भक्तपुर, २५ भाद्र - भक्तपुरमा हनुमन्ते नदी सफाई अभियानले डेङ्गु प्रकोप नियन्त्रण अभियान शुरु गरेको छ ।

हनुमन्ते नदि सफाई अभियानका सल्लाहकार एवं संरक्षक समेत रहनु भएका सांसद महेश बस्नेतले आफै औषधि सहितको गन बोकेर डेंगु रोग सार्ने लामखुट्टे मार्ने अभियानमा जुट्नु भएको हो । सांसद बस्नेतले आज मध्यपुरथिमि नगरपालिका लोकन्थली स्थित बास्तुटोल र मनोहरा किनाराको सुकुम्बासी बस्तीमा लामखुट्टे मार्ने गन सहित डेगु प्रकोप नियन्त्रणमा सक्रिय हुनु भएको हो । 

क्रुपी फाउन्डेसनको भौतिक सहयोगमा आजबाट डेङ्गु प्रकोप नियन्त्रण बिशेष अभियानको शुरुवात गरिएको अभियानका उत्प्रेरक रुद्र पौडेलले बताए ।हनुमन्ते सफाई अभियानका सफाई दूत एवं नेपाली चलचित्र निर्देशक मदन घिमिरेले नेपाल प्रहरीका एआईजि रण बहादुर चन्दको समन्वयमा क्रुपी फाउण्डेसनबाट प्राप्त दुईवटा उक्त मेशिनले अभियान सुरु गरेको जानकारी दिनुभयो ।

हनुमन्ते सफाई अभियानको टोली सहभागि रहेको उक्त कार्यक्रममा अभियन्ता नरेश रंजितले जोखिम रहेको क्षेत्रमा माग भए अनुसार डेंगु नियन्त्रणको लागि लामखुट्टे मार्ने औषधि सहितको गन लिएर हनुमन्ते सफाई अभियानको आपतकालिन टोली परिचालन हुने बताउनुभयो । अभियानले डेङ्गु सङ्क्रमणबाट जोगिन दिउँसो टोक्ने लामखुट्टेबाट बच्न र घरवरिपरि पानी जमेका खाल्डाखुल्डी नराख्न, झ्याम्म भएका झाडी नराख्न, फोहर नगर्न र इन्सेक्टिसाइड छरेर डेङ्गुको सङ्क्रमणबाट जोगिन सर्वसाधारणलाई आग्रह समेत गरेको छ ।

भक्तपुर जिल्ला स्वास्थ्य कार्यालयका अनुसार, आजसम्ममा भक्तपुरमा ९९ सय जना विरामीमा डेंगु फेला परिरहेको छ ।