एक युगमा एकदिन एकपटक आउँछ 
उलटपुलट, उथलपुथल हेरफेर ल्याउँछ

नेपालका माक्र्सवादी चिन्तक क्रान्तिकारी कवि युद्ध प्रसाद मित्रको यो गीतले भनेजस्तै हिजो नेपालको इतिहासमा २ सय ४ बर्षपछि एउटा दिन आयो । सन् १८१६ को सुगौली सन्धि अगाडी देशको स्वाभिमान र सीमा रक्षाका लागि लडेका बलभद्र कुवँरहरुले लडेको दिनजस्तै हिजो नेपालको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमानका क्षेत्रमा युगमा कहिल्यै नआएको त्यो दिन आयो । जसले हाम्रो स्वाभिमानी नेपाली इतिहासमा एउटा उथलपुथल ल्यायो । राष्ट्रियताका पक्षमा चमत्कारिक हिसावले नेपालका सवै राजनीतिक दल, नागरिक समाज, सिङगो नेपाल र नेपालीलाई एकठाउँ उभ्यायो । हाम्रा बैरीहरुलाई सार्वभौमिकताको माटो र देशको सम्मान र प्रेम सिकायो । हाम्रो बहादुरीको गौरवपुर्ण इतिहासलाई एकपल्ट स्मरण गरायो । 

जव भारत र चीनवीचमा सन् १९६२ मा युद्ध भयो, त्यो वेलादेखि नै सुगौली सन्धीको मर्म र भावना विपरीत कालापानी क्षेत्रमा भारतीय सेनाहरुको उपस्थिति देखियो । हाम्रो हिमाली क्षेत्रमा भारतले खडा गरेका १८ वटा चेकपोष्टमा अरु सवै हटाई पनि कालापानी क्षेत्रमा भारतीय अतिक्रमण कायनै रहयो । हुँदा हुँदा हाम्रो नेपालको लिम्यिाधुरा, कालापानी र लिपुलेक समेटेको नक्सा वनाउने र हाम्रो जमीनमा बाटो बनाउने काम जव भारतले शुरु गरयो । यो नेपाल र नेपालीलाई कसरी सहय हुन सक्छ ?   मिचिएको हाम्रो भुमी फिर्ता लिने प्रधानमन्त्री केपी शर्मा ओलीको यो अभियान आर्थिक बर्ष २०७७/७८ को नीति र कार्यक्रम सार्वजानिक हुँदा कसै कसैले हाँसोको बिषय पनि बनाए । के नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेख र कालापानी समेटिएको नक्सा सार्वजानिक गर्न सक्छ ? त्यत्रो विशाल सेना, क्षेत्रफल र जनसख्या भएको भारतसँग नेपालले लडाई गर्न सक्छ ? यदि केपी शर्मा ओलीले यो कदम अगाडी वढाए सरकार संकटमा पर्न सक्छ भन्ने हल्लाहरुपनि बजारमा नसुनिएका होइनन्, कसै कसैले त भारतबाट यो जमीन फिर्ता ल्याए भने जीन्दगीभरी केपी शर्मा ओलीको जुत्ता पालिस गर्छु भनेर सञ्चार माध्यमबाट अन्र्तवार्ता पनि दिए । तर जव नेपाल सरकारले अतिक्रमीत भुमि समेटेर नक्शा जारी गरयो । त्यसपछि त्यसलाई कागजको खोस्टो भन्नेहरुपनि नदेखिएका होइनन् संवैधानिकरुपमा त्यसलाई स्वीकार गरेर देखाउन चुनौति पनि दिए । 

तर यो लडाई केपी शर्मा ओलीको मात्र थिएन, यो लडाई हाम्रो वीरताको इतिहासको निरन्तरता थियो । सिङगो नेपाल र नेपालीको स्वाभिमानको लडाई थियो । आफनो माटोको रक्षाकालागि अगाडी वढाईएको लडाई थियो यो । नेपाली  राष्ट्रियता र भौगोकि अखण्डताकोे यो लडाईवाट कोही पनि भाग्न सकेनन् । यो अभियानमा सिङगो देश र जनता एक भयो, फलस्वरुप नेपालको प्रतिनिधिसभाको सर्वसम्मत निर्णयबाट नेपाली अतिक्रमित भूमी समेटिएको निशान छाप जारी भयो । 

यो निर्णयको देशभर स्वागत भएको छ । मानिसहरुले टोल टोलमा र सार्वजानिक ठाँउहरुमा दीपावली गरेर यो निर्णयप्रति आफनो सम्मान व्यक्त गरेका छन् । हरेक जात, क्षेत्र र लिङका मानिसहरुले नेपाली भएको गर्व गरेका छन । सडकमा प्रायोजितरुपमा सडकमा अश्लिल नारा प्रदर्शन गर्दे ओली सरकारको विरोध गर्न खोजेपनि यो अभियानको नेतृत्व र मार्ग दर्शन प्रदान गर्ने केपी शर्मा ओलीप्रति नेपाली जनताको सम्मान बढेको छ । भारतीय सीमा अतिक्रमितबाट नेपालमात्रै होइन, अन्य छिमेकीहरु पनि प्रताडित बनेका छन् । बङगलादेश,पाकिस्तानका सञ्चार माध्यमहरुले अव नेपालबाट सिकौँ भन्ने सन्देशहरु प्रवाह गरिरहेका छन् । युद्ध सेना वा बन्दुकको सहारामा मात्रै लडिदैन, नेपालको सीमा रक्षाको र अतिक्रमित भुमी फिर्ता ल्याउन जुन तरीकाको लडाई लडदैछ, त्यो सीमा अतिक्रमणबाट प्रताडित भएका अन्य देशका्े लागि सिक्नु पर्ने पाठ भएको छ । 

इतिहासमा देशको स्वाभिमान रक्षाका लागि भक्ति थापा, बलभद्रहरुले जुन बहादुरी देखाउनु भयो, अहिले नेपाली जनताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रियता र आफनो जमीन रक्षाकोे सन्दर्भमा त्यही उचाईमा तुलना गरेका छन् । तर प्रधानमन्त्री ओलीको यो विषयमा सिङगो नेपालीको अभिभावक भएर पनि जमीन फिर्ता ल्याउने उहाँको यो अभियानमा अझै धेरै चुनौतिहरु छन् । सत्यको बाटोमा चुनौतिको पहाडपनि होचो हुन्छ । तपाईलाई ३ करोड नेपाली र विश्व समुदायका न्यायप्रेमी सरकारहरु र जनताको साथ छ, तपाई आफनो अभियानको अन्तिम परिणामसम्म पुग्नुस् प्रधानमन्त्रीज्यु । तपाईलाई हामी सवैको शुभकामना छ ।