दुई हजार वर्षअघि आचार्य चाणक्यलाई एमालेको उदय र कांग्रेसको पतन हुनेछ भन्ने थाह थिएन । तर, कस्ता शक्तिको उदय हुन्छ, अटल रहन्छन् र कस्ता शक्ति हराएर जान्छन् भन्ने चाणक्यको निष्कर्ष सर्वकालिक र सार्वभौम छ । उनको भनाइ छ– ‘जनताको शक्ति संसारको सबैभन्दा ठूलो शक्ति हो । जनताको कोप भन्दा बढेर अन्य कुनै कोप हुँदैन ।’ अर्थात् जनताको विश्वास जित्न सक्ने, जनताको शक्तिको सर्वोच्चता, सर्वोपरिता र सार्वभौमिकता थाहा पाएर जनताको एकतालाई मजबुत पार्ने, जनताको संगठनलाई बलियो पार्ने र नेतृत्व प्रदान गर्न सक्ने शक्तिको उदय हुन्छ भने जनतालाई कठपुतली ठान्ने, आदेशपालक र निजी सौन्दर्यकर्मी ठान्ने अहंकारी, लक्ष्यच्युत, सपना शुन्य, भावना शुन्य र योजना शुन्य जत्थाको पतन अवश्यंभावी छ भन्ने चाणक्यको निष्कर्ष रहेको छ । चुनावमय वर्ष २०७४ साल कांग्रेसको लागि अभिशाप हुनु र एमालेसहितको बामगठबन्धनका लागि फलिफाप सावित यसको उदाहरण हो । एमाले जनता जनार्दनको साथ, धाप र आर्शिवादले उठेको छ र कांग्रेस जनताको कोपका कारणले थला परेको छ । तर यहाँ सत्यमाथि पर्दा हाल्ने षड्यन्त्र हुँदैछ ।

दयालबहादुर शाही

यो कांग्रेस त्यही कांग्रेस हो, जससँग सत्तारुढ छँदा प्रमुख प्रतिपक्ष दलको संसदीय दलको नेतासम्मलाई गिरफ्तार गरेको कालो इतिहास छ । विपक्षी दललाई अनादर गर्नु जस्तो कलंको कालो टिका ग्रहण कांग्रेसले २०४८ सालको कर्मचारी आन्दोलनको बेला ग¥यो । मनमोहन अधिकारी जस्तो शालिन नेतालाई सुरक्षा दिने निहुँले प्रहरी नियन्त्रणमा राख्ने हर्कत गर्न धक नमान्ने कांग्रेस आज उल्टै एमालेलाई अधिनायकवादी भनेर वितृष्णा बढाउने दाऊ हेरिरहेको छ । कम्युनिष्ट अधिनायकवादको हाउगुजी देखाएर जनताबाट बहिष्कृत हुनु परेको पिंडा भुल्ने अभ्यास गर्दैछ । जनताको भोगाइ छ कि कांग्रेस लोककथाको यस्तो स्याल जस्तो छ कि जसले चिल आयो भनेर गाउँले भुलाएर गाउँभरिका कुखुरा सिध्याउँछ । यति चाँडै जनताले कांग्रेसप्रति पालेको कोप घटाउने र क्षमा दिने सम्भावना छैन । पुनर्जीवन र पुर्नउत्थानका लागि जति प्रयासहरु गरेपनि निरर्थक हुने पक्का छ ।

चुनाव हारेका कम्युनिष्टहरु लोकतान्त्रिक हुने तर चुनावी संग्राममा विजय हुँदा तिनै कम्युनिष्टहरु अधिनायकवादी भइहाल्ने र कम्पनीमा परिणत हुने कांग्रेसको दावी निम्छरो र घोर पूर्वाग्रही छ । कांग्रेसलाई दिनैपर्ने दण्डको मुहान भूकम्पले गर्दा मुलुक आक्रान्त भइरहेको बेला भारतले लगाएको नाकाबन्दीलाई सकार्ने र सघाउने देशप्रतिको गद्दारी र जनताप्रति द्रोह थियो । संकटको बेला एक अपरिपक्व युवकमा परिपक्वता देखियो तर कांग्रेस चुक्यो । डेरीको दुध खाएको तर गाइभैंसी नदेखेको, जुस खाएको तर उखु नदेखेको, किनारा पसलबाट दाल र चामल किनेको तर धानबाली र तेलहन बाली नदेखेको एउटा किशोरले नाकाबन्दीमा तेल नपाउनु हैकमबादको खेल हो तर सरकारको रहर होइन भन्ने चेत राख्यो । युवापुस्ताले यस्तो परिपक्वता देखाएर वीर पुर्खाको विरासत धान्यो । देशभक्तको परिचय पत्र नवीकरण गर्न आम नेपाली युवा स्वभिमानको शक्तिसाल बन्दै गर्दा आफूलाई देशको सबैभन्दा ठूलो र पाको पार्टी बताउँने कांग्रेसको विवेकको बत्तीमा फ्युज गयो । त्यति बेला कांगे्रस भारतसामु मैनझै पग्लियो, सरिसृप झै लम्पसार भयो । चुनावमा जनताले उसको काटेको कदकाँटी यसैको परिणाम हो ।

एमालेले कुनै जादू गरेको छैन । भएको यतिमात्र हो कि जनताबाट ढुंगामुढा गराएर तत्कालिन ओली सरकारलाई सडकबाटै हटाउने घातक षड्यन्त्रको कांग्रेस गोटी बने पनि जनताको दया र अनुकम्पाले एमाले बच्यो । जनताको अनुकम्पाले गर्दा परिणाम उल्टो आयो । एमालेविरुद्ध रचिएको चव्रmव्यूह कांग्रेस आफैका लागि घातक भयो । जनताको साथ र समर्थनकै कारण भक्ति थापा, अमरसिंह थापा, बलभद्र कुँवरको पालादेखिको देशभक्तिको विरासत एमाले संस्करणमा नविकरण गर्न तत्कालिन ओली सरकार सफल भयो । एक लोटा पानी दिन्न भन्नेको घरबाट दही खाएर हिड्न सक्नुको अर्को नाम नै व्यवहार कला हो । तेल दिन्नौ भन्ने शक्तिशाली छिमेकीलाई रेल दिन्छौ भन्न बाध्य पार्नु नेपाली जातिले पाएको सफलता हो र ओली सरकारको चमत्कार । यो सत्यको विजयको नविनतम दृष्टान्त पनि हो । लम्पसारबादको उपासक कांग्रेस देश र जनताको विजयमा रमाउनुको सट्टा उल्टै वर्तमान सरकारलाई लम्पसारवादी भनेर आफ्नो कालो अनुहारमा सेतो रंग पोत्दैछ ।

चरम एमालेद्वेषी राजनीतिका कारण कांग्रेस पतनको भागिदार बन्यो । एमालको उदय भएकोमा कांग्रेस इष्र्याले जलेको छ र खरानी बनेको छ । आज कांग्रेस नाकाबन्दीको बेला एमालेसँगको रिसले देशका विपक्षमा उभिएकोमा भित्रभित्र न्याउरी मारी पछुतोको निष्कर्षमा पुगेको भएपनि खुलम् खुला अपराध बोध गरेर जनतासामु माफ माग्न तयार छैन । जनताबाट दण्डित भएपछि मात्र अपराधकर्मलाई सामान्यकरण गर्दै, ‘नाकाबन्दी’ नभन्नु गल्ती थियो भनेर आफ्नो मन्दबुद्धि प्रदर्शन गरिरहेको छ । मानौ, बलात्कारीको प्रलोभनमा परेको अविभावक नै चीरहरणलाई आत्मैदेखि अपराध हो भन्नुको सट्टा लोकलाजबाट बच्नका खातिर भनिरहेको छ,–‘बलात्कारलाई बलात्कार नभन्नु भूल मात्र थियो, मिलेमतो थिएन ।’ आफ्नो खराब नियतको उपचार नगरेसम्म कांग्रेसको पतनमा जनताले आफ्ना दुर्लभ नुनिला आँशु बगाउने छैनन् । जनताको दिनबाट कांग्र्रेस भीरको डिलमा उभिनुका आधार र कारणहरु निम्छरा छैनन्, जबरजस्त छन्, एक छैनन्, अनेक छन् । रक्षक नै भक्षक हुने अवस्था रहेसम्म सभ्य समाजले खलपात्रको हातमा संरक्षकको जिम्मेवारी सुम्पिँदैन । जसरी पिंडकको प्रलोभनमा परेको संरक्षकको जिम्मामा बलात्कारपीडितलाई फेरि लगाउन सकिँदैन त्यसरी नै राष्ट्रको मियोको भूमिकालाई हल्का रुपमा लिएर नाकाबन्दीको बेला देश र जनताप्रतिको गद्दारी गरेकामा प्रायश्चित्त गर्दै माफी नमागेसम्म कांग्रेसलाई जनताले पुनर्जीवनको भिक्षा दिने छैनन् ।

आज कांग्रेसभित्र अपजसबाट उम्किन उछिन्पाछिन् छ । अपजस बोक्ने र सुध्रिने इच्छाशक्तिको खडेरी छ । कोइराला क्याम्प अपजसको सम्पूर्ण दोष सभापति शेरबहादुर देउवाको थाप्लोमा थोपर्न निपूर्ण बन्दैछ । जवाफदेहिता देउवाको शब्दकोषमा नअटेको शब्द नै हो । हो, एमालेद्वेषीे राजनीतिको सुरुवातकर्ता कोइराला क्याम्प थियो । कांग्रेसको गैरसंस्थापन पक्षको भूमिकामा छँदा देउवाको पनि एमालेद्वेषी राजनीतिमा कुनै विरोध र फरक मत रहेन । एमाले आवरणको जनद्वेषी लम्पसारवादलाई देउवाको पालामा सुदृढ पारिँदा पौडेल, सिटौला र कोइराला परिवारका तेस्रो पुस्ताका थुपारिएका कांग्रेसजनको कुनै आपत्ति र विमति रहेन ।

माग्न जान्ने दिन नजान्ने महारोगले कांग्रेसलाई थला पारेको छ । २००७ साल, २०४६ साल र २०६३÷०६३ सालको  जनआन्दोलनमा कांग्रेसको नायकत्व स्वीकार गर्ने वामपन्थीहरुको चौडा छाती र सुझ्बुझ्लाई कांग्रेसले कमजोरी ठान्यो । एमालेले २०५१ सालमा आफ्नै बलबुतोले सरकार गठन गर्दा होस् वा २०६५ सालमा माओवादीले सरकार गठन गर्दा होस् कांग्रेसले भाग खोसेको ठान्यो । ती सरकार नढाल्दासम्म कांग्रेसले चैनको सास फेरेन । जबकि, एमाले र माओवादीले २०६४ सालतिर गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई, २०६२–६५ सालतिर गिरिजाप्रसाद कोइरालालाई दिलदेखि नै सघाएका थिए । बचनमा नअडिनु सुजाता कोइरालाको हैसियतजन्य कमजोरी होला । नत्र कुनै नेला नेतृ कोइरालाले अन्तरआत्माको अवाज यसरी बाहिर आएको थियो– ‘एमाले र सबै वामपन्थीहरुले गिरिजा बाबुलाई सघाउन हुने, आज कांग्रेसले केपी ओलीलाई किन नसघाउने ?’

राजनीतिमा जग गतिलो नभएकाले सुजाता कोइरालाको विवेकलाई कांग्रेसले दबायो । दुई ठूला पार्टी एक भएर चुनावमा गठबन्धन कसेर अर्को ठूलो दललाई नामेट पार्ने घातक मिसाइल कांग्रेसले एमाले विरुद्ध अख्तियार गरेको थियो । जनताको सहानुभूति राजनीतिमा शक्तिशाली हुन्छ, न कि घातक प्रकारको समीकरण । स्थानीय तहको चुनावमा घातक मिसाइलबाट जनता जनार्दनले एमालेलाई बचाए भने कांग्रेस नेतृत्वको गठबन्धनलाई दण्डित गरे । त्यही मिसाइल कांग्रेसविरुद्ध प्रयोग हुँदा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा जनताको सहानुभूति रहेन । बरु उसको पतनमा रमिते बनिदिए । यसरी कांग्रेसले अस्तित्वबाट हात धुनु पर्ने संभावना वास्तविकतामा बदलियो ।

राजनीति दलहरु जनताका लागि हुन् न कि राजनीति दलको कुनै एक महत्वाकांक्षी नायकका लागि । कांग्रेसले उल्टो प्रयोग ग¥यो । विगतका दुई दशकमा उसले जनतालाई आफ्ना आय आजर्नका साधन मात्र ठान्यो । एमालेले त्यस वेथितिलार्ई उल्टाएर नेपाली जनताको चेतना र एकतालाई विश्व समुदाय माझ चम्काउँदैछ । चाणक्य नीति भन्छ– ‘कमजोर घाँस पनि एकसाथ मिलेर डोरीका रुपमा परिवर्तन भयो भने हात्ती समेत त्यसको अगाडि असहाय भइदिन्छ ।’ देशभक्त जनताको आडमा एमालेले महाशक्ति भारतलाई निधार खुम्च्याएर सोच्न बाध्य पारेको छ । जनताको एकतालाई मजबुत पारेर, संगठन गरेर तथा नेतृत्व प्रदान गरेर एमालेले कांग्रेसको कुनै बिगार गरेको छैन । तर कांग्रेस यो सत्य स्वीकार गर्न तयार छैन । किनकि, सत्यसँगको दुश्मनीको अर्को नाम नै कांग्रेस हो । कांग्रेसको सत्यसँग दुश्मनी २०४८ सालदेखि नै परेको हो । जनताको कोपलाई २०४८ देखि २०५८ को दशकमा कांग्रेसले चरमचुलीमा पु¥याएको थियो । कांग्रेसको सौभाग्य हो कि माओवादी जनयुद्ध, एमालेको विभाजन र एकाएक राजनीतिको केन्द्र भागमा आएका व्यापारी राजाको सिमाहिन महत्वाकांक्षा र मर्यादाको उल्लघनले गर्दा कांग्रेसप्रतिको कोप छायाँमा परेको थियो । शान्ति प्रक्रियामा आएर सरकारको बागडोर सम्हाली सक्दा पनि माओवादीमा परिपक्वता देखिनुको सट्टा सुरुवाती अवस्थामा बिद्रोही चेतको अधिकता देखियो र विजयउन्माद हावी भयो । जसका कारण कांग्रेसबिना देश चल्दैन भन्ने अन्धविश्वास २०७० तिर जबरजस्त भएर आयो र कांग्रेसले पुर्नजीवन पायो । अधिनायकवाद नसहने जनताको बाध्यात्मक समर्थन र विश्वासको विसाउनी कांग्रेस भयो ।

आफ्ना प्रतिको कोपले दिशा बदलेको कांग्रेसले थाह पाएन । जनसमर्थन पाएपछि कांग्रेसले आफू पुरक परिक्षार्थी मात्र रहेको सत्यलाई बिर्सियो । फेरि २०४८ र २०५८ को दशकको जस्तै हालिमुहाली, एकाधिकार, उपयोगितावाद, फुटाउ र राज गर, नाफाआर्जन गर र समिकरणको खेतीमा हात धोएर लाग्यो । जनताको कोपको अनुमान लगाउन कांग्रेस नराम्ररी चुक्यो । आज चुनावी परीक्षाको समीक्षा गर्दा पनि का्रग्रेसको सत्यसँग दुश्मनीको सिलसिला जारी छ । जनताको कोप महँगो भएर आफू धरासयी भएको सत्य आत्मसाथ गर्नुका सट्टा आनाकानी विषयान्तर गर्नमा पारंगत देखिँदैछ । जनताको कोप महँगो भएर आफू धरासयी भएको सत्य आत्मसाथ गर्नुका सट्टा आनाकानी गरेर निम्न लिखित स्वरुपमा विषयान्तरमा पारंगत देखिँदैछ :
–    नाकाकन्दी नभन्नु गल्तीमात्र थियो ।
–    वामपन्थी गठबन्धन भइदियो ।
–    समानुपातिकतर्फको मत घटेको छैन ।
–    अन्र्तघात रोक्न सकेन ।
–    गुटबन्दीले असर पार्यो ।
–    संगठन मजभूत भएन ।

पतन रोज्नु छैन भने कांग्रेसले जनतासामू माफी माग्नुपर्छ । भन्नुपर्छ कि नाकाबन्दीमा भारतीय पक्षलाई सघाउने नियतका साथ एमालेलाई घेर्नु जनताप्रतिको गद्दारी र देशप्रतिको द्रोह थियो । समानुपातिक मत र कृत्रिम दाँत एउटै हो, देखाउन मिल्ने, चपाउन काम नलाग्ने । अघिल्लो चुनावमा राप्रपा नेपालले पाएको समानुपातिक मत समयको हावाले कसरी उडायो ? कांग्रेस पाठ सिक्न तयार छैन ।  अबका चुनावमा पालो कांग्रेसतिर मोडिने छ र समानुपातिकतर्फको मत पनि विर्सजन हुनेछ ।

कांग्रेसभित्रका देशभक्तले एमाले पनि लोकतान्त्रिक पार्टी ठान्दैछन् र हार्ने पार्टीभन्दा एमालेसँग काँध मिलाएर गृहनिर्माणका लागि सहकार्य किन नगर्ने ठान्दैछन् । यसले कांग्रेसमा पहिरो जाने छ र प्रलय ल्याउने छ । त्यसैले कांग्रेस नेतृत्व त्यसका प्रकारको प्रलय रोक्न एमालेको छातीमा अधिनायकवादीको भिल्ला भिडाउँदै छ । यो उसको पतनलाई रोक्ने असफल प्रयास मात्र हुनेछ । दुई वाम एक ठाम भए अधिनायकवाद हुने, एक घटक आफुतिर टाँसिए सब ठिकठाक हुने देखेर नै कांग्रसले स्थानीय तहको निर्वाचनमा दुई पार्टी एक भएर एमालेलाई घेरेको थियो । वास्तवमा कांग्रेस एमालेलाई खनेको खाडलमा आफै खसेको हो । आज वामपन्थी गठबन्धन भइदियो भनेर छाती पिट्नुको कुनै औचित्य छैन । विषयान्तर गरेर अपराध लुकाउनभन्दा यस हर्कतको जड आफै भएको सत्य स्वीकार्नु पर्छ । अनि मात्र जनताले दया राख्न सक्छन् । कांग्रेस किन जनताको दिनबाट चिप्लिएर भीरको डिलमा पुग्यो भनेर कांग्रेस कार्यकर्ताहरु नेतृत्वलाई प्रश्न गर्दैछन् । अन्र्तघात, कमजोर संगठन  गुठबन्दी त कांग्रेसमा २०४८ र २०५६ सालतिर पनि कम थिएन । त्यतिबेला काँग्रेसप्रति जनताको विश्वास थियो भने आजको जनताको सहानुभूति पनि रहेन । परिणामस्वरुप उतिबेला तगाराहरु हटाउँदै चुनावी महासंग्रामको विजेता बन्यो भने यतिबेला जनताले सम्पूर्ण हर्कतहरुको हिसाबकिताब मागेकाले अस्तित्व रक्षाको महासंकट भएर गुज्रिनु परेको छ ।

कांग्रेस सत्यमाथि पर्दा हाल्न पारंगत पार्टी हो । जनताभन्दा कसैलाई माथि राखिदिनु उसको पुरानै कुलत हो । हिजो दरबार र दिल्लीलाई जनताभन्दा ठूलो देख्ने गथ्र्याे भने आज समीकरणलाई जनताभन्दा शक्तिशाली ठान्ने गल्ती गरिरहेको छ । जनताको विश्वास गुमेर सहानुभूति हरायो भन्ने सत्यलाई छायाँमा राख्न बामगबन्धनलाई बहाना बनाइरहेको छ । तसर्थ भन्नैपर्ने हुन्छ :
‘बोल माछा मुखभरी पानी तैनि कांग्रेस बोल्छ
जुन राँगोको सिंग भागेछ, उही सिँगौरी खेल्छ ।’