मुम्बई, १० असोज - ड्रग्स मामिलामा नाम मुछिएपछि भारतीय अभिनेत्रीहरु दीपिका पादुकोण, सारा अलि खान र श्रद्धा कपुरसँग भारतीय लागुऔषध नियन्त्रण ब्युरो एनसिबी ले शनिबार सोधपुछ गरेको छ ।

शनिबार बिहानै एनसीबी कार्यालय पुगेका अभिनेत्रीहरु दिपिका, श्रद्धा र सारासँग अहिले सोधपुछ जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा ड्रग्स मामिला जोडिएपछि उनकी गर्लफ्रेन्ड अभिनेत्री रिया चक्रवर्ती र उनका भाई शौविक चक्रवर्ती पक्राउमा परिसकेका  छन् ।

यही सिलसिलामा बलिउडमा ड्रग्सको प्रयोगबारे थप खोजबिन गर्दै गर्दा एनसीबीले यी अभिनेत्रीहरुलाई बयानका लागि बोलाएको हो । अर्की अभिनेत्री रकुलप्रित सिंहसँग शुक्रबार बयान लिइएको थियो । उनीहरुको एक ह्वाट्सएप ग्रुपमा ड्रग्सको प्रयोगबारे संवाद भएको भन्दै यसबारे सोधपुछ गर्न लागिएको बताइएको छ ।