प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणगर्नेहरुको सम्पुर्ण सम्पति रोक्कागरि उपचार र क्षतिपुर्ति दिलाउने प्रावधान सहितको नयाँ कानुनको मस्यौदा तयार पार्न सम्बन्धीत निकायलाई निर्देशन दिनुभयो । मानवताको पक्षमा यो ऐतिहासिक कदम हो । एसिड आक्रमणबाट पीडितहरुसँग सरकारका विभिन्न सरोकारवाला मन्त्रालयका मन्त्री र प्रतिनिधिहरु समेतको उपस्थितिमा गरिएको परामर्शका क्रममा प्रधानमन्त्री ओलीले जघन्य अपराधीलाई कडा कारबाहिगर्ने प्रतिवद्धता जनाउनुभयो । साथै पीडितलाई राज्यको अभिभावकत्व महसुस गराउनुभयो । एउटा सामाजिक अपराधविरुद्ध राज्यले लिएको यो अहिलेसम्मकै महत्वपूर्ण कदम हो ।


प्रधानमन्त्री ओलीले केही साता अगाडि एसिड पीडित मुस्कान खातुनलाई भेटेर समस्या बुझेपछि कडा कानुनको तर्जुमाका साथै पीडितलाई जीवनभर संरक्षणको प्रत्याभुति दिलाउने पहल थाल्नुभएको थियो । आक्रमणबाट पीडितहरुको कानुनी उपचारका लागि अध्यादेश ल्याउने, स्वास्थ्योपचारका लागि राजधानीको त्रिवि शिक्षण अस्पताल, बीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुरस्थित बोन अस्पतालमा डेडिकेटेड युनिट स्थापनागरिने जस्ता निर्णयले अव समाजबाट एसिड आक्रमणजस्तो मानवता विरोधी अपराध कम हुनेछन् । अपराधी कठघरामा उभिनेछन् । 

सरकारले भदौ २५ लाई एसिड आक्रमण बिरुद्धको जागरण दिवसका रुपमा मनाउने र सम्भव रहेसम्म सेप्टेम्बर १० लाई एसिड आक्रमण विरुद्धको अन्तर्राष्ट्रिय दिवसको रुपमा प्रस्ताव अघि बढाउने योजना बनाएको छ । त्यसको नेतृत्व प्रधानमन्त्रीले लिनुभएको छ । 

एसिड आक्रमण सामाजिक विकृतिको उपज हो । यसबाट मानिसमा शारीरिक चोटपटकमात्रै लाग्दैन, यसले मनोवैज्ञानिक, सामाजिक, शारीरिक लगायत बहुपक्षीय दुष्प्रभाव पार्छ । विगत ६ वर्षको तथ्यांक विश्लेषणगर्ने हो भने नेपालमा कुल १७ वटा तेजाव आक्रमण भएकाछन् । तेजाव आक्रमणबाट सबैभन्दा बढी पीडित महिला नै हुने गरेकाछन् भने अधिकांश घटनामा पीडक पुरुष छन् । कुल १७ वटा घटनामध्ये महिला पीडकको संख्या जम्मा ४ जना रहेको छ भने बाँकी पीडकहरु पुरुष हुन् । ती घटनाहरुमा १८ जना महिला पीडित भएका छन् भने ४ जना पुरुषमाथि तेजाव आक्रमण भएको तथ्यांक देखिन्छ । मानवताको पक्षमा प्रधानमन्त्रीबाट लिइएको यो पहल र सक्रियताबाट आज आमनागरिकमा कानुनी राज्यको महसुस भएको छ भने पीडित महिलाहरुले आफ्नो जीवनको सुरक्षामा सरकारले गरेको यो पहलकदमीको खुलेर प्रशंसा गर्नुका साथै जतिसक्दो छिटो कार्यान्वयन होस भन्ने चाहना व्यक्त गरेका छन् । 

प्रधानमन्त्री ओलीका पछिल्ला सक्रियता देश र जनताले सामना गरेका जल्दाबल्दा मुद्दासँग जोडिएका छन् । एसिड आक्रमणजस्तो जधन्य अपराधमा संलग्नहरु बिभिन्न वहानामा अपराधकर्मबाट छुटकारा पाउने र पीडित थप प्रताडित हुने अवस्थाको अव अन्त्य हुनेछ । सामाजिक अपराधबिरुद्ध प्रधानमन्त्रीले लिनुभएको यो अगुवाईलाई ऐतिहासिक कदमका रुपमा लिन सकिन्छ ।