कोभिड १९ संक्रमणको मार खेपेको ८ महिनासम्म पनि विश्वले यसको समाधान दिन सकेको छैन । संक्रमणलाई रोक्नका लागि लकडाउन, आइसोलेसन, क्यारेनटाइन, टेष्टजस्ता विधिहरुभन्दा यो संक्रमणलाई जित्ने अन्य उपायको आविष्कार विश्वले गर्न सकिरहेको छैन । भ्याक्सिनको आविष्कार र यसको परिक्षणका केही समाचारहरु वाहिर आएपनि यसले अहिलेसम्म ठोस र मुर्तरुप लिन सकिरहेको छैन । लामो समयसम्म यो संक्रमणलाई जित्ने हतियार फेला नपर्दा यसले मानिसहरुको आर्थिक सामाजिक, राजनीतिक क्षेत्र मात्रै होइन, मानिसहरुको मानसिकतापनि मज्जाले नै हल्लाइरहेको छ । 

नेपालपनि ६ महिनादेखि यो संक्रमण विरुद्धको लडाइमा होमिएको छ । आकस्मिकरुपमा आएको यो लडाईमा सरकारले गरेका प्रयासहरु अनुकरणीय छन् । नेपालले संक्रमण विरुद्धको यो लडाइमा जे रणनीति अख्तियार गरयो, त्यसको विश्व स्वास्थ्य संगठन लगायत विश्वस्तरबाटै प्रशंसा भएको छ । तर जे कुरामा पनि सरकारलाई गालीगर्ने मानसिकता नेपालमा हावी भएको छ । लकडाउन गरेपनि सरकारलाई गाली, लकडाउन नगर्दापनि सरकारलाई गाली, टेष्ट बढाएपनि गाली, टेष्ट नगर्दा पनि सरकारलाई गालीगर्ने प्रवृतिले कोभिड १९ को रोकथामकालागि नागरिकहरुको कुनै भुमिका हुदैन, केवल सरकारमात्रै यसका लागि जिम्मेवार हो भन्ने जस्तो भ्रम छर्ने कोशिस गरिएको छ । यस्तो प्रचार गरिनु पक्कैपनि राम्रो होइन ।

कोभिड १९ लाई लिएर अहिले विश्वस्तरमा केही विकृतिहरु पनि देखिएका छन् । स्यानिटाइजर, मास्क, पीसीआर टेष्ट, र अन्य मेडिकल इन्स्टुमेण्टको व्यापारमा अर्थराजनीति जोडिएको छ । विश्वव्यापीरुपमा यसको बढ्दो माग र आपुर्तिकावीच कसले वढी व्यापार गर्न सक्ने भन्ने कुरामा उत्पादक देशहरुवीच अस्वस्थ्य प्रतिस्पर्धा देखिएको छ । विश्वस्तरमै मेडिकल माफियाहरु यो समयमा निकै सल्वलाएको अवस्था छ । जसले विश्वको विकास बजेटलाई नै प्रभावित बनाएको छ । यसको केही प्रभावहरु नेपालमा पनि देखिन थालेका छन् । टेष्ट नै कोभिड १९ लाई जित्ने महत्वपुर्ण रणनीति हो भन्ने मान्यतालाई अहिले स्थापितगर्ने गराउने कुरामा सवै मानिसहरुको ध्यान केन्द्रीत भएको छ । तर यो मान्यता सत्य हो कि होइन भन्ने विषयमा आलोचनात्मक दृष्टिकोणबाट विश्लेषण गर्ने प्रयास गरिनु आवश्यक छ । 

लकडाउन र टेष्ट नै कोभिड १९ को समाधान होइन भन्ने कोणबाट पनि विश्वमा बहसहरु हुन थालेका छन् । कोभिडको विरुद्धको लडाइको यो लामो समयमा कुनै विकल्प संसारले दिन नसकेपछि नागरिकहरुबाट यस्तो आवाज आउनु पनि अस्वाभाविक होइन । तर विश्वमा अन्य रोगहरुको कारण जुन मृत्युदर छ, त्यसको तुलनामा कोभिडका कारण हुने मृत्युदर कम भएकोले यसलाई महामारी वा आतंककारुपमा मात्रै पनि बुझिनु हुँदैन । यसलाई जित्नुको एउटै मात्र विकल्प भनेको नागरिक सचेतना र सावधानीमात्रै हो । त्यसकारण सरकारलाई गाली गरेर मात्रै कोरोना नियन्त्रण गर्न सकिदैन, हाम्रो सावधानी र सचेतनताले यसलाई परास्तगर्न सकिन्छ । यतिवेला सरकारले पनि आफ्नो सवै ध्यान कोरोना नियन्त्रणमा लगाउँदै नेपाली जनतालाई कसरी बचाउने भन्नेमै केन्द्रित हुनुपर्दछ भने आम  नागरिकहरुले पनि आफ्नो धेर्यता कायम गदै आफु आफनो परिवार र समुदायमा कोरोना संक्रमण फैलनबाट रोक्ने त्यसका लागि खवरदारी गर्ने उपाय अपनाउन आवश्यक देखिन्छ ।