बतास नचली 
हावाहुरी चल्यो ।१।

विचार संगठन नमिली
पार्टी एकता गर्यो ।२।

कुनै कारण नभइ
दिनहुँ झगडा पर्यो ।३।

मुद्दाहिन छलफल गरी
विना निष्कर्ष संकट टर्यो ।४।

ईष्र्या कुण्ठा दक्षिण मिली
उपयोगितावाद उचाल्यो ।५।

घरीघरी लफडा गरी
कुर्सीमा आँखा गाड्यो ।६।

सामान्य राजनीतिक सुझबुझ भएको मान्छेले प्रचण्डको उपयोगितावाद र प्रम ओलीको कार्यशैलीको गुणदोषका आधारमा विरोध गर्छ नै तर अहिले नै प्रधानमन्त्री बन्ने प्रचण्डको चाहानालाई समर्थन गर्न सक्दैन । भदौ २६, २०७७ मा भएको स्थायी समितिको निर्णय बाहिर गएर फेरि केपी ओलीलाई पार्टी र राज्य सत्ताको नेतृत्वबाट हटाउन दौड सुरू गरिएको छ । त्यसको नेतृत्व प्रधानमन्त्री पदको दावेदार कार्यकारी अध्यक्ष प्रचण्डले गरिरहेका छनभने माधव नेपालहरू सहयोगी देखिए । तर प्रचण्ड र माधव नेपालको सहयात्रा नियमित हुने सम्भावनाभने देखिएको छैन् । किनभने प्रचण्डको नेतृत्वमा भइरहेको गतिविधिहरू कसैगरी पनि नैतिक र राजनैतिक पनि देखिदैन् । यस्तो अनैतिक राजनैतिक गतिविधिको आलोचना र विरोध गर्नु असल नागरिकको धर्म नै हो । नेकपाका नेता तथा कार्यकर्ताहरूले पनि आजको सङ्कटको घडिमा प्रचण्डको उपयोगितावादी राजनीतिलाई समर्थन गरिरहलान, त्यस्तो लाग्दैन्।

नेकपा सचिवालयमा प्रचण्डले प्रम तथा पार्टी अध्यक्ष केपी ओलीका विरूद्ध औपचारिक प्रस्ताव पेस गरिसकेपछि बुर्जुवा खेमामा हर्षोउल्लासको वातावरण बन्नुले पनि प्रचण्डको पक्षमा माधव नेपालहरू सहयोगी नहुने आधार तयार हुँदैछ । यसले अन्ततः प्रचण्डको राजनीतिक धरातल नै खतम हुने सम्भावना प्रबल बनेको छ। प्रम तथा पार्टी अध्यक्ष ओलीले नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बलियो अस्त्र औपचारिक रूपमा फालेका कारणले पछिल्लो पुस्ताले पनि विभाजनबाट पार्टीलाई रोक्न हस्तक्षेप बढाउने छन् । त्यतिखेर प्रचण्डको उपयोगितावादमात्र होइन प्रचण्ड कै राजनीति सङ्कटमा पर्नेछ । त्यसैले आज नै प्रचण्डले समिकरणबाट समिकरण गर्दै विभाजन रोज्ने कि एकताबाट एकिकरणमा रमाउँदै नेकपाको बागडोर सम्हाल्ने कित्ता क्लियर गर्ने बेला भएको छ । समिकरण छोडेर एकिकरणमा नरमाउने होभने सक्किने बाहेक अन्य विकल्प बाँकी रहने छैन्।

प्रचण्ड आफ्नै विवेक र बलको भरमा प्रम तथा पार्टी अध्यक्षका विरूद्ध प्रस्ताव ल्याएका होइनन् । त्यसको सङ्केत बुर्जुवा खेमामा देखिएको उत्साह र दक्षिणको दोहोरो भूमिकाले दिएको छ । यता प्रम ओलीलाई भेट्न रअ प्रमुखलाई दुत बनाएर पठाउने र उता प्रचण्ड पुत्रीहरूलाई बोलाएर सन्देश पठाउने कामले दक्षिण जसरी पनि नेपालमा अस्थिरता सिर्जना गरेर राजनीतिक रूपमा आफू फेरि हावी हुन खोज्दैछ । तर हामी नेपालीको चेतना र परिकल्पनाले दक्षिणको सपना र प्रचण्डको रणनीतिलाई कुनै पनि हालतमा पूरा हुन दिनेवाला छैन् । फेरि नेकपाका कार्यकर्ता तथा नेतामा पनि २०५४ सालको जस्तो विभाजनकारी चेतना पनि छैन् । यसर्थ कुनैपनि वाहानामा नेकपा फुट्ने छुट र सम्भावना छैन् भनेर हामीले बुझ्नुपर्छ ।

नेकपाभित्र हैसियतको प्रतिस्पर्धा र गुटको व्यवस्थापन जटिल बनाउन प्रचण्डको कब्जा मनोविज्ञान र भारतको हस्तक्षेपमुखी विस्तारवादी नीतिले राम्रै मलजल गरेको छ । अहिले बजारमा चलेको हल्ला र पार्टीको सल्लाहले निषेधको राजनीति पो हावी हुन्छ कि भन्ने त्रास बढेको छ । यसबाट धेरै कचिङ्गल भन्दा विभाजन नै पो ठीक होकि भन्ने मनोविज्ञान विकास गर्न खोजिदैछ। “अन्तरविरोधहरूमा खेल्ने र आफू बलियो हुने प्रचण्डको रणनीतिले अहिले नेकपामा विवाद बढायो र विभाजनउन्मुख बनाउँदैछ।” अब नेकपा एकिकृत भइरहदैन कि भन्ने त्रासले जनतस्तरमा वामपन्थीहरूप्रति नकारात्मक धारणाको विकास भइरहेको छ । तर नेकपा फुट्दैन किनभने फुटको त्रास भएतापनि फुटको बलियो वस्तुगत आधार तयार भइसकेको छैन् । किनभने फुटको दोषको भागी कोही पनि हुन चाहेका छैनन् । यद्दपि पार्टीमा भाँडभैलोभने कायम रहने छ।

नेकपामा आजको समिकरण भोलि पनि कायम रहन्छभन्ने स्थिति बनिसकेको छैन् । प्रचण्डको विगत विभाजनमा शक्ति खोज्ने र अरूलाई जुधाएर आफू बलियो हुने चरित्र नै बनिसकेको छ । अहिले माधव नेपालहरू पदको कुरा आउँदा प्रचण्डसँग नजिक देखिएतापनि विचारको बहस सुरू हुन थालेपछि जनताको बहुदलीय जनवादलाई लिएर एकै ठाउँमा उभिन बाध्य हुनेछन् ।

यसका लागि अब आगामी महाधिवेसनबाट अध्यक्ष त अर्को आमनिर्वाचनबाट प्रम बन्ने सुनिश्चितता ओलीबाट माधवले खोज्नेछन् । त्यतिखेर आजको समिकरण स्वतः भत्किनेछ र नयाँ समिकरण बन्नेछ ।  प्रचण्ड एक्लिने छन् । अनि महाधिवेसनपछि विभाजनको बाटो खोज्न बाध्य हुनेछन् । यो पक्षलाई प्रचण्डले किन ख्याल गरेनन् ? राजनीतिमा सधैं सम्भावनाहरू हुन्छन् । भोलि एकता महाधिवेसनपछि बेग्लै पार्टी बनाउँदै नेपाली काङ्ग्रेससँग समिकरण बनाउन पनि प्रचण्ड पछि पर्ने छैनन् । तर प्रचण्डले बुझ्नुपथ्र्यो, अस्वस्थ्य विवाद र विभाजनले क्षयिकरणमात्र गर्छ, शक्ति कदापि प्राप्त हुँदैन्।

पार्टी एकता भएको मंसिर ३ गते दुई वर्ष छ महिना हुँदैछ । अढाई वर्षे लिखित सहमतिबाट पछाडि नहटेको भए आफू प्रधानमन्त्री बन्ने थिएँभन्ने प्रचण्डलाई लागेकोले अहिले प्रधानमन्त्री ओली विरूद्ध अराजनीतिक आरोप लगाउने ठाउँमा पुगे । यसले प्रचण्डको राजनीतिक भविष्य ध्वस्त हुनसक्ने सम्भावना बढेको छ । प्रचण्डलाई यो बाटो समात्न भित्र तथा बाहिरबाट घोषित अघोषित रूपमा प्रेरित पनि गरिदैछ । प्रचण्ड कमजोर नहुँदासम्म आफू बलियो हुन्न कि भन्ने डर मनोविज्ञानले माधव नेपालहरूले उक्साइ रहेका त छैनन् ? प्रश्न गर्ने ठाउँ बनेको छ ।

तसर्थ नेकपा र नेताहरूको भविष्य सङ्कटमा पर्न नदिन महाधिवेसनबाट पार्टीको नीति तय गर्ने र नयाँ अध्यक्ष छान्ने अनि अब आउने आमनिर्वाचनपछि नयाँ प्रधानमन्त्री बन्ने नीति मै नफर्की सुखै छैन् । तर पनि प्रचण्डको नेतृत्वमा माधव नेपालहरू किन प्रम तथा पार्टी अध्यक्ष केपी ओलीका विरूद्ध मोर्चा बनाएर लागेका छन् ? यसका पछाडि प्रचण्डको स्वार्थ छ ।

अन्यथा भए भारतले जुन २००२ तिरको प्रचण्ड र बाबुराम भट्टराई मिलेर भारतीय प्रधानमन्त्री कार्यालयमा पठाएको लिखित प्रतिबद्धता विपरीत भयो भनेर प्रचण्डलाई कारवाही गर्न सक्छ । बाबुराम भट्टराई त पहिले नै भारतको स्वार्थबमोजिम मधेसवादी दलमा प्रवेस गरिसकेका छन् । प्रचण्ड र बाबुरामले लेखेको पत्रका बारेमा एसडी मुनीले आफ्नो लेख Bringing the Maoists from down from the Hills मा उल्लेख गरेका छन् ।

पछिल्लो समय केपी ओलीको नेतृत्वमा कालापानी, लिपुलेक र लिम्पियाधुरा जहाँ भारतले छ दशकभन्दा बढी समयदेखि अतिक्रमण गरेर बसेको छ, त्यसमा नेपालले आधिकारिक दावी अनि नागरिकता वितरण सम्बन्धि विधेयकमा अंगिकृत नागरिकता पाउन कडा सर्त राख्ने भएपछि भारत जसरी पनि ओलीलाई हटाउन चाहन्छ । विगतमा भएका प्रयासहरू असफल भएपछि यो पटक प्रचण्डको नेतृत्वमा मोर्चा बनाएर ओलीलाई प्रमबाट हटाउने अर्को घृणित प्रयास भएका छन् । यसका लागि भारतले धम्कीसँगै ठूलो धनराशी खर्च गरेको हल्ला बजारमा सुनिन्छ ।

अब पनि भारतको यो प्रयासलाई कमजोर बनाउन केपी ओलीको नेतृत्वमा भएको सरकारलाई कायम राखेर हामी नेपालीहरू सफल हुनैपर्छ । आज प्रम हटाउने खेल कुनैपनि कोणबाट समर्थन गर्न सकिदैन् । यतिखेर ओली हटाउन प्रचण्डहरू सफल भएभने नेपालले हार्नेछ र दिल्लीले जित्नेछ । अब कसलाई जिताउने वा हराउने भन्ने प्रश्न नेकपाका नेता तथा कार्यकर्तामाथि तेर्सिएको छ । जनता उत्तरको प्रतिक्षामा छन् । 

नेकपामा अहिले देखिएको विवादको मूल कारण वा सार सञ्चालित नेतृत्वले सञ्चालन गर्नेका पक्षमा काम गर्न खोज्नाले सिर्जित भएको हो । तर रूपमा प्रमको पद देखिएको छ । अब नेकपाका स्वचालित नेता तथा कार्यकर्ताहरूले एकजुट भएर सञ्चालित नेतृत्वका विरूद्धमा हस्तक्षेपमा उत्रिएनन् भने नेकपाको भविष्य खतम हुनेछ । अब नेकपाका नेता तथा कार्यकर्ताहरू स्वचालित नेतृत्वको पक्षमा उत्रने कि सञ्चालित नेतृत्वको पक्षमा समयले उत्तर खोजेको छ ।