नेपाल कम्युनिष्ट पार्टी नेकपाले आफ्ना नेता तथा कार्यकर्तालाई ११ बुँदे आचारसंहिता जारी गरेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा  हस्ताक्षरित आचारसंहितामा मूलतः तीन  पक्ष छन् । पहिलो सामाजिक आचरण, दोस्रो आर्थिक आचरण अनुशासन र तेस्रो सैद्धान्तिक र दार्शनिक ।

सामान्यतया कम्युनिष्ट पार्टीको कार्यकर्ता तथा नेताहरूका निम्ति यो आचारसंहिता नयाँ होइन किनभने कम्युनिष्ट पार्टीको सदस्यका रूपमा शपथ ग्रहण गर्दा नै यी आचारसंहिता प्रति उनीहरूले शपथ खाएका हुन्छन्  । त्यसोभए अहिले नै किन यो आचारसंहिता जारी गर्नु पर्यो  त ? किनभने नेकपाले कम्युनिष्ट पार्टीका नेता र कार्यकर्तामा आचरण र व्यवहारका दृष्टिकोण आर्थिक हैसियतका दृष्टिकोण, वैचारिक राजनीतिक दृष्टिकोणले कम्युनिष्ट जस्तो हुन सकेको छैनन्  । सम्भवत त्यही भएर कम्युनिष्ट विचारधारामाथि विश्वास गर्ने नेता कार्यकर्ता त्यस्तो हुन सकेनन् भन्ने महसुस गरेर नै यो आचारसंहिता जारी गरिएको हुनुपर्छ ।

नेकपाले सोमबार वितरण गरेको आचारसंहितामा अरूसँग बोलिने भाषा मर्यादित, सरल र मीठासपूर्ण हुनुपर्ने भनेको छ । आचारसंहितामा भनिएको छ, ‘पार्टी सदस्यले आफूमा व्यक्तिवादी स्वार्थी भावना विकसित हुन नदिन कुनै किसिमको व्यवसाय वा उद्योग सञ्चालन गर्दा सकेसम्म सामूहिक नेतृत्वमा सञ्चालन गर्नुपर्छ, उनीहरूले सञ्चालन गर्ने व्यवसायमा संलग्न  श्रमजीवीलाई न्यूनतम रूपमा पनि कानून बमोजिमको पारिश्रमिक र सुविधा तथा सम्मानपूर्ण व्यवहार गर्नुपर्छ ।’   

समाजमा रहेका कुरिती, रुढिवादी संस्कार, भेदभाव, छुवाछूत र महिलामाथि हुने हिंसाका विरुद्ध सँधै खडा हुनु र त्यस किसिमका गलत व्यवहार अन्त्य गर्न सांस्कृतिक सचेतना अभियान सञ्चालन गर्न सँधै प्रयत्न गर्नुपर्ने आचारसंहिता समेत बनाएको छ । नेकपाले पार्टीका प्रत्येक सदस्यले आफ्नो दैनिकीमा ूसादा जीवन र उच्च विचारूलाई प्राथमिकतामा राख्नुपर्ने, आफूले मात्र होइन आफ्नो परिवार, गाउँ, टोल, शहरबजार, स्कूल, कलेज सबैठाउँ र संस्थानमा यस किसिमको जीवनशैलीका निम्ति प्रोत्साहन गर्नु र आफ्नो जीवनलाई सँधै जनताबीच खुला किताब जस्तै राख्न प्रयत्न गर्नुपर्ने तोकेको छ  ।

कार्लमाक्स र फ्रेडरिक एंगेल्सले  कम्युनिष्ट घोषणापत्र जारी गर्दा वैचारिक र सैद्धान्तिक पक्ष मात्र त्यसमा उल्लेख गरेका थिएनन् त्यसमा व्यक्तिका सामाजिक र व्यक्तिगत आचरण गतिविधि र कृयाकलापहरू  समेत उल्लेख थिए । सैद्धान्तिक पक्षलाई मात्रै हेर्ने हो भने अन्य दर्शनभित्र वर्ग विहीन समाजको कल्पना गरिएको हुन्छ  । जुनबेला युरोपमा औद्योगिक विकास अघि बढ्यो  त्यसले दुई खाले समाज पनि निमार्ण गर्‍यो । धनी  झन्झन्  धनी र गरीब  झन गरीब हुने खालको विभेदकारी समाज निमार्ण भयो । यसलाई देखेरै सर्वहारा वर्गको शासन र अधिनायकत्व स्थापित नभएसम्म वर्ग विहीन समाज निमार्ण हुन सक्दैन भन्ने मार्क्सको मूल सिद्धान्त थियो । मार्क्सले  दिएको यो सैद्धान्तिक जगकै आधारमा लेनिनले जनवादी केन्द्रीयताको सांगठनिक संरचना निमार्ण गरे । जसलाई आज पनि विश्वका कम्युनिष्ट पार्टीहरूले पार्टी संचालनको मूल सांगठनिक संरचना मान्दै आएका छन् ।

युरोपमा सन १९५१ मा कम्युनिष्ट सत्तापछि विश्वमा नै यो आन्दोलन प्रतिरक्षात्मक रहयो । त्यसपछि भने विभिन्न देशहरूमा नयाँ ढंगले कम्युनिष्ट पार्टीको पुनर्गठन शुरू  भयो । उक्त पुनर्गठनसँगै विश्वमा आएको परिर्वतनलाई महसुस  गर्दै जननेता स्वर्गीय मदन भण्डारीले जनताको बहुदलिय जनवादको प्रतिपादन गर्नुभयो जसको मूल पक्ष नै प्रतिस्पर्धाको सिद्धान्त हो । भण्डारीले हालेको त्यही जगमा नेपाल कम्युनिष्ट पार्टीले वर्तमानको उपलब्धी हासिल गरेको हो ।

तर यो उपलब्धीसँगैै पार्टीमा विभिन्न खाले विकृति  विसंगतीहरू देखिए । मुलतः नेता कार्यकर्ताको सामाजिक र आर्थिक जीवनसँग सम्बन्धित छन् । देख्दा कुनै पेशा व्यवसाय नदेखिने तर अस्वभाविक खालको जीवन शैली नेकपाका अधिकांश नेताको विशेषता जस्तै भएको छ । कमिशन र दलालीमै जीवन यापनको आधार बन्दैछ । नेताहरूलाई हेरेर कम्युनिष्टहरू कस्ता थिए  भन्ने हिजोको सोच आज कतै देखिँदैन । नेकपाका शीर्ष नेतृत्वमाथि नै ठेकेदार, व्यापारी र कालोबजारीहरूको प्रभाव र पक्कड रहेको आरोप यथार्थ बन्दैछ । नेताहरूका छोराछोरीहरूले बाबुआमाको पहुँच र शक्तिकै आडमा ठेक्कापट्टा हत्याउने, शक्तिको चरम दुरुपयोग  गर्ने प्रवृत्ति आम बन्दैछ ।

विचार र दृष्टिकोण निमार्ण तर्फ नलागि अकूत  सम्पत्ति  आर्जन गर्न सकिन्छ र अस्वभाविक खालको जीवनशैली जिउन सकिन्छ भन्ने मोह प्रष्टै देखिन्छ । नेताहरूको सम्पत्तिको आयस्रोत नखुल्ने त्यसमा पारदर्शिता नहुने र दलाल, कमिशनबाट प्रभावित भएर नीति निमार्ण समेत हुने डरलाग्दो अवस्था निमार्ण हुँदैछ । नेता र कार्यकर्तामा यो वैचारिक, सांस्कृतिक र आर्थिक विचलन देखा पर्दैछ । यिनै विकृती र विसंगतीहरूको  पृष्ठभूमि यो आचारसंहिता आएको देखिन्छ । आचार संहिता कार्यान्वयन गर्नसके सकारात्मक नै हो, होइन भने नेकपा थप कमजोर हुँदै विघटन तिर जाने सम्भावना रहन्छ । यदि आचारसंहिता कार्यान्वयन गर्नकै निम्ति  नै ल्याएको हो भने सबभन्दा पहिला शीर्ष नेतृत्वबाटै यसको कार्यान्वयन हुनुपर्छ । पार्टी अध्यक्षदेखि स्थायी समिति, पोलिटव्युरो, केन्द्रीय समिति, प्रदेश, स्थानीय समितिहरूसम्ममा यो लागू  हुनुपर्छ । नेताहरू नसुध्रिने तर कार्यकर्तालाई मात्र सुध्रनुपर्छ भनेर अर्ति उपदेश दिने परम्परागत शैलीले कुनै परिणाम ल्याउँदैन ।