नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि गत चैत्रदेखि लगाएको लकडाउन साउन ६ गते रातीदेखि अन्त्य भएको घोषणा गरेको छ तर कोरोनाको खतरा अझै कायमै रहेकाले सचेत रहन सबैमा आग्रह पनि गरेको छ । यसबाट सबैले के बुझ्नु जरूरी छ भने लकडाउन मात्र अन्त्य भएको हो कोरोनाको अन्त्य भएको होइन, सतर्कता अपनाइएन भने यो झनै विकराल बन्न सक्छ । हुनत  चारमहिना लामो लकडाउन अन्त्यको घोषणासँगै सर्वसाधरण भने हर्षित बनेका छन् । चैतको ११ देखि घरभित्रै थुनिएका आम सर्वसाधरण आफनो नियमित काममा फर्किनुका साथै आर्थिक गतिविधिमा संलग्न हुन पाइने भएकाले उत्साहित भएका  देखिन्छन् तर यो उत्साहमा सतर्कता आवश्यक छ ।

छिमेकी देश भारतमा कोरोना संक्रमण बढिरहेको अवस्थामा नेपालमा लकडाउन अन्त्य गर्नु निकै जोखिमपूर्ण छ । नेपाल सरकार, स्वास्थय मन्त्रालय र अन्य सरकारी निकायले राम्रो काम गरेकाले नै हो नेपालमा कोरोना सोचेभन्दा नियन्त्रणमा छ । तर अझै टरेको छैन । कोरोनाको जोखिम कम हुनुमा सर्वसाधरण जनताको पनि त्यति नै ठूलो सहयोग रहेको छ । नेपालमा कोरोना भाइरसको संक्रमण फैलिनबाट बच्न कहिल्यै भोग्नु नपरेको कोरोनाको नियम नेपाली जनताले मानेकै हुन । क्वारेन्टाइन, आइसोलेसन, लकडाउनपछि घरमै बसेर सहयोग गरेकै कारण कोरोना नियन्त्रण भएको हो । नेपाल सरकारले समयमै लकडाउन गरायो, सवैलाई अपनाउनुपर्ने उपाय अपनाउन सिकायो । सामाजिक दुरी कायम गर्न सिकायो । कोरोनाको टेष्टिङ्ग क्षमता बढायो । स्वास्थय मन्त्रालयले जनस्वास्थयका मापदण्ड बनायो र त्यसलाई लागु गरयो । जसमा सरकारले सुसूचित गरिराखेको थियो ।

कोरोनाको संक्रमण पछिल्लो समयमा घट्दो क्रममा भएकै अवस्थामा सरकारले लकडाउन खुलाएको छ । तर अझै जोखिम भने हटिसकेको छैन फेरि संक्रमण बढने हो कि भन्ने डर त्यतिकै छ । सधैभरि लकडाउन सम्भव पनि छैन । लडकडाउन बढदैजादा कोरोनाभन्दा भोकमरीको डर बढि हुन सक्छ । मानिसको विहान बेलकीको छाक टार्ने समस्या आउन सक्छ । हरेकको दैनिकी सञ्चालनका लागि पनि आर्थिक कार्य गर्न परयो । सरकारले पनि काम गर्नु पर्यो । अझैपनि स्कुल कलेज र भिडभाड  हुने ठाउँ (सभा सम्मेलन, सिनेमा हल आदि ) खुलेका छैनन् । नियन्त्रित तरिकाले लकडाउन खोलिएको छ । जनस्वास्थ्यका मापदण्डको पालना गरिएन भने स्थिति फेरि भयावह बन्न सक्छ । 

तसर्थ हामीले सामाजिक दूरी कायम गरेनौ, मास्क लगाएनौ, राम्रोसँग हात धोएनौ वा सेनेटाइजरको प्रयोग गरेनौ या जथाभावी हिडन थाल्यौँ भने स्थिति हिजोको भन्दा नराम्रो पनि हुनसक्छ । त्यसकारण हामी सवैले फेरि भोलि लकडाउन गर्न नपरोस्, हाम्रो हेलचेक्रयाई, बेवास्ताले त्यस्तो अवस्था आउन नपरोस् भन्नका लागि लकडाउन खुलेपनि उच्च सतर्कता आवश्यक छ ।