पार्टी व्यवस्थाको सबभन्दा पुरानो थलो वेलायतमा आफ्नो जीवनको अधिकांश समय विताएका कार्ल माक्र्सले सन १८४८ मा कम्युनिष्ट घोषणा–पत्र प्रकाशित गरेपछि शुरु भएको कम्युनिष्ट आन्दोलन विभिन्न आरोह अवरोहका साथ अगाडि बढिरहेको छ । कम्युनिष्ट सिद्धान्तका प्रणेता कार्ल माक्र्सले आफ्नो जीवनमा पेरिसका कम्युनिष्ट क्रान्तिकारीहरुले पहिले कब्जा र लगत्तै चुनावमार्फत् पेरिस कम्युनको निर्माण गरेको देख्न पाए । २६ मार्च १८७१ मा भएको निर्वाचनमा जेलमा रहेका लुइस अगस्ट ब्लाङ्क्वीसहित कम्युनिष्टहरुले पेरिसको सत्ता छोटो समयका लागि कब्जा गर्न सफल भएका थिए । तर प्राप्त गरेको उपलब्धीलाई टिकाईराख्न आवश्यक मजबुत पार्टी निर्माणको प्रश्नको उत्तर खोज्न कार्ल माक्र्सले भ्याएनन् ।

सबैलाई थाहा छ–माक्र्सका विचारलाई बोक्ने शक्तिशाली पार्टीको निर्माण लेनिनको नेतृत्वमा भयो । पार्टी निर्माणको विषय, पार्टी सदश्यताको विषय, पार्टी प्रकाशनको महत्व, अन्तरपार्टी जनवादको अभ्याससम्बन्धी विषय, पूँजीवादी संसद र यसको उपयोग, पार्टी लेवीजस्ता विषयको ठोस विश्लेषण र समाधान उनकै पालामा भएको मानिन्छ ।

त्यही भएर आजसम्म विश्वभरि नै कम्युनिष्ट पार्टीको संगठन निर्माण र संगठनभित्र अभ्यास गरिने जनवादको प्रश्न आउनेवित्तिकै लेनीनलाई सम्झने र उनका भनाई उद्दरणको उच्चारण गर्ने गरिन्छ । रसियन कम्युनिष्ट पार्टी सात दशकपछि छिन्नभिन्न र कमजोर भए पनि पार्टी संगठन सञ्चालनमा ग्लासनोस्त अर्थात् पार्टीका सबै पद्धति र प्रक्रियामा खुल्लापन अपनाउने लेनीनलाई कार्यकर्ता पार्टी निर्माण र सर्वहारा श्रमजीवी वर्गको विद्रोहका लागि विश्वभरका कम्युनिष्टले आदर्श मान्दै आएका छन् ।

रसियन अक्टोवर क्रान्तिको सफलताको लगत्तै सन १९२० मा गठन भएको चिनिया कम्युनिष्ट पार्टीको पार्टी सञ्चालन, चिनियाँ क्रान्तिको सफलता, गल्ती कमजोरीबाट पाठ सिक्ने तरिका, अन्तरपार्टी जनवादको प्रयोगको सवालमा संसारमै अद्धितीय स्थान रहेको छ । माओको नेतृत्वमा जापानी साम्राज्यवाद र घरेलु सामन्तवादसंग दीर्घकालीन जनयुद्धको बाटो हुदै नौलो जनवादी क्रान्ति सम्पन्न गरेको चिनियाँ कम्युनिष्ट पार्टीले आफ्ना ठूल्ठूला कमजोरीबाट पाठ सिक्दै निरन्तर सफलता हासिल गरेको छ । कमजोरी देखिनेवित्तिकै चिनियाँ कम्युनिष्ट पार्टीले आफ्ना पार्टी सदश्य र जनताबाट सिक्ने सुन्दर शैली अपनाउदै आएको छ ।

माओले चीनलाई कृषिमा आधारित अर्थव्यवस्थाबाट केही बर्षभित्रै समाजवादी अर्थ व्यवस्थामा पुर्याउने महत्वाकांक्षी लक्ष राखेर सन १९५८ मा शुरु गरेको महान अग्रगामी छलाङ्ग ( ग्रेट लिप फरवार्ड ) र सन १९६६ मा पुराना चार कुरा–पुराना विचार, पुराना रीतिरिवाज, पुरानो संकृति र पुरानो बानी–लाई बढार्ने लक्ष राखेर माओले शुरु गरेको “महान सर्वहारा सांस्कृतिक क्रान्ति” जस्ता कमजोरीहरुबाट आफूलाई जोगाएर अगाडि बढ्न सक्यो । यो प्रक्रियामा सो पार्टी उसका लाखौं सदस्यहरुको आवाज निरन्तर सुनिरह्यो । अन्तरपार्टी जनवादको अभ्यास गरिरह्यो ।

यसरी आफ्ना सदस्यहरुलाई चिनियाँ कम्युनिष्ट पार्टीले मास्टर मान्दै आएको छ । यहाँनेर “ठूला नेता पनि ईश्वर नभई मान्छे नै भएको हुनाले माओले पनि गल्ती गर्नुभयो” भन्ने वर्तमान चिनियाँ राष्ट्रपति सि जिङ्ग पिङ्गको भनाई स्मरण गर्नुपर्ने हुन्छ । माओको नेतृत्वमा चलेको र १० वर्षसम्म चीनमा चलेको सांस्कृतिक क्रान्तिको ५० वर्षपछि सन २०१६ मा चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र पिपुल्स डेलीमा छापिएको मुल्याङ्कन यस्तो छ –“ईतिहासले सांस्कृतिक क्रान्ति पूर्णरुपेण कमजोरी थियो भन्ने प्रमाणित भएको छ । यो कुनै पनि अर्थमा क्रान्ति वा सामाजिक प्रगति होईन र हुन सक्दैन । हामी ‘सांस्कृतिक क्रान्ति’ जस्तो कमजारी कहिल्यै हुन दिने छैनौं ।” अर्कातिर जनवादी केन्द्रीयताको व्याख्या गर्दै तत्कालिन सोभियत  बोल्सेभिक पार्टीको २६ जुलाईदेखि ३ अगस्ट, १९१७ मा सम्पन्न महाधिवेशनले यी चार विषयमाजोड दिएको थियो ।

१. पार्टीका माथिदेखि तलसम्मका सबै कमिटि निर्वाचनमार्फत् निर्माण गर्ने ।
२. आफुले गरेका सबै गतिविधिहरुको विवरण आवधिक रुपमा सम्बन्धित पार्टी कमिटीमा बुझाउने ।
३. कडा पार्टी अनुशासन हुने र अल्पमत बहुमतको अधिनस्थ हुने ।
४. पार्टीको माथिल्लोकमिटिले गरेका निर्णय सबै मातहत कमिटि र सदस्यले अनिवार्य मान्नु पार्ने ।

कम्युनिस्ट आन्दोलनमा जनवादी केन्द्रीयतालाई संगठनिक सूत्र बनाउने लेनिनले 'छलफलमा स्वतन्त्रता, निर्णय कार्यन्वयनमा एकरुपता ' भनेकाछन् । जनवादी केन्द्रीयताको सिद्धान्त लेनिनले प्रतिपादन गरे पनि रुसमा त्यसको त्यही पैमानामा प्रयोग भएन । बरु त्यहाँ  'सर्वोच्च सोभियत' को अभ्यास गरियो । त्यसको विस्तृत व्याख्या र प्रयोग चीनमा प्रयोग हुन सक्यो । चीनले यसलाई जीवन पद्धति बनायो  ।

“यो जनआधारित कार्यकर्ता पार्टी हो । पार्टीका सबै सदस्य समान हुनेछन् । पार्टीको सार्वभौम अधिकार सदस्यहरुमा निहित रहनेछ । पार्टीका सिद्धान्त, कार्यक्रम र नीतिहरुको निर्माण तथा सबै तहका कमिटी र सदस्यहरुको सञ्चालन जनवादी केन्द्रियताको सङ्गठनात्मक सिद्धान्तको आधारमा गरिनेछ ।”

पहिलो पटक चिनिया कम्युनिस्ट पार्टीले जनवादी केन्द्रीयतालाई आफ्नो मार्गदर्शक सिद्धान्तको रुपमा अंगिकार गरेपछि जनवादी केन्द्रियतालाई उनीहरुले जीवन पद्धति बनाए । सन् १९४५ मा माओले नयाँ जनवादी चीनको संगठनात्मक सिद्धान्त नै जनवादी केन्द्रीयता हुनेछ भन्ने प्रष्ट पारे. सन् १९५४ मा पारित चीनको प्रथम संविधानको धारा २ मा राज्यका हरेक तहमा जनवादी केन्द्रीयता अवलम्बन गर्नु पर्ने व्यवस्था गरियो । माओदेखि सी जिंगपिंगसम्म सबैले जनवादी केन्द्रीयतालाई पार्टी र राजकीय जीवनमा उत्तिकै महत्व दिदै आएकाछन्  । पार्टी र राज्यका केही अति महत्वपूर्ण प्राथमिकतामा उनीहरुले जनवादी केन्द्रीयतालाई स्थान दिएका छन् ।अधिकांश चिनिया विद्वानहरुत यो पनि विश्वासगर्दछन कि चीनको भीमकाय प्रगतिको प्रमुख कारण चीनले आफ्नो राजनीतिमा अवलम्बन गरेको जनवादी केन्द्रीयता नै हो !

१९ शौं महाधिवेशनसम्म आईपुग्दा चिनियाँ कम्युनिष्ट पार्टीका ८ करोड ९० लाख पार्टी सदस्य छन् र यसका ४५ लाख पार्टी कमिटीहरु तृणमूल तहमा कार्यरत छन् । १९ महाधिवेशनमा नीति र नेतृत्वको निर्वाचनमा ९९.२% पार्टी सदस्यहरुले मतदान गरेको बताइएको छ । पार्टीको दैनन्दिन काममा खट्न नसक्ने जेष्ठ सदस्यको घरमा समेत राय, सल्लाह र उम्मेद्वार सिफारिसको लागि सम्बन्धित तहको पार्टी कमिटी र नेता जाने परम्परा बसालिएको छ ।

युरोपका पुँजीवादी एवं सामाजिक जनवादी देशमा पार्टीको अन्तरपार्टी लोकतन्त्र नियमनको लागि पार्टी कानुन नै निर्माण गरेको पाईन्छ । जर्मनीको पार्टी कानुनमा यस्तो उल्लेख गरिएको छ– “राजनीतिक पार्टीहरु सार्वजनिक जीवनका सबै क्षेत्रमा प्रभाव बढाएर जनअभिमतको निरुपण गर्न, जनतालाई राजनीतिक शिक्षा दिलाउन अभिप्रेरित गर्न, राजनीतिक रुपले सक्रिय रुपमा जनताको सार्वजनिक सहभागिता बढाउन, सक्षम व्यक्तिलाई सार्वजनिक जिम्वेवारी लिन योग्य बनाउन तालिम प्रदान गर्न,संघीय, प्रान्तीय र स्थानीय तहमा उम्मेद्वारी दिएर संसद र सरकारमा राजनीतिक विकासमा सहयोग पुर्याउन, पार्टीको लक्ष र उदेश्य राष्ट्रको निर्णय प्रक्रियामा समावेश गराउन र राज्यका विभिन्न अंगसँग जनताको निरन्तर र महत्वपूर्ण सम्बन्ध बनाई राख्न राजनीतिक  पार्टीले भूमिका खेल्लेछन् । ”

लिथुयानियामा सन २००४ मा बनेको पार्टी कानुनमा पार्टी विधानमा नेतृत्व छनोटको प्रक्रियामात्र होईन, नेतृत्वको प्रत्याह्वानको प्रक्रिया समेत उल्लेख गर्नु पर्ने भन्ने उल्लेख गरिएको छ । लात्भियामा स्थानीय तहका पार्टी उम्मेद्वारको छनोट सो तहका पार्टी सदस्यको प्रत्यक्ष मतदानबाट गरिने व्यवस्था गरिएको छ ।

नेपालको संसदीय राजनीतिमा सामेल राजनीतिक पार्टीहरु नेपालको संविधान २०७२ ले निर्देशित गरेबमोजिम नै आफूलाई लोकतान्त्रिकरण गर्दै अघि बढिरहेका छन् । बहुमतसहित नेपाली कांग्रेस सत्तामा हुँदा तत्कालीन प्रमुख प्रतिपक्ष एमालेले उसलाई सर्वसत्तावादी भने पनि, दुई तिहाई बहुमतसहितको नेकपाको सरकारलाई प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले अधिनायकवादी भने पनि यी दुई पार्टी न ‘अधिनायकवादी’ न ‘सर्वसत्तावादी’ बन्न सक्छन् । बरु बढी लोकतन्त्रवादी बन्ने होडवाजी गरेरमात्र जनताको मन जित्न निरन्तर कोशिस गर्नेछन् ।

मदन भण्डारीको अगुवाईमा शुरु भएको नेपालको कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणलाई तत्कालीन नेकपा(एमाले) र तत्कालीन माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले निरन्तरता दिएको छ । नेकपाको अन्तरिम विधानको प्रस्तावनामा लेखिएको छ–“यो जनआधारित कार्यकर्ता पार्टी हो । पार्टीका सबै सदस्य समान हुनेछन् । पार्टीको सार्वभौम अधिकार सदस्यहरुमा निहित रहनेछ । पार्टीका सिद्धान्त, कार्यक्रम र नीतिहरुको निर्माण तथा सबै तहका कमिटी र सदस्यहरुको सञ्चालन जनवादी केन्द्रियताको सङ्गठनात्मक सिद्धान्तको आधारमा गरिनेछ ।”

यसको प्रष्ट अर्थ हो,एकतापछि नेकपाका १० दश लाखभन्दा बढी सदस्यहरुलाई पार्टीको सिद्धान्त, नीति र नेतृत्व निर्माणमा अविछिन्न सहभागिताको ग्यारेण्टी गरिएको छ । पार्टीको सिद्धान्त र नीति जडसूत्रको रुपमा नरही पार्टीका सदस्यहरुको भावना र चाहनाबमोजिम निरन्तर गतिशील र परिवर्तनशील भईरहनेछ । साथै तत् तत् कमिटीको नेतृत्व पनि अनिर्वाचित न्यायाधीशको रुपमा नभै निर्वाचित नेताहरुको समूह हुनेछ ।

पार्टी एकताको काम सहमतिमा टुङ्ग्याउनु पर्ने अवस्थालाई देखेर होला, नेकपाका कतिपय नेता कार्यकर्ताको तहमा “यो पार्टी अबको कैंयौं बर्षसम्म सम्बन्धित कमिटीका केही नेताहरुको सहमतिको आधारमा चल्दछ, त्यसकारण पार्टी सदस्यको अबको काम भनेको पार्टीले तोकेको लेवी तिर्ने र बेला बेला ताली बजाउन उपस्थित हुने मात्र हो ” भन्ने बहस सुनिन्छ । तर नेकपाको समग्र लोकतान्त्रिक परम्परा र गरिएका वैधानिक व्यवस्थाले यस्तो बहसको औचित्यलाई समाप्त गरिदिएको छ । केवल यसको व्यावहारिकता अपेक्षित छ ।

अनुभवले पनि के देखाएको छ भने आधारभूत तहका पार्टीको आन्तरिक छनोट र निर्णय प्रक्रियामा जति बढी आफ्ना पार्टी सदस्यको सहभागिताको सुनिस्चित गर्न सकिन्छ, त्यति नै पार्टी मजबुत हुन्छ भन्ने सत्तारुढ नेकपा लगायतका मूलधारका राजनीतिक पार्टीलाई हेक्का नहुने विषय रहेन । हरेक पार्टीको राष्ट्यि, प्रादेशिक र तृणमूल तहमा हुने लोकतान्त्रिक(जनवादी) अभ्यासले पार्टीमा सर्वसाधारण जनता भर्ती हुने संभावना बढ्छ, आधारभूत तहसम्म पार्टीको वैधानिकताको भावना विस्तार हुन्छ र जनतामा पार्टीको खुल्ला र अनुकुल छविको निर्माण हुन्छ ।

पार्टीको शक्ति भनेकै पार्टी सदस्यहरुको संगठित शक्ति हो । त्यसकारण उनीहरुलाई लामो समयसम्म असंगठित भीडको रुपमा बुझ्ने गल्तिगर्नु हुदैन । उनीहरुको सवलीकरण र पार्टी विधानले दिएको अधिकारको सही अभ्यास गरेर मात्र समाजवाद निर्माणको यात्रा सहज र संभव हुन्छ ।

सबैलाई थाहा छ – नेकपाको एकता महाधिवेशनसम्म सहमति र खासगरी दुइ अध्यक्षविच हुने सहमतिबाट चल्नुपर्ने वाध्यतामा छ । महाधिवेशन पनि सहमतिमै गर्ने भनिएको छ तर सहमतिको नाउँमा महाधिवेशनमा अनिवार्य गरिनु पर्ने जनवादी अभ्यास अवरुद्ध किमार्थ हुन सक्दैन । विधानमा व्यवस्था भएको पार्टी सदस्यको सार्वभौम अधिकार जस्तोसुकै कठिन परिस्थितिमा पनि सुरक्षित बनाउनु पार्टीको अग्रगतिको लागि अपरिहार्य छ । विचार र नेतृत्व निर्माण गर्ने  महाधिवेशन प्रतिनिधिको हक अगाडि नै कुण्ठित हुन सक्दैन  ।

इतिहासले सिद्ध गरिसकेकोकुरा हो, पार्टी निर्माणमा जति बढी पार्टी सदस्यको जनवादी सहभागिता हुन्छ , त्यति नै पार्टीको सुन्दर भविस्य सुनिस्चित हुन्छ  ।