चितवनमा नेकपाका कार्यकर्ताले नेता सुरेन्द्र पाण्डेको अभिव्यक्तिमाथी बिरोध जनाए । सार्वजनिक भएको भिडियोमा सुनिए अनुसार उनीहरुले पार्टी एकता जिन्दाबाद, गुटपार्टी मुर्दावाद, एकता भाड्न पाईदैन लगायतका नारा लगाएका थिए । यो नाराले पाण्डेको अभिव्यक्ति प्रधानमन्त्री ओली बिरोधी र पार्टी एकताको बिरुद्धमा थियो भन्ने कुराको अनुमान गर्न कसैलाई पनि गाहो पर्दैन । 

पार्टी एकिकरणको केही समय देखिनै पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीलाई घेराउ गर्ने, पार्टी एकिकरणका बाँकी रहेका कामहरुको सम्पादन नगर्ने, सरकारका कामहरुको स्वामित्व नलिने बरु उल्टै सरकारलाई काम गर्न नदिने परिपार्टी देखिदै आएको छ । जसरी भएपनि प्रधानमन्त्री ओलीलाई दुई पद मध्ये एक पद छोडाउन बाध्य बनाउने र आफ्नो पदीय आकांक्षा पुरागर्ने दुस्सपना प्रचण्ड माधव खेमाले पालिनै रहे । महाधिवेशन आउन चारमहिना बाँकी रहँदापनि पार्टी जिम्मेवारीमा रहेका नेताहरुले आफ्नो जिम्मेवारी पुरागर्ने काममा सिन्कोपनि नभाच्ने तर पार्टीभित्र विधि र थितीको कुरामात्र गरिरहने कामले आकाशतिर थुकेको थुक आफनै अनुहारमा परेको कुरा नेताहरुलाई थाहा नै भएन । 

अहिले नेकपाभित्र अन्तरविरोध छ । प्रचण्ड र माधव नेपालहरु विधिको कुरा गर्दै पदीय भागबण्डाको परिणाम हातपार्न चाहन्छन् भने नेकपाका सच्चा कार्यकर्ताहरु पार्टीको वैधानिक र वैचारिक बहसलाई अगाडि बढाउन चाहन्छन् । नेकपाको महाधिवेशनसम्म को संक्रमणकालिन समयसम्म जनताको जनबाद (जज) को कार्यनीति भनिएपनि आधारभूत रुपमा यसले जनताको बहुदलिय जनबादका सवै विशेषताहरुलाई समेटेको भएपनि नेकपाका कार्यकर्ताहरु जज होइन जबज चाहन्छन् । आगामि महाधिवेशनपछि पार्टीले लिने सिद्धान्त र विचारको बहसमा खरो भएर उत्रिन चाहन्छन् । पार्टीको सर्वोच्च संस्था महाधिवेशनमार्फत पार्टीका सम्पूर्ण संक्रमणकालिन कामहरुको  पूर्णता चाहन्छन् । तर नेताहरु पार्टी एकता र सरकारबिरोधी अभिव्यक्ति दिने, पद र प्रतिष्ठा नपाएको कुण्ठा र आवेग कार्यकर्ताबीचमा बाड्दै हिडने कामले नेकपाका कार्यकर्ताहरुलाई आक्रोषित बनाउनु अस्वभाविक होइन् । चितवन घटना यसको एउटा उदाहरणमात्र हो । 

केही समय अगाडिदेखि मदन भण्डारी फाउन्डेशनका कार्यक्रमहरुलाई लिएरपनि नेकपाभित्र विवाद हुने गरेको छ । मदन भण्डारी फाउन्डेशन जननेता मदन भण्डारीका सिद्धान्त र विचारको बहसगर्ने र बदलिदो परिस्थिती अनुसार जनताको बहुदलिय जनबादको कार्यान्वयनको वकालत गर्ने वैचारिक थलो हो । तर यसलाई नियन्त्रण गर्न खोज्नु भनेको बैचारिक बहसलाई बुझो लगाउन खोज्नु हो । हिजोआज केही नेताहरु जबजमाथी धावा बोल्न कोशिस गरिरहेका छन् । चितवनको कार्यक्रममा पनि पुर्वमन्त्री पाण्डेले मदन भण्डारी फाउन्डेशनको औचित्यका बारेमा बोल्नु आफैमा अराजनीतिक र अमर्यादीत कुरा हो । 

नेताहरु पद नपाएको पीडा, कुण्ठा र आवेगलाई अराजनीतिक हिसाबबाट कार्यकर्ताहरुको बीचमा बाँड्दै हिड्ने र कार्यकर्ताहरुले त्यसको प्रतिवाद स्वरुप नारा जुलुस लगाउँदै हिड्ने कामले नेकपालाई सहयोग गर्दैन । यसले माथिदेखि तलसम्मको विभाजनलाई बढवा दिन्छ ।

पार्टीका कार्यकारीले कुण्ठा र उत्तेजनाले भरिएको मिथ्या आरोपपत्र पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीलाई बुझाएर त्यो खेमासँग नजिक रहेका अरु नेताहरुले हो मा हो मिलाएर र तल्ला कमिटीहरुमा पनि यहि रोगलाई संक्रमित गराउदा पद प्राप्ति हुँदैन !

यसले पार्टी एकता र कार्यकर्ताहरुको मर्म र भावनालाई पनि सम्बोधन गदैन । पार्टी एकताको र पार्टीभित्र देखिएका सवै विवादहरुको समाधानको उपाय भनेको महाधिवेशन हो । त्यसैले अब नेकपाले आयोजक कमिटी बनाएर  महाधिवेशनको काममा जुट्न र यसका लागि वैचारिक बहस खुला गर्न आवश्यक छ ।