केही समय अगाडिदेखि हामी नेपालीहरुले विभिन्न खाले समस्याहरु भोगिरहेका छौ । कोरोनाको कारण गरिएको लकडाउन, आइसोलेसन, सेल्फ क्वारेन्टाइन र यसले राजनीतिक सामाजिक, आर्थिकरुपमा परेको प्रतिकुलता अलि कम भैरहेको वेला हामी नेपालीहरु फेरि बाढी पहिरोको पीडाबाट आक्रान्त हुन थालेका छौ । वर्षातको मौसम सुरुवात भएसँगै देशका विभिन्न स्थानमा बाढी पहिरो, डुवानलगायतका प्राकृतिक प्रकोपहरुबाट मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढदो छ । कोरोनाको सन्त्रास हटन नपाउँदै तीन दिनदेखि आईलागेको बाढी पहिरोको विपत्तिका कारण हालसम्म दश जिल्लाका ४० भन्दा बढिले ज्यान गुमाइसकेका छन भने दर्जनौ व्यक्तिहरु हराईरहेको तथ्यांक छ् । देशैभरि बाढी पहिरोले पहाडी भेगमा घर पुरिएका छन् भने तराईका जिल्लाहरु डुबानमा परेका छन । 

जब बर्खा शुरु हुन्छ, नेपालीका दुःखका दिन सुरु हुन थाल्दछन् । पहाडका कतिपय बस्तीमा पहिरो खस्ने हो की भन्दै आकाश हेर्दे रात कटाउनुपर्ने बाध्यता छन् । खोलाका किनार, भीर पहरामुन्तिरका बस्ती र तराईमा डुबानक्षेत्रका सर्वसाधरणहरु बर्खा लागेपछि ढुक्कले सुत्न सक्दैनन् ।  

यसबेला सिंगो देश वाढी पीडितको उद्धारमा खट्नपर्ने अवस्था छ । यसै सन्दर्भमा सत्तारुढ नेकपाले चलिरहेको स्थायी समितीको बैठकलाई एकहप्ताका लागि स्थगित गरेको छ । सम्पुर्ण पार्टीपंक्तिलाई उद्धारमा खटन निर्देशन दिएको छ । आफनो आन्तरिक मतभेदलार्ई थाति राखेर राष्ट्रिय विपत्तिसँग जुधन सवै खटिएका छन् । उद्धार र राहतमा जुटनका लागि प्रधानमन्त्रीले सम्बन्धीत निकायलाई निर्देशनपनि दिइसक्नुभएको छ । त्यसमा उहाँले भन्नुभएको छ,–‘पिडितको उद्धार र राहतमा कुनै कमी नहोस, सवैखाले उपाय  अपनाउनुहोस ।’ यता अर्का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ आफनो चुनावी क्षेत्र चितवनमा निरीक्षणका लागि जानुभएको छ । यसबाट पार्टीपंक्ति सिगो देश बाढी पहिरो र पीडितको लागि उद्धार र राहतमा खटिएको छ र संकटपर्दा नेपालीहरु एक ढिक्का भएर जान्छन भन्ने सन्देश पनि दिएको छ । 

प्राकृतिक विपत्ती बाजा बजाएर आउने होइन र यस्ता विपत्तिले जाती क्षेत्र बर्ग लिङ्ग केही भन्दैन । त्यसैले यो समस्या मानवजातीको साझा समस्या हो । फरक यति हो, हामीले यसको जोखिमलाई न्युनिकरण गर्न सकेका छैनौ भने त्यस्तो जोखिम क्षेत्रमा वढी क्षति हुने र जोखिम बाहेकका क्षेत्रमा कम क्षति हुने कुरा चाँही साँच्चो हो । विपती आकस्मीक रुपमा आउने भएपनि यसको क्षति न्युनिकरणकालागि पुर्व तयारी भने गर्न सकिन्छ । तर हामी जोखिम न्युनिकरणकालागि पुर्व तयारी गर्ने भन्दा क्षति भएपछिमात्र जुर्मुराउने चलन छ । विपतीको सामनाकालागि पुर्व तयारी गर्ने, जोखिम भएपछि राहत, उद्धारका काम दु्रत गतिमा गर्नेकार्यमा जुटन आवश्यक छ । त्यसैले हामीले मानवजातीको साझा सत्रुबाट हुने क्षति कम गर्न र जोखिममा परेकाहरुको उद्धारकालागि दैविक प्रकोप उद्धार सम्पर्क निकायहरु पनि युद्ध स्तरमा परिचालित हुन आवश्यक छ । साथै जनस्तरबाट पनि आम नागरिकहरुको सहयोग आवश्यक छ । त्यसैले हामी सवै विपतीको सामनाकालागि तन, मन, धनले जुटौ र मानवजातीको अगाडी आउने हरेक  विपत्तिको सामुहिक रुपमा सामना गरौं ।