विश्वव्यापीकरणका कारण हरेक देशका मानिसहरु आफ्नो देशको भूगोल भित्रमात्रै सिमित नभएर विश्वभर छरिएका छन् । सूचना र सञ्चारमा आएको अभूतपूर्व विकासका कारण मानिसहरुले आफ्नो देशको भूगोल बिर्सन सक्ने अवस्थाको समेत श्रृजना भएको थियो । तर कोरोनाकै कारण आफ्नो देश छोडेर अन्य देशमा बसोबास गरिरहेका विश्वभरका मानिसहरुलाई एकपल्ट आफनो देशको सम्झना गराएको छ । यहिँ भाइरसका कारण विश्वभर छरिएर रहेका सवै नेपालीहरुले पनि यतिवेला आफनो देश नेपाल सम्झिएका छन् । स्थायी रुपमा नेपालबाट अर्को देशमा बसाइ सरेका मानिसहरु देखी अस्थायी रुपमा कामको खोजि र उच्च शिक्षाका लागि विदेशिएका सवै नेपालीहरुले यतिवेला आफनो परिवार र देश सम्झनु स्वाभाविकै हो । सामाजिक सञ्जाल र सूचना प्रविधिको उपयोगमार्फत दुई देशमा बिभाजित परिवारका सदस्यहरुबीच यतिवेला कोरोना सचेतनाको वारेमा दिनहुँ छलफल हुने गरेको छ । यसले देश बाहिर रहेका मानिसहरुका बीचमा एकपटक परिवारको र देशको महत्व र आवश्यकताको बोध गराएको छ । जति नै गरिब भएपनि देश हरेक नागरिकको  अभिभावक हो भन्ने कुरा यतिवेल सवै नेपालीले महसुस गरेका छन् । 

करिब चालिस लाखको हाराहारीमा बिदेशिएका नेपालीहरुको सवैभन्दा ठुलो हिस्सा भारतमा रहेको छ । नेपाल बाहिर रहेका नेपालीहरु यतिवेला देश फर्किरहेका छन् । चीन लगायत दक्षिण पूर्वी एशियामा अध्ययनरत नेपाली विद्यार्थीहरु प्रायः सवैजना नेपाल पहिले नै आइसकेका छन् । यतिवेला भारतमा रहेका नेपालीहरुको पनि देश फिर्ने लहर नै चलेको छ । संक्रमणका आधारभुतपक्षहरुलाई एकछिन विर्सने हो भने, नेपालीहरुको यो घर फिर्ने अभियान स्वागतयोग्य कुरा हो । देश बाहिरबाट मात्रै होइन, ग्रामिण क्षेत्रबाट काठमाडौं उपत्यका लगायत अन्य शहरहरुमा अस्थायी वा स्थायीरुपमा बसोबास गरिरहेका नेपालीहरुले पनि यो भाइरसकै कारण आफ्नो गाँउलाई सम्झिएका छन् । शहरमा भन्दा गाउँमा भाइरसको जोखिम कम हुने अनुमानका आधारमा धेरै मानिसहरु यतिवेला गाउँपनि फर्किरहेका छन् । देश र गाउँलाई सम्झिनु देश र आफु जन्मिएको ठाउँलाई माया गर्नु पक्कै पनि हरेक नेपालीको कर्तव्य हो । तर ‘लक डाउन’ को अर्थ आफुँ जहाँ छु त्यही बस्नु  भन्ने सरकारको आह्वानलाई नबुझी अल्पकालिन रुपमा भाइरसकै कारण देश र गाउँ फिर्ने नेपालीहरुको यो लहडमात्रै हो भने यसले कुनै ठोस परिणाम दिन सक्दैन् । 

उत्पादनको महत्वपूर्ण पक्ष श्रमशक्ति देश फर्कनु र ग्रामिण क्षेत्रसँग जोडिन खोज्नु देश र अझ गाउँका लागि खुसीको कुरा हो । किनकि बुढाबुढी र केटाकेटीमात्र रहेको ग्रामिण क्षेत्रमा आर्थिक रुपमा योग्य श्रमशक्ति फर्किदा त्यहाँ आर्थिक गतिविधिको सम्भावना हुन्छ । यो गतिविधिले स्वाधिन र आत्मनिर्भर अर्थतन्त्र निमार्ण गर्दे ‘समृद्ध’ नेपाल निमार्ण गर्ने काममा योगदान पु¥याउन सक्दछ । त्यसैले सरकारले कोरोनाभाइरसलाई चुनौतीको रुपमा मात्र  होइन् स्वदेशी श्रम र श्रोतको उपयोग गरि आत्मनिर्भर अर्थतन्त्र निमार्ण गर्ने अवसरको रुपमा पनि लिनुपर्दछ ।  सरकारले कोरोना बिरुद्धको लडाइँ लडिरहेकै यो समयमा स्वदेश अझ भनौं ग्रामिण क्षेत्रमा भित्रिएका श्रमशक्तिमार्फत स्थानीय स्रोत साधनको परिचालन गरेर उत्पादनसँग जोड्ने आर्थिक खाका प्रस्तुत गर्न सक्नुपर्दछ । अब बिप्रेषित रकम (रेमिट्यान्स) लाई निरुत्साहित गर्दे देशको श्रमशक्तिलाई देशभित्रै परिचालित गर्न सक्नुपर्दछ । कोरोना भाइरसले उत्पन्न गरेका व्यापक चुनौतीहरुलाई परास्त गर्दे यसले सँगै लिएर आएका राष्ट्रियता र जनजीविकाका महत्वपुर्ण अवसरहरुलाई समेत सरकारले मात्र होइन कि हरेक नागरिकहरुले पूँजिकृत गर्न सक्नु पर्दछ  ।