काठमाडौं, २७ साउन– संसारका कुनैपनि देशले आर्थिक बृद्धिलाई जोड दिन चाहन्छन् भने उनीहरुले सबैभन्दा पहिला लगानी, उत्पादन, र निर्यातको वातावरण निमार्ण गर्दछन् । नेपालपनि यतिबेला समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थक बनाउनका लागी देशको आर्थिक विकासमा जोड दिइरहेको छ । त्यसैले यो लक्ष्य पुरागर्नका लागी नेपालले उत्पादन र निर्यातमुखी अर्थतन्त्रलाई पहिलो प्राथमिकतामा राख्न सक्नुपर्दछ । 

ठुलो परिणाममा व्यापार घाटा व्योहोरिरहेको हाम्रो जस्तो देशले देशभित्र उपभोग हुने बस्तुहरु देशमै उत्पादन गरेर आयातित वस्तुहरुको न्युनिकरण गर्न सक्नुपर्दछ । यतिमात्रै हैन हाम्रो शोधानान्तर स्थितीलाई बलियो बनाउनका लागी विश्वमै पहिलो र दोस्रो जनसंख्या भएका भारत र चीनको विशाल बजारमा हाम्रा उत्पादनहरु निर्यात गर्न सक्नुपर्दछ । यसका लागी देशभित्र वस्तु तथा सेवाहरुको उत्पादन देशको पहिलो प्राथमिकता हुनुपर्दछ । 

उत्पादन त्यसै हुँदैन यसका लागी श्रम, पुँजी र प्रविधि आवश्यक पर्दछ र नेपाल प्राकृतिक श्रोत साधनमा आफै धनी छ । केही कमी रहेको पक्ष भनेको लगानी र प्रविधि हो । घरेलु लगानीले हाम्रो उत्पादनलाई बढावा दिन सक्दैन भने हामीले बाहिय लगानीलाई भित्रयाउन सक्नुपर्दछ । संसारका हरेक देशहरु (अमेरिका,चीन, जापान, भारत) वैदेशिक लगानी (एफडीआई) भित्रयाउन आफनै खाले रणनीतिहरु विकाश गरिरहेका हुन्छन् । कुनै देशले निश्चित समयसम्म जग्गा निशुल्क उपलब्ध गराएर, कुनै देशले करमा छुट दिएर वैदेशिक लगानी भित्रयाउन व्यवसायीहरुलाई आकिर्षत गरिरहेका हुन्छन् । 

हामीले यतिबेला वैदेशिक लगानी आकर्षित गरेर घरेलु उत्पादन बढाई देशलाई आत्मनिर्भर गर्न सक्नुपर्दछ तर हालै संसदको विकाश समितिले ह्वासिन सिमेन्ट कम्पनीलाई जग्गा भाडामा दिने सम्झौता रद्ध गर्न दिएको निर्देशनले नेपालको वैदेशिक लगानीको क्षेत्रलाई दुरगामी नकरात्मक प्रभाव पार्नेछ । वातावरणीय परिक्षण स्थानिय सरोकारको मुद्धा स्थानिय समुदायलाई दिने रोजगारी आदिको पहिले नै अध्ययन नगरी वैदेशिक लगानीमा उद्योग स्थापना गर्ने कुरालाई बहाना बनाएर सम्झौता रद्धगर्ने काम आफैमा विवादास्पद काम हो । यी सबैकामहरु उद्योग स्थापना भन्दा अगाडी नै गर्न सक्नुपर्दथ्यो । यदि नगरिएको हो भने सम्बन्धीत सरोकारवाहरुको कमजोरी हो तर सम्वन्धीत सरोकारवाला वैदेशिक लगानी बोर्डको दाबी हेर्ने हो भने यसमा कुनै कमिकमजोरी देखिएको छैन । त्यसैले यो निर्देशनका पछाडी स्थानिय तहमा रहेका स्वार्थ समुहहरुको जुँगाको लडाँइ प्रतिविम्बित भएको देखिन्छ । यो कुराले वैदेशिक लगानीका माध्यमबाट देशमा सन्चालन हुन लागिरहेका र भविष्यमा स्थापित हुन सक्ने उद्योग तथा सेवालाई पनि प्रभावित बनाउन सक्दछ । यसरी हामीले हाम्रो देशको अर्थतन्त्रलाई सवल बनाउन सक्दैनौ अर्थतन्त्र सबल नबनाए समृद्ध नेपाल र सुखी नेपालीको नारालाई पनि सार्थक बनाउन सक्दैनौ । 

कुनैपनि उद्योग सन्चालन गर्नका लागी लगानी, श्रम, सुरक्षा र बजारको आवश्यकता पर्दछ । वैदेशिक लगानी त्यतिकै भित्रदैन । बजार र नाफाको विश्लेषण विना एक देशको लगानीकर्ताहरु अर्को देशमा गएर पुँजी र प्रविधिमा लगानी गदैनन् । नाफाका लागी आएका भएपनि यस्ता वैदेशिक लगानीहरुले हाम्रो देशमा रोजगारको श्रृजना गर्दछन् । घरेलु उत्पादन मार्फत आयातित वस्तुहरुको न्युनिकरण गरेर हाम्रो व्यापार घाटालाई कम गर्दछन् र सरकारलाई राजस्व तिरेर हाम्रो देशको अर्थतन्त्रलाई सवल बनाउछन् । त्यसैले सरकारले यस्ता लगानीलाई प्रोत्साहीत गर्नका लागी स्थायित्व र सुरक्षाको प्रत्याभुती दिलाउन सक्नुपर्दछ । हवासिन सिमेन्टको मुद्धा एउटा समस्या हो, जस्को विवाद समयमै समाधान भएन भने यसले नेपालको वैदेशिक लगानीमा प्रत्यक्ष प्रभाव पार्नेहुँदा वैदेशिक लगानीलाई प्रभाव पार्न गरिएका स्वार्थ समुहको खेललाई निरुत्साहीत गर्न सरकार चनाखो हुन जरुरी छ ।