पार्टीका स्थायी समिति सदस्य योगेश भट्टराई नियुक्ति भएपछि सकारात्मक प्रतिक्रियाको ओइरो नै लागेको छ । यो स्वभाविक पनि हो किनकि भट्टराई तुलनात्मक रूपमा योग्य र सक्षम नेता हुनुहुन्छ । त्यसमा पनि निर्वाचनताका प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन जिताउन ताप्लेजुङवासीलाई आग्रह गर्दै मन्त्री बनाउने बताउनुभएको थियो । तर त्यसअनुसार विगतको मन्त्रिपरिषद्मा भट्टराई नपर्दा प्रश्नहरू उठे । अन्ततः अहिले भट्टराईलाई मन्त्री बनाएर प्रधानमन्त्री ओलीले आफ्नो वचन बद्धता पूरा गर्नुभयो । तर प्रश्न प्रतिबद्धता को होइन, प्रश्न विकासको हो । प्रधानमन्त्री ओलीले जसरी विकासका सपना मात्र होइन, नीति र कार्यक्रम पनि ल्याउनुभएको छ । त्यसमा खरो उत्रनु सबै मन्त्रीहरूको कर्तव्य र दायित्व बोध हुनुपर्छ । त्यसैअनुसार प्रधानमन्त्रीले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौतासमेत गरिसक्नुभएको छ ।

भट्टराईले पर्यटन मन्त्रालय सम्हालिरहँदा प्रधानमन्त्रीको विकासको मोडललाई स्मरण गरेर त्यसअनुसार अघि बढ्ने जनाउनुभएको छ । आरम्भ सकारात्मक छ । बनाइएका औपचारिक कार्यक्रमलाई सकेसम्म कम गरेर विकासका वास्तविक कार्यक्रमहरूको नेतृत्व लिनुपर्छ । 

भट्टराई माझ दुई चुनौती छन् । पहिलो बिग्रेको भनेको नेपाल वायुसेवा निगमलाई सुधार्नुछ । दोस्रो पर्यटन वर्ष २०२० लाई सफल बनाउनुछ । यी दुई मुख्य काममा मन्त्री भट्टराईको कार्यक्षमताको मूल्यांकन हुनेछ । घाटामा रहेको नेपाल वायुसेवा निगमलाई नाफामा लैजानु सामान्य चुनौतीको विषय छैन । नेपाल वायुसेवा निगमका कारण देशकै क्षमतामाथि बारम्बार प्रश्न उठेको छ । भ्रष्टाचार, अनियमितताले ध्वस्त पारेको यो राष्ट्रिय ध्वजावाहकलाई पुनर्जीवन दिने काममा भट्टराईको राजकीय सफलता निर्भर रहन्छ । वायुसेवा निगमको व्यवस्थापन सुधारका लागी मन्त्री भटटराईले हिजोमात्रै ‘नेपाल वायु सेवा निगम सुधार सुझाव कार्यदल’ गठन गर्नुभएको छ । यो राम्रो कामको थालनी हो तर कार्यदल बनाएर मात्रै परिणाम हात पदैन त्यसमा जनतालाई विश्वास हुने खालका प्रभावकारी काम भएको देखिएपछि मात्रै सफलताको मुल्यांकन हुने हो ।

त्यस्तै सन २०२० मा नेपालले २० लाख पर्यटक भित्रयाउने घोषणा गरेको छ । यो त्यति महत्वकांक्षी योजना होइन । तर घोषणा भएको यतिका समय भइसक्दा पनि त्यसमा खासै काम भएको देखिँदैन । त्यसैले मन्त्री भट्टराईले हुनै लागेको भ्रमण वर्षलाई सफल बनाउन प्रभावकारी भूमिका देखाउन सक्नुपर्छ । पर्यटन नेपालको विकास संभावनाको एउटा मुख्य जग हो । पर्यटक जति धरै भित्रयाउन सक्यो त्यति यसले अर्थतन्त्रमा सकारात्मक योगदान गर्छ । मन्त्री भट्टराईले पर्यटन वर्षमा मन्त्रालयलाई सक्रिय बनाएर काम अघि बढाउन निर्देशन दिनुपर्छ ।

यी दुई काम सफलतापूर्वक सम्पन्न गर्न सकेमा मन्त्री भट्टराई सफल मन्त्रीमात्र होइन सफल नेता बन्नुहुनेछ । सम्भावना बोकेका नेता भएकाले नागरिकका अतिरिक्त आकांक्षा उहाँप्रति छन् । सामान्य काम गरेरमात्र उहाँलाई पुग्दैन, उहाँले अतिरिक्त काम गरी प्रमाणित गर्नुपर्छ ।