तानसेन, १२  चैत - सरकारले लकडाउन घोषणा गरेको बेला अनुमतिविना सञ्चालन गरिएका  सवारीसाधनलाई पाल्पामा प्रहरीले नियन्त्रणमा लिएको छ ।  कोरोना भाइरसलाई नियन्त्रण गर्न भन्दै सरकारले एक जिल्लादेखि अर्को जिल्लासम्मको सिमानामा समेत निगरानी गर्न आदेश दिएको छ । 

सरकारले अत्यवाश्यकीय कामभन्दा अन्य प्रयोजनका निम्ति सवारी साधन चलाउन रोक लगाउँदा लगाउँदै अटेरी गर्नेलाई इलाका प्रहरी कार्यालय रामपुरले नियन्त्रणमा लिएको हो ।

प्रहरीले आज रामपुरमा ३२  मोटरसाइकल, नौ स्कुटर, दुई ट्रयाक्टर तथा चार ट्रक नियन्त्रणलाई लिएको प्रहरी प्रमुख भीमबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले चालकलाई भने सम्झाइबुझाई फर्काएको बताउनुभयो ।

प्रहरी प्रमुख कार्कीका अनुसार पाल्पाको रामपुरदेखि सिमाना जोेडिएका स्याङ्जा तथा तनहुँ र  नवलपरासीको  सीमा क्षेत्रमा प्रहरी परिचालन गरेर अन्य जिल्लाबाट अति आवश्यकबाहेकका मानिसलाई समेत आवातजावतमा रोक लगाइएको छ । 

लकडाउनको समयमा घरमै सुरक्षित रहन अनुरोध गर्दागर्दै  अवज्ञा गरी मोटरसाइकल चलाएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । नियन्त्रित मोटरसाइकललाई प्रहरी बिट बेझाड बजारमा राखिएको छ ।