नेताहरुको उदय, उत्कर्ष र अवशानको  भिन्नाभिन्नै प्रकृति, प्रवृत्ति र कारण  हुन्छ । धारविरुद्ध उभिन सक्ने एबं समयको गति पक्रिन सक्ने साहस, विशिष्ट प्रतिभा, अद्वितीय सक्रियता, व्यवस्थापकीय कुशलतला, वैचारिक छवि वा यी सबै गुणको थोरबहुत मिश्रण आदि कारणले आजको युगमा व्यक्ति प्रतिष्पर्धामा श्रेष्ठ सावित हुन्छ । मलाई लाग्छ विष्णुप्रसाद पौडेल नेकपाको महासचिव बन्न सक्नुमा सबै गुणको थोरबहुत मिश्रणको मौजुदीले काम गरेको छ । 

तीसको दशकतिर  धारविरुद्ध उभिन सक्ने एबं समयको गति पक्रिन सक्ने साहसले सीपी मैनाली, केपी ओली, मोहनचन्द्र अधिकारीलाई एकाएक राष्ट्रिय राजनीतिको केन्द्र भागमा पु¥यायो । दार्शनिक छविका कारणले झलनाथ खनाल उठ्नु भयो । सक्रियता र व्यवस्थापकीय क्षमताले माधव नेपाल सदावहार नेता बन्नुभयो । मदन भण्डारीमा विलक्षण प्रतिभा थियो ।

बाह्य रुपमा जनयुद्धको अगुवाई गर्न उठाएको जोखिम र आन्तरिक रुपमा माले,  एमालेसँग माओवादीले वामघटकको मूलधार बन्नका लागि लिएको टक्कर र सुरक्षित अवसरको चातुर्यताको वलले पुष्पकमल दाहालले संभावनाका थुपै ढोकाहरु खोल्नु भएको छ । पछिल्ला दशकमा बामदेव गौतमको आँट र केपी ओलीको अडान र दूरदर्शिताको योग पूर्व एमालेले पाएको अटल सौभाग्यको आधार थियो । अग्रजको अनुकरण गर्न सम्भव र सार्थक हुँदैन । तेज उत्तराधिकारी त अग्रजका आदर्शलाई अनुशरण गर्दै रचनात्मक ढंगले अघि बढ्छ । महासचिव पौडेलको उदयको आधार पनि यही हो ।    

आज मुलुकका दुई ठूला वामपन्थी दल एमाले र माओवादी एकता भई नेकपा बनेको छ । एकता हुँदा दुबै पार्टीका अध्यक्ष हाफ, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव पत्तासाफ भए पनि महासचिव विष्णुप्रसाद पौडेल भने नेपाल कम्युनिष्ट पार्टीको महासचिव बन्नुभयो । नेकपामा महासचिव चानचुने नेता बनेको नजिर छैन । पौडेलले पाएको यस्तो अवसर विरलै नेताले पाउने गर्छन् । 

२०४४ सालमा सेक्टर काण्ड घट्दा अन्य नेताहरु गोपनियता भंग गराएकोमा कार्वाहीमा परेपछि तत्कालिन नेकपा मशालको महासचिव हुने अवसर प्रचण्डलाई प्राप्त भएको थियो । आज त्यस्तो अवसर पौडेलको पोल्टामा परेको छ । महासचिव पदको महत्व, पौडेलको व्यक्तित्व, प्राप्त अवसर र संगीन खाले चुनौती अहिलेको राजनीतिक वृतमा वहस, विश्लेषण, अनुमान र अपेक्षाको विषय बनेको छ ।

महासचिव पौडेलको उदयले मूलतः २०२८ को दशकदेखि नेपाल कम्युनिष्ट पार्टीमा विभिन्न धारहरुमा प्रभावी रहेका नेकपाका शीर्ष पाँच नेताबाट नयाँ पुस्तामा नेतृत्व हस्तान्तरणतिर संकेत गरेको छ । 

विक्रम संवत् २००१ सालदेखि ०११ सालसम्म जन्ममिति भएका नेताहरुमा जाम भएको नेतृत्व २०१५ देखि २०२५ साल सम्मको उमेर समूहतिर सर्न आवश्यक पनि छ । नेतृत्वको सहज र लोकतान्तिक हस्तान्तरणलाई पौडेलका समर्थक र प्रतिष्पर्धी सबैका लागि अत्यन्तै सुखद र सकारात्मक पक्ष हो । नेतृत्व हस्तान्तरणका विभिन्न प्रकृति हुन्छन् । नेतृत्व हस्तान्तरणका विविध प्रयोगहरु माक्र्सवादी कित्तामा भन्दा सामन्तवाद र पूँजीवादी कित्तामा वढि छन् । सुरुमा कम्युनिष्टहरु एकांकी प्रकृतिका परेकाले अधिनायकवादी  अभ्यासवाहेक अरु विकल्पबारे सोच्नै सकिदैन थियो । नेपालमा भने कम्युनिष्ट पार्टीका विभिन्न घटकहरुले जनताको वहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवाद जस्ता खुला र खुकुला प्रकृतिका चिन्तन प्रणालीको विकास गरे ।

मानव जातिले हासिल गरेका महानतम् उपलब्धिलाई पूँजीवादीहरुको मात्र पेवा ठान्ने माक्र्सवादी जडता तोडिदै गए । अब माक्र्सवाद मात्र होइन आर्य मर्यादा र पंचशीलको सिद्धान्त पनि हाम्रा सन्दर्भ सामाग्री बन्ने गरेका छन् । नेतृत्वको हस्तान्तरण सम्बन्धि ‘सामुहिक सन्यास’को प्रणाली महाभारत कालमा प्रचलित थियो । धृतराष्ट्र, विदुर, गान्धारी र कुन्तीको सामुहिक वनबास, नाति परीक्षितलाई राजपाठ सुम्पिएर पाँचै भाइ पाण्डवहरुको हिमालयतर्फको सामुहिक महाप्रस्थान यसका उदाहरण थिए ।

चिनियाँ कम्युनिष्ट पार्टीले पनि त्यसप्रकारको अभ्यास गर्दै आएको छ । यस्तो अभ्यास भारतमा कांग्रेस आई र नेपालमा नेपाली कांगे्रसले अवलम्वन गर्न सक्थे तर यसो नगर्दा दुबै पार्टीलाई महंगो पर्यो । भाजपाले भने अटलविहारी वाजपेयी, लालकृण आड्वाणी लगायतका एक दर्जन पाका नेताहरुको भिडलाई छेल्दै २०–३० वर्ष पछिको उमेर समूहवाट नरेन्द्र मोदीलाई सन् २०१४ को संसदीय चुनावमा भावी प्रधानमन्त्रीको उम्मेद्वार घोषणा गरेर छलाङ्ग मार्न सक्यो ।

 नेकपा महासचिव पौडेलको आगमन ठ्याक्कै त्यस्तै नहोला तर आगामी दशकमा लगातार नेतृत्वमा रहेका नेताहरुको एउटा सिङ्गो पुस्ताको नै सामुहिक सन्यास माथिको वहश र संभावनाले ढोका खोलिदिएको छ । पौडेल महासचिव वन्नुमा सुगम र सहज कारण पनि छन् जटिल र विशिष्ट कारणहरु पनि छन् । पार्टी एकीकरणको सहजकर्ता र पहलकर्ताको भूमिका सहज तर विशिष्ट कारण मान्न सकिएला । 

नेकपामा पौडेल भन्दा चलायमान, वरिष्ठ र प्रतिभाशाली अन्य नेताहरुको मौजुदी नभएको होइन । दीर्घ साधना र शालिनताको हिसावले नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर, थापा, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुवासचन्द्र नेम्वाङ, तीक्ष्णताको हिसाबले भीमबहादुर रावल र ईश्वर पोखरेल, जस्ता वरिष्ठ नेता हुँदाहुँदै पौडेलले हानेको यो छलाङ्ग युवा पुस्ताका लागि प्रेरणादायक बनेको छ । उसो त माक्र्सवादका अद्वितीय अध्येता घनश्याम भुसाल, जनताको वहुदलीय जनवादमा अतिरित्त दख्खल राख्ने नेताद्वय प्रदीप ज्ञवाली र शंकर पोखरेल, कुशल संगठक सुरेन्द्र पाण्डे र कस्मेटिक नेता योगेश भट्टराई, शालिन नेताद्वय पृथ्वी सुब्बा गुरुङ्ग र गोकर्णराज विष्ट मध्ये जोकोही पनि नेतृत्वबाट धाप पाउन सक्ने हो भने पौडेलको बिकल्प बन्न सक्नुहुन्थ्यो । 

यी सबै वलिया संभावनालाई संभावनामै सीमित राखेर महासचिव पौडेल आफ्नो उद्धार आफै गर्न सफल हुनुभएको छ र आफुुले वोकेको संभावनाको भू्रणलाई वास्तविकतामा बदल्नु भएको छ । 

पितापुत्र, गुरुचेला, पतिपत्नी, कमाण्डर सिपाही, मित्र र मित्र बीचमा जस्तै नेता र सहायक बीचमा पनि एक भावनात्मक सम्वन्ध हुन्छ, इमान जमानको पक्ष जोडिने गर्छ । उकालोमा बोक्न नसक्नु घोडाको गद्दारी हुन्छ भने ओरालोमा घोडा चढ्नु घोडचडीको गद्दारी मानिन्छ । संकटमा परेको नायक र साथ लिने सहायक हकमा पनि यसप्रकारको लोकाचार र मर्यादा लागु हुन्छ । कुनै समय सबै सहकर्मीबाट धोका र कृतघ्नता बेहोर्नु पर्दा अफ्ठेरोमा परेका बर्तमान प्रधानमत्री ओलीलाई दरो साथ दिंदाको प्राप्तिको रुपमा पौडेलको उदयलाई  लिंदा पनि अत्युक्ति नहोला । 

कुनै समय यस्तो थियो कि पूर्व एमालेमा सीपी मैनाली र वामदेव गौतमपछि जतिसुकै जायज तर्क भए पनि ओलीलाई साथ दिनु भनेको राजनीतिबाट हात धुन तयार हुनुपर्दथ्यो । उच्च जोखिम मोलेर नै पौडेलले आफ्नो र पूर्व एमालेका लागि नयाँ क्षितिज उर्घानु भयो । यसरी नेता पौडेलको व्यक्तित्वले उहाँको आगमनमा आधारको काम गरेको छ । 

नेता पौडेल र ‘हिरो’ पत्रकार ऋषि धमलामा एउटा समानता छ । त्यो समान गुण हो, एउटा शिर्ष नेताको नजिकमा रहेर अर्को शीर्ष नेताप्रति घातक र कू्र नहुने सदाचार । नत्र औसत मान्छेहरु एउटा ठूलो नेताको प्रिय बन्न र उसबाट केही झार्न अर्को नेतामाथि घातकभन्दा घातक व्यवहार गर्न संकोच मान्दैनन् । 

पौडेल कमरेडले २०५९ तिर हाल प्रधानमन्त्री केपी ओलीलाई समाप्त पार्न जुनसुकै हर्कत गर्न धक नमान्ने तत्कालिन संस्थापनका सहायकको भिडवाट पृथक भूमिका निर्वाह गर्नु भएको थियो । पार्टीले लगातार पूर्वाग्रहीढंगले भूमिकाविहीन पारेका म लगायतका ५२ जना बन्धुहरुको ज्ञापनपत्रलाई संस्थापनले डस्टविनमा फालिसकेको बेला नेता पौडेलले कोटेश्वर र वालकोटवीचमा पुल बनेर दुई किनारा बनेका एमालेका दुई खेमालाई जोड्नु भएको थियो । 

माओवादीको उत्कर्षकालमा ओलीलाई काँध थापेपनि झलनाथ खनाल सरकारमा रक्षामन्त्री बनेर सन्तुलनकारी भूमिकामा पौडेल रहनु भयो । अव भने नेता पौडेलले आवश्यक परे नरम, सन्तुलनकारी र कडा स्टेप लिन सक्नु पर्नेछ । किनकि सबैको अप्रिय बन्नु मात्र कमजोरी होइन, कहिलेकाँही सबैको प्रिय बन्नु पनि राजनीतिमा महंगो सावित हुने गर्छ । माक्र्सवादले यसपूर्व कुनै दर्शन र दार्शनिकले नबोलेको वर्ग संघर्षका बारेमा  बोलेको सत्य हो तर नेतृत्वका अनेकौं किसिम र तिनका आचरणहरुको विविधतामाथि विसद चर्चामा पूर्वीय आध्यात्मवाद अगाडि छ । संक्षिप्तमा भन्नु पर्दा महासचिव पौडेलले शिरमा जनता र काँधमा पार्टी राखेर अघिवढ्नु पर्नेछ र गीताले भनेझै आस, त्रास, भ्रम, जाल, निन्दा, प्रशंसा, पुरस्कार र तिरस्कारबाट अप्रभावित हुन सक्नुपर्ने छ ।    

नेता पौडेलमाथि अनुकूलता नै अनुकूलता मात्र छैन, चुनौतीको पहाड पनि छ । जननेता मदन भण्डारी जोड दिनु हुन्थ्यो कि ‘हरेकले आफ्नो औकात राम्ररी थाह पाउनु पर्दछ ।’ प्रतिष्पर्धाको यो युगमा पौडेलको अगाडि पाखा लाग्नु परेका धेरैलाई मरिच चाउरियो आफ्नै रागले भन्ने कुरा थाहा छ । 

कतिपय विकल्प प्रदान गर्ने हस्तीहरु मन्त्री र मुख्यमन्त्रीमा हुनुले पनि पौडेलका लागि मैदान खाली भैदियो । अर्कातर्फ पूर्व एमालेका चार शीर्ष नेता टावर भएको र अन्य नेताहरु मोवाइल सेट मात्र रहेको वास्तविकता स्वीकार गर्दै चार जना शीर्ष नेताको अप्रिय नबन्ने कौशलतामा श्रेष्ठता हासिल पौडेलले नै गर्नुभयो । 

यसका अतिरिक्त पूर्व माओवादी पार्टीका प्राधिकार व्यत्तित्व पुष्पकमल दाहालको सद्भाव र धाप बटुल्न सक्ने पहिलो नेता पनि पौडेल नै बन्न सक्नुभयो । हात्ती, घोडा, गाई  भैसींका बच्चा जन्मिदा साथ दौड्ने गर्छन् तर बिरालाका बच्चाहरुका आँखा पन्द्र बिसदिन पछि मात्र उघ्रिने गर्छन् । राजनीतिमा दूरदर्शी र जुम्सोपनको हकमा पनि यही नियम लागु हुन्छ । 

जवजको च्याप्टर क्लोज भन्ने नेतालाई आफैले आफुलाई च्याप्टर क्लोजको अवस्थामा भेटाउने कुराको अनुमानसम्म थिएन । ओलीलाई सन्दर्भहिन सन्यासको बाटो देखाउने नेता आफै राजकीय भूमिकाबाट वन्चितिकरणका हिसाबले उल्टै सन्यासी बन्न विवश हुनुले अझै पनि कम्तिमा एक दशकसम्म नेकपाको शीर्ष वरियतामा रहनु भएका पाँच नेता मध्ये एकको नजरमा नपरी धम्काउने, बम्किने र झार्ने बारेमा कसैले कल्पना मात्र गर्छ भने त्यो दिवास्वप्न हो भन्ने सत्य प्रमाणित भएको छ ।

महाधिवेशनबाट निर्वाचित नभएकाले महासचिव पौडेललाई गणेश प्रवृतिको उपज भनेर आलोचकहरु तुष्टिकरणमा रमाइरहेका छन् भने उनीहरु ठूलो भ्रममा छन् । किनकी पूर्व एमालेमा पाँचौँ राष्ट्रिय महाअधिवेशनदेखि नवौं महाधिवेशनमा अपराजित र लगातार सिँडी चढेको थोरै मात्र नेताहरु मध्येमा पौडेल एक जना पर्नु हुन्छ । अर्को तर्फ वहुरत्ना वसुन्धरा अर्थात् पृथ्वी वहुरत्नले युक्त छ भन्ने सत्यलाई चुनौती दिदै आफुपूर्व कसैको सोच्ने दिमाग नै थिएन र आफ्नो शेषपछि चिन्तन मनन् गर्ने नभएर विचारक पृथ्वी शुन्य हुनेछ ठान्ने पनि भ्रममा छन् । 

औषधी विज्ञानको ज्ञातालाई भन्दा समाजले रोगीको रोग चिनेर औषधी मूलो दिने डाक्टर, वैद्यलाई रुचाउँछ । कार्यकर्ता र जनताको आकांक्षा संवोधन गर्ने कौशलता पौडेलमा छ । उहिले बोगटी प्रकरणको बेला, के कार्यवाही औचित्यपूर्ण छ नामको पुस्तिका र अर्थमन्त्रीको भूमिकाले पौडेलको वहुआयामिक प्रतिभा स्वीकार नगर्ने प्रतिष्पर्धीका लागि जलनका विषय बनेका छन् । लामो धर्सो तानेर होइन कि अर्काको धर्सो मेटाई दिएर लामो धर्सो कोरेको दाबी गर्ने कंश प्रकृतिको नेतृत्व विकास शैली पौडेलमा देखिदैंन । पूर्व र पश्चिमका कतिपय हस्तीले सहकर्मीमाथि असहिष्णु भएर आफ्नो मार्ग प्रशस्त गरेका दृष्टान्त धेरै छन् । पौडेल पे्ररित पहिलेको लुम्विनी अंचलमा घनश्याम भुसाल, प्रदीप ज्ञवाली, गोकर्णराज विष्ट, छविलाल विश्वकर्मा सबैको सहअस्तित्वको लक्ष्मण रेखा अनुकरणीय रह्यो । अब अंचल र प्रदेश केन्द्रीत कार्यक्षेत्रवाट एकाएक राष्ट्रिय स्तरको र एकल पार्टी भन्दा एकीकृत भएको पार्टीको वृहत्तर कार्यभारलाई पौडेलले सम्वाहन गर्नु पर्ने छ । 

बिगतमा सुदूरपश्चिममा पार्टी काम गरेको र पाल्पावाट २०५१ सालमा सांसद जितेको विगत हेर्दा महासचिव पौडेल पूर्व र पश्चिम नेपाल नजिकबाट चिनेको, पहाड र तराई दुवै ठाउँको राजनीतिमा उम्दा सावित भएको थोरै मात्र नेता मध्येमा पर्नु हुन्छ । सरकार संचालन र पार्टीका कामका दोहोरो अनुभव पनि उहाँसँग छ । यति हुँदाहुँदै पनि राजनीति निर्मम क्षेत्र हो । यहाँ दोहोरीमा जस्तै सयौं सद्गुण र सकारात्मक पक्षलाई एउटै कमजोरीले दुग्ध पार्न समय लाग्दैन । अधिनायकवादी, सामन्ती वा विरासतवाट चयन भएको नेतृत्व देउसी शैलीको हुन्छ र एउटाले भट्याउँदा सबैले साथ दिन्छन् । अमेरिका युरोपमा जस्तै पूर्व एमालेले विकसित गरेको प्रतिस्पर्धात्मक नेतृत्व प्रणाली नेकपाको पनि सम्पत्ति भएको हदसम्म महासचिव पौडेलले चुनौती र जटिलताको सामना गरेरै आफुलाई श्रेष्ठ साबित गर्नु पर्नेछ ।

२०२७ सालको दशकदेखि शक्तिको निरन्तर र असिमित अभ्यास गरेका आधा दर्जन शीर्ष नेतासँग व्यवहार गरेको पार्टीपक्तिले ईश्वर पोखरेललाई महासचिवका रुपमा मदन भण्डारी र माधव नेपाललाई जति आत्मसाथ गर्न नसकेको तथ्य पौडेलमाथि पनि लागु हुन सक्ने चुनौती छ । 

भर्खरै रसवरी खाएको जिव्रोले चियालाई तातो पानी वरावर मान्छ । किनेको भैसीे नयाँ गोठालोलाई नपग्री दिएर फिर्ता हुने व्यापारिक जटिलता राजनीतिमा नयाँ भूमिकामा आएको नेतामाथि आइपर्ने गर्छ । ओली, प्रचण्ड, नेपाल, खनाल र गौतम जस्ता नेतासँग व्यवहार गरेका नेता कार्यकर्ताले परिवर्तन संसारको नियम हो भन्ने कुरालाई आत्मसाथ गर्नु जति जरुरी छ, त्यतिनै विकल्प प्रदान गर्ने योग्यता, क्षमता र आँट भएका हस्ती जतिले नेता र कार्यकर्तारुपी बजारको माग अनुरुप आफुमा आपूर्ति क्षमता वृद्धि गर्नु जरुरी छ । नेकपा (माले) र नेकपा (मशाल) को सस्थापक रहेका नेताहरुको नेतृत्वमा रहेको नेकपामा विष्णु पौडेलको महासचिव चयनसंगै नयाँ पुस्ताको हस्तक्षेप र पहुँच अभिवृद्धि भएको छ । सत्तारुढ दल भएकोले नेकपा लाई आन्तरिक संकटवाट मुक्त राख्ने दायित्व पनि नयाँ पुस्ताको हो । शक्तिमा पुग्दा समेट्नु र सकसमा पर्दा समालिनुको सन्तुलनमा रहेर नेकपाका हरेक नेता कार्यकर्ताहरुले पार्टीलाई भिरको डिलमा जानबाट वचाउनु छ र जनताको दिलमा राख्नु छ । पार्टीको मियोको रुपमा महासचिवको कार्यभारको कम महत्व छैन । महासचिव पौडेलले आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर आफ्नो सक्रियतालाई बढाउनु हुनेछ । मनमोहन अधिकारी र मदन भण्डारीको पालामा भएको एकता त दुई पार्टीको दोभान मात्र थियो ।

यस पटक केपी ओली, पुष्पकमल दाहाल र नारायणकाजी श्रेष्ठ सहितको यो एकता तीन नदीको त्रिवेणी जस्तै रहेको छ । धार्मिक पर्यटनका दृष्टिले त्रिवेणीको महत्व रहेजस्तै आशा गरौँ वामपन्थी, लोकतन्त्रवादी र देशभक्त जनमतको त्रिवेणीका रुपमा रहेको नेकपालाई असल र योग्य नेताहरुको नर्शरी बनाउन महासचिव पौडेलको उदय वरदान सावित हुनेछ ।