कविता अधिकारी

सबैभन्दा अप्रिय केही छ भने त्यो मृत्यु हो । सबैभन्दा ठूलो शाश्वत सत्य पनि मृत्यु नै हो । मृत्यु कहिले र कसरी हुन्छ भन्न सकिन्न तर प्रत्येक मानिस एक दिन मर्छ चाहेर होस वा नचाहँदा नचाहँदै पनि । संसारमा अजम्मरी कोहीे छैन । यस सत्यप्रति कोही अनभिज्ञ छैनौँ पनि । मानिसको मृत्युमा मलामी जाँदा, कसैको शव जलेको हेर्दा वा दुःखद दुर्घटना हुँदा हामी सोचमग्न हुन्छौ । मरेर लानु के छ र पनि भन्छौ  तर जब आँफैमा कुनै दुर्घटना निम्तिदैन् तबसम्म त्यसको महसुस कमैले मात्रै गछौ । मृत्यु एक्लै आउँछ । खबर नगरिकनै आउँछ । अकस्मात आउने मृत्युसँग फगत एउटा कोलाहल हुन्छ, हलचल ल्याउछ र विचल्ली बनाउने खालको हाहाकार गराउँछ । यो नियति हामी सबैले भोग्नै पर्छ  ।

यस्तै नियति नेपाल कम्युनिष्ट पार्टीले यो फागुन महिनाको १० दिनभित्र तीन पटकसम्म व्योहोर्नुपरेको छ । फागुनको १० गते  प्रदेश ५ का सांसद उत्तरकुमार ओलीको दुर्घटनापछि निधन, १५ गते हेलिकप्टर दुर्घटनामा परी पर्यटनमन्त्री रविन्द्र अधिकारी र १८ गते पुर्व उपप्रधानमन्त्री भरत मोहन अधिकारीको निधनले पार्टीले ठुलो क्षति व्योहोर्नुपरेको छ । पार्टीका दुई मन्त्री र एक सांसदको निधनमा नेताहरुले उहाँहरुले पु¥याएको राष्ट्रप्रतिको योगदानलाई आ– आफनै ढंगले सम्झिए । शोकसँगै पुर्व उपप्रधामन्त्री भरतमोहन अधिकारीले गरेका राम्रा कामले चर्चा पायो । अर्का सांसद उत्तरकुमार ओली भर्खरैमात्रै जनमानसमा चिनिन थालेका थिए । उनको खासै विरोध या समर्थन केही भएको देखिएन तर पर्यटनमन्त्री रविन्द्र अधिकारीको विषयमा पछिल्लो समय युट्युब फेसबुक र ट्विटरलगायतका सामाजिक सञ्जालमा उहाँको नाम जोडेर वाइडवडी प्रकरणमा रकम हिनामिना गरेका कारण पापले आयु घट्यो भन्ने सम्मका तुच्छ शव्द प्रयोग गर्दै श्रद्धान्जली दिइएको पाईयो । 

यहाँसम्म कि एकजना पुर्वप्रधानमन्त्री भइसकेका व्यक्तिबाट समेत ट्व्टिरबाट  यस्तै तुच्छ शब्द प्रयोग भएर श्रद्धाञ्जली आएको छ । यदि उहाँको ट्व्टिर एकाउन्ट गलत छ भने भन्नु केही छैन, होइन भने उहाँले गरेकोे ट्व्टि यस्तो थियो, ‘सर्बप्रथम रबिन्द्रजी अनि सबै मृतकप्रति मेरो गहिरो श्रद्धाञ्जली, मैले वाइडबडी जहाजको छानबिन गर्नुपर्छ भनेर सरकारलाई बारम्बार भनेकै थिए । आज छानबिन गरेको भए रबिन्द्रजी दुर्घटनाबाट जोगिनु हुन्थ्यो । वाइडबडि जहाजले थुप्रैलाइ सरापेको छ । हे भगवान यसको सराप अरु कसैलाई नलागोस ।’ 

यदि यो ट्व्टि उनी स्वयम्ले गरेका हुन भने के यो सही समय हो वाइडवडीको हिसाव किताव खोज्ने ?  पुर्वप्रधानमन्त्रीले  लेखेको यो ट्व्टिमा धेरैले असन्तुष्टि पोखेका छन् । प्रतिक्रिया यस्तो छ, वाइडबडिले त सराप्यो, जनयुद्धले तपाइलाई कहिले देखि सुरु गर्ने हो  ? लाशलाई  गालीगर्ने छि छि ?  त्यो भिँडमा तपाई पनि पर्नु हुन्छ, किनभने जनयुद्धमा सबै काम सहि थिएन । 

यि केही प्रतिक्रिया नमुनाका लागि प्रस्तुत गरियो । हो यि र यस्तै गलत बुझाइका कारण मानिसहरुले आफनो उचाईं आफै घटाइरहेका छन् । 

वास्तविकता अर्को थियो तर वाइडबडी प्रकरणका दोषि भएकै कारण ज्यान गुम्यो या सराप लाग्यो भन्नु, शोकको यो बेलामा हिसाव माग्नु अमानविय हैन र रु यस्ता केही नकारात्मक सोच भएका दुईचार जना व्यक्तिले सामाजिक सञ्जालमा यस्तै नकारात्मक शैलीमै श्रद्धाञ्जली दिएका छन् कि मानौं उनीहरु नै सबै पत्ता लगाउने द्रष्टा हुन् ।

मानवता हराउदै जान थालेछ सायद समाजमा । कस्तो बेलामा कस्तो शब्द चयन गर्ने भन्नेसम्म पनि ज्ञान नहुने व्यक्तिहरुबाट चाहिँ समाज परिर्वतन होला भनी कसरी कल्पना गर्ने ?  हो विमति राख्न पाइन्छ । तर के यो उपयुक्त समय हो ?  आफु कहिल्यै मर्दिन भन्ने घमण्ड अनि हल्लाकै भरमा बिना आधार लाशलाई पनि घोचपेच गर्न बाँकी नराख्ने जमात पनि रहेछ यही समाजमा ।

सत्य तथ्य नबुझिकन एकोहोरो हुँदै नभएको भ्रष्टाचारको आरोप मन्त्रीमाथि थोपरेर उनको राजनीतिक जीवन बर्बाद गर्न खोजिएको थियो । उनीसँग केही गुनासो जरुर थियो होला । वाइडबडी काण्डमा भएको अनियमितताको छानविन गर्नु र दोषि पत्ता लगाउनुपर्ने थियो । उनी कामबाटै जवाफ दिन्छु भन्दै मरिमेटेर काम गरिरहेका थिए । वाइडबडी प्रकरणमा आँफु दोषी ठहरिए राजनीतिबाट नै सन्यास लिन्छु भनिरहेका थिए । 

दुर्घटनामा पर्नुभन्दा अगाडि आँफुमाथि लागेको दोषको जवाफ दिने तयारीमा थिए उनी । भोलि पल्ट दिनको एक बजे संसदमा प्रश्नोत्तरमार्फत  जवाफ दिन तीन जना सांसदले नाम टिपाएका थिए सचिवालयमा । काँग्रेसका दिलेन्द्र प्रसाद बडुँ, रामवहादुर विष्ट र अर्का एकजना सांसदले नाम टिपाएपनि त्यसको जवाफ दिन नपाउँदै उनी बिते । सरकारले वाइडवडीे प्रकरणबारे छानबिन गर्न समिति गठन गरेको छ । समितिले काम गरिरहेको छ । वास्तविकता त ढिलो चाँडो बाहिर आउला नै ।

तर अरुले लगाएको झुठो लाञ्छना अनि प्रमाणित भईनसकेको दोषलाई उचालेर आँफु कहिल्यै मर्नुपर्दैन जसरी अरुलाई हेपेर दिने श्रद्धाञ्जली भोलि आँफैलाई पनि यसैगरी आईपर्ला भन्ने हेक्कासम्म नराख्ने केको बुद्धिजीवी ?  कस्ता नेता ?  आफना सहकर्मी, कार्यकता, जनतालाई चढाउने श्रद्धाको फुल श्रद्धाले नै चढाउँ ।