नेपाल भ्रमण बर्ष २०२० को शुभारम्भ आजदेखि हुँदैछ । सरकारले यसवर्ष २० लाख पर्यटक भित्रर्याउने लक्ष्यसहित भ्रमण वर्षको शुभारम्भ गर्दैछ । काठमाडौंको दशरथ रङ्गशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले र सातै प्रदेशका मुख्यमन्त्रीले आ–आफ्ना प्रदेशबाट भ्रमण वर्षको उद्घाटन गर्नुभएपछि पर्यटन वर्ष २०२० को विधिवत रुपमा सुरुवात हुनेछ ।

भ्रमण बर्षको मुख्य उदेश्य भनेकै विदेशमा बसेका नेपाली वा विदेशी पर्यटक नेपाल घुम्न आउन भन्ने नै हो । पर्यटन बर्षमा १० करोड खर्च गरेर १ अरबको काम ल्याउने योजनामा सरकार लागेको छ । हुनपनि एकजना विदेशी पर्यटक नेपाल आउँदा कम्तिमा पाँच नेपालीले काम पाउने अवस्थाको सृजना हुनसक्छ । लगानी बिना पर्यटन विकासको सम्भावना छैन । त्यस कारण सम्मेलनबाट लगानी जुटाउने र पर्यटनको विकाससँगै नेपालमा आर्थिक समृद्धिको ढोका खोल्ने कोशेढुङ्गा सावित हुने गरि काम गर्न सक्नुपर्दछ । पर्यटनबर्ष २०२० मा पर्यटन विकासका आधारहरु औल्याएर देखिएका प्रचुर सम्भावनाहरुमा केन्द्रिकृत भएर नयाँ योजना बनाउन सक्नुपर्दछ । 

भूकम्प गएको चार बर्षपछि नेपालमा पर्यटन बर्ष २०२० मनाउन गइरहेको छ । विश्वलाई नेपाल भूकम्पबाट कसरी उठ्दैछ भन्ने देखाउन पनि भ्रमणबर्ष एउटा अवसर हुन सक्छ । भ्रमण बर्षमा नेपालका भत्किएका ऐतिहासिक धरोहरहरु बन्दै छन् भन्ने देखाउन, नेपाली जनतालाई जुन मर्का परेको थियो त्यो समस्याबाट निस्किएको म्यासेज दिन सक्नुपर्दछ ।  

नेपाल सरकारले पर्यटन बर्षलाई भर्खरै सकिएको साग गेमको भन्दा पनि भब्य उद्घघाटन गर्ने तयारी गरेको छ । उद्घघाटनको भब्य शुरुवात आफैमा राम्रो हो तर पर्यटकहरुले नेपालमा पाइला टेक्दै समस्या भोग्नु प¥यो भने त्यसले नराम्रो सन्देश जान्छ, त्यसतर्फ ध्यान दिनुपर्छ । हामीले नेपाल घुम्न आउनुस् भनेर उनीहरुलाई बोलाउँदा पहिला आफुलाई एक पर्यटककै रुपमा सोच्न जरुरी छ । ताकी पर्यटक नेपालमा छिर्ने बित्तिकै नेपालको एयरपोर्टको अवस्था कस्तो छ ? त्यहाँका प्रहरी कस्ता छन् ? उनीहरुले हाम्रा पर्यटकहरुलाई कस्तो व्यवहार गर्छन् ? एयरपोर्ट छिरेपछि इमिग्रियसनमा कस्तो व्यवहार हुन्छ ?  व्यागहरु दिने बेलामा दुई तीन घण्टा लगाएर आउँछ कि तुरुन्तै आउछ ? यस्ता कुराहरुले नेपालको बारेमा के इमेज लान्छ ? यी र यस्ता गल्ती सुधारेर ब्यवस्थित बन्न जरुरी छ । 

२० लाख पर्यटक आउलान् या नआउलान, त्यो आफ्नो ठाउँमा छ तर पर्यटकको सहजताका लागि भौतिक पूर्वाधारदेखि पर्यटकमैत्री वातावरण र असल संस्कारको विकास गर्नु सक्नुपर्दछ । भ्रमणवर्षमा पर्यटक आउदा यस्तो होस् कि पर्यटकले एयरपोर्टबाट बाहिर निस्कदा त्यहाँका सुरक्षाकर्मी, टयाक्सी ड्राइभरदेखी घर घरमा होमस्टे वा होटलमा बस्दाखेरी उस्ले यस्तो संम्झिएर जाओस् कि म मात्रै फर्किएर हैन अरु धेरै साथीहरुलाई नेपाल घुम्न पठाउँछु भन्ने नेपालको राम्रा कुरा आफनो देशमा लैजान सकोस । अनि मात्रै भ्रमण बर्ष २०२० को सफलता सार्थक हुन्छ ।