भनिन्छ सामाजिक सञ्जाल चिया पसल जस्तै हो । त्यहाँ पुग्ने हरेकले हरेकजसो विषयमा कुनै न कुनै टिप्पणी गरिहाल्छ । स्वस्थ आलोचना लोकतन्त्रको आधारस्तम्भ भएको हुनाले आलोचनात्मक टिप्पणीको सम्मान गर्नुपर्छ । तर, सामाजिक सञ्जाल निजी थलो मात्रै होइन् । व्यक्तिको नाममा सञ्जालको कुनै एउटा खाता दर्ता हुन्छ । त्यहाँ लेखिएका हरेक शब्द, वाक्य र तस्वीर सञ्जालकै बाँकी सदस्यले पढिरहेका हुन्छन्, उपभोग गरिरेहका हुन्छन् । त्यसैले समाजलाई मर्यादित राख्न, सही सूचना प्रवाह गर्न फेसबुक, ट्वीटर वा अन्य माध्यम चलाउने हरेक व्यक्ति सजग हुनैपर्छ ।

हिजोआज सामाजिक सञ्जालमा आफ्नो परिचय लुकाएर खोलिएका छद्म खाताहरूमार्फत समाजमा राम्रै प्रतिष्ठा कमाएका मानिसहरू पनि व्यक्तिगत लान्छना र कुण्ठा पोख्ने तहमा ओर्लिएको पाइन्छ। यो असाध्यै चिन्ताको विषय हो । समाजलाई मार्यादापूर्ण राख्न यसले कुनै हालतमा मद्दत गर्दैन।

यो प्रसङ्ग उठाउनुको सन्दर्भ राष्ट्रपति विद्यादेवी भण्डारीले कार्तिक १० गते सोमबार विजयादशमीको टीका लगाउनुभएको विषयसँग जोडिएको छ, जसबारे सामाजिक सञ्जाल र समाचारहरूमा पाँच प्रकारका प्रतिक्रिया देखिएका छन् । सबै प्रकारका प्रतिक्रियामा सच्चाईको सानो अंश समेत नहुनु, आलोचना नभएर भद्दा र सामाजिक स्वीकार्यता विपरीतका टिप्पणीहरु देखिनु अत्यन्तै खेदजनक विषय हो । जुनसुकै व्यक्तिको बारेमा टिप्पणी गर्दा सम्बन्धित व्यक्तिको जीवनको एउटा पक्षबारेमात्रै पनि केही जानकारी भयो भने त्यस्तो टिप्पणी विश्वसनीय हुने केहि सम्भावना रहन्छ । तर, सम्पूर्ण पक्षबारे नै अनविज्ञ रहेर गरिएको टिप्पणी अज्ञानतापूर्ण, आलोचनायोग्य र कतिपय अवस्थामा कानुनी कारवाहीको दायरामा ल्याइनुपर्ने हुन्छ ।

अब जाउँ राष्ट्रपतिको टीका ग्रहणसम्बन्धी समाचारमा आएका टिप्पणीतर्फ ।

पहिलो टिप्पणी देखिएको छ, राष्ट्रपतिले आफू बसेर आमालाई उभ्याएर टीका लगाउनुभयो । टीका लगाइएको फोटो मात्रै हेरेर धेरैले यस्तो प्रतिक्रिया दिएको हुनसक्छ । हामीले यसबारे बुझ्दा यसका पछाडि संवेदनशील व्यक्तिगत कारणहरू रहेको पाइयो । टीका, जमरा र आशिर्वादको कार्य असाध्यै निजी र पारिवारिक मामिला भएको हुँदा यसमा राष्ट्रपतिको आदरणीय आमाले जसरी सजिलो अनुभव गर्नुहुन्छ, त्यसैगरी तयारी गर्ने गरिएको रहेछ धेरै वर्षदेखि । अहिलेको सन्दर्भमा उमेर र स्वास्थ्यका कारण गोडाखुम्च्याएर वा पद्मासनमाबस्न नमिल्ने वा नसकिने हुनाले कतिपय गृहस्थमा यसैगरी टीका लगाइने अनुभव नौलो होइन । अन्यथा जननिर्वाचित राष्ट्राध्यक्षले टीका ग्रहण गर्दा कुनै प्रकारको सौख राख्न आवश्यक ठान्ने व्यक्तित्व वर्तमान राष्ट्रपतिको होइन् । जीवनका अनेक आरोह–अवरोह भोगेर संघर्षको मैदानमा खारिनुभएकी वर्तमान राष्ट्रपति आवश्यक परे फेरिपनि समाजमा असल परिवर्तनका लागि त्याग गर्न तत्पर व्यक्तित्व हुनुहुन्छ । त्यसैले यस टिप्पणीमा कुनै दम देखिएन । बरू के निहुँ पाउँ, कनिका बुकाउँ भनेर पर्खिने जमातको कुण्ठा मात्र देखियो ।

दोस्रो टिप्पणी राष्ट्रपतिले आमालाई वृद्दाश्रममा राख्नुभएको भन्ने देखियो जसमा अज्ञानता र असत्यता मात्रै छ । यथार्थमा राष्ट्रपतिकी आमा मिथिला पाण्डेले सुनसरी जिल्लाको चतराधाममा विगत २० वर्षदेखि समाजसेवाको तिब्र चाहनाले उहाँको अग्रसरतामा अन्य सहयोगीहरुको साथबाट एउटा आश्रम स्थापना गर्नुभएको छ, जहाँ सहारा नपाएका वृद्दवृद्दाले गाँस, वास र कपास पाएका छन् । उक्त आश्रम उहाँले निजीसम्पत्ति र सहयोगीहरुको साथबाट विशुद्द सेवाभावले स्थापना गर्नुभएको हो । आश्रमको सञ्चालनमा राष्ट्रपतिसहित परिवारका अन्य सदस्यले पनि भरथेग गर्दै आउनुभएको छ । शुरुवातमा आश्रमको हेरदेख गर्ने र त्यहाँ आश्रय लिन आउनुभएका असहायहरूको सेवा आफैं गर्छु भनेर आमा त्यहीं बस्नुहुन्थ्यो, आफ्नै निस्वार्थ भावले । पछिल्ला वर्षमा उहाँको उमेरका कारण सेवा गर्न र खट्न परिश्रम पर्ने देखिएपछि उहाँ काठमाडौंको चपलीस्थित राष्ट्रपतिकै घरमा बस्दै आउनुभएको छ । इच्छाअनुसार कहिलेकाहिँ चतराको आश्रम पनि पुग्नुहुन्छ । त्यहाँ आश्रयरतसँग बस्दा, कुराकानी गर्दा रमाउने स्वाभाव हुनाले केहि समय त्यतै बस्नुहुन्छ। विशुद्दरुपले आमाको भावनासँग जोडिएको विषयमा जानकारी नै नराख्ने मानिसहरूले सञ्जालमा कुण्ठा पोख्न आमाको भावनामाथि नै खेलवाड गरेको पाइएको छ। राजनीति जेसुकै भएपनि परिवारका सदस्य र आदरणीय ज्येष्ठ नागरिकहरूले पाउने सम्मानको दुरुपयोग गरी राष्ट्रपतिमाथि विष वमन गर्ने कुचेष्टा निन्दनीय छ ।

तेस्रो प्रकारको टिप्पणी जननेता मदन भण्डारीसँग जोडेर गरिएको देखियो । नेपालको इतिहासमा मदन भण्डारी एक नवीन चिन्तक र राजनेता हुनुहुन्थ्यो भन्नेमा कुनै सन्देह छैन । मदन र उहाँसँगै जीवन गुमाउनुहुने जीवराज आश्रितको हत्या एउटा रहस्यमय घटना बनेर हामी सबैको मनमा अझैपनि विझाइरहेको छ। मदनकी धर्मपत्नीसमेत रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीको मनमा यस घटनाले कति गहिरो चोटपुर्याएको होला भन्ने विषय यस्तै घटना नभोगेका मानिसले केवल देख्ने तर महसुस गर्न नसकिने कुरा हो । उहाँले निरन्तरगरेको संघर्ष हरेक नेपालीका लागि वास्तवमै प्रेरणादायी छ। 

संघर्षले खारिएको व्यक्तित्वमा नै संवेदनशीलता बढी हुन्छ भन्ने तथ्य राष्ट्रपतिको जीवनलाई हेर्दा स्पष्ट हुन्छ । मानिसलाई प्याच्च भनिदिन सजिलो छ, तर चोटको गहिराई भोग्नेलाई मात्र थाहा हुन्छ । महिलाहरूमाथि ज्यादती गर्दै आएको हाम्रो समाजमा यस्ता विषयलाई लिएर असभ्य टिप्पणी गर्दै हुर्किएका मानिसको कमी छैन । विगतमा फर्किंदा छर्लङ्ग हुन्छ, मदन–आश्रितको रहस्यमय हत्याको छानविनगर्न तत्कालीन सरकारले अलग्गै अनुसन्धान टोली बनाएको थियो भने मदनले नेतृत्व गर्नुभएको पार्टी नेकपा एमालेले अर्को अनुसन्धानसमिति बनाएको थियो । त्यसैगरी नागरिक आयोग पनि बनेको थियो । उहाँको भिसेरा लन्डन लगेर परीक्षण गरियो।

सरकारी छानबीन समितिले दुर्घटना हुनुलाई कारण देखाएपनि ठोस निष्कर्ष निकाल्न सकेन। केही जानकारी हुनसक्ने ठानिएका सवारी चालक अमर लामाको हत्या भैसकेको छ । नेकपा एमालेद्वारा गठित र नागिरक छानविनसमेत अनिर्णित नै रहे । यस्ता तथ्यहरू हुँदाहुँदै राष्ट्रपतिमाथि आक्षेप लगाउने प्रयासहरु निन्दनीय छन् । सरकारले यस्ता वकवासको जवाफ दिन आवश्यक नठानेको हुनसक्छ । यद्यपि विशेषज्ञ सहितको एउटा उच्चस्तरीय आयोग बनाएर मदन–आश्रितको हत्यालाई निष्कर्षमूलक अनुसन्धानमा लैजान अन्तिम प्रयास गर्नुपर्ने देखिन्छ । अहिले उठाइएका प्रश्नमा अनुसन्धान निष्कर्षमा पुगोस् भन्ने चाहना भन्दा व्यक्ति विशेषलाई आरोपितगरी छुद्र राजनीति गर्ने आशय ज्यादा देखिन्छ । यद्यपि निष्कर्षबिहिन अनुसन्धानलाई एउटा टुङ्गोमा लैजान अन्तिम प्रयास गर्नु बान्छनीय हुनसक्छ।

विश्वमा रहस्यमय हत्याका घटनाकोअनुसन्धान निष्कर्षमा नपुगेका हाइ प्रोफाइल केसहरू बग्रेल्ती छन् । अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको हत्या होस् वा नेपालमै राजा बीरेन्द्रको बंश नाश हुनेगरी भएको हत्याकाण्ड, अन्तिम निष्कर्ष निस्केर हत्यारापत्ता लाग्न सकेको छैन । मदन–आश्रितको हत्या यस्तै पीडादायी घटना बनेको छ । अब यसैमाथि पनि राजनीति गर्ने कार्य असाध्यै अमानवीय र संवेदनाहिनकार्य हुनजान्छ भनी सबैले बुझ्नु आवश्यक छ ।

चौथो टिप्पणी निर्मला पन्तको बलात्कार र हत्यासँग जोडिएको छ र यसमा राष्ट्रपतिले चासो प्रकट नगर्नुभएको भन्ने आरोप देखिन्छ। यसमा कुनै सत्यता छैन । सबैले बुझ्नु आवश्यक छ,  राष्ट्रपति संस्था एक्टिभिस्ट पद होइन । समाजमा हुने हरेक घटनामा राष्ट्रपतिले वक्तव्यबाजी गर्न मिल्दैन। तर, सरकारको ध्यान आकर्षण गर्न राष्ट्रपतिले सक्नुहुन्छ । निर्मला पन्तको सन्दर्भमा प्रशस्त रिपोर्टहरू लेखिएका छन्, भनिएका छन् । यस मामिलामा राष्ट्रपतिले सरकारको ध्यान धेरैपल्ट आकृष्ट गर्नुभएको छ । प्रहरी अनुसन्धान टोलीलाई बोलाएर सोध्ने वा जानकारी लिने काम सम्बन्धित सरकारी कार्यालयको हुन्छ । त्यसका लागि पनि राष्ट्रपतिले सरकारलाईआग्रह गर्नुभएको छ। निर्मला पन्त मात्र होइन, गोविन्द केसीको अनसनदेखि रुकुम लगायतका जिल्लामा भएको दलित हत्याका विषयमा राष्ट्रपतिले जानकारी लिनुभएको छ, सरोकार प्रकट गर्नुभएको छ,असाध्यै संवेदनशील भएर । यी विषयमा राष्ट्रपतिले सार्वजनिक रुपमा अभिव्यक्ति दिनुभएन, किनभने उहाँको संवैधानिक दायित्व अनुसार उहाँले गर्ने कामहरू नेपाल सरकारको सल्लाह र सिफारिशमा गर्नुपर्छ। सरकारका निकायले गर्ने छानविन विश्वसनीय र दरिलो होस् भन्नेमा राष्ट्रपतिको चासो सधैं रहेको देखिन्छ । कहिले राष्ट्रपतिले आफनो सुविधाका लागि हेलिकप्टरको प्रयोग गरेको, कहिले १९ करोडको गाडी, रातो कार्पेट लगायत अन्य अनावश्यक टिका टिप्पणी भएका छन् । त्यसैले, यी टिप्पणीलाई अज्ञानतावश आएका प्रतिक्रियाहरु भन्न सकिन्छ।

पाँचौं प्रकारका प्रतिक्रियाहरु भने असाध्यै असभ्य, भद्दा र कानूनी कारवाहीको दायरामा ल्याइनुपर्ने किसिमका छन् । सार्वजनिक रुपमा उच्चारणसमेत गर्न नमिल्ने शब्दहरू लेखेर सामाजिक सञ्जालमा मर्यादाहीन ढंगले प्रस्तुत हुने तथा लान्छित गर्ने कार्य कुनैपनि मूल्यमा ठीक हुन सक्दैन । मुलुकीसंहिता र साइबर कानुनले यस्ता लान्छना लगाउने र शेयर गर्ने दुबैलाई दुई वर्षसम्मको जेल सजायर जरिवाना वा दुवै हुनसक्ने व्यवस्था गरेको छ । राष्ट्रपतिले त्यस्ता व्यक्तिहरूलाई माफ गर्न वा अनदेखा गरिदिन सक्नुहोला, त्यो उहाँको महानता हो । तर यस्ता व्यक्तिले समाजिक मर्यादामा पुर्याउने क्षतिको भरपाई कुनैपनि हालतमा हुन सक्दैन । तसर्थ सम्मानीय संस्थाप्रति अनावश्यक असभ्य, भद्दा टिका टिप्पणी गर्नेलाई राष्ट्रपति कार्यालयले तत्काल यसको छानविन गरी त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याउन आवश्यक पहल गर्नुपर्छ । साइबर सुरक्षासम्बन्धी प्रविधिमा सरकारका अंग र सुरक्षा निकायको क्षमता बढाउन सरकारले थप लगानी गर्नुपर्ने देखिन्छ, जसबाट साइबर अनुसन्धानमा ठोस योगदान मिल्नेछ ।