य संचालन गर्ने नेतृत्वसँग  देशप्रति एकरत्ती माया छैन  । दोस्रो कुरा हामीले हाम्रो निर्णय गर्ने अधिकार अरुलाई बुझाइसकेका छौं । तस्रो कारण हामीले अर्काको एजेण्डा हाम्रो संविधानमा समावेस गरिसकेका छौं । चाहे संघीयताको नाममा होस्, चाहे धर्म निरपेक्षताको नाममा होस् । अलिअलि गर्दै सबै अर्काको हातमा सुम्पिइसकेको छ । अनि अरुको बफादार भएपछि कसरी देशको लागि काम गर्छ नेताले ? 

दोक्लामबारे नेपालको नेतृत्व नेपालकै विषयमा किन नबोलेको होला ? 
त्यो त सोझो कुरा छ नि, सबैले देख्नेगरी छ, कुर्सी जान्छ । अनि किन बोल्छन् ? ओलीजीले देशको हितमा केही गर्दा, बोल्दा उनको कुर्सी खाएका होइनन् ? प्रचण्ड ल्याएका होइनन् ? अनि किन बोल्छन् यी आफ्ना सत्ता दाताहरुको बिरुद्ध ? 

भारतमा मेरा धेरै साथी छन् । उनीहरु कहिलेकाहीँ मसँग भन्छन्– साला तेरा नेता कैसा है । खातिरदारी करते है । हमको खातिरदारी कराते है । यहा आके क्या क्या बोल्ते है । फिर उहाँ जाकर सब भुलजाते है । कैसा देश हे, तुमलोग कैसे सुद्रोगे्र ? प्रधानमन्त्री आते है हमको ये मेडिकल कलेजमे ऐसे सिट दिलादो, व सिट दिलादों बोलकर जाते है, कैसा लोग है यार ? हुन पनि भारतको १० देखि १०० वर्ष सम्मको पानीको योजना छ नेपालमा । कहिले कहाँ कतिबेला के गर्ने भन्ने ? तर यहाँ त भारतले बोलायो लु जाउँ जाउँ भन्यो हिड्यो । हिजो के भएको थियो ? कस्तो थियो ? के का लागि जाने ? देशका लागि के गर्न सकिन्छ भन्ने न योजना छ, न यो चाहिँ गर्न सक्दिन भन्ने आँट ।