लामो समयको प्रतीक्षापछि नेपालमा कोरोनाको खोप कहिले आउला भन्ने चिन्ता र चासो अब हटेको छ । नेपाल सरकारले आजदेखि देशव्यापी रुपमा कोरोना भाइरस (कोभिड १९) बिरुद्धको खोप अभियान शुरु गरेसँगै आमसर्वसाधरणमा उत्साह थपिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअलमार्फत अभियानको आरम्भ गरेलगत्तै देशभरका १२० खोप केन्द्रहरुमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सफाइ कर्मचारी, शववाहन चालक, एम्बुलेन्स चालकलाई खोप दिइएको छ । 

नेपालमा कोरोनाको पहिलो संक्रमण गतसाल माघ महिनाको १० गते भेटिएको थियो । त्यसको ठीक एकबर्षमा सरकारले विश्वाव्यापी महामारी बनेको कोरोनाबिरुद्धको खोप ल्याउन सफल भएको छ । आफ्ना नागरिकलाई कोरोनाको खोपबाट बन्चित हुन नदिन सवैलाई निशुल्क प्रयोगको घोषणा गर्नुले पनि सरकार नागरिकको स्वास्थ्यप्रति जिम्मेवार रहेको पुष्टि हुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको आरम्भमा जनताको जीवन रक्षा नै सरकारको पहिलो प्राथमिकता भएको र यो खोपबाट कोहीपनि बन्चित नहुने घोषणाले पनि अब यो सबैको पहुँचमा पुग्छ भन्ने विश्वास बढेको छ । भारत सरकारले दिएको १० लाख खोप प्रयोगमा आएपछि अब कोरोना बिरुद्धको लडाँईले नयाँ चरण पार गरेको छ । 

कोरोना संक्रमणबाट विश्वमै गएको एकबर्ष अत्यन्तै कठिन समय हुन पुग्यो । कोरोना भाइरस महामारीका रुपमा तीव्र गतिमा फैलियो यसबाट विश्वमा करोडौं मानिस संक्रमित भए भने २२ लाखले ज्यान गुमाउन परयो । अन्य देशको तुलनामा कम क्षति व्योहोरोको नेपालमा पनि कोरोना संक्रमितको संख्या २ लाख ७० हजार पुगेको छ भने २ हजार १७ जनाले ज्यान गुमाउनु प¥यो । विश्वव्यापी ज्यानमारा रोगको आतंकले नेपालीले कहिल्यै भोग्न नपरेको पिडा भोग्नु परयो । लकडाउन, आइसोलेसन, क्वारेन्टीन, सामाजिक दूरी, माक्सको प्रयोग, सरसफाई, खानपीन जस्ता नयाँ नयाँ अनुभब नेपालीले पनि महसुस गरे । समयमै खोप भित्रिएकाले अब हिजो जस्तो डराउनुपर्ने, त्रसित हुनुपर्ने अवस्था छैन तर सावधानी भने अझैपनि आवश्यक छ । नेपालमा कोरोना पूर्णरुपमा नहटेसम्म हामीले गर्दै आएको अनुशासनको पालन गर्नुनै पर्छ । 

दुई चरणमा लगाईने यो खोप निकै नै प्रभावकारी भएको बताइएको छ । आफ्ना जनताको   जीवनरक्षाका लागि नेपाल सरकारले समयमै खोप उपलब्ध गराउन खेलेको भूमिका प्रसंसनीय छ, त्यसको उच्च सम्मान गदै आगामी दिनमा यो खोप सवैको पहुँच र सर्वसुलभ रुपमा उपलब्ध गराउने बिषयमा भने अझैपनि ध्यान पु¥याउन आवश्यक छ । कोरोनाबिरुद्धको यो लडाँईमा नेपाल सरकारले नयाँ युगको आरम्भ गरेको छ । यसमा थप सफलता प्राप्त गदै अभियानबाट कोहीपनि बन्चित हुन नपरोस र आगामी दिनमा ढुक्क भएर कोरोनाको जोखिमलाई निस्तेज पार्न सकिन्छ भन्ने विश्वास बढेको छ ।