नेपालीहरुको महानचाड बडादशै आजबाट शुरु भएको  छ । तर यसबर्षको बडादशै विगतका दशैहरु जस्तो सहज भने छैन । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणले हिन्दु धर्मावलम्वीहरुले बडो हर्ष उल्लासका साथ मनाउने दशैं यो वर्ष घर घरमै मात्र सिमित हुने देखिएको छ । सरकारले यसबर्षको दशैंमा आफु जहाँ छौ, त्यही मनाऔं भनेको छ । कोरोना संक्रमणकै त्रासले राष्ट्रपति, प्रधानमन्त्रीदेखि अन्य अतिविशिष्टि व्यक्तिहरुले हरेक बर्ष सर्वसाधरणलाई लगाईदिने टीका यसबर्ष रद्ध गरेका छन् । 

नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि गत चैत्रदेखि लगाएको लकडाउन साउन ६ गते खोल्यो जतिबेला नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार थियो भने संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ मात्रै थियो । चैतको ११ देखि घरभित्रै थुनिएका आम सर्वसाधरण आफनो नियमित काममा फर्किनुका साथै आर्थिक गतिविधिमा संलग्न हुन पाइने भएकाले उत्साहित थिए । स्वास्थ्यका मापदण्डको पालना गरेर नियमित काम सुचारु त भयो तर लकडाउन खुलेको यो तीन महिनाको अवधिभित्र नेपालमा संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ, यही अनुपातमा संक्रमण फैलिए एक महिनापछि उपत्यकाका ५० प्रतिशतभन्दा बढि मानिस संक्रमित हुने विज्ञहरूको भनाइ छ । आजमात्रै कोरोना संक्रमितको संख्या ३ हजार १ सय ६७ पुगेको छ । काठमाडौं उपत्यकामा १७४६ संक्रमित थपिएका छन् भने कोरोनाबाट मृत्यु हुनेको संख्या ७२७ पुगेको छ । जुन अनुपात दैनिक बढ्दो छ । 
 
विशेष गरि बालबालिकाहरुका लागि दशैमा पिङ्ग खेल्ने, चङ्गा उडाउने, नयाँ कपडा लगाउने, घरबाट टाढा रहेका आफन्तसँग भेटघाट गर्ने, आफन्तकोमा टीका आर्शिवाद थाप्न जाने जस्ता चहलपहलले अरु चाडभन्दा दशैंमा फरक महसुस गराउछ । तर यसवर्षको दर्शैमा आफ्ना बालबच्चाहरुलार्ई कोरोनाले दिने समस्याका बारेमा परिवारले बुझाउनुपर्दछ । बाहिरबाट आउने तन्नेरी नाती नातिनाले टीका लगाइदिन आग्रह गरेको सानो भुलका कारण घरका बृद्ध अभिभावकका लागि दशैं अभिशाष बन्न सक्दछ । विश्व नै आक्रान्त पारेको यो महामारीमा ठुलाबडा मान्यजनको हातबाट आर्शिवाद त थापौ तर भर्चुअलमार्फत ।

आफु स्वस्थ्य हुँदा र आफै रहे दशै त अर्को बर्षपनि मनाउन सकिएला तर दशैको बहानामा हुने रमझम भोज भतेर, टीका दक्षिणा जस्ता गतिविधिले परिवारनै कोरोनाको जोखिममा पनि पर्न सकिन्छ । कोरोनालाई हामीले सामान्य रोगका रुपमा बुझेका छौ । जसलाई लक्षण देखिदैन उनीहरुलाई खासै असर गरेको देखिदैन तर लक्षण सहितको संक्रमण हुनेहरुलाई यो रोगले निक्कै नै दुख दिएको पनि छ । हालसम्म काठमाडौं या भनौ शहरीक्षेत्रमा बढि जोखिम देखिएको कोरोना संक्रमण अब ग्रामिण भेगमा पनि फैलने सम्भावना बढने खतरा त्यतिकै छ । दशै मान्ने बहानामा शहरको मान्छे गाउँ र गाउँको मान्छे शहरमा ओहोर दोहोर गर्दा कोरोनाको संक्रमण झनै फैलिने डर हुन्छ ।

हामीलाई थाहै छ, कोरोना भाइरसबाट जोगिन अहिलेसम्म औषधी बनिसकेको छैन । बाँच्ने एकमात्र उपाय भनेको सजगता नै हो । तसर्थ, धर्म संस्कार संस्कृतिको जर्गेना गर्नुपर्दछ तर आफु बाँचेर । कोरोना भाइरसबाट बच्न सजगता अपनाउदै जीवनसँगै संस्कृति जोगाऔं ।